आकाशको रङ उहीँ छ
आकार उहीँ छ
घाम र जून पनि उस्तै छन्
परिवर्तन भएको छ केवल
जीवनको गति
ओइलिँदैछ सर्वश्रेष्ठ प्राणीका अनुहारबाट
अहम्को तेज
सर्वत्र ठडिएको छ त्रासको तरबार
अनि
मानवइतिहासकै सर्वोच्च सकस भोग्दैछ
गौरवशाली विज्ञान
लासहरूको चाङले आँखा रसाएको
यो अप्रिय क्षणमा
कसरी बाटिन सक्छ र जमराको मालामा
आशीर्वादको सुगन्ध ?
वियोगको हुन्डरीसँगै
शोकधुनले गलेका बाजागाजाबाट
कसरी निस्कन सक्ला र
मालसिरीको महक ?
बर्खी बारेर बसेको छ यसपटक
शारदीय प्रहर
आफैँ छाँद हालेर रुँदैछ यतिवेला
उमङ्गको लहर
कसरी थापौँ म यो सङ्क्रमित निधारमा
दमखोकीले गलेका हजुरबाका औँलाहरूबाट
अक्षताको टीका ?
दसैँघरहरू यसपटक
आफैँ आइसोलेसनमा बसेका छन
उमङ्गहरू होम क्वारेन्टाइनमा छन्
प्रिय दसैँ तिमी आउँदा
महामारीविरुद्धको नयाँ खोप लिएर आउनू
आइसीयु विस्तार गर्ने
योजनाको कुम्लो बोकेर आउनू
यही सुखद सन्देशभित्रै छामि रहनेछु म
आइसोलेसनको कक्षबाट
शारदीय पर्वको यो धिपधिपे उजेलोसँगै
तिम्रो सुखद आगमन ।
(गुरागाई चर्चित साहित्यकार हुन्)
[email protected]