• २०८३ श्रावण २९, शुक्रबार

डा. दीप्तीको ‘नीर भरी तप्त नदी’ कविता संग्रह प्रकाशित

काठमाडौं, साउन ११ ।

नेपालीय हिन्दी साहित्यकी प्रमुख नाम डा. श्वेता दीप्ती कृत ‘नीर भरी तप्त नदी’ कविता संग्रह लोकार्पण भएको छ ।
काठमाडौंमा आयोजित एक समारोह बीच मुख्य अतिथि भारतीय दूतावासकी काउन्सलर पोलिटिकल गीताञ्जली ब्रैंडन, विशेष अतिथि डीएभी, सुशिल केडिया विश्व भारती स्कूलका चैयरमैन अनिल केडिया, कार्यक्रमका अध्यक्ष हिमालिनीका निर्देशक सच्चिदानंद मिश्र तथा वरिष्ठ साहित्यकार डा. राम दयाल राकेशले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्षको आसनबाट बोल्नुहुँदै हिमालिनीका निर्देशक सच्चिदानन्द मिश्रले भन्नुभयो, डा. कृष्णचन्द्र मिश्र पब्लिकेशनद्वारा ‘नीर भरी तप्त नदी’ कविता संग्रह प्रकाशन गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं । कवि दीप्तीले हिन्दी भाषा र साहित्यमा पुर्याउनु भएको योगदान महत्वपूर्ण छ ।’
उहाँले हिन्दी सम्वर्धन सम्मान २०२६ अर्पण गर्न पाउँदा हिमलिनी परिवार गौरवान्तिव महसुस गरेको समेत बताउनुभयो । काठमाडौंबाट प्रकाशित हिमालिनी हिन्दी पत्रिकाले हिन्दी भाषामा पठान–पाठन हुने विद्यालयका उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई प्रत्येक वर्ष हिन्दी सम्वर्धन सम्मान प्रदान गर्दै आएको छ । जस अन्तर्गत यस वर्षपनि थुप्रै विद्यार्थीले सो सम्मान प्राप्त गरे ।

कार्यक्रमको मुख्य अतिथि भारतीय दूतावासकी काउन्सलर पोलिटिकल गीताञ्जली ब्रैंडनले भन्नुभयो, ‘कवि दीप्तीका कविताहरू मैले पढेँ र म उहाँको कवित्वबाट निकै प्रभावित भएकी छु । संग्रहका कवितहरू उत्कृष्ट छन् । उहाँका कविताहरूले मानवीय चेतनालाई मनग्गे ठेल्नेगर्छन् ।’ कार्यक्रमका विशेष अतिथिका आसनबाट बोल्नुहुँदै डीएभी स्कूलका चेयरमैन अनिल केडियाले भन्नुभयो, ‘नेपालमा हिन्दी साहित्यको श्रीवृद्धि गर्नमा उक्त संग्रहको ठूलो योगदान हुनेछ । कविताहरू आत्मीक भावना र संवेदनाले भरिएका छन् । कोमल तर कठोर संवाद गरिरहेका कविताहरू प्रत्येक मनको स्थायी भावजस्तै प्रस्तुत भएकाछन् । यो नै कविको सफलता हो, जसका लागि म कवि दीप्तीलाई बधाई दिन चाहन्छु ।’

पुस्तकको समीक्षा गर्दै केन्द्रीय विद्यालयका शिक्षक श्री अनुप चौधरीले भन्नुभयो, “पुस्तकको शीर्षक नै आफैंमा गहिरो विरोधाभास छ । जहाँ ‘नीर’ शीतलता र संवेदनाको प्रतीक हो भने त्यही तप्त शब्द जीवनको संघर्ष, वेदना र चेतनाको तापलाई दर्शाउँछ । कविले नीरलाई मात्र जलको शीतलताको प्रतीक को रुपमा प्रयोग गर्नुभएको छैन । अपितु कवितामा पीड़ा, व्याकुलता र आन्तरिक तापलाई दर्शाइएको छ । संग्रहमा अनेक भावका कविता संग्रहित छन् ।

कार्यक्रको विशेष अतिथिको आसनबाट बोलनुहुँदै साहित्यकार तथा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले भन्नुभयो, ‘कवि दीप्तीका कविताहरू भाव र संवेदनाले भरिपूर्ण छन् । उहाँले मानव मनको अनेक भावलाई सहजतासाथ यसरी प्रस्तुत गर्नुहुन्छ मानौँ ती तपाईंका र हाम्रा मनका भाव होउन् । उहाँका कविताहरू सरल तर गहिरो अर्थ बोकेको छ ।’ कार्यक्रममा विशेष अतिथि वरिष्ठ साहित्यकार डा. राम दयाल राकेशले भन्नुभयो, ‘लेखिकाको विद्वताको म सधैं प्रशंसा गर्छु, संग्रकका अधिकांश कविताका केन्द्रय भाव मानवीय संवेदना र मनोदशालाई प्रदर्शित गर्छ ।’ कविता संग्रह कृष्णचन्द्र मिश्र पब्लिकेशनले प्रकाशन गरेको हो ।