• २०८२ बैशाख ७ आइतबार

कालो दाग

हिममाया पौडेल

हिममाया पौडेल

तिम्रो आगमनपछि
सोच्दै थिएँ,
प्यारो गाउँका बीचमा
सजिनेछु वरका साथ
सभा बस्ने सुन्दर चौतारीमा
हराभरा भई सह- अस्तित्वले
युगौँयुगसम्म ।

शुभसाइतमा जुराइएको
आत्मीय मिलनपछि
अनन्त यात्राको उडान गर्दै
चुँडिएका कोपिला र सुन्दर फूलको
आत्मामा मलम लगाउँदै
ग्रीष्मको प्रचण्ड ताप र
वेगमान वर्षा थामेर भए पनि
शिशिरले बगाएको
शीत थापेर भए पनि
शारदी र वासन्ती मौसममा
जिउनका लागि
सोच्दै आएकी हुँ,
सजिनेछु  सुन्दर चौतारीमा
हराभरा पिपलु भई
युगौँयुग सम्म ।

निःस्वार्थ पक्षी- पखेरूको
गन्तव्य ताकेका बटुवा
अनि
गाउँले भद्र नर- नारीको
आश्रय, आस्था र भरोसाको
आड बनेर, सोचेकी थिएँ
आस्थाकी धरोहर भई
प्रत्येकका हृदयमा ।

जवानीका चमकहरू धुमिल भएर
अङ्गअङ्गका नशा चूँडिए भने
पुष्पपत्र बनी सजिनेछु
अष्टकलशमा
कमजोर भए भने अस्थिरपञ्जर
सोच्दै आएकी हुँ
अझ सशक्त भई
बलिरहने छु धपक्क
अग्निज्वालामा !

तर तिमी आइपुगेछौ !
कालो बादलमा पोखिएको अमिलो लिएर
विनासूचना, बेखबर !
भयङ्कर ठूलो सुनामीका रूपमा
अङ्गअङ्गमा कणकणमा
धारिलो हतियार भएर
उर्वर जमिनलाई ओल्टाइपोल्टाइ
पाँगो, बलौटे आदि पत्रपत्र
उधारेर क्षतविक्षत पारेर !

मानौँ मांसपिण्डलाई भुटेर, उसिनेर, साँधेर, तारेर
विभिन्न स्वादस्वादमा
शकुनिका प्रेमजालमा अल्झिएर
न्यायलयका स्वेच्छाचारी र पहरेदारहरूले
ताली पिटिरहँदा
पलपलमा डकारिरह्यौ ।
अश्रुधारा सामुन्ने
तिम्रा कुकृत्यहरू नाचिरहे
हार्दिकता टुसाउन नै नपाई
सकिनै लागेको एकमुठी प्राणमा
अडेको तागतका भरमा भनिरहेछु म
तिमी कुनै जीवात्मा भई
पृथ्वीको गर्भमा जन्मन पाउने छैनौ
किनभने सृष्टिकी एक होनहार
अभियन्ताको मार्गचित्रलाई
निमेषभरमा नामेट पारिदिएका छौ।
होसियार !
प्राण- पखेरूले डाली छोड्नुपूर्व नै
बिगुल फुकिनेछ, अपशकुनको
लिङ्गछेदन वा फाँसी सजायको ।
खबरदार !

तिम्रो आगमनपछि
इतिहासमा लागेको कालो दाग
मेटाउने महाभियानको परिकल्पनामा
सोचेकी थिएँ तिम्रो साथ
तर तिमी त्यसरी आइदियौ !

त्यो दाग मेटिने नभई
पटकपटक थपिने भई ।


(पौडेल सक्रिय साहित्यकार हुन् ।)
[email protected]