१. उज्यालो: अँध्यारो
कुनै समय
उज्यालो थियो
मैले जे गर्थें
छायाँले त्यही गथ्र्यो
अहिले अँध्यारो छ
छायाँहरू जे आदेश दिन्छन्
म त्यही गर्छु
उज्यालोमा
छायाँ मसँग डराउँथ्यो
अँध्यारोमा
म छायाँसँग डराउँछु ।
२. आगो
जाडोमा आगो बाल्न
कुनै नयाँ कुरा गर्नैपर्दैन
आगो बाल्नका लागि धेरै छन्
नबालिनहुने कुराहरू
हाम्रै आँगनमा
कति छ कति
चीजबीजहरू
पात- पतिङ्गरहरू
फोहर कसिङ्गरहरू
पुराना खबरपत्रिकाहरू
कुहिएका काठपातहरू
मात्र छुट्याउनुपर्छ
बाल्नपर्ने सरसामानहरू
निर्मम भएर सल्काइदिनुपर्छ
आगो बाल्नलाई
भर्खर बन्न लागेको घरको दलिन
ताक्नुपर्दैन
आगो बाल्नलाई सम्बन्धहरू
सल्काउनुपर्दैन ।
३. प्रजातन्त्रको हत्या
चुनाव खर्च दिएको छ
घरपार्टी चलाएको छ
निरन्तर पालेको छ
अनि
कसरी भन्न सकिन्छ
उसले गुण्डागर्दी गरेको छ
मान्छे मारेको छ
लुटेको छ
हप्ता उठाएर
दुःख दिएको छ
म भन्छु
लाज नमानीकन भन्छु
इन्काउन्टर गर्ने पुलिसले
अन्याय गरेको छ
एक सच्चा प्रजातन्त्रको रक्षकको
हत्या गरेको छ ।
(सायमि स्थापित कवि हुन्)
[email protected]