• २०८० मंसिर २० बुधबार

ज्ञान्दरी कैनीका पाँच मुक्तक

ज्ञान्दरी कैनी

ज्ञान्दरी कैनी

म सगरमाथाझैँ अग्लिएको छु
कन्चन पानीझैँ सङ्लिएको छु
आफु नारी भएकोमा म गर्व गर्छु
कतै कठोर त कतै पग्लिएको छु ।

देखिएको मुस्कानभित्र नदेखिने राज हुनसक्छ
अदृश्य अनगिन्ती पीडाहरु मुटु माझ हुनसक्छ
जान्नेलाई बलियो हतियार यहि नजर त रहेछ
फलस्वरुप शिरमा सुन्दरीको ताज हुन सक्छ ।

कल्पनामै कसैसँग खुसी हुनुको मज्जै बेग्लै छ
शरीरको के कुरा यादमा डुब्नुको मज्जै बेग्लै छ
तिमी दुरीले पो कोशौँ पर छौ त प्रिय मान्छे म बाट
बन्द नयनमा पनि मुटुमै आई छुनुको मज्जै बेग्लै छ ।

मैले फेर्ने सास उतै छोडेर आएको छु
मेरा दुबै नयन उतै छोडेर आएको छु
खै कसरी बाँचेको छु बिना तागत म
मेरो मुटु नै मैले उतै छोडेर आएको छु ।

तिमीले र मैले देखेको सपना पुरा होस्
थोरै अहिलेका धेरै पहिलेका कुरा होस्
सुनको महल चाहिएको हुँदै होइन प्रिय
मात्र तिम्रो नामको सिन्दुर र चुरा होस ।


ज्ञान्दरी कैनी
[email protected]