आमालाई आज धेरै दिनमा आश लाग्यो । धेरै जनाको परिवार भएपनि उनी एक्लै छन । श्रीमानले ५ वटा नानी जन्मिए पछि अर्की लिएर हिडे । दु:खले छोराछोरी हुर्काइन । छोरीहरू अर्काको भाँडा माझेर हुर्किए । छिट्टै कुटुम्ब आए बिहे पनि भैहाल्यो त्यै पनि टाढा छन ! तीन चार बर्षमा मात्रै आँउछन । ठूलो छोरोले धेरै सघायो उनलाइ । बिहानै उठेर जाँतोमा मकै पिस्न देखि लिएर सबै काममा ! आमा रुँदा सङगै रून्थ्यो पनि ! अब त छोरो पनि बिहे गरेर बजारमा डेरा गरेर बस्छ । कमाइ पनि राम्रो छ । पहिला त लुकिछिपी आउने गर्थ्यो तर दुई बर्ष भो पाइलो हालेन घरमा ! माइलो बाकसभरी पैसा ल्याउन बिदेशीएको परार बाकसमै फर्कियो । कान्छो पनि पोहोर को कोरोनाको शिकार भो ।
राति आमाले सपना देखिन ! ठूलो छोरो हाँस्दै आएको, मिठाइ, लुगा पैसा राखेर खुट्टामा नै ढोगेको !
आमा छक्क परिन । उनमा आश जाग्यो । सबैका छोराछोरी मातातीर्थ औंशी भन्दै कोसेली बोक्दै हिड्न थाले । बाटोमा भिड भो । तेहि भिडमा आमा चिहाउदै हेर्दै गरिरहेकी छन ।
उता ठूलोछोराको घरमा पनि भ्याइ नभ्याई छ । माता औंसीको उपहारको पोको पार्न पट्याउन दुबैजना भिडेका छन । खानेकुरा हिजैदेखी पाकिरहेका छन । आमालाई हजुरामालाई सानिमा र छेउमा रहेको मावलमा पनि दिनु छ । लुगा , मिठाइ र अरू पनि ! छोराको परिवार तयार भो । गाडी बोलाइयो र सबै बसे गाडीमा । छोरो पनि तयार भयो अनि हिड्यो आमा भेट्न ससुराली तिर ! ससुराली तिर !!!!!
( झापा निवासी मीरा काफ़्ले पोखरेल चर्चित कवि तथा साहित्यकार हुन् )
[email protected]