• २०८१ फागुन ६ मङ्गलबार

बाढी–कीरो

विवश वस्ती

विवश वस्ती

मसिना- मसिना जङ्गली सिन्काहरूलाईबटुलेर
बनाउँछ बाढी- कीरोले
सिन्कै- सिन्काको रक्षाकवच
र, बस्छ त्यहीभित्र आफू
अत्यन्तै सुरक्षित ।

गाउँवासीहरूले चिन्दै आएका छन्-
शताब्दीयौैँदेखि,
सायद पृथ्वीको साल खसेको वेलादेखि नै हुनुपर्छ
वा, त्योभन्दा पनि अझ परापूर्वकालदेखि नै
– बाढी- कीरोलाई ।

त्यो भेटिन्छ विराट् जङ्गलहरूमा
त्यो भेटिन्छ दरिद्र बुट्यान र झाडीहरूको वृत्तबीच
खेत र अग्ला- अग्ला कान्लाहरूले समृद्ध
पहाडका तरेलीयुक्त गह्राहरूमा
ढुङ्गाको प्राचीन काप
र, अर्धमृत रुखका जर्जर हाँगाहरूमा
अथवा, अपत्यारिलो भूमिहरूमा
भेटिन्छ आक्कलझुक्कल
बाढी- कीरो ।

मेरी आमा विश्वास गर्छिन्
आमाका दौंतरीहरू वा सिंगो गाउँवासीहरू नै विश्वास गर्छन्
बाढी- कीरोलाई,
बाढी- कीरोले धारण गरेका लामा- छोटा सिन्कालाई हेरेर
भविष्यवाणी गर्छिन्, मेरी आमा-
‘यसपालि ठूलो बाढी आउँछ…’

छोटा- छोटा सिन्काले
छोटो बाढीकै उतार्छ परिकल्पना
र, लामा सिन्काहरूले गर्दै आइरहेको छ उहिल्यैबाट
ठूलो बाढीको सङ्केत ।

आउँछ,
अँधेरी खोलामा बाढी आउँछ
लग्दाह, ग्वाङ, मरिन, कमला, वाक्सु…
सबैतिर नै आउँछन् बाढी
झोरा, खोल्सी र खहरेहरूलाई विश्वासमा लिएर
आउँछन् मेरा असङ्ख्य खोलाहरूमा बाढी
कति भयावह दृश्य अवतरित हुन्छ त्यतिवेला-
बाढीले बगाउँछन् खेतहरू
भत्काउँछन् पुल- पुलेसा
डुबाउँछन् बस्तीहरूलाई
फेरि प्रारम्भ हुन्छ दुःखको अर्को अध्याय ।

बाढी- कीरो सफल ठहरिन्छ
बाढी- कीरोले अविचल नाप्छ विश्वासको धुरी
बाढी- कीरो उत्तीर्ण हुन्छ चुपचाप
गाउँवासीका हरेक पूर्णाङ्कहरूमा ।


(वस्ती प्रसिद्ध कथाकार हुन्)
[email protected]