संस्मरण

तिमी …!
चेतनाशून्य
विवेकशून्य
हृदयविहीन
दृष्टिविहीन
प्रतिक्रियाशून्य
पत्थर भएर पनि
आस्थाको धरोहर
विश्वासको प्रतीक बनेर
असीम श्रद्धाले
हृदयमा बसिरह्यौ ।
साधुहरू आए, प्रणाम गरेर गए
चोरहरू आए, परिक्रमा गरेर गए
जोडीहरू आए, प्रार्थना गरेर गए
निस्तेज
निःशब्द
हेरिरह्यौ देख्यौ- देखेनौ ?
न कसैलाई केही दियौ,
न केही लियौ
तिम्रा लागि गरेका भाकलहरू
तिमीले कबुल गर्यौ- गरेनौ ?
तिम्रा लागि समर्पण
निरीह बलिहरू
तिमीले स्वीकार गर्यौ- गरेनौ !
सामुन्ने बगेका रगतहरू
तिमीले देख्यौ–देखेनौ
आर्तनादमा छटपटिएका पीडाहरू
तिमीले सुन्यौ- सुनेनौ ?
तिम्रा लागि रचिएका
जेहादहरू,
तिम्रा लागि स्वीकार्य छन्- छैनन् ?
तिमीप्रति पोखिएका
आस्था र विश्वास
अनुनय र विनयहरूको
तिमीले मूल्याङ्कन गर्यौ- गरेनौ
प्रतिउत्तर तिमीले दियौ- दिएनौ
मूकदर्शक भएर हेरिरह्यौ
प्रतिक्रिया शून्य भएर बसिरह्यौ ।
तथापि
तिनै मनहरूमा
ती विश्वासहरूमा
तिनै आस्थाहरूमा
जरो गाडेर
सर्वशक्तिमान
भएर बस्यौं ।
भन तिमी को हौ ?
(हेटौडा निवासी पौडेल विगत तीन दशकदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् )
[email protected]