• २०८१ माघ २ बुधबार

छोरी

हीरा परियार

हीरा परियार

मनभित्र राखेँ तिमीलाई लायौँ चोखो प्रीत ।
यात्रा गर्छु जीवनभर प्रिय तिमीसित ।।
बढाऔँ अघि हाम्रा पाइला कदम यौटै चाली ।
मायाले भर्छु तिमीलाई हुनदिन्नँ खाली !!

फूल रोपौँ बगैँचामा फुल्छन्बेली- चमेली ।
छर्नेछन् सुवास सधैँ हाम्रै काखमा खेली ।।
शब्द- सङ्गीत बन तिमी म गाउँछु गीत ।
अजम्बरी हुन्छ सधैँ हाम्रो माया- प्रीत ।।

मनसित मन साटे के छ र लिनु- दिनु ।।
हामी दुईको सम्झौतामा पायौँ मायाको चिनो ।
खुसीको उपहार हातैमा उनलाई थमाएँ ।
अमूल्य ज्योति भन्दै आफन्त सबै रमाए ।।

कर्मघरमा आएँ म जन्मस्थानलाई छोडी ।
बलियो बन्दै गयो हाम्रो मायाको डोरी ।।
दियौ स्थान हृदयको कुनामा त्यही संसारको भयो ।
हाम्रो प्रेमको मात्रा सत- प्रतिशतले बढ्दै गयो ।।

सहँदै प्रशव पीडा जन्म दिएँ अर्को सन्तानलाई ।
उनको आगमन सँगै घृणा र तिरस्कार भयो मलाई ।।
भने उनले तेरो कोखमा रहेछन् मात्र छोरी ।
जीवन साथी अर्कै रोज्छु तँसँग सम्बन्ध तोडी ।।

बिछोडिनु लेखेको रहेछ उनी जन्मँदैको साइतमा ।
यौटै मुट चोइटिएर अलग भयो आत्मा ।।
आँसुका दाना तपतप छर्दै मीठो सपना देखेकी छु ।
धैर्य साहस बटुल्दै तिम्रो हत्केलामा भविष्य- रेखा कोरेकी छु ।।

तिम्रो उपस्थितिले पूर्णविराम लाग्यो मेरो यात्रामा ।
मेटिएछन् भाग्यरेखा चोट लाग्यो मनमा ।।
तिम्रो खुसीको लागि बाँच्नसक्छु सम्बन्ध तोडी ।
उर्लिएका भावनाका माला उन्दै जिउने प्रयास गरेकी छु छोरी ।।


(परियार सक्रिय साहित्यकार हुन् ।)
[email protected]