• २०८० जेठ २७ शनिवार

साहित्यमा लागेर राम्रै गरेछु

पवन आलोक

पवन आलोक

‘तिमी देवकोटा बन्न सक्दैनौ, लेखनाथ बन्न सक्दैनौ, न त सम बन्न सक्छौ । अनि केको साहित्य साहित्य भनेर समय खेर फाल्छौ ?’
मलाई मेरा केही तथाकथित मित्र र आफन्तहरूले विगतमा भन्ने गरेका शब्द हुन् यी । आ-आफ्नै पाराले भन्ने गरेका भए पनि भन्न चाहेको कुराको निचोड त्यही थियो । त्यसो भन्नुमा सही सल्लाहभन्दा पनि किञ्चित ईष्र्याभाव स्पष्ट झल्किन्थ्यो र साहित्यप्रतिको मेरो झुकाव र अभिरुचिलाई निरूत्साहित गर्न चाहन्थे सायद ।
म साहित्यतर्फ कसरी आकर्षित भएँ त्यसको एउटा छुट्टै कथा छ । म मेरा प्रिय पाठकहरूलाई त्यस्तो पृष्ठभूमितिर लैजान चाहन्छु ।
म भोजपुर जिल्लाको कुलुङमा जन्मिएँ, त्यहीँ हुर्किएँ, त्यहीँ पढेँ, बाल्यकाल त्यहीँ बित्यो मेरो । सङ्खुवा र अरुण नदीको किनारमा रहेको अत्यन्त उब्जाउ समतल भूमि कुलुङको बुमलिङटारमा एउटा प्राइमरी स्कुल थियो- सरस्वती प्राइमरी स्कुल । त्यहीँ मैले प्राथमिक शिक्षा लिएँ । अहिले त्यो निम्न माध्यमिक विद्यालय भएको छ । पारिपट्टि हेलुवा बेँसी, सङ्खुवा उत्तर सल्लेरी गाउँ, ताम्कु, माङ्तेवा वरिपरि सुन्दर वनजङ्गल । हेलुवातिरबाट झर्ने छाँगा झरनाहरू । हिमालको हिउँ पग्लेर आएकोले होला सङ्खुवाको पानी अत्यन्त चिसो । गर्मीयाममा हामी बच्चाहरू सङ्खुवामा गएर पौडी खेल्ने नित्यकार्य नै थियो । स्कुल छुट्टी भयो कि पौडी खेल्न पुगिहाल्ने । दुवाली थाप्ने, माछा मार्ने पनि गरियो । हाम्रो घरमा एउटा सेतो अग्लो घोडा थियो । त्यसैमा चढेर म घोडालाई पानी खुवाउन अरुण सङ्खुवातिर जानेगर्थें । घरमा एउटा बाकसजत्रै रेडियो थियो, त्यसबाट आउने गीतहरू सुन्न खुब रमाइलो लाग्थ्यो । तर बुबाले धेरै सुन्नै नदिने । गाउँमा खानेपानीको धारा कुवा केही थिएन, सङ्खुवा र अरुणकै पानी पिइन्थ्यो । आइपा भन्ने खेत थियो हाम्रो । गाउँबाट अलि पर । अत्यन्त उब्जाउ । माना मुरी फल्ने ठाउँ भन्थे सबैले । बुमलिङटारको सरस्वती प्राइमरी स्कुलमा अन्य शिक्षकहरूका अतिरिक्त स्व.प्राडा. नरेन्द्र चापागाईंले पनि हामीलाई पढाउनुभयो । गाउँमा शिक्षक नपाइने, उहाँलाई दिङ्लाबाट शिक्षकका लागि धेरै अनुरोध गरेर हाम्रो गाउँमा ल्याइएको थियो ।
कक्षा १ बाट एकैचोटि तीनमा र तीनबाट पनि फस्र्ट भएर पाँचमा पढेँ मैले । दुई र चार पढ्नु नै परेन । पाँच कक्षा पास गरेपछि हाइस्कुल पढ्न जानलाई झन्डै डेढ घन्टाको उकालो हिँड्नुपथ्र्यो । हाम्रो गाउँबाट हामी दुई- चारजना विद्यार्थी नियमितरूपमा कुलुङ घलेगाउँ नजिकै रहेको वीरेन्द्र हाइस्कुल पुग्ने गथ्र्यौं । कतिपटक त बीचबाटोमै बाघचाल खेलेर दिन बिताएर साँझ घर फर्कने पनि गरिन्थ्यो उकालो चढ्नका अल्छीले । घरमा बाबुआमालाई थाहा नहुने । पछिपछि त्यो कुरा घरमा थाहा पाएर निकै गाली पनि खाइयो । स्कुलमा पुग्दा डेढ घन्टा उकालो हिँड्दाको थकाइले लखतरान भइने । अहिलेको जस्तो किताबकपी पनि सजिलै नपाइने । स्कुलका सरहरूले पढाएकै भरमा जाँच दिनुपथ्र्यो । मैले हाइस्कुल पढ्दा केही वर्ष वरिष्ठ आख्यानकार परशु प्रधान सर हाम्रो हेडमास्टर भएर आउनुभयो । उहाँले हरेक शुक्रबार स्कुलमा कविगोष्ठी गराउनुहुन्थ्यो । कवितागोष्ठीमा म प्रायः प्रथम नै हुन्थेँ । पछि एउटा हस्तलिखित पत्रिका निकाल्न परशु सरले उत्प्रेरित गर्नुभयो । म र अर्को साथी दिनेश बस्नेत भएर त्यो हस्तलिखित पत्रिका निकालेर स्कुलको भित्तामा टाँस्थ्यौँ । कक्षा ६ र ७ मा म औसत विद्यार्थीकै रूपमा थिएँ । पछि ८, ९ र १० कक्षातिर पुगेपछि म राम्रै विद्यार्थीको रूपमा गनिन थालेँ । मेरो अङ्ग्रेजी राम्रै थियो भन्नुहुन्थ्यो सरहरूले । वार्षिक परीक्षापछि मेरो अङ्ग्रेजी उत्तरकपी विभिन्न क्लासहरूमा लगेर पवनले जस्तो लेख्नुपर्छ भनेर अरू विद्यार्थीहरूलाई देखाउने गरेको मलाई अहिले पनि सम्झना छ ।
हिउँदमा हाम्रो खेत भएको आइपामा दुई- तीन महिना बस्ने गरिन्थ्यो । त्यहाँबाट मलाई हाइस्कुल जान नजिक पनि पथ्र्यो । आइपा अलि उँचो ठाउँमा भएकाले त्यहाँबाट जुनेली रातमा अरुण नदीमा जूनको टलक परेको वेला अत्यन्त सुन्दर र मनमोहक लाग्थ्यो । वारिपारि वनजङ्गल, सुन्दर वनपाखा, जताततैको हरियालीले मेरो कोमल मनमा प्रभाव पाथ्र्यो नै । सानैदेखि म अलि भावुक नै थिएँ । त्यही वेला मैले एउटा कविता लेखेको थिएँ अङ्ग्रेजीमा The Moon शीर्षकको । मेरो होमवर्क कपी जाँच्ने क्रममा परशु सरले त्यो कविता देख्नुभएछ अनि यस केटोमा प्रतिभा छ भन्ने लागेछ क्यारे, मलाई साहित्यमा लाग्न प्रेरित गर्नुभयो । त्यसपछि म बिस्तारै साहित्यमा लागेँ ।
पाठ्यपुस्तकमा भएका अङ्ग्रेजी, नेपाली सबै साहित्यिक रचनाहरू बडो अभिरुचिपूर्वक पढ्थेँ । त्यो वेलामा बाह्र- तेह्र वर्षको थिएँ । स्कुलको शुक्रबारे गोष्ठीमा भाग लिने, हस्तलिखित पत्रिका निकाल्ने क्रम पनि चलि नै रह्यो । परशु सरले केही साहित्यिक पत्रिकाहरू पनि पढ्न दिनुहुन्थ्यो । म अब बिस्तारै कविताहरू लेख्ने र सरलाई देखाउने गर्नथालेँ । एक- दुईवटा त छाप्नका लागि हुलाकबाट काठमाडौँमा साहित्यिक पत्रिकाहरूमा पनि पठाएँ । ती छापिए छापिएनन् मलाई थाहा भएन । एसएलसीपछि कलेज पढ्न २०२७ सालमा काठमाडौँ आएर बिस्तारै साहित्यिक गतिविधिहरूमा सक्रिय हुनथालेँ । अनि ‘बेलपत्र’ नामको साहित्यिक पत्रिकामा मेरो कविता ‘प्रेमः एक अभिव्यक्ति’ २०२७ सालमा छापियो । मेरो जानकारीमा यही नै मेरो प्रथम प्रकाशित रचना हो । पहिले हुलाकबाट पठाएका कवितामध्ये कुनै छापिएका थिए भने मलाई थाहा भएन । गाउँबाट भर्खर काठमाडौँ टेकेको मान्छे, खोजी गर्न सम्भव पनि भएन ।
२०२७ सालपछि म निरन्तर लेख्ने र साहित्यिक गोष्ठीहरूमा भाग लिने गर्नथालेँ । देशका थुप्रै आदरणीय साहित्यकारहरूलाई भेट्ने, चिन्ने अवसर पाएँ- पारिजात, हरिभक्त कटुवाल, शैलेन्द्र साकार, हरि अधिकारी, धुव्र सापकोटा, डा. धु्वचन्द्र गौतम, केदारमान व्यथित, बालकृष्ण सम, माधव घिमिरे, नगेन्दराज शर्मा, विनोद दीक्षित, मोहन कोइराला, नीरविक्रम प्यासी, कृष्णचन्द्रसिंह प्रधान, सूर्यविक्रम ज्ञवाली, पोषण पाण्डे, भैरव अर्याल, नगेन्द्र थापा, रत्नध्वज जोशी, पोषण पाण्डे, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठ, लैनसिंह वाङ्देल, दौलतविक्रम विष्ट, तुलसी दिवस आदिआदि । यसबाट मलाई साहित्यमा लाग्न थप ऊर्जा प्राप्त भएको थियो । परशु सर पनि काठमाडौँ आइसक्नुभएको थियो । उहाँले काठमाडौँमा मलाई निरन्तर अभिभावकत्व प्रदान गर्नुभएको थियो ।
मेरा थुप्रै रचनाहरू पत्र- पत्रिकाहरूमा निरन्तर छापिन थालेका थिए । युवक जोश न हो, सकभर धेरैभन्दा धेरै कविगोष्ठीहरूमा भाग लिनेगर्थें । त्यसवेला अहिलेजस्तो पनि धेरै गोष्ठी पनि हुँदैनथे । यहाँनेर एउटा कुरा भने स्पष्ट पार्न मन लाग्यो- मैले एकेडेमीको राष्ट्रिय कविता महोत्सवमा कविता वाचन धेरैपटक गरे पनि प्रतियोगीको रूपमा कहिल्यै पनि भाग लिएको छैन । २०३४- ०३५ सालतिर रेडियो नेपालमा ‘लेखरचना सम्पादक’ को रूपमा काम गर्ने अवसर पाएँ । रेडियो नेपालबाट पहिले पनि मेरा कविता र गीतिकथाहरू समय- समयमा प्रसारण हुनेगर्थे । दाहाल यज्ञनिधि दाहालजी र मैले एकै दिन रेडियो नेपालमा प्रवेश गरेका थियौँ । म लेखरचना सम्पादकको रूपमा, यज्ञनिधिजी साहित्यिक कार्यक्रम सञ्चालकको रूपमा ।
मेरो साहित्यिक धरातल झन्झन् विस्तारित भइरहेको थियो । मेरा रचनाहरू गोरखापत्र, मधुपर्क, रूपरेखा, विदेह, बान्की, माधुर्यजस्ता देशका प्रमुख पत्र-पत्रिकाहरूमा मात्र होइन, भारतबाट प्रकाशित केही नेपाली पत्रिकाहरूमा पनि छापिन थाले । यसरी म साहित्यको फाँटमा सक्रिय हुँदैगएँ । सुरुमा कविता विधाबाट लेख्न थाले पनि पछि गएर कथा, निबन्ध, उपन्यास, नियात्रा पनि लेखिरहेको छु । नेपाल स्रष्टा समाजको संस्थापक महासचिव भएर काम गरेँ । पछि छ वर्षसम्म अध्यक्ष भएर पनि साहित्यको सेवा गरेँ । अहिले म उक्त समाजको संरक्षक छु । थुप्रै साहित्यिक संस्थाहरूमा आबद्ध पनि छु । पाँच दशकभन्दा बढी समयदेखि साहित्यमा क्रियाशील छु । वास्तवमा मलाई के लाग्छ भने साहित्य एउटा साधना हो, तपस्या हो । यस क्षेत्रमा लागेर धेरै मित्रहरूसँग सङ्गत गर्ने अवसर प्राप्त भएको छ । देश- विदेशको साहित्यिक भ्रमणका साथै त्यहाँका साहित्यकारहरूसँग भेट्ने, अन्तरक्रिया गर्ने अवसर पाएको छु । त्यो कम हो र ? केही पाइन्छ भनेर म साहित्यमा लागेको पनि होइन । हालसम्म कविता, नियात्रा, निबन्ध र यात्रा- उपन्यास गरी छवटा कृतिहरू प्रकाशित छन् र दुईवटा नियात्रा- सङ्ग्रह छिट्टै प्रकाशित हुने क्रममा छन् । प्रतिनिधि नेपाली कविताहरूको अङ्ग्रेजी र बाङ्ला भाषामा अनुवाद गराई बाङ्लादेशबाट प्रकाशित गरिएका दुईवटा पुस्तकहरू अङ्ग्रेजीमा The Anthology  of Nepali Verses र वाङ्ला भाषामा ‘समकालीन नेपाली कविता’ हरूको सम्पादन (अर्का सम्पादक हरि अधिकारी) र अन्य दुईवटा कृतिको समेत गरी चारवटा कृतिको सम्पादन पनि गरेको छु । डेढ दर्जनभन्दा बढी साहित्यिक पुरस्कार, सम्मानहरू प्राप्त गरेको छु । यसका अतिरिक्त नेपालकी विशिष्ट नारी योगमायाको सम्मानमा मेरो आफ्नै निजी कोषबाट दुई लाख रुपियाँको अक्षयकोष खडा गरी ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ को स्थापना गरी विगत १२ वर्षदेखि नेपाली नारीस्रष्टाहरूलाई सम्मान गर्ने गरिएको छ । हाल वरिष्ठ साहित्यकार श्री रमा शर्माज्यूले पनि एक लाख रुपियाँ अक्षयकोषमा थप गरी सम्मान राशि रु. २५, १११ पुर्याइएको छ । साहित्यकारहरूलाई अप्ठेरो परेको समयमा यथाशक्य आर्थिक सहयोग पनि गरेको छु । सामाजिक क्षेत्रमा पनि सक्दो योगदान पुर्याउँदैआएको छु ।
साहित्यमा लागेकैले यो अवकाश प्राप्त जीवनमा पनि रमाइरहेकै छु । अझ यो कोरोना महामारीको प्रतिकूल समयमा पनि जुमिनारमा सहभागी हुने, साहित्यिक कृतिहरू अध्ययन गर्ने, लेख्ने आदि कामले समय बितेको पत्तै हुँदैन । त्यसैले पनि साहित्यमा लागेर मैले राम्रै गरेछु भन्ने लागेको छ । साहित्यको यो विराट फाँटमा लागेर नेपाली साहित्यलाई जे जति योगदान पुर्याउन सकिन्छ, पुर्याउने उद्देश्यले लागिपरेको छु र जीवनभर लागि नै रहनेछु ।


(आलोक स्थापित साहित्यकार हुन् ।)
[email protected]