देखेर नदेखी हिँड्नेहरूको
अघिल्तिर
सडक मरेको छ अहिले
बाँचेकाहरूसँग,
छातीभरि
जिउँदा लासहरू
छरपस्ट
जताततै
बग्रेल्ती
बोराको थुप्रोजस्तो देखिने
फोहोरको पोकोजस्तै लाग्ने
मान्छेहरूको डङ्गुर थुप्रो बोकेर
दाँत बाँधिएका छन्
चिसोले कक्रिएर
ओठहरू चट्टानझैं
देखिन्छन् कडा र कसिला
अहो !
बडो दर्दनाक भयावह छ
अहिले सडक !
मर्नु बाध्य छ
जिउँदै मान्छे
मार्न तयार छ यो जाडो
त्यही मान्छे
घरभित्र बस्नेहरू
अझै डराएको देख्छु !
घरभित्र छ महामारी
घरभित्र छ जाडो
समस्या घरभित्र छ
तर,
सडक सडक हो
ऊ मस्त छ
पीडा बोकेर पनि
ऊ व्यस्त छ
उन्मात छ
खुल्ला आकाशको छानामुनि
न चिसो छ
न महामारी छ
न भोक छ
न शोक छ
मात्र एकतमासको छ
तर पनि मौन
सुतिरहन्छ चुपचाप यो सडक
हाम्रा नेताहरूजस्तै निदाइरहेछ
बिन्दास सडक
चुपचाप बोकिरहेछ तितो !
(सुवेदी चर्चित साहित्यकार हुन्)
[email protected]