• २०८१ माघ ५ शनिवार

सङ्गीन प्रश्न

मिलन समीर

मिलन समीर

अरू कसैले नदेख्नेगरी- अँध्यारोमा
मेरो सर्वाङ्ग नाङ्गो शरीरलाई
हजुरले ओछ्याएर सुत्नचाहिँ हुने
तर सबैले देख्नेगरी- उज्यालोमा
मैले छुन त धेरै टाढाको कुरा
हजुरको नजिकै सर्न पनि नहुने
साँच्चै किन हो र मालिक बराजु ?

एकाबिहानै सुनपानी छर्किंदैमा
रातैभरि हजुरले निलेको
मेरो मुखको र्याल चोखिन्छ होला र  ?

हजुरको शिवलिङ्ग
मेरो कुमारी शरीरमा
पस्दाचाहिँ केही नहुने
तर म हजुरको छेउमा
बस्नै नहुने किन हो र मालिक बराजु  ?

हरेकदिन गायत्री मन्त्र जप्दैमा
हरेकरात हजुरको जनैमा कटकटिएर बसेको
मेरो योनिरस पखालिन्छ होला र ?

हजुरको शरीरको अतृप्त भोक
मेरै यौवनको भोजनले मेटिने
अँध्यारोमा एउटै भएको शरीर
भालेको डाँकसँगै छुट्टिने
मेरै मुखको थुक चल्ने
तर मैले छोएको पानी नै नचल्ने
साँच्चै किन हो र मालिक बराजु  ?

हजुरको घरको दलान पनि
टेक्ने आँट नगर्ने मान्छे
हजुरका हरेक रातहरूलाई
रङ्गीन बनाइदिने
हजुरकी रातकी प्रिय रानी
दिनकी नोकर्नी मैले
जिन्दगीमै पहिलोपटक
हजुरको आँखामा आँखा जुधाएर
यत्ति सोध्ने आँट गरेकी छु आज  !

दिनुहोस् न जवाफ मालिक बराजु  !
कुन धर्मशास्त्रमा लेखिएको रहेछ  ?
शूद्रहरूको
सिङ्गो शरीर त चल्छ
तर पानी चल्दैन भन्ने कुरा !


करादीखोला, स्याङ्जा
[email protected]