को हो त्यो मान्छे ?
करबिरे, मनबिरे कि धनबिरे ?
उसलाई चिन्न जरुरी छ- त्यो को हो ?
वर्षौंदेखि म हेरिरहेछु
काँधमा छालाको एउटा ठूलो बाकस
र,
काखीमा एउटा कुम्लो च्यापी
मौन उक्लिरहेको हुन्छ
उसका पुर्खाहरू
नुन र मटीतेल लिन
बटौली जाँदा
उक्लने गरेको चण्डीभञ्ज्याङको उकालो बाटो
शिखरमा पुगेर अदृश्य हुँदा
आभास हुन्छ
ऊ आफ्नो गन्तव्यमा पुगेछ क्यारे !
सफलताको चुचुरोमा पुगी
सन्तोषको सास लिँदै
सपरिवार आनन्दका साथ बस्न थालेछ क्यारे !
तर,
केही समय नबित्दै
खत्ल्याङ- खुत्लुङ
डड्याङ- डुडुङ् गर्दै
उसले अघि बोकी लगेका
बाकस र कुम्लो
घरि उछिट्टिँदै, घरि थेचारिँदै
तीव्र गतिमा तल झरिरहेको देख्दा
म झसङ्ग हुन्छु
केही समयपछि
ऊ स्वयं पनि देखापर्छ
सुस्तसुस्त ओर्लंदैगरेको
अघि मात्र उक्लेको
ओरालो बाटो !
अभ्यस्त भइसकेका छन् यी आँखा
त्यस मान्छेलाई
चण्डीभञ्ज्याङको उकालोमा
काँधमा बाकस र काखीमा कुम्लो बोकेर
अभिशप्त उक्लिरहेको
र प्रसन्न ओर्लिरहेको देख्न
तर चिन्न सकेको छैन अझै पनि
कालान्तरदेखि यसरी नै उक्लिरहने र ओर्लिरहने
त्यो मान्छेलाई
त्यसैले म चिन्न चाहन्छु
ऊ को हो ?
को हो त्यो मान्छे ?
कसरी बोक्छ होला त्यो गहरुङ्गो बाकस काँधमा ?
कसरी च्यापी हिँड्छ होला त्यो कुम्लो काखीमा ?
कति ऊर्जा पोख्छ होला ऊ
त्यो बाकस काँधमा राख्दा ?
र,
नबुझी जिन्दगीको कालो रहस्य
क- कसलाई सराप्छ होला ऊ उकालो हिँड्दै गर्दा ?
वा,
हुन्छ होला ऊ आनन्दित
सचेतनमा नै-
पुग्नुछ त्यस उचाइमा एकदिन
यो पोको लिएर
र, भिर्नु छ विजयको पगरी
आफ्नो टाउकोमा भन्दै
म उसको टल्किरहेको अनुहार नियालिरहन्छु
र,
परिचय गर्न चाहन्छु ऊसँग
चिन्न चाहन्छु म त्यो मान्छेलाई
ऊ को हो ?
को हो त्यो मान्छे ?
उसको ओर्लंदैगर्दाको अनुहार मलिन छैन
ऊ ढुक्क छ
उसको बाकस र कुम्लो
ऊभन्दा अघि नै पुगेर
उसको प्रतीक्षामा रहन्छन्
यो युगौँदेखिको खेल
उसले भाग्यलाई स्वीकारेजस्तो छ
भाग्यका अघि नतमस्तक बनेजस्तो छ
उसले आफूलाई भाग्यको भरिया नै ठानेजस्तो छ
मान्छे, ईश्वर र त्यो बाकसको जटिल सम्बन्ध
ऊ बुझ्दैन
कसले पो बुझेको छ र यो रहस्यमयी सम्बन्ध ?
इडिपसले पनि त बुझेको थिएन
बुझ्न खोज्दा दुःखको भवसागरमा पुरियो आफैँ
त्यसर्थ भनिन्छ ज्ञान भयावह पनि हुन्छ
भावीलाई बुझ्ने चेष्टा गर्नु हुँदैन
ऊ पनि कुनै ज्ञानको अपेक्षा नगरी
निर्मिमेष हेरिरहन्छ त्यो ठाउँ
जहाँ उसको छालाको बाकस र कुम्लो
उसलाई कुरी बसेका छन्
युगौँदेखि !
बाटोमा उसलाई कसैले सोध्दा ऊ भन्दै हिँड्छ-
‘सब ठीक छ ।’
प्रारब्धको विषम पहाड बोक्दै हिँडदा पनि
’सब ठीक छ’ भन्नेलाई
म चिन्न चाहन्छु
ऊ को हो ?
को हो त्यो मान्छे ?
(छेत्री चर्चित कवि हुन्)
[email protected]