आमाको छातीमा
परेड खेल्दै
दसधारा दूध पिएका
भविष्यका सहाराहरू
बुबाको गर्धनमा चढेर
लक्ष्यको टाकुरा
टेक्छु भन्ने सपनाहरू
पटुकीमा सामल बोकेर
हुर्काएका
मुटुका टुक्राहरू
घाँसको भारीमाथि राखेर
जीवनका हाँगा बचाएका
बुढेसकालका आशाहरू
जो आज देश- विदेशमा
लाखौँ कमाउँछन्
हजारौँ खर्च गरेर
मनाउछन् हनिमुन
आज तिनै सन्तानहरू
अशक्त, बिरामी
बा- आमालाई
औषधी उपचार गर्न
गर्छन् एकएक रुपैयाँको
हिसाब
र किट्छन् दाह्रा
सायद यही हुनुपर्छ
रीतको पानामा लेखिएको
आमाको छाती
र बुबाको काँधको मोल
रात ढलेसँगै
ती बा- आमाका आँखाले
खोज्छन् आफ्नै छोराछोरी
घाम उदाएसँगै
गर्छन् न्यानो साथको अनुभूति
आफ्नो गाँसमा
समेट्छन् सन्तानकै भोक
ओछ्यानको अडेसमा
अडिएको शरीर
सन्तानको आडमा
धड्किएको प्राण
कठै ! विचरा,
चाउरी परेको गाला तन्काउँदै
ओठमा मुस्कान भर्ने चाहनामा
आकाशमा उडेको हवाईजहाज
हेर्दाहेर्दै
ती बा- आमाका
सदैका लागि बन्द हुन्छन् आँखा ।
(हसिना विगत डेढ दशकदेखि कविता, कथा, गजल, मुक्तक विधामा कलम चलाउँदै आएकी स्रष्टा हुन)
[email protected]