• २०८१ माघ २ बुधबार

चुचेढुङगोमाथि आरमानीको जिन्स

सञ्जु बजगाईं

सञ्जु बजगाईं

म यतिखेर सयौँवर्ष बूढो चुचेढुङगोेमाथि पोलोको सेतो टिसर्ट, आरमानीको जिन्स पाइन्ट, टिम्बरल्यान्डको जुत्ता र ह्युगो बोसको परफ्युम लगाई लमतन्न खुट्टा तेस्र्याएर बसेको छु । टाउकामाथि डोल्चे ए गब्बानाको कालो चस्मा अड्याएको छुर हेरिरहेको छु मेरा खुला आँखाहरूले पारिपट्टिको मनोरम दृश्य ।
माथितिर हरिया नागीहरू निर्धक्क छाती खोलेर मस्त निन्द्रामा निदाएका देखिन्छन् । तलतिर बेँसीघाटको सुन्दरीखोलाको पानी मध्यान्नको पारिलो घाम ठ्याक्क ठोक्किएर सुन्तली भएको छ । म आफ्ना आँखामाथि दाहिने हत्केलाको छानो हालेर सुन्तली भएको सुन्दरी खोलोलाई निकैबेर हेर्छु । हेर्दाहेर्दै घामको परावर्तनले वारिपट्टि चुचेढुङगोको छातीमा अडिएका मेरा आँखा तिरमिर हुनपुग्छन् । म आँखा चिम्लन्छु । बन्द आँखाले केही नदेखे पनि पूर्वतिरबाट बहेको मगमगाउँदो शीतल हावाले मेरो शरीरलाई गरेको हल्का स्पर्शले आह्लादित भैरहेको छु ।
‘अहो ! वनफूलको सुगन्घ मेरो नाकैमा छरेर मै भागेझैँ कसैले नदेखीकहाँ भाग्यो त्यो अदृश्य बतास ? !’
म आँखा खोल्छु तर बतासको आकार र उसको गन्तव्य देख्न सक्दिन । बरु चुचेढुङगोे छेउका बाँसका पातहरू फिरफिराएको भने देखिरहेको छु ।
तिनै हल्लिएका बाँसका सिरुपाते पात हेर्दै मनमनै चित्त बुझएर चुचेढुङगोको आयतनलाई वरदेखि परसम्म नियाल्छु । बढेमानको आकार लिएर बाँसघारीछेउ बसेको त्यस ढुङ्गोको आकार र अस्तित्वलाई कसरी परिभाषित गरुँ खै ! आज म अलमलिएको छु ।
चुचेढुङगोे ! उहिल्यै मेरा बाजेहरू केटाकेटी छँदा यही ढुङ्गामाथि हात्तीबारका पात बिछ्याएर सुलुत्ती खेल्थे अरे । बराजुहरूले गाईबस्तु चराउन जाँदा यसै ढुङ्गामाथि बसेर सुसेली हाल्दै गीत गाउँथे अरे । मेरा बाबुखालले पनि बालापनमा यसै ढुङ्गामाथि गुच्चा खेलेका अरे । यो चुचेढुङगोेसँग जोडिएका मेरा बाबु, बाजे र बराजुहरूका रमाइला कथा सुनेर हुर्किएको म कान्छो पुस्ता भने यसढुङ्गोसँग कहिल्यै नजिक हुन सकिनँ ।
म यतिवेला त्यही चुचेढुङगोेको छातीमाथि चुपचाप बसेर आफ्नै पुख्र्यौली अस्तित्वको पुनरावृत्ति गर्न खोजिरहेको छु र दाँजिरहेको छु ढुङ्गा र मान्छेको इमानदारी ।
‘म आफू पुस्तान्तरणको सिलसिलामा ढुङ्गोभन्दा कठोर मन भएको भगौडा भएर बदलिरहँदा बिचरो यो चुचेढुङगोे भनेमेरो पुस्तेनी अस्तित्वको अलिखित दस्ताबेज बोकी उस्तै कालो फिँजारिएको शरीर र बोल्नै लागेझैँ चुचो मुख लिएर वर्षौंदेखि उही इमानदारीसाथ बसेको बस्यै रहेछ । मानौँ, ऊ मेरा पुर्खाले पुस्तेनी इतिहासको साक्षी बस्न अह्राएको हाम्रो वंशकै बार्बरिक हो । एक इमानदार पहरेदार हो ।’
यस्तै सोच्दै चुचेढुङगोेलाई उसकै छातीमाथि बसेर नियालिरहँदा मलाई आफ्नो बेइमानी सम्झेर आफैँसँग लाज लाग्यो । मैले तन्काएका खुट्टा खुम्चाउँदै आफ्नो लाज ऊसँग लुकाएँ र विगतलाई अलिकति स्मरण गरेँ ।
मैले थाहा पाएदेखिनै चुचेढुङगोेले बेइमानी नगरी बाटामा दिनभर हिँड्ने बटुवालाई नियाल्थ्यो । रात परेपछि बाटामाथि र बाटामुनि झर्ने कति कमजोर मन भएकाहरूलाई तर्साउँथ्यो । धेरै केटाकेटीलाई त घाम डुबेपछि आफ्नोछेउ पनि पर्न दिँदैनथ्यो । ती केटाकेटीमध्येको एउटा थिएँ म ।
‘साँझ परेपछि चुचेढुङगोे भित्रको ओढारबाट झाँक्री निस्कन्छ र केटाकेटी भेट्यो भने लिएर जान्छ अनि तन्त्रमन्त्र गरेर लाटो बनाइदिन्छ ।’ एकदिन आमाले मलाई डर देखाउँदै भन्नुभएको थियो ।
आमाले चुचेढुङगोे भित्र झाँक्री बस्छ भनेर सुनाएकै दिनदेखि मैले त्यसढुङ्गाको छेउछाउ एक्लै जाने हिम्मत कहिल्यै गरिनँ । चुचेढुङगो भित्रको झाँक्री-रहस्य सुनेर सानैमा तर्सिएकाले हुर्कंदै जाँदा पनि मलाई त्यो चुचेढुङगोे सँग सधैँ वितृष्णा भैरह्यो । फलतः म चुचेढुङगोेबाट छुटकारा पाउने सोच अन्तर हृदयभित्रबाटै बनाउन थालेँ । मलाई जसरी पनि चुचेढुङगोको भय र त्रासको दासत्वबाट छुटकारा पाउनुथियो ।
‘आखिर त्यो चुचेढुङगोे त केवल मेरो बहाना रहेछ ।’

०००
‘ओए मदने ! जा तल बेँसीखेतको कटेरोमा गहुँका बोरा लडिरहेका छन् तिनको थान्को लगाएर आइज आज !’
भर्खर अठार वर्ष पुग्नलागेको केटो ! मेरा रङ्गीन सपनाहरूको सिलसिला बिथोल्दै शनिबार बिहान-बिहानै बाले कडिकडाउ गरेर बेँसीखेत जान अह्राउँदा मेरा बा मलाई चुचेढुङगोमा बस्ने झाँक्री भन्दा कहाली लाग्दा लाग्थे।
नथापाउँदो पाराले मलाई मेरै बा सँगबाट कहिले छुटकारा पाउँलाझैँ लाग्न थालिसकेको थियो ।
‘ए साना कान्छा ! बाबु लु जा न, कुलो खोलेर आईज । ए छोरा ! लु कुखुरा, परेवालाई चारो दे । लौन, झरेका फलफूल बटुलेर बस्तुलाई खान दे…।’
म स्कुलबाट घर फर्किएपछि आमाले अह्राउने कामको लामोसूचीले मेरा सपनाहरूलाई बेस्सरी चिथोथ्र्यो र घाइते बनाउँथ्यो । नजानिँदो गरी मलाई मेरै आमाको दैनिकीसँग कहिले टाढिनुझैँ लाग्न थालिसकेको थियो ।
आफ्नै बेँसीखेतको मलिलोपनसँग दिक्क लागेर आउन थालेको एक दुईवर्षै भैसकेको थियो । घरवरिपरिका बारी, कान्ला, फलफूलका बोटबिरुवा, गोठ, बाख्रापाठा, परेवा, कुखुराको झिँझोपनको त कुरै नगरौँ ! कुलोकुटो, हिलो, बर्खा, घाँस, दाउरा, पानी, रोपाइँ, खेताला, गोठाला, गाईबस्तु, सबै-सबैले जुटाउने कामको चपेटो देखेर एक्लै कहालिन्थेँ म ।
आमाले तात्तातै पस्किएर दिएको आफ्नै खेतमा फलेका खनखनाउँदा धानका ताजा चामलको भातमा कुनै स्वाद भेटिनँ मैले । बोटभरि लटरम्म फलेका फलफूल पाकेर भुइँभर झरेर झिँगा भन्किँदा मेरो आङ्ग जिरिङ्ग हुन्थ्यो । बस्तुभाउलाई समेत पुग्नेगरी फलेका केरा, अम्बा, सुन्तला, अनार, कागती इत्यादिको कुनै उगयोगिता देख्न सकिनँ मैले । कहिले सागैसँग, कहिले इस्कुसको चाङ, कहिले गोलभेडाको डङ्गुर अनि कहिले बोडी, सिमी, मुन्टाको उरुङ्गलाई घन्टौँ लगाएर आमाले केलाएको देखेरै थाक्थेँ म ।
चुचेढुङगोेदेखि लिएर बा, आमा, बेँसीखेत, गाईबस्तु बारी, कान्ला, बोटबिरुवा, फलफूल, तरकारी, गाईबस्तु, घाँसदाउरा, कुलोकुटो, हिउँद, बर्खा केहीबाट मलाई सुबिस्ता मिल्दैनथ्यो ।मैले आफ्नै बाबु–बाजेको जीवनशैलीलाई मेरो तन्नेरी मस्तिष्कले कैयौँपटक बिचार्दाखेरिपनि दुःख, पीडा, अभाव, हिलोमैलो बाहेक केही भेट्न सकिनँ । तसर्थमलाई मेरा बाआमासमेत ठस्स गन्हाउन थालिसकेका थिए ।
म दिनप्रतिदिन आफ्नै घरमा पालेको लाले कुकुरभन्दा अस्थिर हुँदै गैरहेको थिएँ ।
म के चाहन्थेँ ? कसैलाई भन्न पनि सक्दिनथेँ । भने नै पनि बा र आमाले बुझ्दैनथ्ये । मेरो अन्तर्मनको चाहना बेँसीखेतले बुझ्दैनथ्यो । बारी, कान्ला, गोठ, गाईबस्तु, बाख्रापाठा, बोटबिरुवा, कुलो, हिलो, बर्खा, घाँसपातले बुझ्ने कुरै आएन । दाजुभाइ र दिदीलाई के भन्नु ? त्यसैलेम खटपटिन्थे- एक्लै !टकटकिन्थे सबैको सामीप्यबाट । चिन्तन गर्थे । सबैबाट छुटकारा पाउने उपाय खोज्थेँ । आफ्नै मनको सानो परिधिभित्र घन्टौँसम्म भौतारिन्थे तर कसैगर्दा मेरो चित्त बुझ्दैनथ्यो ।
म त्यो नबुझेको चित्त, मेरो चौडा हुँदैगएको तन्नेरी छातीको पातला करङ्गभित्र खुम्च्याउँदै हप्ताको एकपटक गौरिकालाई हेर्न घाम डुब्नवेला पारेर श्यामल टार झर्थे । बडरबोटे काकाकी छोरी गौरिकालाई देखेपछि चाहिँ केही दिनका लागि नै किन नहोस्, मेरो मन र मुहारमा थोरै आशा भने पलाउँथ्यो । अलिकति उत्साह सलबलाउँथ्यो ।

०००
‘ओए मदने !  के कामले झरिस् आज  ?’
मलाई देख्नेबित्तिकै घरको दलानका खाटमा उपरखुट्टी लगाएर बसेका बडरबोटे काका मेरा बाकै पारामा टर्रो आवाज निकालेर सोध्थे । मुख र पेट दुवै सफा राख्छ भन्ठानेर जतिवेलै हर्रो मुखमा चेपेर बस्ने बडरबोटे काकाको बोलीचाहिँ त्यही हर्रोजस्तो साह्रै टर्रो हुन्थ्यो । गौरिकाका नाममा काका बोलीको टर्रोपन सहिदिन्थेँ म ।
‘बाले फेदीघरे माल्दाइका घरबाट सुर्ती ल्याउन पठाएर झरेको !’
म पनि बनावटी कुरोलाई ठयाक्कै हो किझैँ पारेरभन्दिन्थेँ र काका बसेकै दलानको खाटमा गएर ठ्यास्स बस्थेँ । काका अनेकथरीका कुरा सोधिरहन्थे । म जवाफ दिइरहन्थे ।
उनलाई जवाफ दिइरहँदा मेरा आँखा भने गौरिकाकै खोजीमा हुन्थे । निकैबेर बसेपछि स्याउलाको मुठो च्यापेर आँगन हुँदै बस्तुभाउको कटेरोतिर लाग्थी ऊ । म आँखा र गर्दन तन्काउँथे उसलाई हेर्न । दलानबाट उसको अनुहारको एक पाटो र ढाडमात्र देखिन्थ्यो । म अधीर हुन्थेँ तर कटेरोबाट फर्किंदा गौरिकाको अनुहार देख्ने निश्चयमा बडरबोटे काकाको ठस्स पसिना गन्हाउने शरीरलाई सहन्थेँ । उनको टर्रो बोली सुन्दै सोधेका प्रश्नको जवाफ दिइरहन्थेँ ।
मेरो धेरैबेरको पर्खाइपछि कटेरोको धन्दा सकेर फर्किन्थी गौरिका । ऊ फर्किंदा मेरासामु परेको उसको अनुहारमा मेरा आँखाहरू चुम्बक भएर टाँसिन्थे । गौरिकाको एक झलकले मेरो मन र मस्तिष्कमा आकर्षण, उत्साह र विश्वासको तरङ्ग एकैपटक उठ्थे ।
म एकाएक शान्त हुन्थेँ ।
त्यसपछि त म चुचेढुङगोेको झाँक्री बिर्सन्थेँ । बा र आमाले अह्राएका कामका सूची बिर्सन्थेँ । बेँसीखेत देखि लिएर हिलोमैलो, कुटोकोदालो, हिउँद, बर्खा, गाईबस्तु, कुखुरा परेवा, झरेका फलफुल आदि–इत्यादिको झिँझो र दिगमिग सबै बिर्सन्थेँ ।
अहो ! गौरिकाका ठूल्ठूला आँखा, मिलेका धनुषाकार आँखीभौँ, गोरो अनुहार, रगत टप्लक्क चुहिएलान् कि जस्ता लाग्ने राता कोमल ओठ, लामा सलक्क परेका हातखुट्टा, मिलेको शरीर ! घर बस्दा लगाएका थोत्रा र मैला कपडामा पनि अत्यन्तै सुन्दर देखिन्थी ऊ ! एकैछिन भएपनि म उसको सुन्दरतामा लट्ठ पर्थें । चुम्बक भएर गौरिकाको अनुहारमा टाँसिएका मेरा आँखाहरू ऊ दलानबाट छेकिएपछि मात्र बल्ल निष्क्रिय हुन्थे ।
‘हिँडे म काका !’
गौरिका छेकिन्थी । म उठेर आफ्नो बाटो लाग्थेँ ।
यसरी गौरिकालाई देखेर शान्त भएको मन धेरदिन भने टिक्दैनथ्यो । म उसलाई थोत्रा र मैला कपडाबाट छुटकारा दिन चाहन्थेँ । स्याउला, कटेरो र गाईबस्तुसँगको समीपताबाट बाहिर निकाल्न चाहन्थेँ र त्यसैको समाधानको खोजीमा भित्रभित्रै एक्लै खटपटिन्थेँ । त्यस खटपटीले मलाई चुचेढुङगोको झाँक्रीको भयले भन्दा बढी सताउन थालेको थियो ।

०००
‘ओए मदने ! उठ है, कति सुतिराखेको !’
सधैँझैँ त्यो शनिबार पनि मेरा बा मलाई उठाउन मेरै ओछ्यान छेउ आइसकेका थिए ।
म बाको आवाजसँग थर्कमान भएर आँखा मिच्दै उठेँ ।
‘आज तेरो दाजुको अर्थोकै काम परो ! यो पैसो सहकारीमा जम्मा गर्नुछ । तँ हिँड मसँग ।’ बाले सेतो झुनाको टालोमा पोको पारेको पैसाको मुठो देखाउँदै भनेँ ।
बाले हातमा बोकेको पैसाको मुठो देखेर मेरा सम्पूर्ण इन्द्रियहरू एकैपटक चलमलाउन थाले । यस्तो अचम्मको अनुभूति मलाई पहिले कहिल्यै भएको थिएन । पैसाको मुठो बोकेर मेरो ओछ्यान छेउमै उभिएका मेरा बा मलाई एकाएक प्रिय लागे ।
‘बा ! आज शनिबार सहकारी बन्द होइन र ?’  मैले असल छोरोको भूमिकामा आफूलाई ढाल्ने प्रयास गर्दै बालाई भनेँ ।
‘लु ! मैले त भुसुक्कै बिर्सेको ।’ बाले आफ्नै हुस्सुपनलाई गाली गर्दै भने– ‘मरेस् ! मेरो सुद्धी त कहाँ हराइगएछ नि ’ आज शनिबार सहकारी के खुल्थ्यो ? जा, तेरी आमालाई बोला अब उसैलाई दराजमा राख्न दिनुपरो ।’
बाको आदेश मान्दै म आमालाई बोलाउन हिँडेँ ।
‘आमा, ए आमा ! बाले तुरुन्तै बोलाउनु भएको छ । माथि कोठामा जानु अरे ।’
भान्सामा खाना बनाउने धन्दामा व्यस्त मेरी आमालाई बाले झट्टै आउनु भनी बोलाएको कुराले विलम्ब गर्न दिएन । उनी पखाल्दै गरेको भाँडाका चामलबाट हात झिकेर भिजेका हात सारीको सप्कोले पुछ्दै भान्साबाट निस्किइन् ।
मपनि उत्सुक हुँदै आमाकै पछि लागेँ ।
‘ए ! मदनेकी आमा, लु यो पैसो जतनले सम्हालेर राख ! आज शनिबार परेछ । सहकारी बन्द छ । भोलि मात्रै हुने भो अब ।’ यसो भन्दै बाले पैसाको मुठो आमाका हातमा थमाइदिएर बा निस्किए ।
आमा पैसो लिएर खुरुखुरु उनकै कोठामा पसिन् । सिरानमुनि राखेको चाबीको झुत्तोको आवाज मेरै कानमा ठोक्कियो । मैले दराजका ढोकाको चुइँचुइँ आवाज कोठा बाहिरबाटै सुनेँ । त्यसपछि फलामको सानो कन्तुर खत्रङ्ग गरेको पनि सुनेँ ।
आमा बाले दिएको पैसाको मुठो कन्तुरमा हालेर ढुक्क हुँदै बाहिर निस्किँदै भनिन्– ‘होइन ए साना कान्छा ! तँ त यहीँ पो छस् ?’ आमाले अझै मलाई कोठामै देखेर सम्झाउँदै भनिन्–‘आज त त्यो पिठोको बोरा मिलबाट घर नल्याई भ’को छैन । तीन दिनदेखि ल्याइदिने मान्छे नभएर मिलैमा छ । अब त मिलवालाले पनि राखिदिँदैनन् ।’
‘म ल्याऊँला न आमा ।’ मैले नाइँनास्ती गरिनँ आज ।
मिलमा पिठो लिन जान तैयार हुँदैगर्दा आमाले दराजमा राखेको पैसाको बिटोले मेरो मनमा रोमाञ्चक अनुभूति गराइरह्यो । एकप्रकारको बल दिइरह्यो । उत्साह दिइरह्यो । अब मैले त्यही पैसाको बिटोको बलमा चुचेढुङगोमा बस्ने झाँक्रीसँगको भय तोड्ने सङ्कल्प गरेँ । बा, आमा, बेँसीखेत, घर, बारी, बस्तुभाउ, परेवा, कुखुरा, कुलो, बर्खा, हिलो, सागपात, बोटबिरुवा, फलफूल आदि सबैसँग दूरी राख्ने विचार गरेँ । गौरिकालाई सुकसुकाउँदी रानी बनाएर जीवनभर आफ्नी बनाउने निधो गरेँ ।
मैले आमा भान्साभित्र पसेपछि दराजमा राखेको कन्तुरबाट बाले आर्जेको रकमलाई सरक्क झिकेर खल्तीमा राखेँ र त्यसैको बलमा सबैसँग नाता तोड्दै त्यसचुचेढुङगोको नजरबाट पलायन भएँ म । झाँक्रीको भयबाट मुक्त भएँ ।
०००
आमालाई मिलबाट पिठो ल्याउने वचन दिएर बाले दुःख गरी जम्मा गरेको रकम चोरेर हिँडेको सत्र वर्ष तीन महिना एघारदिनपछि म फर्किएको छु । मन पश्चात्तापाको तुँवालोले ढपक्कै ढाकेको छ । आँखा लाजले भुतुक्क भएका छन् । आज म आफैँ जन्मेको ठाउँलाई शिर उठाएर हेर्न नसक्ने लाचार भएर फर्केको छु ।
‘त्यो पिठोको बोरा कसले घर पुर्याइदियो होला ? आमाका मनमा कस्तो चोट पर्यो होला ? बालाई मप्रति कति घृणा लाग्यो होला ?’
मैले यस्तै तानाबानामा अल्झिएर निकैबेर चुचेढुङगोको छातीमाथि मेरो तनमन दुवैको थकान बिसाएँ । म यतिकाबेर बसिरहँदा बाटामुनि एक-दुई अपरिचित मान्छे मात्र हिँडेको देखियो । बाटामुन्तिरको मेरो घर पनि वनमाराले ढाकेर केही देखिएन । गाउँले परिवेशको चहलपहल बोकर तीन- चार पुस्ताहरू हाँसेर बाँचेको मेरो जन्मथलो अहिले त वनमारा झार र जङ्गली जन्तुहरूको वर्चस्वबीच छोडिएका, भत्किएकार मकाउन थालेका केही घरहरू मात्र अस्तित्वमा भएको सुनसान बस्तीमा सर्लक्क बदलिएछ ।
‘के भएर बिलायो त्यो जीवन्त घरको अस्तित्व ?’
वनमाराले ढाकेर थोत्रिएको मेरो जन्मघरको अवस्था चुचेढुङगोेमाथि बसेर नियाल्दा मेरा आँखाहरू सर्ररर रसाए । गलामा निल्न नसकेर अड्किएको गाँसलेझैँ दुखाएजस्तो असजिलो अनुभूति भयो । म खोक्न थालेँ । मेरो खोकीले चुचेढुङ्गो वरिपरीका रुख, बिरुवा, झ्याँसघारी सबै थर्किए । आवाजको परार्वतन बाटामुनि र बाटामाथिका बारीका कान्ला- कान्लामा भयो ।
‘हैन को हो त्यो खोक्ने हँ ?’ एक खस्रो आवाजले जान्न चाह्यो ।
‘म मदन सिंह हो ।’ मैले जवाफ दिएँ
‘को मदन सिंह ? यस्तो सुन्दर नाम बोक्ने मान्छेहरू यस गाउँमा कोही छैनन् ।’ खस्रो आवाजले मेरो नामप्रति असहमति जनायो ।
‘म, मदन सिंह ! नरपति सिंहको नाति, धनपति सिंहको कान्छो छोरो ।’ मैले खोक्दै पनि पुस्तेनी पेटारो खोलेँ ।
‘नरपति उहिल्यै मरे । धनपतिलाई मुटु हान्ने रोग लागेपछि गाउँ छोडेर हिँडेकै गोडा दसेक वर्ष भैसक्यो, अहिलेसम्म एकफेर यता आएका छैनन् । यो मदन सिंह नाम त मैले सुनेको रै’नछु ।’ मेरो पुस्तेनी घटनाक्रम सुनाउँदै त्यो खस्रो आवाज मेरो छेउछाउनै सुनिन थालिसकेको थियो ।
‘सबै थाहा पाउनु हुँदोरहेछ ।’ मैले आवाज आएको दिशातिर मुन्टो फर्काउँदै भने- ‘तपाईंचाहिँ को हो नि ?’
मैले जान्न खोजेको केहीबेरमै छेवैका रुखबिरुवाका पात पन्छाउँदै शिरमा फाटेर झुत्रा निस्कन थालेको पसिनाको कालो कस बसेको ढाका टोपी, मैलो कमिज र थोत्रो कछाड लगाएको अनि हातमा धारिलो खुर्पेटो बोकेको, तिलचामल भैसकेका झुस्स दारी भएको एक वृद्ध मेरो सामुन्ने उभिइसकेको थियो ।
मेरो खोकी भने अझै रोकिएको थिएन ।
‘नानी तिम्रो खोकी निकै कडा जस्तो छ । चारपाइला पर्तिर धारो छ । मूलको पानी घुटुक्क पिए निको हुन्थ्यो ।’ खस्रो आवाजले सुझायो ।
‘पानी त मेरो झोलामै छ ।’ यसो भन्दै मैले झोलाभित्र बोकेको मिनरल वाटरको प्लास्टिकको बोतल झिकेर एक घुट्को पानी पिएँ ।
मैले पिएको पानीको बोतललाई खस्रो आवाजले निधार खुम्च्याएर हेर्दै भन्यो– ‘नानी कता हिँडेका त ? कस्का पो छोरा अरे ? के नाम पो भन्दैथ्यौ ?’ खस्रो आवाजले चुचेढुङगोमाथि लागेको लेउको पाप्रो उप्कायो र मेरो दाहिनेतिर थचक्क बस्दै सोध्न थाल्यो । ऊ र मेरोबीचमा एक मिटरको दूरी थियो तैपनि असजिलो लागेर म अझै पर्तिर सरेँ ।
‘म मदन सिंह, नरपति सिंहको नाति, धनपति सिंहको कान्छो छोरो !’ मैले अझै प्रस्ट्याउन बाटामुनि वनमाराले ढपक्क ढाकेको थोत्रो घरतिर औँलो तेस्र्याउँदै थपेँ- ‘ऊ त्यो तलको पुरानो घर हाम्रै त हो नि ! हेर्नूस् त !’
‘ए…! ए…!!’ उसले कुरो बुझेझैँ गरेर भन्यो- ‘आमाको कन्तुर फोडेर बाले राख्न दिएको रकम सिनित्तै चोरेर बेपत्ता भएका तिनै साना कान्छा पो हौ तिमी ?’
टाउकादेखि खुट्टासम्म महङ्गा विदेशी ब्रान्ड लगाएर बाहिर जति नै सुकिलो भएर ठाँटिए पनि मेरो खास परिचय आफ्नै जन्मथलोमा एक चोर र भगाहा भन्दा बढी रहेनछ ।
उसले दिएको मेरो आफ्नै परिचय सुनेर स्तब्ध हुँदै मधुरो स्वरमा भने- ‘हो म उही सानो कान्छो हुँ !’
‘कहाँ थियौ त तिमी यत्तिका वर्ष ?’ खस्रो आवाजले जान्न चाह्यो ।
‘घर छोडेको केही वर्ष सहरतिरै भौतारिएँ । त्यसको केही समयपछि देखि विदेशतिरै घरजम गरेर बसेको छु ।’ मैले घोसेमुन्टो लगाउँदै सुनाएँ ।
‘बडरबोटेकी छोरी गौरिकालाई पनि छोड्यौ ?’ खस्रो आवाजले गिज्याउँदै भन्यो ।
‘छोडेको भन्दा पनि परिस्थिति त्यस्तै पर्यो ।’ मैले लाज पचाउँदै आफ्नो बचाउ गरेँ ।
मेरो कुरा सुनेपछि खस्रो आवाज झन् खस्रो हुँदै भन्न थाल्यो- ‘तिमीले घर छोडेकै पीरले तिम्री आमाको प्राण गयो । त्यो रकम तिम्रा बाले तिम्रै दिदीको बिहेका लागि पो जोडेका रहेछन् त ! आखिर पैसो नपुगेर तिम्री दिदीको बिहे पनि राम्रो केटोसँग हुन पाएन । पछि खै मधेशतिरका केटालाई टीकोटालो गरेर दिए अरे भन्थे । छोरीकै पीरले तिम्रा बाबुलाई मुटु हान्ने रोग लागेको भन्थे । पछि तिम्रा दाजुहरूले मिलेर आ- आफ्ना जागिर भएका तिरै लगेर राख्ने भनेर बालाई लिएर गए । घर छोडेको त्यसवेलादेखि धनपतिलाई मैले फेरि भेटेको छैन।’
मैले खस्रो आवाजका सबै कुरालाई मनमा गाँठो पार्दै सुन्दै गएँ ।
‘सानैदेखि मलाई यो गाउँ छोडेर कहिले भागौँ जस्तो हुन्थ्यो । भाग्नलाई बाले आमालाई राख्न दिएको पैसाबाहेक अर्को कुनै उपाय देखिनँ । मैले आफ्नै घरमा डाका पसेर बा माथि अन्याय गरेँ ।’ पश्चात्तापको पीडालाई झोलामा बोकेको बोतलको पानीले निल्दै मैले थपेँ- ‘मेरै कारण यस्तो होला भनेर मैले कल्पना गरेकोसम्म थिइनँ ।’ मैले खस्रो आवाजको सामुन्ने आफ्नो गल्ती याचना गरिरहँदा केही हलुङ्गो भएको महसुस भयो ।
‘कस्तो रहेछ त विदेश ?’ खस्रो आवाजले मलाई शिरदेखि पाउसम्म नियालेर हेर्दै सोध्यो ।
‘राम्रै छ ।’ मैले भनेँ ।
‘विदेश त स्वर्गजस्तै हुन्छ रे नि त !’ खस्रो आवाजले उसको खप्परभित्र दबिएका आँखा चम्काउँदै जान्न चाह्यो ।
‘स्वर्ग ? विदेशमा आफ्नी आमाका ममतामयी हातले पस्किएको तातो खाना वेलामा खान पाइन्नँ । हरेक उतार-चढावको बोझ थामिदिने आफ्ना बा साथमा उभिएका हुँदैनन् । आँखाले देखेर नभ्याउने अनि खाएर नसकिने अन्न, फलफूल र तरकारी फल्ने आफ्नै खेतबारी छैनन् । झाँक्रीका रहस्यमय कथा बोकेका चुचेढुङगोपनि छैनन् । बाटामाथि र बाटामुनि फराकिला चारपाटा मिलेका जमिनमा बसेका बस्तीहरू छैनन् । सञ्चो- बिसञ्चो सोध्ने छिमेकी, आफन्त र साथीभाइ छैनन् । शिरमा पहेँला जमरा र निधारमा राता अक्षता सजाएर मान्यजनको आशीर्वाद लिने रमाइला चाडबाड आउँदैनन् । सयपत्री र गोदावरी आँगनमा फुल्दैनन् । के स्वर्ग भनूँ र ?’
खस्रो आवाजले बुझेको स्वर्ग र आफैँले सत्र वर्ष भोगेको स्वर्गबीचको अन्तर बताउँदै जाँदा मेरो मन भारी हुँदैगयो । मबीचमै अड्किएँ ।
‘त्यसो हो र ?’ खस्रो आवाजले मेरो कुरो मनन गर्दै अगाडि थप्यो- ‘अर्थोक नभए पनि खान-लाउन राम्रो छ रे नि त !’
‘दुइटा पाउरोटीका टुक्राका बीचमा मासुको टुक्रो च्यापेको बर्गर र आँटोको गिलो रोटीमा गोलभेडाको लेदो दलेर चिज हाली आगोमा सेकेको पिज्जा जताततै पाइन्छन् । प्याकेटमा बन्द भएका खाना किन्यो खायो ।’ मैले भनेँ ।
‘घर, गाडी र कमाइ त गज्जबको होला नि तिम्रो !’ खस्रो आवाजले सोध्यो ।
‘कमाएको त खान लाउनै ठिक्क ! बल्ल- तल्ल ऋणले जोडेको घर र गाडीको के कुरा गर्नु ?’ मैले अथ्र्याएँ ।
‘त्यहाँ हाम्लेझैँ परिश्रम गर्न त पक्कै पर्दैन है !’ खस्रो आवाजले कामको कुरो उप्कायो ।
‘बिहान छ बजे उठेर घरबाट निस्किएको राती आठ नबजी घर पुगिन्नँ । त्यो पनि सुखको जागिर पाउनेले मात्र हो ।’ मैले हरेक बिहान मीठो निन्द्रा बिथोल्दै बज्ने तानाशाही अलार्मको आवाज सम्झदै भनेँ- ‘विदेशमा कामचोर भएर कसैको जिन्दगी चल्दैन ।’
‘यस्ता छुँदा मैलो लाग्दा भएका छौ, नाम त पक्कै कमाएका होलाऊ !’ कामबाट एक्कासि नाममा झर्यो ऊ ।
‘बाहिरी सुकिलोपनले के गर्नु ? आफ्नै परिचय गुमाएर बाँचेको छु ।’ मैले मन खुम्च्याउँदै भने ।
मैले यसो भनिसक्दा म बसेको छेवैतिरबाट भुइँभरि सुकेर झरेका बाँसका पात सर्लङ्ग बजाउँदै मान्छे हिँडेजस्तो आवाज आयो । म झसङ्ग भएर आवाज आएतिर मुन्टो फर्काएर हेर्नलागेँ तर कोही देखिनँ ।
“नडराऊ है नडराऊ !”
खस्रो आवाजले मेरो मनभित्रको डरको तह नापेजत्तिकै गर्दै भन्यो । मैले लाजले रातो हुँदै ऊ बसेतिर मुन्टो फर्काएँ तर मेरैछेउमा केही सेकेन्ड अघिसम्म बसेर नानाभाँती कुरा सोध्ने खस्रो आवाजको नामोनिसान केही थिएन ।
मेरो शरीरभरि अदृश्य भयको तरङ्ग फैलियो । चिट्चिट् पसिना आयो । सास फेर्न गाह्रो भयो । मेरो मस्तिष्कमा स्कुले केटाकेटीहुँदा देखि तन्नेरी भएर बाको पैसा चोरी घर छोडुन्जेलसम्मका दृश्यहरू सलबलाइरहेका थिए । म चुचेढुङगोमाथि बसिरहेको ठाउँमा बेहोस हुने स्थितिमा पुगिसकेको थिएँ ।
‘ओ गड ! यू एगेन ह्याड दिस् नाइटमेर !!’
मेरी श्रीमती नतासाले मलाई मेरो दुस्वप्नबाट झकझक्याउँदै उठाएको निकैबेरपछि म सामान्य स्थितिमा फर्किएँ ।
‘त्यो खस्रो आवाज पक्कै पनि आमाले भन्नु भएको चुचेढुङगोभित्र लुकेको झाँक्री हुनुपर्छ !’
वर्षौंपछि म मनमनै एउटा निस्कर्षमा पुगेँ ।


(हाल लन्डन, बेलायत निवासी बजगाईं स्थापित साहित्यकार हुन् ।)
[email protected]