• २०८१ माघ ९ बुधबार

मण्डला थिएटरमा नाटक ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

काठमाडौं ।

मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् । मुन्धुम अनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण आन्दोलनसम्मको घटना क्रमहरुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ । मुक्कुम्लुङ याक्थुङ (लिम्बु)हरुको पवित्र स्थल रहेको र केवलकार स्थापना गरिदा मुक्कुम्लुङ र लिम्बुहरुको सम्बन्ध विस्थापन हने र त्यहाँको प्रकृतिको दोहन हुने भएकाले सरोकारवालाहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै मुक्कुम्लुङको महत्व बुझाउन नाटक निर्माण गरिएको एक थिएटर नेपालका अध्यक्ष बिष्णु मोक्तानले बताए ।

पछिल्लो समय ताप्लेजुङस्थित मुक्कुम्लुङमा चलिरहेको ‘नो केवलकार’ आन्दोलनकै सन्दर्भमा नाटक ‘मक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन गर्न लागिएको चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले जानकारी दिए । ‘विशेषगरी मुक्कुम्लुङ साझा लिम्बुवान भूमि र लिम्बुवानीहरुको शिर हो’, आङथुपोले भने, ‘यस भूमिका रैथाने समुदाय र प्रकृति पुजक मुलवासीहरुको आस्थाप्रति राज्यको संरक्षणमा जुन किसिमको दमन र विनास भइरहेको छ, त्यसविरुद्ध कला र सिर्जनामार्फत पहिचानको पक्षमा गरिएको आन्दोलन नै हो, यो नाटक ।’

निर्देशक सुब्बाले राज्यसँग धेरै ठूलो कुरा नमागेको बताउँछन् । उनि भन्छन्, ‘हामीले जम्माजम्मी सबै मान्छे बराबरी भएर बाँचौं भनेको न हो । अरु धेरै के मागेका छौं र ? आदिवासीहरुसँग सम्बन्धित कुरामाथि मात्रै किन अतिक्रमण हुन्छ ? यसको प्रतिरोध हो, यो नाटक ।’ नाटकका लेखकमध्ये गीलु रातोस पनि सुब्बाकै कुरामा सहमत देखिन्छन् । अर्का लेखक तथा कलाकार विष्णु मोक्तान भन्छन्, ‘विभिन्न कालखण्ड, व्यवस्था र शासकहरुको पगरीले थिचिएका विभिन्न राष्ट्र, अस्तित्व र सह-अस्तित्वसहितको नाटक हो मुक्कुम्लुङ । त्यसैले यस नाटकको लेखन र अभिनयमा म जोडिएको हुँ ।’