पुल तरेर पारि पुगेपछि अकस्मात पानी पर्यो । यो पानीलाई यतिवेला नै किन पर्न परेको होला ? गर्मी थियो । त्यसैले पर्यो । पर्नु उसको धर्म हो । भिज्नु हाम्रो बाध्यता । छाता थिएन । छाता नहुनु हाम्रो कमजोरी । तर हिँड्दा आकाशमा हेरेकै हो । खाली थियो आकाश । थिएन कतै उडन्ते भुवा । म भिजेँ। उनी भिजिन् । बाटो भिज्यो । घाँसहरू भिजे । बाटो चिप्लो भयो । जस्तो रुँदा आँखाको कोस भिज्छ लपक्कै । आँखा रुँदा गालाको भीर भिजेजस्तै भिजिरह्यो त्यो पहाड । ओत लाग्ने स्थान थिएन । म पछि छु । उनी अघि छिन् । पहाडी बाटो । रातो माटो । एउटा रुख आयो । बाक्लो हाँगाबिँगा भएको । एक झर पानी ओत्ने । उनको लुगा निथ्रुक्क भिजेको थियो । कपालबाट पानी तर्किरहेको । जिउमा लुगा टाँसिदा अर्कै राम्री । एउटा अर्कै सुन्दरता । कस्तो गुलाफी मुहार । पानी पर्दा भिजेर उठेका इन्द्रेणी । सर्वाङ्ग भिजेकी । उनको निधार । अर्ध- चन्द्रमाकारको । उनको सर्वाङ्गतामा एउटा माद थियो ।
कस्तो वैशाखी आँखा । पानीले भिज्दा अलिकति उठेको उनको वक्षस्थलको अर्कै झनझनाहट । अर्कै इन्द्रेणी । अर्कै उभार । भिजिरहन मन लाग्यो । पानी बौलाहा हो । म पनि बौलाहा हुँ । यो सारा- सारा उत्ताउलो उभार, उत्ताउलो जगत् । यसरी पहिलोचोटि भिज्दैछु म प्रकृतिसँग । अलिकति बाटो लम्बिदिए हुन्थ्यो । अलिकति समय लम्बिदिए हुन्थ्यो । सारा कम्पन । यो खुसीको चपल दहमा पौडिन मन लाग्यो । धोइएको शरीरबाट प्राकृतिक अत्तर मगमगाइरहेको छ । छोउँछोउँ लाग्यो । बोलाउन मन लाग्यो । पानीको सरसराहटले म बोलेको उनी सुन्दिनन् । कानैमा गएर तातो श्वास फ्याक्तै भनेँ- ‘ओत लागौँन है !’
उनी रोकिइन् । मलाई हेरिन् । मुस्कुराइन् । रुखनजिकै पुग्यौँ। पानी झन् बढ्न थाल्यो । बादल उडिरहेको आकाश । कुहिरोले छोपेको पहाड । अलिकति पर पनि केही देखिन्न । चकमन्न छ । एकान्त छ । यो निकटता पनि किन यति मीठो ! सिर्सिर बतास छ्ल्केको छ उनको कपालबाट । उनी चिसो अनुभूति गरिरहेकी थिइन् । त्यो कालो केशराशि हावाले उडाएर बिगारिदियोस् भन्ने चाहन्थेँ म । अहिले त पानीले भिज्यो । पानीको छिटाले भिजाएको त्यो दिव्य मुहारमा मेरो खुसीको मखमली छल्केको छ । हावाको बेगसँगै दर्किरहेको छ । छड्के पानीको धारले रेटेको छ उनको छिनेको कम्मरलाई । सलक्क परेको रुखको फेद । त्यही फेदको फेरोलाई च्याप्प समातेर उभिरहेका हामी दुई । निरन्तर हावाको झोक्काले छोइरह्यो उनलाई । पातलो हावा तर चिसो । पानीको कण मिसिएको । जहाँ छुन्थ्यो हावाले म त्यतै हेरिरहन्थेँ । मलाई हावाको छुवाइ देखेर ईष्र्या लाग्नथाल्यो ।
मलाई छलेर उनलाई छुने त्यो बतास । अहँ मलाई मन परेन । तर वेलावेलामा त्यो प्रवेगले सलक्क अगाडि आएको कपाललाई पछाडि धकेलिदिन्थ्यो । खोइ किन पो हो मलाई यस दृश्यले निकै रोमाञ्चित बनाउँथ्यो । निधारबाट ओठ हुँदै चिउँडोबाट तप्किरहेको पानी हेर्दैछु । कस्तो आनन्दको त्यो मुहार । त्यसमाथि पनि मलाई हेरेर मुस्काएको त्यो कम्पित आँखा ।
गाजलको धार बगेर तप्केको पानी । अञ्जुलीमा थापेँ । सँगै छौँ । छोइएका छौँ । पानीको पातलो धर्सा बगिरहेको छ हाम्रो छुवाइबीचबाट । इन्द्रेणी पर्यो । पारि शिवमन्दिरछेउमा । आउने- जाने कोही छैन । बाटो एक्लै छ । यो विराट् पृथ्वीमा हामी एक्लाएक्लै । आहा ! हामी । यो हामीभित्रको एकै किरण । एकै उज्यालो !!
अगाडि देखिएको पुल एक्लै छ । सँगैसँगै उभिएका रुखहरू साक्षी छन् । हामीले छोएको यस रुखलाई अरू रुखहरूले हेरिरहेजस्तो लाग्यो । एउटा पुरुष- मनको अगाडि उभिएको स्त्री- स्वरूप ! अलिकति लज्जा । अलिकति सङ्कोच ।अलिकति डर । अलिकति सन्देह । अलिकति माया । अलिकति काउकुती सबैसबै मिसिएको । पानी झन्झन् बर्सिदिए हुन्थ्यो भनेर सोचेँ । भुइँकुहिरो अझै बाक्लो गरेर लागिदिए हुन्थ्यो भनेर सोचेँ । समय अझै लम्बिदिए हुन्थ्यो भनेर सोचेँ । मनभित्र सोचाइको नदी उर्लिन थाल्यो । यो एकान्त कति प्यारो । यो घनघोर वर्षा कति मीठो । उनको यो सामीप्य कति मीठो । त्यो छल्केर चिसो बोक्तै डुलिरहेको हावा कति प्यारो । प्यारो मान्छेसँग उभिँदा सँगै उभिएको त्यो पहाड अझै कति मायालु ।
पानी थामिएन । नथामियोस् पनि । भुइँकुहिरो हटेन । नहटोस यो पनि । हामीलाई कसैले नदेखून् । हामी कसैलाई नभेटूँ । यो समय किन यति धेरै प्रीतिकर लागेको । पानीले गाएको गीत किन यति प्रीतिकर । निथ्रुक्क छिन् उनी । लाली पखालिएको पानी चुहिनु अनौठो त के हो र ! गाजल पखालिएको पानी आँखा भएर बगिदिनु त के हो र ! तर ती सबै दृश्यले अकिञ्चन आक्रमण गरिरह्यो मलाई । आँखा पखालिएको पानी । आँखाको नानी छोएर बगेको बतास । त्यही रोकिदिऊँ कि जस्तो लाग्यो । नजिकै छौँ । यति नजिक कि हामीले फेरेको सास पनि सुन्छौँ एक- अर्काको । धड्कन धेरै बडेको सुनेँ उनको । सँगै छौँ हामी । सपक्कै टाँसिएर पानी छल्दै उभिएको रुखको फेदमा ।
आनन्द के यही हो ? उत्फुल्लता के यही हो ? यो के हो ? अलिकति माद लागेजस्तो । धेरै त मायाको नशा लागेजस्तो । मुहारको दीप्ति यति बलिरह्यो कि वरिपरि नै बलेजस्तो । नजरबाट बिस्तारै उठेर आयो एउटा अनमोल उभार । त्यो चकमन्नतामा एक्कासि बोलेछु- ‘मैले मागेको दिन्छ्यौ ?’
प्रश्न नसकिँदै मौन स्वीकृति आयो । म खुसी भएँ।सायद यति धेरै खुसी पहिलोचोटि हुँदैछु । मुटुको धड्कन बढ्यो । सास फुलेर आयो, मानौँ प्रभातको कलिलो घामले फूललाई छोइरहेछ । ओठ छोएर बगिरह्यो त्यतिनै वेला एउटा कलिलो हावा । अलिकति मिसिएको थियो सुगन्धित मायाको अत्तर । महकायो सारा परिदृश्य । भुइँकुहिरो डम्म लागेको थियो । रुखका हाँगाबाट तप्केको पानी हामी दुवैको ओठमा परिरहेको थियो । एकछिन त केही सुनिएन । शून्यजस्तो । कहीँ- कतै केही देखिएन । भुइँकुहिरोले सघायो हाम्रो शरीरलाई छोप्न । वरिपरि उठेर हेरिरहेका घाँसका मुनाहरू पनि आफैँ लजाए । त्यो नीलो गुलाफी बैँस जगमगायो ।
एकान्त पनि यति प्रीतिकर लागेको यो पहिलोचोटि हो । उनको आँखाको भृकुटीबाट एउटा उज्यालो छायाँ मैतिर विस्फारित भयो । रुखबाट एक जोडी चरी पारि भुरुरु उडेर गए । भुइँकुहिरो बिस्तारै हट्नथाल्यो । पारि शिवालय मन्दिर अलिकति देखिनथाल्यो । पानी थामियो । पारि मन्दिरमा बजेको घन्टको प्रध्वनिमा एउटा अर्कै प्रमोदिता लहराउन थाल्यो कानमा ।
असरल्ल परेको कपाल मिलाउदै कम्पित स्वरले बोल्छिन् उनी- ‘पानी त थामियो नि अब जाने होइन ?’
केहीबेरअघिको बोली र अहिलेको बोलीमा फरक छ उनको । पहिलेको बोली प्यास मिसिएको बोली । अहिलेको बोली तृप्तिको बोली । अहिलेको आवाज मधुरता मिसिएको आवाज । अहिलेको कम्पन माया मिसिएको कम्पन । पहिलेको ध्वनि चाह मिसिएको ध्वनि। अहिलेको ध्वनि प्राप्तिको ध्वनि । गुलाफ भिजेजस्तै त्यो मुहारको दिव्य दर्शन पाउँदा आज कति खुसी भएँ म । कस्तो यो तृप्तिको झन्कार ! शरदको तारबाट बजिरहेको सुखद आलापजस्तै । शरीरभरिभरि भरिएको आनन्द बिसाएर शान्त निर्मल आकाशजस्तै स्वच्छ सानन्द भएँ म । अघिअघिको तातो सबैसबै निख्रिएर एउटा प्रशान्त उज्यालोतर्फ लम्कियौँ हामी । भुइँकुहिरो हट्यो बल्ल । देखिए घरहरू । पृथ्वीबाट न्यानो बाफ माथिमाथि नीलो आकाशतर्फ उठिरहेको थियो ।
(सिटौला विगत तीन दशकभन्दा अघिदेखि निरन्तर सिर्जना सक्रिय स्रष्टा हुन्)
[email protected]