कविता-हिन्दी

आमाहरू हराउँदा,
आमाहरू मात्र हराउँछन् कि अरू पनि ?
आजकल आमाहरू हराउँदै छन्
छोरी, थाहा छ तिमीलाई
समयको कलमा राखेर
उध्रेको लुगा कसरी सिलाउने ?
जिन्दगीको ओदानमा बसालेर
भात कसरी पकाउने ?
बगैँचाको फूलसँग सिकेर
घर कसरी फुलाउने ?
छोरी,
के थाहा छ तिमीलाई
जीवनको पर्व कसरी मनाउने ?
छोरी भन्छिन्-
‘आमा, मलाई सबै थाह छ
जानेकी छु सबै, सबै बुझेकी छु ।’
म चकित छु, छोरी
म आमा, मैले सिकाउँदै नसिकाई
कसरी जान्यौ सबथोक तिमीले ?
यी हातहरू यिनै हुन्,
जसले तिम्रा कोमल शरीरमा तेल दले
तिम्रो रुवाइमा मेरा आँसु झरे
तिम्रो मुस्कानमा मेरा खुसी अग्लिए ।
तर जब ठूली हुँदैगयौ तिमी
तब सबथोक कसरी आफैँ जान्ने भयौ ?
छोरी
मेरो जीवनभरि आर्जेको सीप र ज्ञान
तिमीलाई हस्तान्तरण गर्न मन थियो
जसरी मेरी आमाले मलाई बाँडिन्,
त्यसैगरी तिमीले
तिम्रा सन्तानलाई बाँडेको
संस्कार हेर्न मन थियो ।
जसरी सिकेँ मैले आमासँग
जीवनका अक्षर र बाह्रखरीहरू
बायुपङ्खी घोडा चढ्ने
राजकुमार र राजकुमारीका कथाहरू
उध्रिने सम्बन्धका धागाहरू,
र प्रेमले सिलाउने सियोहरू
यो मौलिक संस्कार खै आज ?
जो पुस्तौँ देखि चलिरहेथ्यो निरन्तर
किन यहीँ निर आएर धाँजा फाट्यो ?
बा-आमाका लागि
यो पुण्य अवसर कसरी गुम्यो ?
छोरी म अचम्भित छु,
आखिर के कुराले लखेटिरहेछ तिमीलाई
र बनाइरहेछ तिम्रो पुस्ता अर्कै भर्चुअल विश्व ?
र किन तोकिरहेको छ हरेक कुराको मोल ?
के बा-आमाको कुनै मोल हुन्छ र ?
आमाले दिने ममताको मूल्य तिर्न गाह्रो छ
बाबाले दिने शिक्षाको मूल्य तिर्न गाह्रो छ
यति वेला बाबा-आमा हार्दैछन्
खासमा
भावनाको संसारबाट बिस्तारै बाहिरिँदै छन् सन्तानहरू
र छिर्दैछन्, यन्त्रहरूको संसारमा
म देख्दैछु, भोलिको समाजलाई
जहाँ प्रयोगशालाका यन्त्रहरूले
हुर्काउँदै छन् सन्तान
र आमाहरू बिस्तारै हराउँदैछन् ।
(पेसाले स्वास्थ्यकर्मी न्यौपाने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यान्सस (अमेरिका) च्याप्टरकी अध्यक्ष हुन्)
[email protected]