• २०८२ बैशाख ७ आइतबार

म यस्तै मान्छे

शरद निरोला

शरद निरोला

जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भन्छन
जहिल्यै पनि सुरुङ्गको अन्त्यमा उज्यालो हुन्छ भन्छन
मेरो अन्तर्मन भित्रको बादलमा त त्यस्तो कुनै घेरा छैन
म पसेको सुरुङ्गको अन्त्यमा पनि कहीं कतै उज्यालो छैन
म घनघोर बादलभित्र उकुसमुकुसिएर
झनै कालो-नीलो भएको मान्छे
म सुरुङ्गभित्र अर्को सुरुङ्ग अनि अर्को सुरुङ्ग गर्दै
सुरुङ्गको जन्जालभित्र अलपत्र परेको मान्छे
कहाँ बादल कहाँ उज्यालो
म ता त्यसै त्यसै शून्यताको बाक्लो हुस्सुभित्र
हराउँदै गएको मान्छे
म यस्तै मान्छे
म त्यस्तै मान्छे
नियतिले जति नै ढल्काउन खोजे पनि
म ढल्किंदै नढल्केको मान्छे

म भक्तिले नछोएको निष्प्राण ढुंगे देउताजस्तो मान्छे
म शक्तिले मात्तिएको अपूजनीय निरङ्कुश शासकजस्तो मान्छे
म भावनाको बगरमा एकतमासले रोडा कुट्ने श्रमिकजस्तो मान्छे
म महासागरको अथाह गहिराइमा सल्बलाउने
अष्टभुजा अक्टोपसजस्तो मान्छे
म यस्तै यस्तै लक्षणहरुले परिभाषित मान्छे
म मान्छेभित्रको मान्छे
म मान्छेभित्रको मान्छेमा पनि
फेरि मान्छे नै खोजिरहेको कोरा मान्छे


(हाल मेरिल्यान्ड, अमेरिकानिवासी निरोला चर्चित आख्यानकार एवम् पत्रकार हुन्)
[email protected]