• २०८१ श्रावाण ११ शुक्रबार

मानिसदेखि होसियार !

पोषण पाण्डे

पोषण पाण्डे

जङ्गल छैन भन्छ्न्
तर जताततै जङ्गलै- जङ्गल छ
जङ्गल मासियो भन्छन्
तर जङ्गल झन्झन् विस्तारित हुँदैछ

जङ्गल भनेको जनावर बस्ने ठाउँ
त्यो ठाउँ कहाँ मासिएको छ
झन् त यो अक्रामक डरलाग्दो हुँदैछ
जङ्गल त अब मासिनै नसकिने भएर फैलिएको छ
जङ्गल त अब महलै- महलमा परिणत भएको छ

जनावरहरू कहाँ मासिए र
जनावरका नङग्राहरू त अब
जङ्गली महलमा बस्ने मानिसको अन्तरालमा
विनामल- पानी सप्रिँदै गएको छ
जङ्गल छैन भन्छन्
तर जताततै जङ्गलै- जङ्गल छ

सभ्यता कति अग्लो छ
सभ्यता कति भयानक छ
‘नेलकटर’- को आविष्कार भएको छ
तर नङ्ग्राहरूले भने मुसुमुसु हाँस्दै कोपर्छन्
मुटुको छेउछाउमै पार्छन्
घिच्रो नै अठ्याउँछन्
नदेखिने नङ्ग्राहरूले
हाँसोभन्दा पनि क्रूर काम गर्छन्
पट्ट्याएका बर्बर इतिहासका पानाहरू उघार्छन्
आफैले बनाएको सभ्यताको इतिहासलाई
आफ्नै हातले धुजाधुजा पार्छन्

धत् ! हेर्लाऊ अब
मानिसले कुकुर पाल्दैन
कुकुरले मानिसलाई पाल्नेछ
र ऊ बस्ने महलको मूल- द्धारमा लेखिनेछ-
‘मानिस देखि होसियार !’


(वरिष्ठ साहित्यकार स्व. पोषण पाण्डेको यो कविता उनकी सुपुत्री रञ्जु पाण्डेको सौजन्यताबाट प्राप्त भएको हो । आजको अवस्थामा यो अझ सान्दर्भिक भएकाले प्रकाशित गरिएको छ ।)