• २०८१ मंसिर २८ शुक्रबार

स्वर्गबाट प्रेयसीलाई पत्र

निर्मला प्रसाई सापकोटा

निर्मला प्रसाई सापकोटा

प्रेयसी,
मैले युद्ध हारेँ
हाम्रो भविष्यका सुन्दर सपनाहरू बोकेर
म विदेश होमिएको थिएँ
अकस्मात् म युद्धमैदानमा उत्रनु पर्यो

दुश्मन सिधै आइलाग्यो
म निरस्त्र थिएँ
निरस्त्र छु भन्दै प्रतिकार गरेँ
उसले मानेन, मान्दै मानेन
म हतियारविना नै लड्न बाध्य भएँ
भए भरको बल लगाएर लडेँ, लडिरहेँ
बुद्धि र विवेकले लडेँ
मेरो उमेरले लडेँ
भए भरको इम्युनिटीले लडेँ
अहँ सक्दै सकिनँ ।

मैले हारेँ प्रेयसी
मैले हारेँ
मेरो अन्तिम समयमा तिमीलाई देख्न पनि पाइनँ
मेरो अन्तिम समयमा तिमीसँग बोल्न पनि पाइनँ
मेरो त्यो सपनाको संसारमा
त्यो युद्धको कल्पनै गरेको थिइनँ
तिमीलाई घरमा भित्र्याएर
हाम्रो सुनौलो भविष्यको सपना खोज्न हिँडेको म
रातदिन नभनी काम गरेँ
नखाइनखाई बचाएँ
तिमीलाई ल्याउन पुग्ने पैसा जम्मा गरिसकेको थिएँ ।

अकस्मात् आइलागेको शत्रुसँग जुधिरहेँ
कोरोनासँग लडिरहेँ
लडाइँमा नै व्यस्त भएकाले
कुनै खबर गर्न सकिनँ तिमीलाई
म त हारेर स्वर्गलोक पुगेँ प्रेयसी

एउटै कुराको पछुतो छ मलाई
मेरो मेहनतको कमाई
न त मलाई भयो, न त तिमीलाई
तिमीलाई ल्याएर आनन्दसँग बस्ने मेरो सपना
अधुरो नै रह्यो प्रेयसी ।

आशा छ,
त्यो दुश्मनले तिमीलाई देख्ने छैन
तिमीविनाको स्वर्ग त
केही रमाइलो छैन प्रेयसी
तिमी आफ्नो जीवन पूरा जिएर आऊ है
म तिमीलाई यहीँ पर्खिरहनेछु ।

उही तिम्रो प्रिय
स्वर्गलोकबाट ।


(प्रसाई चर्चित साहित्यकार हुन् ।)
[email protected]