समाचार

किन यसरी म भनेर हुरुक्क भएकी हौ तिमी ?
कतिञ्जेलसम्म
कहाँसम्म
औँला समाएर उठाइरहन्छ्यौ मलाई ?
आफ्नै पिरोले चाम्रिएको मरिचजस्तै
म त आफ्नै वेदनाले थिचिएर
खुम्चिएकी मान्छे
तिमीले हात दियौ
कहाँ हो कहाँ पुगेझैँ भएँ
अहो !
मेरा अक्षरयात्राको सहयात्री हुनकै लागि भनेर
किन यसरी हामफालेकी हँ ?
‘भो फर्किन्छु मेरै बाटो
छोड मेरो हात’
भन्न पनि सक्दिनँ
केवल सोचिरहन्छु
यो जर्जर भैसकेको तन
कहिलेसम्म टाल्न सक्छ्यौ होला ?
यो विक्षिप्त उडिरहने मन
कतिन्जेल पो सम्हाल्न सकौली र ?
हेर न,
मावल हिँडेकी आमाको पछि लागेर
रुँदै दगुरेको बालकजस्ता मेरा शब्दहरू
तिम्रो मायाको न्यानो आँचलमा
गुटुमुटु परेका छन्
औँसीको रातमा
बाटो बिराएको यात्री जस्ती थिएँ
टुकी लिएर आयौ
र विस्मृतिमा गैसकेको
मेरो गन्तव्य देखायौ
डरले थरर जिउ काम्छ
मुटु चिसो हुन्छ
लरखराएका मेरा पाइलाहरूले
यसरी तिम्रै भर पर्न थाले भने
टुसाएर थन्किएका मेरा शब्दहरूले
तिम्रै पखेटामा उड्न खोजे भने
कतै सहारा खोज्दाखोज्दै
गन्तव्य नै बिर्सिने पो हुन् कि ?
(रेग्मी चर्चित कवि हुन् ।)
[email protected]