• २०७९ असोज १८ मङ्गलबार

स्पर्श

अर्जुन थापा

अर्जुन थापा

‘साँझपख आएका छन् । मलाई त सबै ठीकै लागेको छ । श्रीमान्–श्रीमती मात्र बस्ने रहेछन् । हेर्दा राम्रै परिवारका छन् जस्तो छ । कति दिन फ्ल्याट त्यसै खाली राख्नु । बस भन्दे हुन्छ ।’ मेरो कुरा सुनेर बूढो तल ओर्लिबक्सिन्छ ।
जिन्दगीमा कहिलेकाहीँ कोही अपरिचित व्यक्तिलाई पहिलो भेटमै धेरै पहिलादेखि नै चिनजान भएको जस्तो लाग्छ । अघि मलाई त्यस्तै फिलिङ्स आयो जब उनीलाई भेटेँ । उनीहरू दुवै श्रीमान्–श्रीमतीलाई नदेखेको, न बोलेको नै थिएँ । तर उनीलाई देख्दा कताकता आफ्नोपनको आभास भयो मलाई ।
‘भोलि शुक्रबार राम्रो दिन रे । भोलिकै साइत गरेर सर्ने रे । मैले ३५ हजार भनेको छु महिनाको भाडा । बत्ती र धाराको मिटरमा उठेअनुसार ।’ भन्दै बूढो सुकला हुनलाई भित्र गइबक्सिन्छ ।
नयाँ भाडावाला जो अघि साँझ आएका थिए । आउने कुराले मनमा प्रसन्नता छाएको छ । बूढो उतापट्टि पल्टेर अघि नै सुकला भइसक्यो । तर मेरो आँखामा खोइ किन हो निद्रा परिराखेको छैन ।
भोलिपल्टको ताजा घामले मलाई जीवनको नयाँ अध्याय पल्टाइदिन मद्दत गर्छ । उनीहरू बिहानैदेखि सामानहरू ओसारी राखेका छन् । मेरो शरीर किचेनमा भए तापनि ध्यान पूरै तल उनीहरूमा नै थियो ।
‘होइन हजुर पनि कस्तो ! यसो तल गएर केही हेल्प चाहिन्छ कि सोधिबक्स्योस् न । नयाँ ठाउँ उनीहरूलाई केही प्रोब्लम पो भएको छ कि !’ मेरो कुरा सुनेर बूढो केही नबोली तल गइबक्सिन्छ ।
एकछिनपछि म पनि गएर के- कसो भएछ हेरेर आउनुपर्ला । हिजो एकैछिन हो भेटेर बोलेको । एउटै घरमा बसेपछि त फेमिलीजस्तै बनेर बस्नुपर्छ नि । फेरि कस्ती चढेकी रहिछे भनेर सोच्लान् ।
ढोकामा डोरबेल बज्छ ।
‘दर्शन गरेँ हजुर । हजुरकोमा बस्न आएका छौँ हामी । काठमाडौँको रहनसहन त्यति थाहा भएन । केही कुरामा मिस्टेक भएमा हजुरले आफ्नै बहिनी सम्झेर सम्झाइ बक्सेला । मेरो हस्बेन्ड कामको सिलसिलामा धेरैजसो आउट अफ टाउन गइबक्सन्छ । त्यसैले हजुरहरू जस्तो फेमिली भएको घर खोजी हिँडेका थियौँ । एनि ओए, यो महिनाको एडभान्स पैँतीस हजार दिऊँ भनेर आएको ।’ भनेर उनी फर्किन्छिन् ।
झट्ट हेर्दा उनी र मेरो उमेरमा त्यति फरक थिएन । उनको हेराइ, बोल्ने शैली र पहिरनबाट प्रस्ट थाहा हुन्थ्यो कि कुनै सभ्य घरबाट आएकी हुन् ।

०००
आज- भोलि भन्दाभन्दै उनीहरू आएको पनि पूरै एक वर्ष भएछ । समयको क्रमसँगै उनी र म नजिक हुँदैगएका थियौँ । एउटै घर त्यसमा उनका श्रीमान् कामले गर्दा बढी भ्याली बाहिर नै बिजी हुने ! जसले गर्दा प्रायः माथि नै आएर हामीसँग घुलमिल हुन्थिन् । मेरो मुमाहजुरले पनि माया गरिबक्सिन्थ्यो उनलाई । बूढोले त हामीलाई दिदीबहिनी नै भनिबक्सिन्थ्यो । हुन पनि हाम्रो केही हदसम्म फेस पनि मिल्थ्यो । हामी दुई अब जहाँ गए पनि सँगै नै हुन्थ्यौँ । हामीहरू एकअर्काको हरेक दुःखसुखका कुराहरू सेयर गर्ने भइसकेका थियौँ । मलाई उनको साथ पाउँदा अझ भनौँ उनीसँग समय बिताउन पाउँदा समय बितेको थाहै हुँदैन थियो ।
जीवनमा कोहीकोही मान्छेहरू यस्ता भेटिन्छन्- जसको साथ पाउँदा सबै पाएजस्तो हुने । हो, मलाई अब कविताको साथ पाउँदा त्यस्तै हुन्छ । उसले मलाई सम्झाउने, बुझाउने तरिका आदिबाट विगत आठ- नौ वर्षदेखि दुःख र शोषणलाई आफ्नो छाला र मासुहरूमा गालेर शान्त बनेर बसेको मलाई एकपटक फेरि नयाँ ऊर्जा थपिदिएकी छिन् उनले । एउटा बेसुध जीवन, दुःख र पीडाहरूले एउटा मार्मिक कथा भइसकेको म तर उनको आगमनले एउटा मलमको काम गरिराखेको थियो ।
झट्ट हेर्दा मलाई नपुग्दो केही छैन । श्रीमान्को ठाउँमा श्रीमान्, काठमाडौँजस्तो ठाउँमा राम्रो घर, नोकरचाकर, गाडी । हरेक कुरा छन् र हरेक कुरा पुराइदिबक्सेको छ श्रीमान्ले । छैन त केवल माया, समय र सम्मान । मबाट सन्तान नहुने भएपछि श्रीमान्ले अर्को बिहे गर्छु भनेर मसँग प्रस्ताव राखिबक्स्यो । प्रस्ताव अनुरूप अर्को बिहे गरेर अन्तै राखिबक्सियो । उहाँले पहिलोपटक दोस्रो बिहे गर्छु भनेर मर्जी हुँदा नै मेरो मन पटक्क भाँचिएको थियो । र, समयको गतिसँगसँगै मेरा सपनाहरूलाई जलाउँदै गएँ मैले । मेरो शब्दहरू सबै सकिसकेका थिए । म दिनप्रतिदिन लाटी हुँदै गइराखेको छु भन्ने भान हुन थालिसकेको थियो भित्रभित्रै ।
‘पूजा के गर्दै ?’ उ नको प्रश्नले झसङ्ग हुन्छु ।
‘तिमीलाई नै कुरिराखेको थिएँ । आज के मा बिजी हो ? बिहानदेखि एक कल पनि गरिनौँ त ?’ म प्रश्न गर्छु ।
‘त्यस्तो केही होइन । ऊ आज फेरि १५ दिनका लागि बाहिर गयो । त्यसैका लागि उसको लुगाहरू मिलाइ दिँदै थिएँ । त्यसैले अलिक लेट भयो ।’ सर्सर्ती एक्स्प्लेन गर्छिन् उनी ।
‘१५ दिनको माया बिहानभरि गर्दै बसेको भने भइहाल्न नि ! किन बहाना गर्नुपर्यो मलाई ।’ म जिस्क्याउँदै भन्छु ।
हामी दुई नै एकछिन हाँस्छौँ ।
‘ल ल अब एकछिन हाँसो बन्द गरौँ । आज मुमाहजुर गाउँ गइबक्सिन्छ । आज म पनि माथि एक्लै छु । त्यसैले बेलुका तिमी पनि माथि नै आउनू । बसेर वाइन पिऊँला । तिमीले बनाएको चिकेन करी नखाएको पनि धेरै भयो ।
उनी र म भएर चाँडोचाँडो बजार गएर सबै सामानहरू ल्यायौँ । सँगै भएर वाइनसँग खान स्न्याक्स बनायौँ ।
‘आज धुनधानले पानी पर्ला जस्तो छ । आकाश पूरै कालो भएर आयो ।’ उनी झ्यालबाट बाहिर हेर्दै भन्छिन् ।
‘द्यास्ट गुड, झन् रमाइलो हुने भयो नि ! पानी परेको हेर्दै वाइन पिउन रमाइलो हुन्छ नि !’ म हाँस्दै भन्छु ।
बाहिर पानी परेकाले गर्दा चिसोचिसो भइराखेको थियो । वाइनको चुस्की लगाउँदै हल्का सानो साउन्डमा पुराना गीत सुनिरहँदा मन फ्रेस भइराखेको थियो । उनी हातमा वाइनको ग्लास बोकेर अझै बाहिरको दृश्य हेर्दैछिन् । म पनि उनीसँगै गएर उभिदिन्छु ।
सडकमा मान्छेहरू पातलिँदै गएका छन् । भुस्याहा कुकुरहरू निथ्रुक्क भिजेर सडकपेटीको छेउमा ओत लागेर बसेका छन् । कालो रात उपत्यकालाई निल्न खोजिराखेको छ ।
‘कति मीठो गीत छ यो । यसका हरेक शब्दहरू मेरै लागि लेखेर गाएको जस्तो लाग्छ ।’ वाइन पिउँदै भन्छिन् ।
‘मलाई त सधैँ र दिनको चारपाँच पटक सुने पनि धित मर्दैन ।’ म उनको ग्लासमा वाइन थप्दै भन्छु ।
‘तिम्रो साथ पाएर म धेरै खुसी छु । नत्र निख्लाम बित्ने काठमाडौँमा बोरिङ् दिनहरूदेखि मलाई डर लाग्छ । सधैँ एक्लै–एक्लै ।’ स्वाट्ट पार्छिन् ग्लासको वाइन ।
आकाशमा ठूलो आवाजका साथ बादल गर्जिन्छ । उनी मलाई एक्कासि अँगालो हाल्छिन् । मलाई उनको अँगालोले एकदम न्यानो, छुट्टै सुखद् अनुभूति दिएजस्तो लाग्छ । जुन मेरो बूढोबाट कहिल्यै पाइनँ । बिस्तारै उनी मलाई चुम्न थाल्छिन् । उनको औँलाहरू मेरो शरीरभरि दौडिएको म प्रस्ट अनुभव गर्छु । एउटा निर्जीव मरेतुल्य शरीर मेरो, उनको स्पर्शले पूर्णता पाएजस्तो अनुभव भइराखेको थियो ।
उनी जसोजसो भन्दै गइन् । म त्यस्तै गर्दै गएँ । म एउटा चरम सन्तुष्टिमा पुगिसकेको थिएँ, जुन मेरो बूढोबाट हुन सकेको थिएन । हामी ओछ्यानमा पूर्णरूपमा एकआपसमा लिप्त भएर माया गर्दै रह्यौँ । जुन मायाको हामी दुवैले वर्षौंदेखि कुरिराखेका थियौँ । मेरो शरीरका प्रत्येक अङ्गहरूले वर्षौंदेखि कुरिराखेको माया । भोलि के हुनेछ, त्यो मलाई थाहा पाउनु छैन । तर म अहिलेको यो सुखद् अनुभूतिको पूर्ण रसपान गर्न चाहन्छु । म यस क्षणलाई कुनै हातलमा गुमाउन चाहन्न । हो, म मायाको भोगीछु । र, मलाई यसरी नै मायाको भिख दिँदैजाऊ । म तिमीमा पूर्णरूपमा विलीन हुनचाहन्छु ।


धुम्बाराही, काठमाडौँ
[email protected]