• २०८१ चैत ३ सोमबार

सन्तान

कुमार भट्टराई

कुमार भट्टराई

श्राद्धमा ब्राह्मणले बटुलेको चामल किनेर बुबा ठाडै उकालो चढ्ने गोरेटो समाउनुभयो । बाटो किनारमा उम्रिएका पोथ्रे झारहरूमा भएको घोप्टे कुरो उहाँको सुरुवालभरि टाँसिदैगयो । अनुहार मलिन थियो । आँखाका डिलहरू आँसुले भरिएका देखिन्थे । एक्लै उकालो चडिरहनु भएको थियो । अलिक तेर्सो लाग्ने ठाउँमा उभिनुभयो र लामो खुइइई.. काढ्नुभयो । बर्बराउनुभयो- ‘यो उकालोजस्तै कठिन भयो जीवन पनि ।’
उभिएरै थकाइ मार्नुभयो । फेरि बर्बराउनुभयो- ‘यिनै घोप्टे कुरोजस्तै रहेछ व्यवहार पनि । उमेर र समय जति हर्किँदैगयो, कुरोजस्तै भएर जथाभावी टाँसिदा रहेछन् समस्याहरू जीवनमा । हिँड्नैपर्छ समयसँगै, पाइलैपिच्छे आफ्ना पछ्यौरीहरूमा समस्या जेलिएर आफैँसँग अघि बढ्ने रहेछन् तीहरूपनि ।’
चामल भएको फुर्केझोलाको फितो निधारलाई टेको लगाएर बोक्नुभयो र फेरि उकालो लाग्नुभयो । अलिक निक्कै माथि पुगेपछि गोरेटोबाटो दुईतिर फाटेको थियो । एउटा पूर्वतिर र अर्को उत्तर- पश्चिमतिर लागेको । त्यही फाटेको बाटोमाथिपट्टि सिरु उम्रिएको भीरझैँ लाग्ने ठाउँमा भएको अलि ठूलो ढुङ्गामा गएर बुबा बस्नुभयो । पँधेराबाट पानी लिएर आउने एकजना महिला पनि त्यहीँ आइपुगिन् । उनले भनिन्- ‘के लिएर आयौ हौ जेठा ? झोला त गत्तिलै देखिन्छ ।’
बुबाले आकाशतिर हेर्दै भन्नुभयो- ‘खुसी लिएर आ’को हौ भाउजू, खुसी ।’
उनले फेरि सोधिन्- ‘कस्तो खुसी ल्यायौ त ?’
बुबाले भन्नु भयो- ‘सन्तानको खुसी । धानको चामल लिएर आएको ।’
उनी र बुबाका बीच अरू केके कुरा भए मेरो सम्झनामा छैन । एकछिन बसेर उनी गाग्रो भएको डोकाको नाम्लो निधारमा टाँसेरउत्तर- पश्चिमको तेस्रो बाटो लागिन् । बुबाका आँखाका आँसु डिलमा अडिरहन सकेनन् । बररर झर्नथाले । ओठ काम्नथाले । आँसुलाई पुछ्ने दुःख गर्नुभएन उहाँले । सायद उहाँलाई थाह हुनुपर्छ, यतिखेर जति पुछ्न खोजे पनि ती रोकिने छैनन् ।
उहाँ सोच्दै हुनुहुन्थ्यो- ‘चारजना त छोराछोरी नै छन् । स्वास्नी छ । आफ्नो पनि त पेट छ । घरको एक्लो वयस्क पुरुष म । ममाथि नै त छ सबैको भरोसा । शारीरिकरूपमा गरिने श्रमहरू गर्न म सक्दिनँ । ठूलो सीप पनि छैन । आफ्नो क्षमताअनुसार गर्ने काम केही छैन । परिवार पालिने गरी जग्गा- जमिन पनि छैन । हामीसँग केही छैन भन्ने थाह पाएर पनि प्रकृतिले हाम्रो भोक घटाउँदैन, रोग घटाउँदैन, शोक पनि घटाउँदैन ।
घर पुग्यो-  सबैका भोका आँखाहरू मलाई हेर्छन् । मलाई हेरेर उनीहरूका रहरहरू पलाउँछन्, आशाका किरणहरू जाग्छन् । ममाथि उनीहरूलाई भर छ । मलाई भेटेपछि उनीहरू सुरक्षित महसुस गर्छन् । उनीहरूको नजरको सबैभन्दा ठूलो नायक हुँ म । त्यसैले लाचारी देखाउन पनि सक्दिनँ । उनीहरूलाई लाग्छ, मैले नसक्ने कुनै काम नै छैन सँसारमा ।
उनीहरूलाई थाह छैन, संसारको सबैभन्दा कमजोर मान्छे म हुँ भन्ने कुरा ।यतिखेर मेरो बेग्लै सपना छैन । मेरो सपना त उनीहरूका पेटभरि माड पु¥याउन सकेँर उनीहरूलाई दह्रोसँग आफ्ना खुट्टामा उभिन सक्ने बनाउन सकेँभने मात्र पनि पुग्छ ।’
बुबा रोइरहनु भएको थियो । आँसुले लगाएको दौराको फेरो भिजिसकेको थियो । त्यति वेलै कुकुर जोडसँग भुक्यो । झल्याँस्स ब्यूँझिएँ, बिहानको चार बजिसकेको रहेछ ।

खै किन हो अचेल सपनामा बुबालाई धेरै देख्छु ।
सपनामा आए पनि बुबा मसँग गफ गर्नुहुन्न । मलाई निर्देशन पनि दिनुहुन्न । उहाँ त आफैसँग बोल्नुहुन्छ । चिन्ता गर्नुहुन्छ । सबैका अगाडि दह्रो उभिनु भएका उहाँ, एकान्तमा विलाप गरेझैँ गर्नुहुन्छ ।
बुबा बित्नु भएको मलाई थाह छैन । मैले थाह पाउँदा घरमा बुबा हुनुहुन्नथ्यो । फोटोमा देखिएको अनुहारलाई बारम्बार हेरेर नै हो, सपनामा आउनुभएको उहाँ मेरै पिताजी हो भनेर मैले चिनेको । उहाँ बित्नुहुँदा म दुई वर्षको पनि थिइनँ रे । अहिले पचास पुग्न आँटेको मेरो अनुहार उहाँले सपनामा चिन्न सक्नुभएन क्यारे । त्यसैले पनि हो कि उहाँले मसँग गफ नगर्नु भएको  ?

०००
उनले आफू गर्भवती भएको सुनाएको दिन मलाई अत्यास जस्तो भएको थियो । त्यो दिन संसारकै उज्यालो दिन थियो सायद । मेरा खुट्टाहरू गह्रौँ भएका थिए । जीवनमा सबैभन्दा बढी जिम्मेवारी महसुस भएको दिन हुनुपर्छ सायद । एक्लै धेरै बेर टोलाएर बसेको दिन पनि त्यही हो सायद । एकाएक मैले भविष्यका थुप्रै सपनाहरू एकैपटक देखेको थिएँ त्यही दिन । छोरा जन्मियो भने उसलाई के बनाउने र उसका लागि आफूले केके गर्ने ? अनि छोरी भई भने उसलाई के बनाउने र केके गर्ने ? सबै कुराहरूको प्रारम्भिक योजनाहरू मस्तिष्कमा चलचित्रजस्तै आए ।
दिमागमा आफू छोरोको बाबु भएको चित्र आयो । गर्व लाग्यो छोराको बाबु भएकोमा । गाउँमा अरू कसकसका छोराहरू छन् सबैलाई सम्झिएँ । अरूका छोरीहरू कति छन् त्यो पनि सम्झिएँ । मेरो छोराका अनुहार हेर्न आउने छोरीका बाबुहरूप्रति मेरो मुहार कति उज्यालो हुनेछ, त्यो सम्झिएर एक्लै हाँसे ।
छोराका लागि मेरा योजना र सपनाहरू एकैपटक मस्तिष्कमा उम्रिएर आए । छोरा जन्मिएमा उसको नाम उदय हुनेछ । फिल्मको हिरो जस्तो हुनेछ ऊ । म दुःख गर्नेछु अझै धेरै । तर मेरो छोरोले दुःख पाउने छैन कहिल्यै । आज मलाई हेप्नेहरूलाई उसले मेरा लागि बदला लिनेछ फिल्मको हिरोले जस्तो । मेरो छोरो हुर्किएपछि कसैले मलाई औँला ठड्याएर देखाउन सक्ने छैनन् । उसलाई म सम्पन्नका छोराहरूजत्तिकै पढाउने छु । ऊ हाम्रो परिवारको सबैभन्दा ठूलो विद्वान् हुनेछ । शक्तिशाली, वलवान् हुनेछ । जीवनमा आफूले पूरा गर्ननसकेका तर आफूले बन्न चाहेका हरेक सपनाहरू उसैद्वारा पूरा हुनेछन् । मनमा कति धेरै कल्पनाहरू सचित्र आए । कत्रो आत्मविश्वास जागेर आयो ।
त्यसपछि दिमागमा छोरी जन्मिएको चित्र पनि आयो । छोरी जन्मिएकोमात्यति गर्व अनुभूति भएन । किनभने छोरीहरू जहिल्यै पनि अर्काको घरमा भाँडा माझ्ने मात्र भएको देखिएको छ धेरैजसो । मेरी छोरीले पनि जँडिया श्रीमान् भेट्ली र रातदिन पिटाइ खाएर रुँदै भाँडा मात्र माझ्ली । यस सम्झनाले मन पिरो भयो । तर छोरी जन्मिएमा त्यो परिवर्तन गर्नसकिने थिएन । त्यसैले मनमा लाग्यो- उसलाई अरूका छोरीहरूजस्तो बनाउने छैन । मेरो छोरी अरूका छोराहरूभन्दा कम हुने छैन । छोरीहरूका लागि ऊ ‘रोडमोडल’ हुनेछ । मैले छोराका लागि देखेका हरेक सपनाहरू उसका लागि हुनेछन् । त्यति सम्झिँदा रहँदा त खुसी लागेको थियो तर जब उसको विवाह सम्झिएँ, मन पिरो भयो । ऊ त सधैँ हामीसँग हुनेछैन, अर्कैको घर जानेछे । आफ्नी छोरी अर्काको घर जाने सम्झिँदाचाहिँ मन थाम्न गाह्रो भयो । तर उसलाई आफ्नै नजिकै विवाह गराएर राख्छु भन्ने सम्झिएपछि मात्र मन अलिक हलुका भयो ।
छोरा- छोरी जे जन्मिए पनि म समान माया दिनेछु । उनीहरूलाई यस संसारमा मैलेजस्तो शिर झुकाएर बोल्ने मान्छे कदापि बनाउने छैन । उनीहरूका लागि म असल पिता हुनेछु । अब मैले उनीहरूका लागि सङ्घर्ष गर्नेछु । मेरा सपनाहरू उनीहरूका आँखाबाट पूरा गर्नेछु । मनमा अठोट गरेँ ।
उनले सुनाएको एउटा वाक्यले मेरो जीवनका सबै बाङ्गाटिङ्गा बाटाहरू एकाएक सरल रेखामा आएका थिए । चराजस्तो उन्मुक्त मेरो मन- मस्तिष्क दुवै एकाएक धागोले कसिलो गरी बाँधिएर उडेको चङ्गाजस्ता भएका थिए । त्यही दिन हो सायद, श्रीमतीको सबैभन्दा बढी माया लागेको । अरूवेला पनि माया लागेकै हुन्थ्यो, तर त्यो दिनको मायाभित्र मायामात्र थिएन,श्रद्धा पनि धैरै थियो सायद। मलाई आज लाग्छ- त्यसअघिको उनीप्रतिको माया त यौवनले ल्याएको भावावेश मात्र पो थियो कि ! आज पनि म अन्यौल छु त्यस कुरामा ।
त्यस दिनदेखि श्रीमतीको अनुहारमा उनको मात्र अनुहार देखिनँ, भविष्यमा हुने आफ्ना असल सन्तानहरूका अंश पनि देख्नथालेँ । मेरा अधुरा सपनाका विकल्प पनि उनीसँग मात्र छन् भन्ने देखेँ । उनी मेरा लागि घरमा काम गर्ने र मेरा यौनआतुरतालाई शान्त पार्ने साधन मात्र हुन् भन्ने भ्रमबाट टुटेँआफू । रथका दुई पाग्रा किन भनेका रहेछन् भन्ने बोध हुनथाल्यो । उनीबेगर त मेरो पुर्खाको जिन नै अघि नबढ्ने रहेछ भन्ने बुझेँ । एउटा उनी मात्र नहुँदा पनि प्रकृतिले मलाई जन्माउनुको सार्थकता कसरी अपूरो हुनेरहेछ, त्यो कल्पना गर्नसक्ने भएँ ।
उनीप्रति मैले गर्ने कुनै पनि दुव्र्यवहारहरू भविष्यमा मेरी छोरीका श्रीमान्ले गर्ने व्यवहारजस्तै अनभूति भो आफैँलाई । आफ्नी छोरीले दुःख नपाओस् भनेर ससुराबाकी छोरीलाई पनि दुःख दिनुहुन्न भन्ने चेतना खुल्नथाल्यो । लाग्नथाल्यो- एउटा लोग्नेको पूर्ण प्रेम स्वास्नीले त्यतिखेर मात्र पाउँछिन्, जतिखेर स्वास्नीका अनुहारभरि श्रीमान्ले आफ्नो सारा संसार देख्नथाल्छ । उनले पनि बल्ल मेरो पूर्ण प्रेमको अनुभूति गर्न थालिन् क्यार, मप्रतिको समर्पणभाव अझै बढेको अनुभूति गर्नथालेँ मैले पनि ।
असल बुबाले के गर्नुपर्छ सन्तानका लागि मलाई थाह थिएन । किनभने म आफँैले मेरा बुबा त सपनामा मात्र देखेको थिएँ । सपनामा आउनु भएका बुबा जहिल्यै तनावमा मात्र हुनुहुन्थ्यो । अभावको बोझले थिचिएर सधैँ जिम्मेवारीको दबावमा उहाँले हाँस्न बिर्सिनुभएको हो जस्तो लाग्थ्यो । घरमा उहाँको एउटा मात्र श्यामश्वेत तस्बिर थियो, त्यो पनि हाँसेको मुद्रामा थिएन । सपनामा नै भए पनि हाँसेको बुबाको मुहार हेर्न मन थियो मलाई । बुबाको निन्याउरो अनुहार देखेर मनमा प्रश्न उब्जिन्थ्यो- बुबा हुनु भनेको के हाँस्न बिर्सिनु हो ?
श्रीमती गर्भवती भएपछि आमाले जिस्काउन थाल्नुभएको थियो ।एक दिन भन्नुभयो- ‘अब बल्ल बाबुआमाको महत्त्व बुझ्ने भइस् तैँले पनि । बाबुआमाको महत्त्व बुझ्न त आफू पनि बाबुआमा बन्नुपर्छ । मैले पनि तिमीहरूलाई जन्माएपछि मात्र आफ्ना बाबुआमाको महत्त्व बुझेको थिएँ । बल्ल तेरो पालो आयो । अब लखर- लखर डुलेर सन्तान पाल्न पुग्छ कि पुग्दैन त्यो बुझ्ने भइस् ।’
आमाका कुराले मनमा चिसो पस्यो । आमालाई मैले जे–जस्तो व्यवहार गर्दैथिएँ, ती सबै सही लाग्थे आफूलाई । आमाका कुरा सुनेपछि लाग्यो- आफूलाई सही लागेका कुरा पनि आमाबाबुलाई गलत लाग्दोहोला, त्यसैले त आमाले त्यसो भन्नुभएको होला ।
आमाले एक दिन हाँस्दै भन्नुभयो- ‘कान्छा ! पैसा नहुने नानीको बाबुले सन्तान हुने पक्का भएपछि अगाडि नै थुप्रै तयारी गर्नुपर्छ, तैँले केके गर्दैछस् भन्दैनस् पनि । हजुरआमाले गर्ने तयारी त मैले गरिसकेँ ।’ बाबुले के गर्नुपर्छ मलाई थाह थिएन, किनभने म पहिलोचोटि बाबु बन्दैथिएँ ।
एक दिन बिहान घरको आँगनमा मुढामा बसिरहेको थिएँ, सात महिने फुलेको पेट लिएर उनी छेउमा उभिइन् । बिहानको कलिलो घामले हामीलाई सुमसुम्याइरहेको थियो । सबैभन्दा धेरै उज्यालो उनको उचालिएको पेटमा परेको थियो । मानौँ सूर्यदेव पनि आफ्नो सबै ऊर्जा उनको पेटमा भएको बच्चालाई नै दिन चाहन्छन् ।
आँगनमा एउटा लिचीको बोट थियो । बीस- बाइस वर्षे पुरानो रुख झ्याम्म परेको थियो । कयौँ चराचुरुङ्गीहरू त्यसमा खेल्थे, रमाउँथे । फल फलेको वेला खान्थे । आफ्नो गुँढ बनाउँथे र बच्चा कोरल्थे । साना- ठूला राता- काला कमिलाहरू पनि आफ्ना गोलाहरू बनाएर आफ्नो संसार चलाउँथे । एक जोडी ढुकुर सधैँ त्यस बोटमा आफ्नो बच्चा कोरल्ने गथ्र्यो । धेरैअघिएक दिन राती त्यो जोडी ढुकुर मारेर खाने योजना बन्यो मेरो । तर आमाले मान्नुभएन ।
उहाँले भन्नुभयो- ‘बाबु ! ती जोडी ढुकुरले हाम्रो संरक्षणमा सुरक्षित महसुस गरेका छन्, त्यसैले आफ्ना अन्डा यहाँ पार्छन् र प्रत्येकपटक बच्चा कोरल्छन् । बिहानै ‘ढुकुरकुरररर्…’ गर्छन्, उनीहरूको आवाजले शान्ति छाउँछ मनभरि । उनीहरूसँगै कयौँ चराचुरुङ्गीहरू रमाउँछन्, उनीहरू रमाएको देखेर मेरो मन पनि रमाउँछ । आफ्ना सन्तान बनाउन हामी मान्छेहरू कति संवेदनशील हुन्छौँ, उनीहरू पनि सन्तानका लागि त्यति नै संवेदनशील हुन्छन् बाबु । त्यसैले आफूलाई बाबुआमाको स्थानमा राखेरै हेर्, उनीहरूप्रति तेरो संवेदनशीलता बढ्नेछ । मासु नै खान मन भए हामीले खाइआएका कुराहरू बजारभरि छन्, ती अबोध चराहरूको वजन बराबर तँलाई म आफैँ किनेर ल्याइदिऊँला ।’
ती चराचुरुङ्गीप्रति आमा कति गम्भीर हुनुहुँदोरहेछ, त्यही दिन बुझेँ । त्यसपछि चराचुरुङ्गी कहिल्यै नमार्ने सङ्कल्प गरेँ मनभरि । त्यो लिचीको बोटमा चराचुरुङ्गी, कीरा- फट्याग्राका कति परिवार हुर्किए, त्यसको हिसाब छैन । तर त्यहाँ बसेर हामीलाई छिमेकी ठान्ने पन्छीहरू भने त्यति धेरै डर मान्दैनथे हामीसँग । नजिक आएर चर्थे, चिरबिराउँथे, रमाउँथे । बच्चाहरू पनि उड्न नसकेर कहिलेकाहीँ हाम्रैछेउ आएर झर्थे । आमाको संरक्षकत्वमा पन्छीहरू बिस्तारै हाम्रानजिक हुँदै जाँदैथिए ।
उनीहरूका अघिल्ला पुस्ताहरूप्रति हामी मान्छेहरू अनुदार भएकैले होला, उनीहरूले हामीलाई शत्रुजस्तो देखेको । मानवभित्रको मानवताजस्तै हामीले पनि उनीहरूभित्रको पन्छीवता, जनावरवता जगाएर राख्ने संवेदनशीलता, प्रेम, डर, भावुकता महसुस गर्न सकेनौँ होला । हाम्रोजस्तै भाषा नभएका तर अरू सबै भएका आदिम साम्यवाद त्याग्न नसकेका जीव नै हुन् उनीहरू पनि भन्ने हामीले स्वीकार्न नसकेका होलाऔँ । त्यसैले हरेक पशुपन्छीलाई आफ्नो चुल्हाको लागि आवश्यक भोजन मात्र देख्यौँ । जसले उनीहरू र हामीबीचको दूरी बढ्दैगयो । उनीहरूले हामीलाई शत्रु देखेका होलान् पुस्तौँपुस्तादेखि । उनीहरूको आँखामा देखिने यो अमिट छाप हामी मान्छेहरूमा परेकोजस्तै होला । हामीले बाघलाई शत्रु देख्यौँ, हात्तीलाई शत्रु देख्यौँ । अर्थात् युद्धमा विनाहतियार जित्न नसक्नेहरूलाई हामीले शत्रु मानेजस्तै उनीहरूले पनि हामीलाई शत्रु माने होलान् ।
लिचीको रुख उनीहरूको घर भयो । त्यो उनीहरूको प्राकृतिक घरको संरक्षक मेरी आमा हुनुहुन्छ । हामी सन्तानलाई जत्तिकै माया र संरक्षण गर्नुहुन्छ । मेरी आमाले जस्तो उनीहरूलाई संरक्षण गर्दैजाने हो भने उनीहरूका आउँदा हरेक पुस्तामा इतिहासले सिर्जना गरेको त्रास घट्दै जान्छ होला ।हरेक मान्छेले आफूलाई संरक्षक ठानिदिएर प्रकृतिका हरेक जीवलाई प्रेम गर्ने हो भने आज जसरी उनीहरू नजिकिँदै छन्, सायद त्यस्तो दिन आउला, जुन वेला उनीहरू हाम्रा काँध, पाखुरा र काखमा रमाउँदै हरेक मान्छेलाई प्रेम गर्नेछन् ।
श्रीमतीले मेरो छेउमा उभिएर त्यही लिचीको रुखतिर इसारा गरिन् । लिचीको रुखमा एक जोडी ढुकुर आफ्ना भर्खर कोरलेका बचेराका लागि पालैपालो चारो टिपेर ल्याउँदै, खुवाउँदै थिए । हामी दुवै चुपचाप त्यो दृश्य हेरिरह्यौँ धेरै बेर । त्यो देखेर एक हात आफ्नो पेटमा राखेर अर्को हातले मेरो काँधमा दह्रो गरी च्याप्प समाइन् उनले । मलाई गम्भीर भएर हेरिन्, आँखा रसिलो पारिन् ।
मैले सोधेँ- ‘के भो ? किन गम्भीर भएकी ?’
उनले भनिन्- ‘यी ढुकुरले बराबरी नै आफ्ना सन्तानका लागि सङ्घर्ष गरिरहेका छन् । उनीहरूजस्तै गरी हामी पनि जिम्मेवारी निर्वाह गर्न सक्छौँ त होला नि !’
उनको शङ्का चिर्दै मैले भनेँ- ‘सक्छौँ, चिन्ता नगर ! उनीहरूसँग आफ्नो बचत केही छैन, तर भोकै मरेका छैन । कर्म गर्न चुकेका छैनन् । हामी पनि उनीहरूजस्तै छौँ, केही नभएका । उनीहरूजस्तै कर्म गरेरै बाँच्नुपर्छ । सन्तान पनि पाल्नुपर्छ ।’
उनलाई त्योभन्दा पनि अर्को कुराले मन पोलेको रहेछ । उनले भनिन्- ‘सायद, उनीहरूको दुनियाँमा बचत गर्नुपर्दैन, लोभ छैन । साझा सन्तानका लागि बाहेक आफ्ना लागि गर्छन् होला सबैले, त्यसैले विभेद पनि छैन होला । आफैँले जन्माएर, पेट काटेर खुवाएर हुर्काएका सन्तानप्रति भविष्यमा आफूप्रति उत्तरदायी हुनुपर्छ भन्ने अदृश्य स्वार्थ पनि लुकेको हुँदैन होला उनीहरूसँग । त्यसैले त उनीहरू जिम्मेवारी निर्वाह गर्न कहीँ चुकेको देखिँदैन । तर हामी मान्छे हौँ । हाम्रा लोभ, स्वार्थ, देखावटीपन, आग्रह, पूर्वाग्रहहरू धेरै छन् । आफ्ना सपनाहरूभन्दा अर्काका कुराहरूले पिरोल्छ धेरै । भोलि आउने दिनहरूमा यी ढुकुरजस्तै हामी हाम्रा सन्तानहरूप्रति निःस्वार्थ कर्म गर्न सक्छौँ त ?’
उनका अपुष्ट कुराहरूले मलाई गम्भीर बनायो । मैले उनका कुरा त्यति बुझिनँ । तर उनले सङ्केत गर्न खोजेका कुराहरू भने गहिरा छन् लाग्यो । भनेँ- ‘कुरा नघुमाई अलिक स्पष्ट भनन ।’
उनले ढुकुरको गुँड देखाउँदै भनिन्- ‘ती ढुकुर र बचेराहरूलाई हेर्नून ! कहीँ गुनासो गरेकोजस्तो देखिँदैन । ती बचेराहरूमध्ये कति भाले हुन् ? कति पोथी हुन् ?सायद ती माउहरूलाई पनि थाह छैन । थाह भए पनि उनीहरूलाई त्यसले केही फरक पारेको छैन । तर हामी मान्छेहरू बच्चा जन्मिनुभन्दा अगाडि नै बच्चाको लिङ्ग पत्ता लगाएर उसको भविष्यप्रतिको धारणा र मार्ग निर्धारण गरिसक्छौँ । भोलि मेरो कोखबाट छोरी जन्मिई भने यी ढुकुरहरूले जस्तै प्रेम गर्न सक्नुहुन्छ तपाई हाम्री छोरी र मलाई ?’
बल्ल उनका कुरा बुझेँ । उनी त छोरी जन्मिई भने आफू र बच्चा हेलाँमा परिने हो कि भन्ने त्रास पो भित्रभित्रै पालेर बसेकी रहिछन् । उनका कुराले म खङ्ग्रङ्ग भएँ । मेरो मनमा भएको एउटा चिसोपन उनले पनि महसुस गरेकी रहिछन् । उनले कैयौँपटक ‘भिडियो एक्सरेमार्फत् गर्भमा रहेको बच्चा र बच्ची छुट्टिन्छ रे, जाँचेर आऊँ’ भनेर कर नगरेकी होइनन् । मैले नै त्यो जाँच गर्न मानेको थिइनँ । ईश्वरले हाम्रा लागि छुट्याइदिएको सन्तान जे दिए पनि निर्धक्क स्वीकार गर्ने भनेरै मैले उनको प्रस्ताव मानेको थिइनँ । उनलाई त्यो विषयले भित्रभित्र निक्कै पिरोलेको रहेछ ।
उनको मनोभाव बुझेर मैले हाँस्दै भनेँ- ‘चिन्ता नगर प्रिय ! मेरी आमा, तिमी र मेरी छोरी तीनजनाले मात्र यो आँगन सधैँ उज्यालो बनाउन सक्छन् । मेरो घर उज्यालो बनाउनेहरूप्रति म कहिल्यै अँध्यारो व्यावहार गर्ने छैन ।’
उनका आँखा रसाए । मेरो पछाडि उभिएर दुवै हात मेरो काँधमा राखिन् र दह्रोसँग समाइन् । मैले पनि उनका दुवै हातहरूलाई दह्रोसँग समाएँ ।
त्यतिखेरै आमा आइपुग्नुभयो बारीतिरबाट । दुवैजना लिचीको बोटतिर हेर्दैगरेको देखेर सोध्नुभयो- ‘के रहेछ त्यहाँ ?’
मैले ‘ढुकुरले बच्चा कोरलेछ, त्यही हेरेको’ भनेँ ।
‘ए, भर्खर पो हेरिस् । अलिक अस्तिदेखि देखाउनुपर्ने रहेछ तँलाई’ भन्नुभयो । मेरो प्रश्नवाचक अनुहार देखेर उहाँले ती ढुकुरका कुरा झिक्नुभयो ।
‘यी मेरा साथी हुन् । चारो हालेको वेला छेउमै आउँछन् । यिनीहरूलाई सधैँ हेर्छु । यी अलिक अल्छी पनि हुन् । यिनलाई राम्रो गुँढ चाहिँदैन । पोथीले पारेका अन्डा अडिने गरी दुई–चार सिटा बटुले भने यिनीहरूको गुँढ भइहाल्छ । जब पोथीले अन्डा पार्छे, त्यो वेला हामी मान्छेभन्दा सचेत हुन्छन् उनीहरू । बच्चा कोरल्न अन्डा छोपेर पोथी मात्र बस्दिनँ, त्यसका लागिपालैपालो भालेपोथी नै अन्डा छोप्छन् । भालेले अन्डा छोपेर बसिन्जेल पोथी चारो खोजीखान उड्छे । पोथी फर्केपछि भाले जान्छ । बच्चाप्रतिको उनीहरूको जिम्मेवारी सधैँ बराबर हुन्छ, जबसम्म उनीहरूको पखेटा लागेर आफैँ उडेर नजाऊन् ।’ ढुकुरको बच्चा कोरल्ने प्रक्रिया सुनेर म गम्भीर भएँ ।
आमाले जिस्किँदै भन्नु भयो- ‘दुलही ! त्यो भुँडी यो कान्छालाई दिने गर ढुकुरले जस्तै वेलावेला, काम गर्न अलिक सजिलो हुन्छ ।’ आमा गललल हाँस्नुभयो । आमाका कुरा सुनेर म पनि हासेँ । उनी भने ‘आमा पनि जे पायो त्यही भन्नु हुन्छ, कसरी दिनु ?’ भनेर लजाउँदै भान्सातिर लागिन्


(भट्टराई विगत दुईभन्दा अघिदेखि सिर्जनाक्षेत्रमा कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]