विस्फोटक महाप्रलय बोकेको
अद्भुत अनन्त ब्रह्माण्डमा
मृत्युभन्दा महान् सत्य
अर्को कुन छ…?
‘स्वप्निल सृष्टिचक्रको परम् सत्यबोध
आनन्दको अन्तिम प्राप्ति हो ।’
सृष्टिकालको सुदूरबिहानीबाटै
उस्तै छन्
सबैसबै आँखाहरू
आँसुको रङ दुरुस्त उस्तै छ
वहाव उही छ
कतै छैन फरक
मात्र फरक छन्
हृदयका चोटका आकार
र
हरेक मनका पृथक अनुभूतिहरू
जुन दृश्यमा उदाउँदैनन्
निमेषभर
कहिल्यै कुनै युगमा पनि
मनभित्रै उदाएर- मनभित्रै अस्ताउँछन् ।
कतै मजबुर हाँसोको तरङ्गमा छुप्छन्
भावना र वेदनाका
कहालीलाग्दा आँधीहरू ।
न जीवनको ठोस आकार छ
न कुनै सटीक परिभाषा
आगो हो
ताप छरेर जलिरहन्छ
पानी हो
निरन्तर बगिरहन्छ, बगिरहन्छ…
कहिले हिउँ बनेर जम्छ
कहिले
बाफ भएर आकासिन्छ
माटोको कण र जीवनको घुलन
सहअस्तित्वमा टिकाएर
पृथकपृथक आकार खोप्न तल्लीन
सृष्टिको अदृश्य क्यानभासमा
‘पञ्चतत्त्व’
ठोस रूप लिन्छ र पग्लन्छ ।
शून्यशून्य महाशून्य
ए ! सृष्टिका महान जादुगर !!
कहाँ छ ?
जीवनको ठोस अस्तित्व
के हो ?
प्रेम, वेदना: हर्ष र आँसु
मान्छे किन गर्दैछ
शून्यवृत्तमा उभिएर- अमरत्वको खोज ।
चिता जलाउनुभन्दा अर्को
मार्मिक अभिनय
कुन युगमा
कुन मानवपात्रले मञ्चन गर्नसक्यो ?
हो !
चिताको सजावटमा बगेको
शोकाकुल आँसुका थोपाभन्दा
अर्को वेदनामय आँसुथोपा
कुन महान् कलाकारले कहाँ खसायो !
व्यर्थ छ
आँसु र हाँसोको अर्थ खोज्नु
र
सुख- दुःखको मार्मिक लोरी गाउनु
रहस्यमय यान
मानवसभ्यताको आँचलमा
पदचिन्ह छाड्दै र मेट्दै
सुदूरभविष्यतिर उडिरहेको छ;
बोकेर
मलामीका हुलका हुल ताँतीहरू ।
विस्फोटक प्रलय बोकेको
अद्भुत अनन्त ब्रह्माण्डमा
मृत्युभन्दा महान् सत्य
अर्को कुन छ…?
‘स्वप्निल सृष्टिचक्रको परम् सत्यबोध
आनन्दको अन्तिम प्राप्ति हो ।’
(दमक, झापा निवासी
[email protected]