• २०८१ भाद्र २५ मङ्गलबार

आखिर को हो त्यो ?

डा. मुकुन्द पथिक

डा. मुकुन्द पथिक

नाङ्गो आँखाले हेर्दा
उसको रूप केही देखिँदैन
गर्नु नगर्नु तहल्का मच्चाउँछ
समथर ठाउँ, पहाड, हिमाल र समुद्रसम्म
अनि आकाशलाई पनि प्रदूषित र अपवित्र बनाउँछ
रातबिरातको त के कुरा भयो र
दिनदहाडै छट्टाउनसम्म छट्टाउँछ
कानुन मेरै हातमा छ भनेर
उस् मज्जाले भन्न पनि भ्याउँछ
आखिर को हो त्यो ?

कोलाहल सुनिन्छ जताततै
उस् अनेक रूप लिएर
कहिले उता कहिले यता
बुर्कुसी मारेर दगुर्छ
उसलाई पखेटा हालेर
मज्जासँग उड्न पनि मन पर्छ
ऊ कहिले पहिरो भएर बस्तीमा पस्छ
कहिले बाढी भएर खेतबारी बगाउँछ
धेरै परिवारको बिचल्ली बनाउँछ
ऊ असङ्ख्य मानिसहरूलाई धरधरी रूवाउँछ
र पीडितका आँसुले स्नान गर्न मनपराउँछ
कस्तो निष्ठुरे मन !

ऊ कहिले भाइरस भएर
मानव समुदायलाई
सताउन सम्म सताउँछ
बन्दुकको गोलीभन्दा
सहन नै नसकिने गरेर
लाखौँको मुटुभित्र बस्छ
र मुसुमुसु हाँस्छ
अरूको र्वाबासीमा ऊ
अट्टाहास गरेर रमाउँछ .

ऊ हरियोलाई रातो देख्छ
सेतोलाई कालो भन्छ
हुँदैनभएको कुरालाई
न्वारनदेखिको बल झिकेर
दिनदिनै गुनगान गाएर थाक्दैन
जल, थल र नभमा
कहाँ जन्मियो कुन्नि
उसलाई के सम्बोधन गरेर बोलाऊँ ?

ऊ मानवजातिको
रातको निद्रा खोस्छ
दिनको भोकलाई चपाउनसम्म चपाउँछ
त्यसैले ऊ
अरूले सधैँ अनिदो भएर
दुःख, कष्ट र डरलाग्दो रोगको पीडामा
भोकभोकै जीवन बिताएको हेर्न चाहन्छ
आखिर को हो त्यो ?

ऊ अरूको परिश्रममा रजाइँ गर्छ
र खलखली बगेको पसिनामा पौडी खेल्छ
निथ्रुक्क भएर भिजेका परेलीहरूले
शोक मनाइरहँदा
ऊ बाजा बजाएर नाच्न थाल्छ ।

ऊ आफूलाई सर्वगुण सम्पन्न देख्छ
र मैले नजानेका कुरा केही पनि छैनन् भन्दै
घमण्डको पगरी लगाएको अभिनय गर्छ
तर नाटकको पर्दा लाजमान्दै
परिवेशलाई छोप्न आतुर हुन्छ ।

उसलाई बलात्कारको घटना
देख्न र सुन्न चौपट्टै मन पर्छ
र त ऊ पीडितलाई तिरस्कार गर्छ
अनि पीडककै पक्षमा वकालत गर्छ
यो न्याय हराएको ठाउँमा
उसैलाई पुरस्कृत गर्छ ।

ऊ कसैको पनि
हाँसो र खुसी पटक्कै देख्न चाहँदैन
काठको बाकस जब
जहाज चढेर यात्रा गर्छन्
तब ऊ आफ्नो सफलता देख्छ
अरूलाई ऋणमा चुर्लुम्म डुबाएर
आफू भोजभतेरमा रमाउँछ ।

ऊ कहिले शक्तिशाली भूकम्प भएर आउँछ
भएभरका संरचनाहरूलाई भताभुङ्ग पार्छ
असङ्ख्य मानवजाति र धनसम्पत्तिको विनाश गर्छ
भग्नावशेषमा पुरिएर थिचिएका
थुप्रै मानिस र जनावरको चित्कार सुनेर
ऊ सफलताको अनुभूति गर्छ ।

कलिला भाइबहिनी
किशोरकिशोरी
युवकयुवती
कर्मयोद्धा र
जेष्ठनागरिकका
भविष्यको आशाको डोरीमा
चहचहै पिङ खेलेर
चुँडाल्नसम्म चुँडाल्छ र
जताततै छरपस्ट पार्दै
ऊ फनफनी नाच्न अभ्यस्त छ ।

बूढीआमाले आफ्नो
कल्पना र सपनालाई दिनभर नाङ्लोमा निफनेर
मनभित्र राम्रोसँग चिटिक्क पारेर सजाएको देख्न सक्दैन
र त ऊ
बूढीआमाको मनमा सजाएका कल्पना र सपनालाई
धुजाधुजा पारेर च्यात्छ र
निर्दयीपूर्वक रछ्यानमा मिल्काउँछ ।

ऊ कतै हिमाल र पहाडमा
ज्वालामुखीको आगोको मुस्लो भएर निस्कन्छ
अधिकारको घाँटी निमोठ्नसम्म निमोठ्छ
जङ्गल र बस्तीहरूमा डढेलो लगाउँछ
मानवसमुदाय, जनावर र चराचुरुङ्गीहरूलाई
तहसनहस बनाउँछ र
यस संसारबाट सहिद बनाएर बिदा गर्छ
आफूलाई नोबेल शान्ति पुरस्कारको
दाबेदार हुँ म भन्छ
आखिर को हो त्यो ?


(डा. पथिक चर्चित साहित्यकार हुन् ।)
[email protected]