• २०८१ माघ २७ आइतबार

म, ऊ अनि साउनका चुरा

लक्ष्मी घिमिरे

लक्ष्मी घिमिरे

छोराछोरी हुर्काउँदै घरव्यवहार सम्हालेर जागिरपनि धान्नु भनेको मलाई जीवनमा ठुलै संघर्ष गरेझैं लाग्थ्यो । जागिर छोडेँ भने महँगाइ सँगको पौँठाजोरीमा कतै हारिन्छ कि भन्ने डर । जागिर खाऊँ भने कतै घर व्यवहार बिग्रिन्छ कि भन्ने डर । यस्तै डरैडरको दोसाँधमा मैले जागिर छोड्नु भन्दा एउटा सहयोगीको आवश्यकता महसुस गरेँ । मलाई थाहा थियो एउटा असल सहयोगी पाउनु भनेको असल जीवनसाथी, राम्रो जागिर पाउनु भन्दापनि कठिन काम थियो । तैपनि मैले हिम्मत हारिनँ । आफ्ना चिने जानेका साथीभाइलाई एउटा सहयोगी चाहिएको कुरा जानकारी गराउँदै गएँ । एकदिन अफिसबाट फर्कदै थिएँ । मलाई मेरी मिल्ने साथीले फोन गरी र भनी “मेरो घरमा आइज न ! तँलाई एउटा सहयोगी साथी खोजीदिएको छु ।’’ म हतारिँदै घर नआई सोझै उसकै घरतिर हानिएँ । यो मेरो वाध्यता पनि थियो र आवश्यकता पनि । एकछिन गफगाफ गरेर चियाखाई सकेपछि उसले आफू बस्ने घरको कम्पाउन्ड भित्रै रहेको चारकोठे टिनको टहरातिर फर्केर सानी ! सानी ! भनेर बोलाई सानीको सम्बोधन सुन्ने वित्तिकै १४/१५ वर्ष जतिकी केटी एकैछिनमा माथि आइपुगी र हाम्रो छेउमा लुसुक्क परेर उभिई । मेरी साथीले भनी- ‘ऊ तेरी सहयोगी’ उसले मलाई पुलुक्क हेरी र मौन रही । मैले उसलाई सोधेँ ‘तिम्रो नाम सानी नै हो कि अरू केही छ ?’ उसले भनी ‘रूबिका’ ‘आहा ! कति सुन्दर नाम !’ ऊ मुसुक्क हाँसी केही भनिनँ । मैले फेरि भनेँ- ‘म तिमीलाई रूवी भन्छु है’ । ऊ विस्तारै बोली ‘हुन्छ’ । ‘यति सानै उमेरमा सहयोगी भएर काम गर्छु भन्छ्यौं, सक्छ्यौ काम गर्न ? अनि पढाइ बिचै छाडेकी हौ कि पढेकै छैनौ ?’ मैले प्रश्न बर्रर बर्साएँ । ऊ मौन रही केही बोलिनँ । सायद भित्र भित्रै ऊ दुःखी होला मेरा प्रश्नले । केवल उसले मेरो मुखमै हेरिरही र अँअँ भन्दै गई । थोरै हच्किए जस्तो, थोरै डराए जस्तो । म उसको अनुहार पढ्दै थिएँ । ऊ डराएरै बोल्दै गई ‘दिदी, म नौ कक्षा पढ्दा पढ्दै भागेर आएकी तल टहरामा बस्ने रूपेशसँग । ऊ घर पेन्टिङ्ग गर्ने काम गर्छ । एकजनाको कमाईले मात्रै पुग्दैन । यसैले म पनि केही काम गरेर उसलाई सहयोग गरूँकि भन्ने विचारले’ । ऊ रोकिई, उसको र मेरो एउटै पीडा र व्यथा थियो । तर ‘म भागेर आएकी’ भन्ने शब्द मेरो मनको कुनाकुनामा गई ठोकिएर तरंगित हुनथाल्यो । ‘यति सानै उमेरमा’ भागी बिहे ? म अलि ठुलो स्वरमा बोलेछु क्यारे । ऊ डराए जस्तै भई । ‘हैन, नानी तिम्रो उमेर सानै छ । बिहेको सम्बन्धलाई जोगाएर राख्न सक्छ्यौ त ?’ मैले ऊतिर फर्किएर भनेँ । उसले भनी ‘दिदी यो संसारमा मेरो कोही छैन । आमा सानैमा बितिहालिन्, बुबाले अर्की आमा ल्याए । सानै उमेर देखि पिटाई खान सिकेँ । हेपेको पनि सहन सिकेँ । माया गर्ने कोही भएन । आमा आफ्नो नभएपछि बुबाको व्यवहार त अर्कै पो हुँदो रहेछ । यस्तैमा गाउँकै मेलामा एकदिन लुकेर साथीहरूसँग जाँदा ऊ सँग भेट भयो । त्यहीँ माया बस्यो । उसले मलाई धेरै माया गर्न थाल्यो । सानैदेखि आफ्नाको माया नपाएकी म उसकै माया सबैथोक जस्तो लाग्यो र ऊ सँगै भागेर आएँ । हामी दुबै उस्तै दुःखी छौँ दिदी । उसको पनि यो संसारमा कोही छैन । घरमा सौतानी आमा छिन् । त्यसैले उसले मेरो दुःखलाई मनैदेखि बुझ्छ । मैले पनि उसको पीडा मनैदेखि बुझ्छु । उसले मलाई कुनै पनि हालतमा छोड्दैन दिदी । मलाई धेरै माया गर्छ ।’ यति भनेर ऊ रोकिई । उसको जीवन कहानी पीडा र व्यथा नढाँटी भनेकाले म ऊ प्रति निकै प्रभावित भएँ र ‘भोलि बेलुकादेखि नै मेरोमा आऊ है’ भन्दै म त्यहाँबाट बिदाभएँ ।
भोलिपल्ट देखि नै ऊ मेरोमा आउन थाली । यसैगरी दिन, हप्ता महिनागर्दै वर्ष दिन पनि बितिसकेको थियो । ऊ मेरो जीवनको एउटा अभिन्न अङ्ग जस्तै भई । ऊ मलाई माया गर्थी । मलाई पनि उसको असाध्यै माया लाग्थ्यो । बेलाबेलामा उसलाई अप्ठयारो पर्दा मलाई नढाँटी भन्थी । म पनि उसलाई सहयोग गर्न पाउँदा फुरूङ्ग हुन्थेँ । ऊ आफ्ना दुःख सुखका थुप्रै कुरा मसँग साट्थी । साउन महिना लाग्न लागेको थियो । हरिया, पहेँला, राता चुरापोतेहरू चुरा पसल भरि सजिसकेका थिए । धेरैजसो हरिया, पहेँला र राता साडी र कुर्था सुरूवालहरू रेडिमेट पसलभरि झुन्डिएका थिए । मानौँं साउन महिना कुनै पर्व मनाउने महिना हो । एकदिन ऊ अध्यारो मुख लगाउँदै आई । सबै काम सकी र कुर्सीमा बसी । मैले चिया बनाउँदै उसलाई भनेँ “भोलि त शुक्रबार पनि हो, साउने सक्रान्ति पनि । तिमीहरू बुढाबुढी नै यहीँ आओ न त । बेलुका खानासाना खानू अनि फर्किनू ।” ‘‘उसको थुप्रै काम छ रे ! दिदी राति फर्किन्छ भ्याउँदैन । म आइहाल्छ नि !” भन्दै ऊ निस्की । पर्सिपल्ट शनिबार ऊ छिटै आई । बोल्दै नबोली सबै काम सकाई । उसको अँध्यारो अनुहार देखेर के भयो मात्र भनेकी थिएँ उसका आँखाभरि आँसु टिलपिल भए । ऊ मेरो काखमा घोप्टो परेर घुँक्क घुँक्क गर्दै रून थाली । म अलमलमा परेँ । कतै उसको बुढोसँग पो भनाभन भयो कि ! के गर्नु सानै उमेरमा नपढ्ने भन्दै बिहे गरेकी छे । कतै अरू नै केटीसँग सम्बन्ध बढाएर छोड्ने पो कुरा गर्यो कि । यस्तै यस्तै शङ्का उपशङ्काले मेरो मनमा डेरा जमाइ रहे । धेरै पटक के भयो भनेर सोध्दा बल्ल उसले अलिमाथि टाउको उठाएर घुँक्कघुँक्क गर्दै अबोध पारामा भनी, ‘‘दिदी हामीसँगै बस्ने हाम्रा साथीहरूले भनेका यो साउन महिनामा हातमा मेहेन्दी, हरिया, राता, पहेँला चुरा र त्यस्तै रङ्गका लुगा लगाएन भने लोग्नेको आयु कम हुन्छ अरे । उसको रक्षा र आयुको लागि त मन्दिर गएर पूजा आजा गर्दै भोकै पनि बस्नुपर्छ रे ।” म केही बोल्न सकिनँ । बस सुनिरहेँ ऊ भन्दै गई ‘‘म उसलाई धेरै माया गर्छु दिदी बाँचुन्जेल उ सँगै जीवन बिताउन चाहन्छु । मैले व्रत नबसेर उसलाई केही भयो भने ” ऊ अझै के के भन्दै थिई ।
मैले मेरा हातभरि भएका राता, हरिया, पहेँला चुराहरू यसो हेरेँ । घाँटीमा झुन्डिरहेको हरियै पोते र हत्केला भरी सजिएको कृत्रिम मेहेन्दीको रङ्ग पनि नियालेँ । मलाई लाग्यो म पनि धर्म र संस्कृतिलाई गाँजिरहेको विकृतिको सिकार भइरहेकी छु । म जुरूक्क उठेँ । हातमा लगाएको सबै चुराहरू खोलेँ र बाला लगाएँ । झुप्पो पोते खोलेँ र सबै रङ्ग मिसिएरको एक त्यान्द्रो पोते लगाएँ । पोलिस मेट्नेले हातमा लागेको मेहेन्दी रगडेँ । कृत्रिम न थियो अलि फिका भयो अनि मैले ऊ तिर हेर्दै भनेँ- “हेर ! रूबी साउनमा लगाएको हरिया चुरा, पोते, सिन्दुर र मेहेन्दीले मात्र श्रीमानको आयु लम्बिन्दैन । एउटा असल श्रीमान् र श्रीमतीको सम्बन्धलाई सहज रूपमा अगाडि बढाउन र लामो समय सम्म जोगाई राख्न त उनीहरूको दुःख सुखमा साथ दिन सक्नुपर्छ । विश्वास गर्न सक्नु पर्छ । श्रीमान् श्रीमती दुबैले एक अर्काको अस्तित्वलाई सम्मान गर्न सक्नुपर्छ । घरमा कलह र झगडा नभएपछि शान्ति छाउँछ, आनन्द छाउँछ अनि त्यसै हामी सबैको आयु लम्बिहाल्छ नि ! हातभरि चुरा, गलाभरि पोते सिउँदोभरि सिन्दुर र सधैँ रातै, हरियैै मात्र लुगा लगाउने र व्रत बस्नेका श्रीमान् मरेका छैनन् र ? कति बाँच्ने भनेर जन्मिदैमा हामी सबैले आफ्नो आयु आफैँ लिएर आएका छौँ । भगवान प्रतिको भक्तिभाव देखाएर गरिँदैन नि, फेरि देखाएर भक्तिभाव गर्नु त प्रदर्शन भइहाल्यो नि लाटी ।” म यति भनेर रोकिएँर आफ्ना दुवै हात फैल्याएर उसलाई बोलाएँ । ऊ मेरो अँगालोमा आएर बेरिई । यतिन्जेलसम्म उसका आँसु  झर्न रोकिसकेका थिए । ओठमा थोरै मुस्कान छाइसकेको थियो ।


लक्ष्मी घिमिरे
[email protected]