‘हेमन्त सर अध्यागन विभागको एउटा केस छ ह्यान्डल गर्नुहुन्छ ? दुइटी केटी बाहिरबाट आएका रहेछन् । कागजपत्र फर्जी रहेछ । अध्यागनका अफिसरले मिलाइदिने भनेर पैसा पनि असुल गरेछन् र यौवन पनि । ती केटीले उजुरी दिएका छन् । तपाईंको के विचार छ ?’
एसपी साहेबको यो अनुरोधलाई किनारा लगाउँदै म भन्छु– ‘सर मेरो खुट्टाको घाउ राम्रोसँग निको भइसकेको छैन । केही समय इनडोर काम गर्ने विचार छ ।’
‘ओके एज योर विस, टेक केयर ।’ एसपी साहेबको प्रत्युत्तरले म निर्धक्क हुन्छु ।
अध्यागमनमा नयाँ केस आएको खबर मैले पहिले नै थाहा पाइसकेको थिएँ । सरकारी कर्मचारी भएर यस्तो गैरकानुनी र बेइज्जत हुने काम गर्न यी कर्मचारी किन लाज मान्दैनन् ? मलाई ताज्जुब लाग्दछ । अध्यागनमजस्तो अन्तर्राष्ट्रियस्तरमा पहिचान हुने ठाउँमा यस्तो भष्ट्राचार र अनैतिक कार्य हुन्छ भने अन्तको कुरा के रहयो र ? हुन त हाम्रै प्रहरी विभागमा पनि यो कहाँ कम छ र ? अहिले देशका वर्दी लगाएका चोरहरू नै पुलिस हुन् भनेर मानिसहरू भन्छन् । केही फटाहा व्यक्तिहरूले गर्दा हाम्रो पेसाको नै बदनाम भइरहेको छ । फेरि पार्टीको नेताहरूको गोटी चलाइमा पहिलो सिकार पुलिस नै हुनेगरेका छन् । यस पेसामा इमानदार र कर्तव्यनिष्ट भएर टिक्नै गाह्रो भइसक्यो । तर पनि मैले त समाजको सेवा गर्ने कसम खाएको छु । हामीजस्तो प्रहरीले डटेर नै लाग्नुपर्छ भन्ने मेरो धारणा छ । त्यसैले त म बाहिर जिल्लामा जाँदा सबै गुण्डा, नायके र कालाबजारिया थर्कमान हुन्छन् । अहिलेसम्म मैले आफ्नो सङ्कल्पबाट कतै दायाँबायाँ हुनुपरेको छैन तर थाहा छैन कुन दिन म पनि त्यही धमिलो पानीको गन्हाउने फोहर भएर बग्नेछु । तर पनि जे जस्तो अवस्थामा पनि मेरो देश, मेरो जनता र मेरो समाजको सुरक्षा नै मेरो जीवनको अन्तिम लक्ष्य हुनेछ । अफिसमा आउँदा प्राय मेरो मस्तिष्कलाई यस्तै कुराले तरङ्गित बनाइरहेको हुन्छ ।
डेढ महिनापछि आजै मात्र अफिसमा मेरो आगमन भएको छ । त्यसैले पनि अफिसियल काममा मेरो मुड त्यति गएको छैन । कम्प्युटर अन गर्छु । एउटा लामो मेलले मेरो जागिरे समय खाइदिन्छ । इमेल यस्तो थियो–
प्रिय हेमन्त सर
अहिले कस्तो हुनुहुन्छ ? सायद जाती भइसक्नुभयो होला । पत्र कहाँबाट सुरु गरु ? अलमलिएकी छु । एउटा बेग्लै संसारको कथा भन्नु छ मैले । कहाँबाट लिपिवद्ध गरूँ ? म असमञ्जसमा परेकी छु । जब तपाईं घाइते भएर अस्पतालको वेडमा हुनुहुन्थ्यो । त्यहाँबाट हाम्रो कथा सुरु हुन्छ ।
सर्जिकल वार्डमा प्राय मेरै ड्युटी हुन्छ । तपाईको खुट्टाको अप्रेसन भएपछि वार्डमा तपाईंको सम्पूर्ण स्वास्थ्यको हेरविचार गर्ने जिम्मा मेरै थियो । तपाईंलाई देखेको पहिलो भेटमा नै मलाई यस्तो लाग्यो मानौँ यी दुई जोर आँखासँग म पहिलै नै बोलेको छु, कतै भेटेको छु । यी दुई आँखा मेरा आफ्नै आँखा हुन् । मलाई किन यस्तो लाग्छ ? मलाई थाहा छैन । एउटा नर्सले तपाईंजस्तो धेरै विमारीको स्याहार गर्नुपर्छ । तर ती दुई आँखाले मलाई किन तानिरहेका छन् ? के रहस्य छ ? म जान्न खोज्दथेँ तर असफल हुन्थे । बिस्तारैबिस्तारै तपाईंको बारेमा थाहा हुँदैगयो । तपाईं पुलिसफोर्सको डिएसपी हुनुहुँदो रहेछ । तपाईंको लागि दुईजना प्रहरी हरदम खटाइएका हुन्थे । विद्यार्थीहरूसँग झडप हुँदा तपाईंको खुट्टामा ठूलो चोट लागेको रहेछ । अनि अस्पताल भर्ना हुनुपरेको रहेछ । तपाईंको खुट्टाको बीचको हडडी फुटेको हुनाले अप्रेसन गरी खुट्टालाई वेट दिई तानेर राखिएको थियो । यो निकै कष्टकर थियो ।
तपाईंलाई एक महिना अस्पताल बस्नुपर्ने थियो । किन हो मलाई तपाईंको समीप्यको मीठो आकर्षणले हरपल सताइरहन्थ्यो । मलाई यसरी पुरुषप्रति आर्कषणको अनुभूति कहिल्यै भएको थिएन । मसँगैका मेरा दिदीबहिनी वा साथीहरूका थुप्रै लभअफेयर चल्दथ्यो । तर मेरो त्यस्तो भएन । मेरो आमा भन्नुहुन्थ्यो- ‘यो त लेस्बियन हो कि क्या हो ? कुनै केटाहरूसँग सङ्गत गरेको पनि देख्दिनँ ।’
हुन पनि हो मलाई पुरुषहरूप्रति खासै आकर्षण थिएन । अझ पुलिस विभागका मानिसहरूप्रति मेरो नकरात्मक सोचाइ थियो । बिस्तारै तपाईंका बारेमा मलाई धेरै कुरा थाहा भयो । तपाईं राम्रा कथा, निबन्ध र लेखहरू लेख्नु हुँदोरहेछ । एक दिन तपाईंको छेउमा तपाईंको पुस्तक देखेँ ।
मैले सोधेँ– ‘सर पुस्तक लेख्नुहुन्छ ?’
‘हो लेख्छु । तपाईंलाई पढन फुर्सद छैन होला ?’ तपाईं प्रश्नात्मक अभिव्यक्ति दिनुहुन्छ ।
‘किन नहुनु ! यस्तो किताब पढ्ने रुचि छ तर उही हो समयको अभाव त सबैलाई हुन्छ ।’
तपाईंको घाउको ड्रेसिङ् गर्ने क्रममा यो गफ भएको थियो ।
‘तपाईंको घर कहाँ नि ?’
‘मेरो कुपन्डोल । तपाईंको अर्घाखाची होइन ? मैले फाइलबाट नै थाहा पाइसकेकी छु ।’
यसरी हाम्रो छोटो संवाद हुन्थ्यो । बेलुका घर आउँदा भोलिपल्ट तपाईंसँग धेरैभन्दा धेरै गफ गर्छु भन्ने सोच्दथेँ तर तपाईंको सामु पुग्दा केही बोल्न नसक्ने हुन्थेँ । एकातिर पुलिकफोर्सका मानिस कडा मिजासका हुन्छन् भन्ने सोचाइले मेरो मस्तिष्कमा भाइरल आक्रमण गरेको थियो । त्यसैले पनि म यस रोगबाट ग्रसित थिएँ । अर्कोतिर तपाईं कुनै गहिरो अध्ययन वा चिन्तनमा लागेको देखिन्थ्यो । त्यसैले पनि प्रायः गम्भीर मुद्रामा हुनुहुन्थ्यो । प्रत्येक बेलुका तपाईंसँग खुलेर बोल्न नसकेको पीडाले मलाई जलाउँदथ्यो । एकदिन मैले तपाईंको पुस्तक पढ्न मागेँ । तपाईंले पनि खुसीका साथ मलाई पढ्न दिनुभयो ।
बेलुका घरमा आएर तपाईंको पुस्तक पढ्न थालेँ । पुस्तक पढ्दैजाँदा मभित्र केके हुँदैगयो । मैले बुझ्न सकिनँ मलाई यो के भएको हो भनेर । पुस्तकका शब्दहरू मैले धेरैअघि पढिसकेको हुँ जस्तो लाग्यो । यी शब्दहरू मेरा आफ्नै हुन जस्तो लागे । रातभरमा पुस्तक पढिसकेँ । पुस्तक राष्ट्रप्रेमले र नयाँनयाँ विचारले भरिएको थियो । यस पुस्तकले मलाई एउटा बेग्लै संसारमा पु¥याएको थियो । म सामान्यबाट असामान्य बन्दैगएकी थिएँ । मेरो मस्तिष्कले ठीक काम गर्न सकिरहेको थिएन । भोलिपल्ट म ड्युटीमा नै जाननसक्ने भएकी थिएँ । चक्कर लागेजस्तो भयो । खान मन लागेन । म बिमार भएको कुराले घरमा खैलाबैला मच्चियो । हाम्रो समाज कति अन्धविश्वासी छ भनेर मैले भन्नै पर्दैन । डाक्टरी बिमारको लक्षण नदेखेपछि मलाई माताजीकोमा लगियो । माताले भन्नुभयो– ‘यिनलाई आत्माले दुःख दिएको छ । एक्लै नछोड्नू, यो फूल र अक्षता सिरानमा राखिदिनू !
मलाई के भएको हो मलाई थाहा भएन । भोलिपल्ट म बेहोस भएछु । बेहोस भएर ब्यूँझँदा मलाई एउटा कुनै फिल्म हेरेर निस्केजस्तो भएको थियो । त्यो फिल्मको कथा यस्तो थियो–
यो कुरा झन्डै एक सय वर्षअगाडिको थियो । त्यसवेला काठमाडौँमा राणाहरूको निरङ्कुश शासन थियो । जनताको घरको देवलमा ‘श्री ३ महाराजकी जय’ भनेर लेखिएको हुन्थ्यो । ठँहिटीको एउटा सुन पसलेकोमा मेरो जन्म भएको थियो । मलाई रत्नमाया भनेर बोलाउँथे । तीनभाइमुनिको एउटै छोरी भएकी हुनाले बाआमाले असाध्यै माया गर्दथे । त्यो वेला छोरीमान्छेले पढ्ने चलन थिएन तर मेरो हजुरबुबाले मलाई धेरै माया गर्ने हुनाले घरमा नै पढाउनुभएको थियो । तीन दाजुहरू दरबार हाइस्कुल पढ्न जान्थे तर मलाई पठाइँदैनथ्यो । मैले यस कुराको विद्रोह गरेँ । विद्रोह गरेपछि मलाई घरमा नै गुरुदाइ राखेर पढ्ने व्यवस्था मिलाइयो । त्यसवेला छोरीलाई पढाइयो भने झ्यालबाट चिठी लेख्छन् र पोइल जान्छन् भन्ने चलन थियो । मेरो घरछेउमा नै पूर्णमाया नाम गरेकी साथी थिई । उसको घरमा म आउने–जाने गर्दथेँ । त्यस समयसम्म मेरा धेरै साथीहरूको विवाह भइसकेको थियो । छोरीहरूको प्राय १०–११ वर्षमा विवाह भइसकेको हुन्थ्यो । म एउटै छोरी भएकीले बाआमाले मलाई छिटै विवाह गर्न रुचि देखाएनन् । पछि विवाह गर्न केटाले जन्मकुण्डली लिएर जान्थे र केही नभनी फर्काउँथे । कुरा के रहेछ भने मेरो जन्मकुण्डलीमा विवाह हुनुबित्तिकै दुलाहाको मृत्यु हुने जोग परेको रहेछ । यस कुराले मेरा बाआमालाई ठूलो चिन्ता परेको थियो । साथी पूर्णमायाकोमा जाँदाजाँदै मेरो भेट उसको दाजु हिराकाजीसँग भयो । हिराकाजी पढेलेखेका जवान युवा थिए । म उनको व्यक्तित्वबाट प्रभावित थिएँ । उनी हक्की, निडर, बोलक्कड थिए । मलाई भेट्दैपिच्छे जिस्काउँथे । म लजाउँदै भाग्दथे । उनलाई हेरूँ–हेरूँ, भटूँ–भेुटूँ, बोलूँ–बोलूँझैँ लागिरहन्थ्यो । मेरो उमेर पनि पन्ध्रबाट सोह्र लागिसकेको थियो । हिराकाजी राणाविरोधी संस्था ‘प्रचन्ड गोरखा’ मा गुप्तरूपले काम गर्दा रहेछन् । उनी राणाशासनको विरोधमा लेखहरू लेख्ने, छाप्ने र पर्चा बनाई बाँड्ने गर्दथे । उनी मलाई आफ्ना लेखहरू पढन दिन्थे र कसैलाई नभन्नू भनी भन्दथे । म पनि उनको लेख पढ्न औधी रुचि राख्दथेँ । म उनलाई काममा पनि सघाउँथे । यसरी क्रान्तिकारी मोडमा हामीबीच आत्मिक प्रेमले स्थान पायो । त्यस समय केटीहरू त्यति बोल्ने चलन थिएन तर हिराकाजीको एकोहोरो मप्रतिको आकर्षणले मभित्रको लाज, डर, धक सबै हराउँदै गयो । कहिलेकाहीँ हामी घन्टौँ गफ गरेर बिताउँथ्यौँ । हिराकाजी राणाको विरोधमा तन, मन, धन दिएर लागेका थिए । हामीले विवाह गरी राणा शासन हटाउन जस्तोसुकै क्रान्तिको बाटो रोज्न परे पनि रोज्ने कसम खाएका थियौँ । हिराकाजीको ज्यानको खतरा थियो । राणाले थाहा पाएमा जुनसुकै वेला पक्राउ गरेर मार्न सक्दथ्यो । उनी आफ्नो असुरक्षित भविष्य मलाई सुनाउँदै पीर मान्थे । हामी दुई यस जन्ममा भेट नभए अर्को जन्ममा भेट हुने वाचा गर्दथ्यौँ । उनी अर्को जन्ममा सेनाको जागिर खाएर राणाहरूजस्तै कर्णेल, जर्नेल बन्ने सपना देख्दथे भने म समाजसेवा गर्ने भाव व्यक्त गर्दथेँ । म भन्थेँ– ‘तपाईं कर्णेल, जर्नेल हुनुभयो भने राणाजस्तै हुनुहुन्छ होला !’
उनी भन्दथे– ‘होइन म राणाहरूको ठीक उल्टो काम गरेर समाजलाई देखाउँछु ।’
यसरी हामीबीच वार्तालाप हुन्थ्यो । हामीबीचको सम्बन्धको बारेमा टोलमा गाइँगुइँ हल्ला चल्नथाल्यो । हाम्रो जात पनि मिल्ने हुनाले बाआमाले हाम्रो विवाह गरिदिने विचार गरे । केटा राणाहरूको विरोधमा लागेको हुनाले मेरी आमाले आनाकानी गर्नुभयो तर घरमा सबैले छोरी तरुणी भएकीले विवाह गरिदिनुपर्ने मनसाय राखे । हाम्रो विवाहको तयारी हुनथाल्यो ।
विसं १९९७ मा सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्दलाई मारेको झन्डै १० वर्षअघि विसं १९८८ सालको कुरा हो, त्यस वेला श्री ३ प्रधानमन्त्री भीमशमशेरको निवास टङ्गालमा थियो र रोलक्रमअनुसार महाराज हुन ठीकठाक भएका कमान्डर इन चीफ जुद्धशमशेर जाउलाखेलमा बस्दथे । पुतलीसडक नबनेको त्यस वेलामा जुद्धशमशेरलाई जाउलाखेलबाट भीमशमशेरकहाँ कालिकास्थान हुँदै डिल्लीबजारबाट टङ्गाल पु्ग्नुपर्ने थियो । डिल्लीबजारको मोडमै, बग्गीमा सवार हुने जुद्धशमशेर र उनी सँगै आएका राणाहरूलाई बमले स्वाहा बनाउने योजना ‘प्रचण्ड गोरखा’ ले गरेको थियो । तर यस विरोधको पोल खुल्यो । पोल खुलेपछि ‘प्रचण्ड गोरखा’ का मैनाबहादुर, खड्गमान सिंह, उमेशविक्रम शाह, रङ्गनाथ, नानीकाजी सिजापतिसँगै हिराकाजी पनि पक्राउ परे । एकातिर विवाहको तयारी भइरहेको थियो भने अर्कोतिर हिराकाजी पक्राउ परेर जेल परेका थिए । हिराकाजी पक्राउ परेपछि म विक्षिप्त बनेँ । उनलाई छुटाउन उनको घरकाले धेरै प्रयास गरे तर राणाहरूको दमन चरमोत्कर्षमा थियो त्यसैले सकेनन् । म उसै निडर र हक्की थिएँ । फेरि हिराकाजीको सङ्गतले मभित्र एकप्रकारको आत्मविश्वास पलाएको थियो । एकदिन म आफैँ आँट गरेर जेलका बडाहाकिमलाई भेट्न गएँ । मैले गएर बिन्तिभाउ गरेँ तर बडाहाकिमले उल्टै मलाई आरोप लगाई जेलको कालकोठरीमा थुनिदिए । यति मात्र नभई उनले मलाई बलात्कार गरे । मैले कति रोइकराइ गरँे, विरोध गरँे तर सकिनँ । मेरो जीवन यही कालकोठरीमा बित्ने रहेछ भन्ने लाग्यो । उसको पापको परिचय मेरो पेटमा बढ्न थाल्यो । जेलमा खाना राम्रो थिएन । म दिनदिनै राणाहरूलाई सत्तोसराप गर्दथेँ । मेरो सरापले होला राणाविरोधी कार्यहरू देशमा भित्रभित्रै उत्कर्षमा पुग्दैथिए । देशमा महान् सहिदहरू राणाशासन खतम गर्न ज्यानै फ्याकेर लागेका थिए ।
एकदिन बलात्कार गर्ने हाकिम आएर भने– ‘यसका दुलाहाका अगाडि यसलाई लगेर राख । यिनीहरूको इस्क भएको रहेछ । विवाहअघि नै बच्चा पाउने भएकी रहिछ ।’
मलाई त्यस हाकिमप्रति घोर घृणा जाग्यो । उसको मुखमा थुक्दै भनेँ– ‘पापी, अत्याचारी, पाप र धर्मको होस राख् । राणाहरूको जुठो खाएर कति दिन बाँच्छु भन्छस्, तैँले एकदिन मर्नैपर्छ ।’
मैले यसरी हाकिमको मुखमा थुक्नु ठूलो साहस थियो । उसले मलाई कोर्रा हान्न लगायो । मलाई हिराकाजीले देख्ने गरी सामन्नुको कोठामा राखिएको थियो । हामी आँखाबाट बोल्थ्यौँ, आँखाबाट नै मनको कुरा व्यक्त गर्दछौँ । मेरो अवस्था देखेर हिराकाजीको आँखामा कोही वेला आक्रोश देखिन्थ्यो भने कोही वेला लाचारी र विवशता देखिन्थ्यो । मेरो हालत दिनप्रतिदिन कमजोर बन्दै गएको थियो ।
एकदिन हिराकाजीलाई उसको कोठामा देखिनँ । जेलमा हिराकाजीलाई राती नै लगेर मारियो भन्ने हल्ला चल्यो । यो सुनेर म बेहोस भएँ । म बेहोस भएर होसमा आउँदा वैद्य नजिकै थियो । यसरी जेलमा वैद्य आउनुलाई विशेष कारण मानिन्थ्यो । वैद्य आउनुको रहस्य मैले बुझ्न सकिनँ । त्यसै पनि मेरो जीवनको पनि कुनै भर थिएन । कुनै दिन लगेर मार्न सक्थे । तर दोजिया त्यो पनि स्त्रीलाई मार्नलाई सितिमिति आँट गदैनथे । वैद्यले मलाई औषधि खानु भनेर दिएर गयो । अझ एउटा गोली आफैँ बसेर खुवाएर गयो । यो औषधि खुवाउनुको के रहस्य होला भन्ने मैले बुझ्न सकेकी थिइनँ । म धमाधम औषधि खाँदैगए । यसको तीनचार दिनपछि जब म रगतको भेलमा डुब्न पुगेकी थिएँ अनि कारण थाहा भयो । पेट दुखेर खपिनसक्नु भयो । मेरो शरीरबाट रगतको खोला बग्न थाल्यो । मेरा हातखुट्टा लुला हुँदैगए । त्यसपछि मैले वैद्य बोलाउनुको रहस्य थाहा पाएँ । मेरो गर्भपतन गराइएको रहेछ । त्यतिन्जेलमा धेरै ढिला भइसकेको थियो । त्यसै पनि मेरो बाँच्ने इच्छा मर्दैगएको थियो । मेरा आँखा सदाका लागि बन्द भयो । हाम्रा आत्माहरूले मिलन नभई विछोडको पीडा सहनुपरेको थियो । यो कथा इतिहासमा नलेखी हरायो । तर हाम्रो आत्मा यही कथा बोकेर भट्किरह्यो र यस जन्ममा हाम्रो भेट भयो ।
मैले पहिलो भेटमा नै तपाईंको आँखामा उही प्रेमको कथा पढेकी थिएँ । तपाईंको पुस्तकमा उही हिराकाजीको राष्टप्रेमले भरिएको निबन्धहरू पढेकी थिएँ । उही शब्द, उही शैलीले मलाई मेरो पुनर्जन्मको कथामा पु¥याएको थियो ।
आठ दिनसम्म घरमा बिमारी भएर बस्दा तपाईंको डिस्चार्ज भइसकेको रहेछ । तपाईंले पनि मेरो विषयमा वार्डमा धेरैजनालाई सोध्नुभएछ । तपाईंको गार्डले जिस्काउँदै भन्यो रे– ‘सरले आकाङ्क्षा सिस्टरलाई निकै खोज्नु भयो । केही छ सर ? हामीले पार्टी खान पाउने हो ?’
तपाईंले उसलाई हकार्दै भन्नुभयो रे– ‘चुप लाग । तिनले मेरो किताब लगेकी हुनाले सोधेको हुँ । हेर यी केटीहरूको चक्करफक्करमा मलाई नलगाओ । यी केटीहरू मायाका जाल होइनन्, आपतका जाल हुन् । यिनले गर्दा नै पैसा कमाउन प्रहरीहरू अनैतिक काम गर्छन् । त्यसैले तिमीहरू मलाई यस्ता कुरामा जाल बुन्दै फसाउने प्रयास नगर !’
तपाईंका कुरा सुनेर ती गार्डहरू डराए रे अनि ‘माफ गर्नूस् सर’ भनेर माफी मागे रे । मैले वार्डमा यो हल्ला सुनेको थिएँ ।
त्यसपछि समय यथावतरूपमा चलिरह्यो । मेरो हदयको अन्तःकुनामा कोरिएको मेरो कथाको सागरमा पौडँदै म आफ्नो जीवनको डुङ्गा खियाइरहेकी थिएँ । मैले धेरैचोटि साहस गरेँ तपाईंलाई यी कुरा बताउन तर सकिनँ । मेरो कथालाई विश्वास गर्ने कुनै आधार थिएन । प्रमाणको आधारमा ठीक–बेठीक छुट्ट्याउनेका लागि मेरो कथा हास्यास्पद हुनसक्थ्यो । घरमा मेरो विवाहको कुरा गाइँगुइँ चल्नथाल्यो । अन्तिममा मेरो विवाह हुने निश्चित भयो । मेरो बाआमालाई मैले विवाह नगर्नुको स्पष्टीकरण दिनुपर्ने भयो । अमेरिकामा डिभी परेर उहीँको ग्रिनकार्ड पाइसकेको केटा नसिङ् पढेको केटीको खोजीमा रहेछ । उसले मलाई देखेपछि नाइँ भन्ने कुरा नै भएन । तर मैले नाइँ भन्ने कुनै बहाना पाउन सकिनँ । बाआमाको लागि सम्पत्ति जतिसुकै भए पनि छोरी धेरै हुँदो रहेछ । उनीहरू ‘कि केटा देखा कि त विवाह नगर्नुको कारण बता’ भन्नथाले । मैले कारण प्रस्ट्याउन सकिनँ । त्यसैले तपाईंलाई गुहार्न यो मेल लेख्ने साहस गरेँ । अमेरिका पुगे पनि मेरो आत्माले त्यो खुसी पाउन सक्दैन, जुन खुसी मैले ती एक जोर आँखामा देखेकी छु । मलाई उही आँखा, उही शब्दले लखेटिरहनेछ । म मेरो उही कथाको सागरमा निसास्सिने गरी डुबिरहनेछु । मलाई लाग्छ मेरो जीवनको उद्देश्य भने पनि प्राप्ति भने पनि गन्तव्य भने पनि तिनै आँखा हुन् । ती आँखाका सम्मोहनबाट फुत्किएर म अन्त टाढा कतै पनि जान सक्दिनँ । प्रेम शाश्वत हो । अमर हो । हामी दुईको अतृप्त आत्माले यो जन्ममा पूर्णता पाउनैपर्छ । नत्र अर्को जन्ममा पनि हामी तड्पिरहेको हुनेछौँ ।
सिस्टर आकाङ्क्षाको यस कुराले मेरो हृदय हल्लाइदियो । कस्तो खालको कुरा हो भनेर । मैले यी सब कुरा सजिलै विश्वास गर्न सकिरहेको थिइनँ । मैले अफिसियल काम खासै गर्ननपर्ने हुनाले पुनर्जन्म सम्बन्धित वेवसाइड हेर्नथालेँ । यस्ता घटनाहरू धेरै ठाउँमा घटिसकेका रहेछन् । एक ठाउँमा पुनर्जन्मसम्बन्धी यस्तो कुरा लेखिएको थियो–
पुनर्जन्म र यसको वैज्ञानिक कारण ः
वर्तमान समयमा पुनर्जन्म एउटा धार्मिक सिद्धान्त मात्र नभई विश्वविद्यालय र परामनोवैज्ञानिक संस्थाहरूको प्रमुख अनुसन्धान कार्य भएको छ । जसलाई आज अन्धविश्वास मात्र नभई सृष्टिको आगमनको तथ्यात्मक रूप मानिएको छ । यसमा ऊर्जा सिद्धान्त लागु हुन्छ । जसरी ऊर्जाशक्ति नाश हुन सक्दैन । त्यस्तै चेतना पनि नाश हुन सक्दैन । हाम्रो शरीर पाँच भौतिक तत्त्व मिलेर बनेको हुन्छ । कुनै पनि समय हाम्रो आत्माले यो पञ्चभूत तत्त्वलाई छोडेर जान सक्छ र फेरि कुनै निर्धारित समयमा यसले पहिलो जन्ममा गरेको कर्म र संस्कारको आधारमा पुनर्जन्म लिन सक्दछ । यसलाई कतिपय वैज्ञानिकले अन्धविश्वास मानेका छन् भने कतिपय वैज्ञानिकले वास्तवविक रूप मानेर अनेकौँ अनुसन्धानको कार्य भइरहेको छ ।
मेलको कुरा अझै सकिएको थिएन । म पढ्न थालेँ–
‘हो तपाईंलाई लाग्न सक्छ के मान्छेको पुनर्जन्म हुन्छ र ? तर यसैको शक्तिले तपाईंमा घटेको एउटा घटना म बताउन सक्छु, जसले तपाईंलाई विश्वासको चुचरोमा पुर्याउन सक्छ । एकपल्ट तपाईंले एउटा बूढीमान्छे मारेको केस लिनुभएको थियो । ती बूढीमान्छेलाई अपराधीहरूले गरगहना लुटेर बलात्कार गरेर मारेका थिए । धेरै दिनसम्म अपराधी पत्ता लगाउन नसक्दा तपाईंले ईश्वरको मद्दत माग्नुभएको थियो । सपनामा कसैले तपाईंलाई बताएर त्यस ठाउँमा छापा मार्न जाँदा अपराधी भेटिएका थिए । नभन्दै तपाईं सफल हुनुभएको थियो ।
मलाई अचम्म लाग्यो । उनले यो कुरा कसरी थाहा पाइनँ भनेर । मैले यो कुरा कसैलाई भनेको थिइनँ । यस केसमा साँच्चै नै मैले अपराधीहरू पत्ता लगाउन नसकेर विभागबाट गाली खाइरहेको अवस्थामा कसैले सपनामा मलाई त्यस ठाउँको पत्ता बताइदिएको थियो । साँच्चै नै त्यहाँ अपराधीहरू तास खेलेर लुकेर बसेका थिए । जुन घटनाले मैले विभागबाट बधाई मात्र होइन इन्सपेक्टरबाट बढुवा भएर डिएसपीको पद पाएको थिएँ । तर उनले कसरी थाहा पाइन् ? म मनमनै कुरा गुन्दै उनको मेल पढन थालेँ ।
‘हो त्यस पुनर्जन्मको शक्ति हो । पवित्र प्रेमको शक्ति हो । हाम्रो अतृप्त आत्मा धेरै समयसम्म भट्किरह्यो । त्यसपछि हामीले पुनर्जन्म पायौँ । तपाईंले सोचजस्तो सेनाको जागिर खाने भनेकोमा इन्सपेक्टर बन्नुभयो । मैले सोचेजस्तो म समाजसेवाका लागि नर्सको पेसामा लागेँ । हामी दुवैको उद्देश्य पूरा भएको छ ।’
सिस्टर आकाङ्क्षाको कुराले म अझै अचम्मित बनेँ । के उनले भनेका कुरा सही हुन ? के हाम्रो पुनर्जन्म भएकै हो त ? के हाम्रो मिलनले मैले सोचेजस्तो देश र समाजको सेवा गर्नसक्छु ? के पवित्र प्रेमको शक्ति यति ठूलो हुन्छ ?
‘हो प्रेमको अर्थ मिलन मात्र होइन । हामीले मिलनलाई मान्यता दिएनौँ । यदि हामीले मिलनलाई मान्यता दिएको भए पहिलो जन्ममा नै हामी भागेर विवाह गथ्र्यौं र घरजम गथ्र्यौं । तर हामीले मिलनलाई प्राथमिकता दिएनौँ । हाम्रो पहिलो प्राथमिकता नै देश र समाज थियो । यदि तपाईं चाहनुहुन्छ भने यस जन्ममा पनि हामी अलग बस्न सक्छौँ । केही दिनपछि मेरो विवाह हुँदैछ । विवाह भएर म अमेरिका जानेछु । सायद तपार्इं पनि आफ्नो जीवन आफ्नै खुसीमा बाँच्नु हुनेछ । तर हामी दुवै कुनै वेला यसरी नै भेट भयौँ भने हाम्रा आत्माहरू भट्किने थिए । तर यस जन्ममा हाम्रो मिलनको बाधक कोही छैनन् । हामी हाम्रा आत्मालाई शान्ति दिन सक्नेछौ अनि जीवनलाई सार्थकता दिन सक्नेछौँ । एउटा पवित्र प्रेमको शक्ति यो पनि हुनेछ कि मेरा शब्दहरूले तपाईंलाई उद्वेलित पारिरहनेछ । तपाईंको मन अशान्त पारिरहने छ । अगाडि तपाईंको इच्छालाई छोड्दै मेरा कुरा यही टुङ्ग्याउँछु ।’
उही तपाईंकी
सिस्टर आकाङ्क्षा
सिस्टर आकाङ्क्षाको मेल पढिसक्दा म साँच्चिकै उद्वेलित हुन पुग्दछु । उनले मभित्र रहेको राष्ट्रप्रेम र समाजप्रेमलाई नजिकबाट बुझेकी थिइनँ । यो कसरी भयो ? एउटा केटीले प्रेमीलाई लेख्ने पत्र यस्तो त कदापि हुन्न । उनी त मायाप्रेमको मात्र कुरा लेख्न सक्छिन् । तर उनले त पहिलो जन्मदेखि लिएर मेरो अहिलेको जीवनको रहस्यमय कुरा पनि खोतलेकी छिन् । साँच्चै भन्नुपर्दा उनले मेरो जीवनलाई सिटिस्क्यान गरेर नै देखाइदिएकी थिइन् । उनको यस रहस्यमय कुराले म आकर्षित र आन्दोलित हुँदैगएँ ।
साँच्चै भन्नुपर्दा अस्पतालमा हुँदादेखि नै म उनीप्रति आकर्षित थिएँ । म यसरी केटीप्रति आकर्षित हुँदा आफैँलाई अचम्म लागिरहेको थियो । अहिले आकाङ्क्षाले मलाई आफूले आफैँलाई ऐनामा हेरेजस्तो छर्लङ्ग देखाइदिएकी थिइन् । मलाई आफूले आफैँलाई पढेजस्तो लागिरहेको थियो ।
धेरैसमयसम्म सिस्टर आकाङ्क्षाको कुरालाई मनमा मनन गरेर प्रतिउत्तर लेख्न बसेँ–
सिस्टर आकाङ्क्षा !
तपाईंका कुराले वास्तवमा नै म उद्वेलित भएको छु । वास्वतमा यी सब कुरा कसरी हुन्छन् म भन्न सक्दिनँ । तर अप्रेसन गरेपछिको अथाह पीडामा तपाईंले मेरो निधारमा हात राख्नुहुँदा नै मैले असीम आनन्दको अनुभूति गरेको थिएँ । मेरा सारा पीडा हराएका थिए । तपाईंको प्रत्येक व्यवहार मलाई प्रिय लाग्दथ्यो । मैले आफूभित्र रहेको यही राष्ट्रप्रेमले गर्दा नै विवाह नगर्ने भनेर सङ्कल्प गरेको थिएँ । तर तपाईंजस्तो एउटा सुशील सुन्दरी पाउँदा म आफूलाई भाग्यमानी ठानेको छु । मेरो भावाना मेरो विचार बुझ्ने जीवनसाथी पाउन पाए म कदापि अस्वीकार गर्ने छैन । तपाईंले जुन पुनर्जन्मको कुरा गर्नुभयो । त्यसलाई हामी कुनै काल्पनिक कथा, विनिर्मित वा पुनर्जीवित कथाको उपमा दिनसक्छौँ । हामी हाम्रो आत्मिक प्रेम र राष्ट्रप्रेमको फ्युजन गराएर धेरै गरिब दुःखीको हृदयमा मल्हमपट्टी लगाउन सक्छौँ । हामी हाम्रो जीवनको उद्देश्यमा ऐक्यवद्धता जनाउँदै अघि बढ्न सक्छौँ र जीवनलाई सार्थक बनाउन सक्छौँ । तपाईंको साथ पाए भने मेरो जीवन अवश्य नै सफल हुनेछ भन्ने विश्वास छ मलाई । हामी चाँडै नै एकअर्काको भावना र हदयको नजिक हुनेछौँ । अहिलेलाई बिदा ।
उही तपाईंको
हेमन्त
०००
छायाँकथा ः
‘सिस्टर आकाङ्क्षा हुनुहुन्छ ?’
‘बोल्दैछु ।’
‘म हेमन्त ।’
‘एऽऽ.. डिएसपी साब ।’
‘अनि खबर के छ ?’
सिस्टर आकाङ्क्षाको मन अत्तालिन्छ । मुटु ढुकढुक गर्छ ।
‘खबर हुँ…….अँ …।’
‘खबर पाइसकेको छु डराउनु पदैँन ।’
‘डर लागिहाल्छ नि !’
‘हो लाग्छ । मनको चोरलाई डर लाग्ने भइहाल्यो पक्राउ खाएपछि ।’
आकाङ्क्षा डरले पानीपानी हुन्छिन् । केही बोल्न सक्दिनन् ।
‘अँ….के….रे..।’
‘भैगो उजुरी परेरको छ, अब हथकडी लगाउनु आउनुपर्ला ।’
सिस्टर आकाङ्क्षाको दिमागले काम गर्न सकिरहेको छैन के भन्ने कि, के गर्ने भनेर ।
‘भोलिको समय कस्तो छ भेट हुनसक्छ ? भेट्न अनुकूल छ ?’
‘अँ हुन्छ । मेरो अफ छ ।’
डिएसपी हेमन्तको फोन आएदेखि सिस्टर आकाङक्षाको दिमागले ठिक काम गरिरहेको छैन । के गरूँ, कता जाऊँ, कसलाई भनूँ भइरहन्छ । मनमा बेचैनको सुनामीले लखेटिरहन्छ । अन्तिममा एकजना मिल्ने साथीलाई सबै कुरा सेयर गर्ने विचार गर्छिन् । साथीलाई सबै कुरा भनेपछि मन शान्त हुन्छ । साथीले पनि केही सरसल्लाह, सुझाव दिन्छिन् ।
भोलिपल्ट निर्धारित समयमा डिएसपी हेमन्तसँग सिस्टर आकाङ्क्षाको भेट हुन्छ । त्यस ठाउँमा घुम्न आउने प्रणयजोडी देखेर आकाङ्क्षाको मनको डर हराउँदै जान्छ ।
डिएसपी हेमन्त सामान्य कुराबाट कुरा थाल्छन्–
‘यतिका मनका कुरा यतिका दिनसम्म कसरी लुकाउन सकेको होला ?’
‘नराखेको भए अहिले भेट नहुन सक्थ्यो नि !’
‘हो यो कुरा पक्का हो ।’
‘मेरो कुरामा कतिको विश्वास लाग्यो ?’
‘विश्वास लागेर नै भेट्न बोलाएको नि ! तर यो कथा त एउटा निमित्त मात्रै हो । हाम्रो भेट हुनाका लागि । आखिर प्रेमी–प्रेमिकालाई भेट गर्न एउटा बहाना त चाहियो नि होइन ? कोही कथाको, कोही गीतको, कोही ठक्करबाट पनि त प्रेम गर्ने बहाना त चाहिन्छ नि । होइन र ?’
‘तर मलाई यी सब कुरामा विश्वास छैन । म जहिले पनि आत्माको कुरा सुन्छु ।’ सिस्टर आकाङ्क्षा अलिक कठोर भएर भन्छिन् ।
सिस्टर आकाङ्क्षाको भावानामा तुषारापात परेको महसुस गर्छ हेमन्त अनि फकाउने सूत्र प्रयोग गर्छ
।
‘मैले त ठट्टा पो गरेको त । त्यसो त म पनि त्यति सजिलै यस अवस्थामा आउने मान्छे हुँ र ? आउने भए अहिले दुई बच्चाको बाउ भइसक्थेँ ।’
डिएसपी हेमन्तको कुरा सुनेर सिस्टर आकाङ्क्षाको मुखबाट हाँसोको फोहरा छुट्छ । यही मौका छोपेर डिएसपी हेमन्त उनको हात समाएर गहिरो चुम्बन गर्छन् । सिस्टर आकाङ्क्षा लाजले आँखा चिम्म गर्छिन् । दुईजनाको बग्दै गरेको जीवनको खोलामा प्रेमको गहिरो बाँध बाँधिन्छ । समय त्यही बाँधमा बाँधिन्छ ।
सुत्रधार ः
डिएसपी हेमन्त र सिस्टर आकाङ्क्षाको भेटपछि जीवनले नयाँ गोरेटो कोर्न थाल्छ । उनीहरू आफ्नो मिलनलाई प्रमाणिकता प्रदान गर्न चाँडै नै विवाह बन्धनमा बाँधिने योजना बनाउन थाल्छन् । एकातिर डिएसपी हेमन्त आफ्नो जीवनलाई सिस्टर आकाङ्क्षासँग पूर्णता दिन लागिपर्छन । उनीहरू वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्छन् । एकातिर विवाहको तयारीमा हुन्छन् भने अर्कोतिर एउटा इमानदार र कत्र्तव्यनिष्ट प्रहरीको छवि बोकेर कालाबजारिया, घुसखोरी र भष्ट्राचारीहरूको आँखाको कसिङ्गर बन्न पुग्छन् । जताततै उनको इमानदारीको प्रशंसा भइरहेको हुन्छ । तर अचानक एक दिन मन्त्रीको पहुँचमा भएको कालाबजारियालाई भन्डाफोड गर्न पुग्छन् र डनबाट मारिन्छन् । डिएसपी हेमन्तको हत्यापछि सिस्टर आकाङ्क्षा पागलजस्तै बन्न पुग्छिन् । उनी गुन्डाहरूसँग बदला लिने प्रपन्च मिलाउन थाल्छिन् । यसै सन्दर्भमा उनी बलात्कृत भई मारिन्छिन् । एउटा अधुरो प्रेमकथा फेरि जन्मन्छ । प्रत्येक युगसँगै यो प्रेमकथा जन्मन्छ अनि प्रत्येक युगमा अधुरो भएर समाप्त हुन्छ । सायद डिएसपी हेमन्त र सिस्टर आकाङ्क्षाको भेट फेरि अर्को जन्ममा हुनेछ, जसरी रत्नमाया र हिराकाजीको भएको थियो । उनीहरूको कथा सुरु भएर यसरी नै कथाको अन्त्य हुनेछ । सतीले सरापेको हाम्रो देशमा यस्ता राष्ट्रप्रेमीहरूको कथा र सतीको कथा यसरी नै सुरु हुन्छ अनि यसरी नै समाप्त हुन्छ । प्रत्येक युगमा समयसँगै विडम्बनाको भारीले भरिएको कथा पढ्न हामी पाठकहरू यसरी नै बाध्य हुनेछौँ । कथाका शब्दहरू प्रतिध्वनित आवाज भएर यो ब्रह्माण्डमा गुन्जिरहने छन् । गुन्जिरहने छन् ।
(दाहाल चर्चित साहित्यकार हुन्)
[email protected]