• २०८१ श्रावाण ११ शुक्रबार

तिमी आउनू र आइरहनू

रञ्जना निरौला

रञ्जना निरौला

बन्धनका अग्लाअग्ला पर्खालभित्र
निशेधित छन् मेरा रहरलाई स्वतन्त्रता
बानी परेको छ मलाई त कुँजिने
तर ! तर ‘म’ हुनुको रहरले
जिद्दी गर्छ मेरो स्वको पहिचान
आँसु, पीडा, बन्धन र सीमाको परिधिभित्र !

ए साहस !
स्वीकारेर चुनौती
तिमी घाम बनेर आउनू
सुकाउनू मेरा आँसुहरूको चिसो
जून बनेर आउनू
चिस्याउनू मेरा पीडाहरूको तातो
सुवास बगेर आउनू र
नाघिरहनू पर्खालका उचाइहरू
प्रकाश बनेर आउनू र डोर्याउनु मलाई अघिअघि
बनाउँदै मलाई दृढ

आउनू तर पक्का आउनू
तिमीलाई गलाउन दिन आउनेछन्
तिमीलाई डराउन रात आउनेछन्
संस्कार र विकृतिका आँधीहुरी आउनेछन्
तर तिमी नडराउनू र आइरहनू
स्वीकारेर चुनौतीहरू भरिरहनू ममा उत्साह

हिँडेरै यो धारिलो बाटो
भर्न सक्नेछु असमानताका खाडलहरू
सहेरै यी विभेदका पीडा
दिनसक्नेछु दुखाइलाई चुनौती
आँधिहुरीले खारिएर नै बन्नसक्ने छु सक्षम
र भन्नसक्छु ‘म’ र ‘मेरो’

साहस !
आइरहनू, भरिइरहनू
तिमी आएर नै
चुनौतीले घुमाएका चक्कामा
ढालेर विवेक र सक्षमताका नवीन साँचाहरू
खोल्नु छ खिया लागेका पुराना ताल्चा
र मेटाउनुछ विभेदका परिभाषाहरू

तिमी आउनू र आइरहनू
बनाउन सक्षम
पार्न सकौँ  विभेदबाट धर्तीलाई स्वतन्त्र
हाँस्न सकौँ  आफ्नै ओठमा वसन्त
फूँलाउन सकौँ अस्तित्वको गर्व
विश्वको क्यानभासमा पोतेर समानताको चित्र
दिन सकौँ युगलाई एक अञ्जुली उज्यालो उपहार !

तिमी आऊनू र आइरहनू
यी असमान गोलाद्र्धहरूमा
आधा आकाशको विभाजनमा
‘म’ नहुनुका परिचयहरूमा
एक झुल्को बिहान बनेर
एक पुल्ठो राँको बलेर
बलिरहून् अखण्डअखण्ड
युगीन अन्धकारलाई झकझकाउने
विद्रोहको मसाल बनेर
साहस ! तिमी आउनू र आइरहनू
चाहे त्यो क्रान्ति नै किन नहोस्
किन नहोस विद्रोह !


(निरौला चर्चित साहित्यकार हुन् ।)
[email protected]