English Poem
कहाँ- कहाँबाट आइपुग्यो
यो विपत्ति
यो धमिलो वर्षा
यो आँसुको भेल
अँध्यारै छ,
पूर्णेको रात पनि ।
आँसु भेल
उर्लिरहेछ
माथ्लो डाँडादेखि
मेरो नाकको डाँडसम्म,
पल्लो डाँडो
वल्लो गाउँ
सबै स्वाहा !
भर्खरै
भुँइचालोले बहत्तरमा
हल्लाएको यो छाती
लयमा नबस्दै
पापी झोलले
पखाल्यो, सिउँदोको सिन्दुर ।
लालाबाला, कलिला मुनाहरू
माटोमा बिलाए
आमाको मुहार
हँसिलो पार्छु भन्थे
रूवाएर गए
स्वर्गबाट आएको
पारिजातको बोट
स्वर्ग नै पुग्यो
वृन्दाको श्राप परेको
तुलसी मठ
श्राप मुक्त भएन
यो गाउँमा, यो ठाउँमा
हाँस्न बिर्सेका फूलहरू
चिरबिराउन छाडेका चराहरू
पहिरोले थुनेका नदीहरू
सबैसबै लकडाउनमा छन् ।
म अहिल्या- श्रापित ढुङ्गो
हेरिरहेछु यो समय,
जिन्दगीको यो मोडमा ।
भीरको अन्तरमा
लडेको बूढो रुख
मैजस्तो छ
न ढल्न सक्छ
न उठ्न सक्छ ।
न्याउली रुन्छे वनमा
त्रास छ अझै मनमा ।
एउटा खुट्टा
झिक्यो
अर्को गाडिन्छ ।
बाजा बजेर
आउँदो रहेनछ दशा
महादशा
किन यहीँ गाउँ
किन मेरै नाउँ
किटेर आउँछ
यो भुँइचालो
यो बाढी !
बादलको खास्टो भित्र
लुटुपुटु भएको घामले
आङ न्यानो हुन्न
फुटेको ऐनामा
फुटेको भाग्य हेर्दैछु ।
किन घरिघरि स्वाङ् पार्दै
सेल्फी खिच्न आउँछ
निस्तो सरकारी राहत ।
(सिन्धुपाल्चोकलगायत सम्पूर्ण बाढी- पैह्रोपीडित प्रति समर्पित)
(सिग्देल चर्चित साहित्यकार हुन्)
[email protected]