• २०८१ माघ २ बुधबार

वसन्त र नवयुग

छविकिरण ओली

छविकिरण ओली

प्रभातफेरीसँगै
सुनौलो बिहानी लिएर
वसन्तको कोखबाट
जन्मिने छ कलियुगको नवयुग
आरुका पल्लवित फूलहरूमा आँखा उघारेर
अनि म छाती पिटेर भन्न पाउने छु
स्वाभिमानी शिर ठाडो पारी
मेरो देश, मेरो राष्ट्रियता
लिलामी शरणार्थीहरू
मुक्त हुनेछन् बन्दिगृहबाट
अनि शङ्खध्वनि गुञ्जाउने छन्
पालाभरि शान्तिको दीपवली
राष्ट्रिय झन्डा उचाली ।

रक्तरञ्जित धर्तीकुण्डमा
नबनोस् माटाको वेदी

नरङ्गियोस् रगतको रेखीले
नवयुगको स्वर्णिम काख
चिहान खोतलेर
भोक मेटाउनु नपरोस्
समाधिमा उभिएर
गरिब निमुखाले जसरी
ताराहरू उज्यालो बोकेर
ओराली झर्छन्
त्यसै गरी
उन्माद बोकेर
पारिजातको फूलसरि
मुस्कुराइरहन पाऊँ
भाइचारा र भातृत्व काँधमा राखी
हामी सारा नेपालीले ।

बारुदको गन्ध सुँघाएर
बालसुलभ औँलाहरूमा
नथमाइयोस् बन्दुकको नाल
कर्कश भाषणसँगै
हिमाल नदी भएर बगोस्
अशान्तिको लेउ पखाल्न
आमाधब्लमको मूच्र्छनामा
नाचून् मयूर, डाँफे र मुनाल
रक्तिम गुराँसका डालीमा पङ्ख खोली
कुमारी आमाहरूका चुरा नफुटून्
सिन्दुर नपुछियोस्
नबेचिऊन् युवतीहरू
बम्बैको कालोकोठरीमा
रेटलाइटको एरियाभित्र

सुन्नु नपरोस्
पीडाको क्रन्दन
प्रस्रव पीडाले छटपटिएको ।

आरोही बनेर भित्रिऊन्
नवयुगसँगै
साधु- सन्त र सन्न्यासीहरू
अनि बचाऊन् हाम्रो संस्कृतिलाई
धूमिल सगरले
वाष्प खसाउने छ
विदीर्ण भूगोलको भाइरस पखाल्न
चक्षुभरि इन्द्रधनु सजाउँदै
कोकिलको माधुर्य सरगमसँगै
देशको मुहारपुस्तिका भरि
निरंकुशताको जन्जिर तोडेर
उड्ने छन्
निर्दोष पक्षीहरू
शान्तिको सन्देश बोकेर
निर्लिप्त एउटा स्वर्णिम युगमा ।

वर्जित गर्ने छन् कायरहरूले
विश्रृङ्खलताको मसाल हिँडाउन

रक्तबीजका कुरूप लार्भाहरू
निमोठिने छन्
निरंकुशताको आँगनमा
जब सेलाएका घामका पाइलाहरू परेपछि
सुरम्य यस भूगोलमा
त्यति वेलै लगाम लगाइएका
मान्छेहरू
मृत्युको खोल ओडेर
नाच्नेछन्
मधुमासको हरियाली फाँटमा
स्निग्ध क्रीडास्थलभरि
नवयुगको स्वागत गर्दै ।

बुकी फूलको हाँसो टिपेर
सजाउन पाऊँ गुलाबी अधरमा
शूलीले छेडेका डाम मेटेर
रङ्गीन पुतली उडून्
मेरै शिरमा टेकेर
मेरै अनुहारका वक्ररेखाहरूसँगै
आत्मसमपर्ण गर्दै
स्वर्णिम युगको उज्यालो रश्मिसँगै
सोह्र हजार रगतका थोपा बटुलेर
अञ्जुली नभरून्
सेतो वस्त्रधारी यशोधराहरूले
हिंस्रक चिरनिन्द्रामा परून्
वसन्त नवयुगको
स्वर्णिम प्रभातफेरीसँगै
अखण्ड दीप प्रज्ज्वलित होस्
चोकचोक, गल्लीहरूमा
मुसाफिरको पसिना झार्ने चौतारीमा

बलून् नौलाख ताराहरू
बादलको दोसल्ला ओडेर
इन्द्रेणी रङ सजाउँदै
नवयुगको प्रभातफेरीसँगै।


(बिर्तामोड नगरपालिकानिवासी ओली चर्चित साहित्यकार हुन् ।)
[email protected]