• २०८१ श्रावाण ११ शुक्रबार

नारी

सरोज खडका

सरोज खडका

हामी भन्छौँ
नारी देवी हुन्,
नारी भगवती हुन्, नारी आमा हुन् !
तर पुरूषको हैकमवादी समाजमा
नारी चुलोचौको
पानी पधेरोभन्दा बाहिर छैनन् !
के यही हो नारी पुरूष समानता ??

हामी भन्छौँ
नारी श्रीमती हुन्,
नारी छोरी हुन्,
नारी दिदी बहिनी हुन् !
तर हाम्रो समाजमा
दैनिक नारी अपमानित भैरहेकी हुन्छिन् !
अनि खिल्ली उडाउनेको भीड लाग्छ !
के यही हो नारीप्रतिको सम्मान ?

हामी भन्छौँ,
नारीलाई इज्जत गर !
नारीलाई सम्मान गर !
नारीलाई पूजा गर !
नारी धन हुन्
नारी मन हुन्
तर नारी माथि
गिद्दे नजर लगाउनेको जमात
भयङ्कर छ
अनि कसरी होला नारी- पुरुष समानता ??

हामी भन्छौँ
आहा ! हामी कति मीठो कुरा गर्न जानेका छौ !
नारी विना सृष्टि असम्भव छ
नारी धर्तीमाता हुन्
नारी विद्याकी खानी हुन्
यति मीठो कुरा गर्ने हामी
नारीलाई शोषण गरिरहेका हुन्छौँ
के यही हो नारी- पुरुष समानता !

भन्छौँ  हामी सभा- सम्मेलनमा
नारी पहिलो पाठाशाला हो
वाह रे वाह !
कति मीठो कुरा गर्न जानेका छौँ हामीले १
अनि भन्छौँ
नारी गुरूको पनि गुरू हुन्
त्यसैले नारीलाई सम्मान गर !
भन्छौँ, नारी इज्जत हुन्, श्रद्धा हुन् !
तर जब एउटी नारी बलात्कृत हुन्छे
अनि हामीले मिलोमतो गर्न पञ्च बोलाउँछौँ  यही हो न्याय ?
यहि हो समानता ??


(हाल संयुक्त अरब इमिरेट्स्मा कार्यरत खडका चर्चित साहित्यकार हुन् ।)
[email protected]