छोरो अखबार पढ्दै थियो । स्वर ठूलै सुनिएको थियो उसको । छोराछोरीले जानेका हुन्छन् काम गर्दैछु भनेर देखाउन वा सुनाउन । हुन त मैले नै भनेकी थिएँ केही दिनअघि ‘यसो अखबार पढ्ने गरे हुन्छ नि’ भनेर । मेरो ध्यान भान्छाबाट उतै केन्द्रित भयो । विषय नै त्यस्तो थियो ‘देह व्यापार’ । झस्किएँ म उसले पढेको विषयवस्तु सुनेर । अब मेरै देशमा पनि कर लगाएर, सिमाना तोकेर देहव्यापार खुल्लागर्ने बहस चलाउने रे । घोत्लिएँ म एकछिन, सोच्न बाध्य भएँ । मजाक थिएन त्यो । नहुनुपर्ने सबै भइरहेको कालखण्डमा त्यो नहुनुपर्ने भित्र परेन । विज्ञानले जैविक आवश्यकता मध्येको एक आवश्यकता भनिसके पछि ।
पल्टाउन मन लाग्यो शब्दकोश, अर्थले साँच्चै के बोक्दो रहेछ यो देहव्यापारलाई । ‘देह’ सबले सुनि आएको शब्द, मानिस लगायत सबै प्राणीको जिउ, आङ, शरीर । अलिकति विस्तृत भएर हेर्दा जीवन, जिन्दगी । हुनपनि हो देह रहे त जिन्दगी रहन्छ ।
‘व्यापार’ पनि बुझ्न गाह्रो नभएको शब्द हो तर आवश्यकता उत्सुकतामा परिणत भएपछि त्यसले यथार्थमा समाधान खोजेको हुन्छ । लाभका निम्ति कुनै वस्तु वा मालसामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम, सन्तुष्टि त प्राथमिकतामा परि नै हाल्छ । लाभ नभई व्यापार हुँदा पनि हुँदैन । लाभ नभएपछि जीविको पार्जन मात्र हुने भयो । सरसर्ती बुझ्दा किन्ने र बेच्ने काम भने पनि भयो व्यापारलाई ।
फलको इच्छाले वा त्यसै पनि कर्ताले गर्ने कुनै काम । आफूसँग नभएको अर्कोसँग लिनुपर्ने भएको दिनुपर्ने कुरो व्यापार भित्र पर्छ । त्यहाँ वस्तुको मात्रै कुरै छैन सन्तुष्टि सँगसँगै आउँछ । व्यापारसँग जे जोडिन्छ त्यसलाई किनिन्छ या बेचिन्छ । तरकारी, फलफूल, खाद्यान्न, कपडा आदि–इत्यादि देखिएरै व्यापार गरिनेमा पर्छन् । आवश्यकता, सन्तुष्टि, चाहना भित्र पनि व्यापार नजोडिएला भन्न सकिन्नँ ।
व्यापारसँग ‘देह’ जोडिएपछि देहव्यापार हुनेनै भयो । आवश्यकता र सन्तुष्टि भन्दा यो माथि उठ्न पनि नसक्ला । व्यवस्थापन आवश्यकता भित्रनै त पर्छ । यहाँ अन्य वस्तुलाई उठान गर्न खोजिनँ मैले, देह जो शरीर हो र जससँग जिन्दगी जोडिएको छ । व्यापारसँग जोड्दा देहव्यापार हुन्छ । साँच्चै सार्वजनिक गरेरै त्यस्ता केन्द्र मेरो देशमा खुले भने बैङ्कक जानै नपर्ने हुन्छ मान्छेलाई, आफ्नो प्राकृतिक धारा र कुण्डको व्यवस्थापन गर्न ।
वीज रोप्नेले बिदालिएको थियो यो धर्तीबाट, उसैको वीजका उपज छोराछोरी थिए मेरा । एकछिन अघिसम्म छटपटी थियो मलाई, ती छोराछोरीको भविष्यको व्यवस्थापन गर्न । अखबारको समाचारले उतै तान्यो । सोच्नुभन्दा के जानेको छ र मान्छेले, मैले पनि सोचेँ । निर्णय पनि सोचेरै लिइन्छ आखिर । मेरो काँधको जिम्मेवारी उसको वीज र मेरो अस्तित्त्व । अभिभावकले म वस्तु भएकी भए उत्पादन गरिएकोमा पर्थें । मनुष्य भएर म सृष्टि गरिएकोमा परेँ ।
मेरो आफ्नो देह जसरी व्यापार गरे पनि मिल्ने, योग्य शरीर लुकाउन नमिल्ने । देखेपछि र्याल काढ्नेको पनि कमी छैन । यथार्थ बुझेपछि त झन् पछि लाग्नेको के कमी ? लुकाएर के गर्नुछ ? कति योग्य र शिक्षित भनिएका त्यो जातिले आँखाले हेरेरै बलात्कार गरेको छ । दृष्टि बलात्कार । आखिर सहनु नै पर्छ उसको दृष्टि भने स्पर्शको न हो कुरो, एकदिन छोड्ने यो भौतिक शरीरको ।
कति भाग्नु ती अदृश्य स्पर्श चाहनेहरू सँग । सहर, गाउँ, सडक, गोरेटो अनि कसैको ढोका, जहाँ गएपनि गिद्देनजर फ्याँकिएकै छ आखिर म माथि । व्यवस्थापन गर्न चाहनेलाई खुलमखुल्ला म व्यापार गर्छु, त्यो पनि ‘देहव्यापार’ भन्न के पो जाला र मेरो ? मैले बेचेको उसले किनेको, उसको सन्तुष्टि मेरो आवश्यकता ।
सोच्दा मात्रै पनि एक कदम अगाडिको फड्को मारेझैँ लाग्यो । आधुनिक समाजमा उत्तर आधुनिक भएर सोच्नु ५० प्रतिशत अघि बढ्नु हो । एकपटक बिस्कुन फिँजाउन मन लाग्यो चराहरूको आगमनलाई । आँट गर्ने सन्तुष्ट भएर तृप्ति प्राप्त गर्छन् । हेरि मात्र रहने वञ्चित हुन्छन् ।
उसले पनि देहव्यापार नै गरेको थियो आफ्नो वीज रोपेर सन्तुष्टि किनेको थियो । मैले पनि सृष्टिको अनुभवको सम्झौता गरेकै हो । त्यो पनि त सुरक्षित देहव्यापार नै त हो । आर्थिक आम्दानी नभएको मात्रै हो । चाहना र सन्तुष्टिको आदान–प्रदान भएकै हो । समाजसेवा पक्कै होइन ।
कसैको आक्रमणका लागि सदा सदाबहार रहिरहने यो जीवन, जतिसुकै पूर्णतामा रहेको छु भने पनि आखिर सपना सँग लक्ष्य खोज्दै टुक्रिनै रहन्छ । एउटा लक्ष्यको लागि आज एउटा सपना टुक्रै पारेर भएपनि निर्णय गरेँ, भोलि आफ्नै देहलाई पहिलोपल्ट आर्थिक सन्तुष्टिका लागि व्यापार माल गाउन । यो सुरुवातले थाहा छैन मेरो देहको अन्त्य के होला ? तर उसका वीज मेरो अस्तित्त्व योग्य नागरिक बनाउने, मेरो जिम्मेवारीको पहिलो खुड्किलो खन्दै थिएँ म । नाफा घाटा जे हुन्छ देहले थेग्छ । यो लगानी समयको माग हो ।
केही दिनअघि सञ्चार माध्यममा पनि सुनेकी थिएँ । पचास वर्षकी आमाको कुरो, भन्दै थिइन् ‘मेरो ग्राहक सधैं एउटै मेरा सन्ततिका बाबु । त्यसपछि श्रीमानको चोला फेरियो अनि जिम्मेवारीले गर्दा ग्राहक पनि । दाँजेर हेरेँ दुवैको सन्तुष्टि कहिल्यै नाफाघाटा भएन दुवैलाई । ओछ्यान फिँजाएकै हो, कहिले उज्यालो कहिले अँध्यारो स्वीकार गरेकै हो । अर्को मान्छेले पनि त त्यही गरेकै हो श्रीमानको चोलापछि । सन्तुष्टिको आदान–प्रदान र सहयोग भएकै हो । पहिले व्यवस्थित परिवारको लागि पछि आर्थिक उपार्जनका लागि । अनि भएन त देहव्यापार ?’ प्रश्न थियो उनको ।
जोड्दै थिइन् उनी आफ्नै भाषामा– ‘देहसँग देह जोडेर ऊ सन्तुष्टि किन्थ्यो, म सृष्टिको पूर्णता अनि नाफा दुवैलाई हुन्थ्यो । हामी दुईको सङ्गमले ल्याउने नयाँ सृष्टि जो हाम्रो समाजले स्वीकार्ने अस्तित्त्व । अनि देहव्यापारी को ऊ कि म ?’ उनको कुरो सुनेर झस्किएकी थिएँ म त्यसदिन पनि ।
हुनपनि हो, सजिलो छ समाजलाई नारीलाई देहव्यापारी भन्न । आर्थिक उपार्जन मात्र व्यापार हो र ? भएको दिनु नभएको लिनुबाट विनिमय सुरु भएको हो । सजिलोको लागि पैसा चलेको न हो । यहाँपनि भएको दिएको, आवश्यकता लिएको त हो नि ! जन्मेको घर स्थायी ठेगानामा पर्दैन, कर्मघरले आफ्नो भनेर सहजै स्वीकार्न सक्दैन नारीलाई । श्रम बेच्छु भात भान्छा गरेर, सरसफाई पनि त जिम्मेवारीमै पर्छ । त्यसपछि सन्तुष्टिका लेखाजोखा हुन्छन् । व्यापार त म भान्छै देखि गर्छु श्रम बेचेर । देहको मात्र व्यापार किन देख्छ समाज ? श्रमको व्यापार खोई त ?
सोचेँ मैले मनैले अब कसैको दयाको पात्र बन्दिनँ, फिँजाउने छु यही देहलाई बिस्कुन सरि बजारभरि । छान्ने छु आफ्नै देहका लागि योग्य व्यापारी अनि बनाउने छु आफ्नै सन्ततिलाई योग्य नागरिक । योग्यताको मापन कसरी गर्दो रहेछ समाज ? मेरो व्यापारलाई अघि सारेर वा सन्ततिको योग्यतालाई मानेर ।
अब त म विचलित छैन । आफैंसँग छ लगानी विनाको आफ्नै देह योग्य व्यापारका लागि । विनिमयको आधार मेरो आफ्नै देहको व्यापार । त्यति नै वेला झस्कायो भान्छाको अनावश्यक सुगन्धले । सबै डढेछ, केही वर्षअघि मेरा सपनाहरू डढेझैँ । तैपनि मनले एउटा प्रश्न उब्जाएरै छोड्यो– ‘देहव्यापारी को ? !!’
चर्चित कवितथा साहित्यकार
[email protected]