समय धेरै बितिसकेको छ । समय यसै पनि बितिरहन्छ । यसै समयको अन्तरकुन्तरमा मेरो एउटा जिन्दगी छ । नियतिका झट्काले डोर्याएको छ जिन्दगीलाई । त्यसैत्यसै तरङ्गित बनाएको छ नियतिलाई । यो तरङ्गभित्र म मान्छेलाई यायावर प्राणी ठानिरहेको छु । तर त्यो जिन्दगीका झट्का र फट्काले सोचेको ठाउँ पुग्न सजिलै के दिन्थ्यो र ! यही बीचबाट नियतिको सौजन्यमा अलिकति नतिर्ने पैँचो मागेर नै हो यात्रा जुर्ने । ताप्लेजुङको पाथीभरा–यात्रा यस्तैयस्तै नियतिले दिएको समयले जुरेको थियो एक समय। त्यसको रोमाञ्चकारिता मन, दिमाग र दिलमा अहिले पनि झुत्ती खेलिरहका छन् । अनवरत, अनवरत ।
मेरा सम्झनाका तरेलीमा यो वेला म केटाकेटी हुँदाको पाथीभराको कुरा सम्झँदैछु । म आफू पनि पूर्वकै भएकोले पाथीभराको बारेमा कहिलेदेखि चाल पाएँ- थाहा छैन । बालखै छँदा पाथीभराको महिमा हावासरि आइपुग्थ्यो । कुनै दन्त्यकथा बनेर आउँथे । कुनै कौतूहल बोकेर त कुनै जान नसकिने स्वर्गको तिलस्मी कथा बनेर आइपुग्थे । समग्र कथाको सार हुन्थ्यो, त्यो निकै टाढा हिमालमा छ र गम्य छैन । आममान्छेका लागि अभेद्य छ । देवीको इच्छा नभै पुग्न सकिन्न । साँच्चि निकै अभेद्य थियो पाथीभरा त्यसवेला । पूर्वपश्चिम राजमार्ग त नबनेको अवस्थामा यातायातका दृष्टिले पाथीभरा यात्राकथाको दुरूहता धु्रवसत्य थियो ।
२०५४/५५ सालतिर होला सायद । उच्च माध्यमिक शिक्षा परिषदको कार्यक्रम अन्तर्गतको मानोचामलमा सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरको करिब एक महिने भ्रमण गरेका थियौँ साथी हरिहर भण्डारी र मैले । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट ताप्लेजुङकै खेवाङ जाने बाटोमा एउटा देउराली भञ्ज्याङमा पाथीभराको उकालो सुरु हुने सूचनाको साइनबोर्ड टाँस गरिएको थियो । फुङलिङ बजारमा हामीले पाथीभराको यात्राका बारेमा सोधेका थियौँ । जाडो याम भएकाले जान नसकिने र सुविधा पनि नभएको बताइएको थियो । त्यसवेला हामीसँग इच्छा, बल, बैँस, स्रोत र समय सबै थिए, तर बन्दोबस्तीका सामान र आँट थिएन । किनभने त्यो वेला अहिलेकोझैँ बाटामा कुनै होटल थिएनन् । तलैबाट नमस्कार गर्दै पाथीभरासँग क्षमा मागेर तेल्लोक हुँदै खेवाङपट्टि लागेका थियौँ तिर्पायाँ तिर्पायाँ ।
समयका बहावमा अरुण–तमोरमा धेरै पानी बग्यो । बल्ल २०६९ सालको दसैँमा मेरो परिवारको पाथीभरा जाने साइत जुर्याे । यससमयसम्म आइपुग्दा पाथीभराको यात्रा सहज र सरल भइसकेको थियो । पाथीभराकै फेदीसम्म गाडी पुग्छ भन्थे पुगेका मान्छे । दोहोरीलत्त मान्छेहरू पुगेर आएका कथा रोमान्चकारी पारामा सुनाउँथे । दसैँको त्रयोदशीको दिन थियो, बिहानै चारआलीचोकबाट मेची राजमार्ग समातेर घुइँकिएको थियो हाम्रो रिजर्भ गाडी । बाटोमा आएको थियो कन्याम । कन्याम साँच्चिकै स्वर्गजस्तै देखिन्थ्यो । चियाका बुटाहरूका सुन्दर झ्याङले वर्र्षाएको महकता निकै मन चोर्ने खालको थियो । यहाँको प्रकृति सायद नेपालमै एक नम्बर नै होला । त्यसैले त बुटाका दृश्यमा मान्छे कुँडुलो परेर फोटा खिचिरहेका थिए । मैले एकजोडीलाई बोल्ने मेलो सोधेको थिएँ-‘पाथीभरा हिँड्नुभएको हो ?’
तर उत्तरमा उनले भनेका थिए- ‘होइन, फोटो खिच्नकै लागि आएको चन्द्रगढीबाट ।’
कन्यामबाट पूर्वपट्टि भारतको खार्साङ बजार र अन्तु डाँडा देखिन्थ्यो । अन्तु डाँडा सूर्योदयको दृश्य देखिने स्थान थियो ।
अनि आएको थियो फिक्कल । फिक्कलको प्राकृतिक सुन्दरता त अवर्णनीय नै थियो । चियाबगान, हरिया तर मिलेका डाँडा, चिसो हावापानी र मनोरम दृश्य थिए । तरशनैशनै कङ्क्रिटको बस्ती हुने यात्रामा निस्केको जस्तो लाग्यो फिक्कल । फिक्कलबाट पशुपतिनगर हुँदै दार्जिलिङ जाने बाटो छुट्टिँदो रहेछ । फिक्कलबाट इलामतिर ओरालो लागेपछि आउने माइखोला कलकल गरेर बगिरहेको थियो । यही माईखोला तराईमा पुगेपछि कन्काइ नदी भएको कुरा मलाई थाहा थियो । माईखोलाको पुल तरेर उकालो लागेका थियौँ । यस ठाउँबाट माईखोलाको किनारैकिनार तराई पुग्न निकै छोटो पर्दोरहेछ । तर बस्ती विकास गर्ने मनसुवाले बाठा इलामेलीले बाटोलाई फिक्कल पुर्याएर घुमाएका थिए । निकै दूरदर्शी लागेथ्यो । नत्र त नेपालको विकास मोडलले सुगमबाट बाटो लगिदिनाले पाखा सबै बन्जड भएका उदाहरण थुप्रै देखिएकै हो, भोगिएकै हो । केही समय उकालो चढेपछिइलामबजारले सहरी सङ्केत देखाएको थियो । तपाईंले पनि सुन्नु भएको होला नियो मेची राजमार्ग धेरै छ ‘अ’ का लागि प्रसिद्ध छ- अलैँची, अम्रिसो, ओलन (दूध), अदुवा, अङ्गोरा (खरायो) र आलु । चियाको नेपालमा उत्पत्ति स्थलनै भयो इलाम । यी यस भेगका मुख्य नगदे बाली रहेछन् । दार्जिलिङको प्रभाव बोकेको यो क्षेत्र वास्तवमा नेपालकै नमुना मान्न सकिने खालको अनुभूति भयो ।
इलामबाट जाने क्रममा राँकेमा भात खाने मेलो परेको थियो । यो राँके इलाम र पाँचथरको सिमाना रहेछ । राँकेको भातको अलिकति तारिफ गरिनँ भने सम्पूर्ण यात्रा नै खल्लो हुन्छ । कुनै दिन त्यहाँ पुग्नुभयो भने पकाएर भए पनि भात खाएरै हिँड्नु होला । मिठो लोकल चामलको भात, लोकल सिमीको दाल, तरकारी र लोकल टमाटर र डल्ले खोर्सानीको पिरो राग आउने पिसानी अचारजिब्रोमा अझै झुन्डिरहेको छ । समयको गतिवान फेरले अब राँके धेरै प्रोफेसनल भइसकेको छ भने मलाई थाहा छैन, तर त्यो दिन अचम्मै मीठो खुवाएर पठाएथ्यो राँकेले ।
पाँचथरको सदरमुकाम फिदिमलाई गाडीबाटैनजरले सौन्दर्यपान गर्नुभन्दा अर्को विकल्प थिएन हाम्रो । हतार जो थियो । तर फिदिम बजार सम्म परेको अति राम्रो छ नभनी यो संस्मरण नै पूरा हुँदैन । यस्तो मिलेको गोलो आकारमा समथर पहाडी सदरमुकाम बागलुङलाई छाडेर कमै छन् नेपालमा । तमोर नदीको पुल तरेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङबजार पुग्दा हामी निकै रमाएका थियौँ । यहाँसम्म आइपुग्दा एउटा कुरा त भन्नै पर्दछ- यो समग्र मेची राजमार्गको हरियाली सुन्दरता मान्छेले बनाएका नेपालका अन्य कुनै राजमार्गमा छैनन् । न पत्याए एकपल्ट गाडी-यात्रा गरेर हेर्नुहोस् ।
हाम्रो गाडीले सानो फेदीसम्म पुर्याउनुपर्ने थियो । फुङलिङ बजारमाथिको सुकेटार एयरपोर्ट र त्योभन्दा माथिको देउरालीसम्म मुस्किलले कनिकनीपुर्याएको थियो हाम्रो गाडीले । कारण बाटो थियो । के गर्ने हामी नेपालीको नियति त्यस्तो बाटोलाई पनि मोटरबाटो मानेर हिँड्नुपर्छ । एउटा ट्र्याक्टर चढेर बल्लबल्ल सानो फेदीसम्म पुगिएको थियो । यहाँनेर भनूँ कि त्यो ट्र्याक्टर हाम्रो लागि बोइङ् चढेजस्तै थियो । किनभने त्यहाँ बास बस्न कुनै उपाय थिएन । कम्तीमा ट्र्याक्टरले भएभरको बल निकालेर सानो फेदी पुर्याइदिएको थियो । सानो फेदीमा पुग्दा रात परिसकेको थियो । हामी बसेको होटलवाला कार्की र होटलवाली भट्टराई रहेछन् । म भट्टराईको ज्वाइँ भएकाले मैले साली साइनो लगाएँथेँँ । हामी १८/२० जानालाई त्यो कोच्याप्रो ठाउँमा सुताएको संस्मरण अहिले पनि आइरहेछ । काठमाडौँले पुलपुल्याएका हामीलाई बेलुकाको खाना ‘रामराम’ भन्नुपर्ने खालको थियो । ट्वाइलेटको अवस्थाको त के कुरा गर्नु ! यसो बेरेर बोराको गेट लगाइएको थियो । एकजना भित्र गए अर्कोले गेटपालेको काम गर्नुपथ्र्यो । रातीको सुताइ पनि निकै कष्टप्रद थियो । मेरी दुइटी छोरीका बीचमा त कसैले बच्चा छिराइदिएको थियो सुत्न । पानी निकै चिसो थियो । जाडो निकै जोसिएको थियो । तर होटलको सेवा र आत्मीयता अब्बल थियो । अग्गेठ बालेर पानी चाहिएको मात्रामा तताइ दिएकी थिइन् सालीले । भोलिपल्ट बिहानै तातो पानीको व्यवस्था नुहाउन पनि थियो । त्यस ठाउँमा,त्यस परिवेशमा र स्रोत-साधन तथा उनीहरूले पाउने पैसाका हिसाबमा त्यस बसाइलाई गजब आतिथ्य भन्नुपर्छ । यसोगर्दा तीर्थयात्रुलाई सेवा गरे धर्म हुन्छ भन्ने भावनाले पनि काम गरेको थियो । पाथीभरा देवीको प्रभाव भन्थे मान्छे ।
हाम्रो टोली बिहानको चार बजेदेखि हिँड्न थालेको थियो । हिँड्दा कसैले कसैलाई पर्खनुपर्ने अवस्था थिएन । सम्भव पनि थिएन । दोहोरी, तेहेरीलत्त मान्छेहरू ओहोरदोहोर गर्दै थिए । तीन घन्टा लागाएर बल्लबल्ल ठूलो फेदी पुगेका थियौँ । यो तीन घन्टा भनेको जम्मा तीन किलोमिटर बाटो मात्र हो । बाटो सामान्य नै थियो । त्यस्तो ज्यास्ती उकालो थिएन । बाटोमा खाली खुट्टा हिँडेका मान्छे बाक्लै देखिन्थे । बोका बोकेर पनि हिँड्नेहरू पनिथिए । उकालोमा ‘पाथीभरा माताकी जय !’ भनेको ध्वनि त्यस वनमा घन्किन्थ्यो ।
मेरी जेठीसासूको छोरा अनन्त वस्तीकी छोरी मेरी नातिनीलाई भरियाद्वारा बोकाइएको थियो । मैले भरियालाई सोधेको थिएँ- ‘यो मान्छे बोकेको पैसा कसरी लिनुहुन्छ ?’
उनले जवाफ दिएका थिए–‘मान्छे हेरेर हुन्छ । कति मोटो छ, त्यो हेरेर १० हजारदेखि २५ हजारसम्म लिन्छौँ ।
यो बाटो भनेको जम्मा छ कीमी जानु र छ कीमी फर्किनु थियो । ठूलो फेदीमा पुगेपछि भरियाले एक ट्वाक रक्सी खाएर सुइँसुइँ उकालो लागेका थिए नानी बोकेर । हामी भने ठूलो फेदीमा पुगेपछि एकछिन विश्राम गर्न थालेका थियौँ। ठूलो फेदीबाट उकालो लाग्नेबित्तिकै एउटा मन्दिर भेटिएको थियो । त्यस मन्दिरलाई सानो पाथीभराको मन्दिर भनिँदो रहेछ । अर्थात् ठूली पाथीभराकी बहिनीका रूपमा पूजिँदो रहेछ । मजाको कुरा त के भने ठूलो फेदीबाट उकालो लागेपछि भने बाटोभरि पैसा चढाएको हेर्न पाइन्थ्यो । पैसा असरल्ल थियो । यत्रतत्र थियो । त्यो पैसा कसैले टिप्दैनथे । ‘टिपे ठहरै’ भन्ने लोकोक्ति थियो । मकैको सातु, भुटेको भटमास चपाउँदै लेक लाग्नबाट जोगिँदै उकालो चढेका थियौँ हामी । काठमाडौँमा किनेका पावरबारहरू मकै चपाएझैँ खाएर तागत सञ्चय गर्दै हुन्थ्यौँ हामी । कोहीकोही त रेडबुल पनि चुसिरहेका थिए । ठूलो फेदीपछि फेरि उकालो यात्रा सुरु गरेका थियौँ । सानो फेदीबाट चार बजे हिँडेका हामीमध्ये सबैभन्दा चाँडो पुग्ने टोली नौ बजे पुगेका थिए भने म आफू १० बजे पुगेको थिएँ । बाटामा अनेकप्रकारका रुखहरू थिए । लालीगुराँसका बोटहरू थिए । बाटो निकै जौडे उकालो थियो । स्याँस्याँ-फ्याँफ्याँ गर्दै मुटु खलाँतीझैँ चल्दथ्यो । लौरोको अडेसामा एकछिन सुस्तायो र एक पाइला अघि बढ्यो, यही रीत थियो हामी सबैको ।तर साडुदाइप्रेम बराल र जेठीसासू शाान्ता बराल भने दिउँसोको एक बजे मात्र पुग्नुभएको थियो टाकुरामा । किनभने शान्ता दिदी निकै बिस्तारै हिँड्नु हुन्थ्यो । स्याँस्याँ गर्नुहुन्थ्यो । तर पुग्नु भयो । उहाँले त्यो उकालोमा बोकेर लग्नु भएको बर्फी मिठाई अमृतसरह भएको थियो।
एवम् रीतले बल्लबल्ल म पाथीभरा मन्दिरको गेट पुगेको थिएँ। जाडो र लेक लागेका मान्छेहरू थच्याकथुचुक बसेका देखिन्थे । सशस्त्र प्रहरी तथा हेल्थ पोस्ट्ले प्राथमिक उपचार गर्थे । । गेटबाट भित्र पसेपछि मेरो आफ्नै तागत निमिट्यान्न भएकोथियो । एकपाइला चाल्यो, सुस्तायो अनि फेरि एक पाइला चाल्यो । तलतिर झर्न खोज्यो फटाफट हुने । माथि चढ्न खोज्यो तागत सकिने हुँदोरहेछ। त्यसैले सुस्ताएर मुटुलाई अलि ठेगानमा ल्याएर फेरि हिँड्नुपर्ने रहेछ । यो लेक लागेको रहेछ । जे भए पनि म सुस्तरीसुस्तरी पाइला चालेर पाथीभरा देवीको मन्दिरमा पुगेँ । सत्तेसत्ते यस क्षणलाई मैले आफ्नो जीवनको बहुमूल्य उपलब्धि ठानेको छु ।
पाथीभरा देवी मन्दिरको कम्पाउन्ड ढुङ्गा खप्टयाएर बनाइएको थियो । होचो कम्पाउन्डभित्र गणेश, शिवजी, नन्दीभृङ्गी, त्रिशूलको रास, भैरव, कालिका देवी, वनका देवता, ढुङ्गाको स्पष्ट आकार नभएका केही मूर्तिहरू पनि लहरै राखिएका थिए । ६४ वटा सिकारीको पूजा गर्ने ढुङ्गे मूर्ति, हनुमानजी, अखण्ड बत्ती, नागकन्या, गरुड भगवानका मूर्तिहरू हार लगाएर राखिएका थिए । अचम्म र निकै आकर्षण त घन्टैघन्टाले बनेको झुप्पो तथा त्रिशूलका रासले दिएको थियो । नजिकै लाखबत्ती बाल्ने ठाउँ व्यवस्थित थियो । खोलाको पूजा गर्ने, वनदेवी, सिकारी आदिको पूजा गर्ने परम्पराले लिम्बूको आदिम धर्म प्रकृति पूजाको झल्को दिइरहेको थियो । हिन्दू परम्परामा पनि प्रकृति र जैविक बस्तुलाई देवता मानेर पूजा गर्ने गरिएको हुन्छ । बलि दिने स्थान अलि पर्तिर थियो । त्यहाँ एउटा लोकोक्ति थियो- बलि दिने ठाउँमा झिँगा लाग्दैन । यो कुरा धार्मिक आस्थामा थियो, मैले वैज्ञानिक कारण भने खोजिनँ ।
पाथीभरा देवीको अवस्थिति भएको यस स्थलको बुनौट नै कति मनोरम थियो भने पुगेपछि मन नै हरर भएको थियो । त्यो पहाड भरिएर चुलिएको आकारमा थियो । अर्थात् अन्नले भरिएको, चुलिएको पाथीको टुप्पोमा दियो बाल्न अलिकति थेप्च्याउने नेपाली धार्मिक परम्पराझैँ त्यो पहाड पनि प्राकृतिक रूपमै चुच्चोमा पुगेर थेप्चिएर सम्मिएको थियो । यही सम्म भागमा देवी पाथीभराको खुला मन्दिर थियो। अर्थात् कुनै बनिबनाउ मन्दिर थिएन । छानो, पर्खाल केही थिएन । कात्यायनीको मूर्ति रहेछ । दुर्गादेवीको अजङ्गको पित्तलको मूर्ति पछि स्थापना गरिएको रहेछ । मूल देवी त्यहाँ एउटा सानो खोपिल्टोभित्र अद्यावधि रहेको देखिन्थ्यो ।
मैले पनि त्यहाँ रहेका बाहुन पुजारीसँग पाथीभराका बारेमा सोधेको थिएँ । उनले बताएका थिए- उहिले,हाल रहेको स्थानको अलिकति पर्तिर भीरको ओडारमा थियो रे पाथीभराको शिलामूर्ति । सिकारीले पत्ता लगाएका रे । निकै गाह्रो र लगभग सिपालु बलियाबाङ्गा मात्र बुटो समाउँदै त्यस ओडारमा पुग्न सक्ने भएकाले लिम्बूका धामी फेदाङ, झाँक्री, सिकारी, भेडीगोठालाले मुन्धुम विधिअनुसार क्षमा पूजा गरी अहिलेको ठाउँमा मूर्तिलाई प्रतिस्थापना गरिएको भनिएको छ । त्यस पाथीभरा देवीको शिलामूर्ति कसले बनाएर त्यस ओडारमा राख्यो भन्ने थाहा छैन । त्यसैले पाथीभरा देवीलाई आफैँ उत्पत्ति भएकी देवीका रूपमा पूजिन्छ ।
पाथीभरा देवीको अगाडि बसेर धेरै लपसिक्खा धामीहरू कामिरहेथे । ती बक्थे । अचम्म पनि लाग्दो भएको थियो त्यस क्षण । पाथीभराका पुजारीले जलले अभिषेक गरिदिएपछि ती लपसिक्खा धामी काम्न बक्न छोड्थे ।
यता पुजारी भने पाथीभराको उत्पत्तिका बारेमा भन्दै थिए- लिम्बूजातिले पाथीभरा देवीलाई मङ्घिमका रूपमा पूजा- आजा गर्दैआएका छन् अहिले पनि । पृथ्वीनारायण शाहको विजय अभियानपछि यो लिम्बू मान्यतालाई जस्ताको त्यस्तै मान्यता दिएर हिन्दूको शक्तिपीठका रूपमा पाथीभरालाई विकास गरिएको भनिएको छ ।
पाथीभरा देवीको उत्पत्ति तथा पूजाआजाका बारेमा पनि रोचक किंवदन्ती बताइरहेका थिए पूजारीले- उहिले यो लेक भेडाको चरन खर्क थियो रे । एकदिन भेडाका बथानएकाएक अलप भए रे । गोठालाहरू चिन्तित भए । अनि गोठालको सपनामा देवी प्रकट भएर रोज्जा भेडाको बलि मागिन् रे । बलि दिएपछि सबै भेडा फेला परे रे । त्यसपछि पाथीभरा मातालाई बलि दिएर आफ्ना भाकल सिद्धि गर्ने प्रचलन चल्यो । प्रसिद्धि पनि भयो । सबैको मनोकाङ्क्षा पनि पूरा हुनथाल्यो ।
पाथीभरा देवीकै प्राङ्गणमा एकजना लिम्बूजस्ता देखिने बूढाबा बसेका थिए । मैले उनीसँग पाथीभराका बारेमा सोधेको थिएँ । उनले भनेथे- ‘उहिलेको कुरा के गर्नु बाबु ! यो पाथीभरा परिसरमा पैसा छरिएर बसेका हुन्थे । तिनताक ढक चाँदीका कटुवा पैसा हुन्थे । मान्छे कोही हुन्नथिए । पुजारी पनि त्यहाँ बसिरहन्नथे । पहिलोपल्ट पाथीभरा आएको वेलाम केटाकेटी नै थिएँ। बाउसँग आएको थिएँ । मेरा बाउले पैसा ऋणसापट यही पाथीभराबाटै ल्याएको अहिलेझैँ लाग्छ । पैसाको कुम्लो बोकेर बाउको पछिपछि घर फिरेको मै हो । भाकाभित्र साउँ र ब्याज बुझाउनु पथ्र्यो । नबुझाए त ठहरै हुन्थ्यो नि बाबु ! तेस्तो ज्वाजल्य पो त यी देवी त !’
म पुग्दा त्यसवेलापनि दानपेटिका थिएन । हजारहजारका नोटहरू पनि चौरभरि असरल्ल थिए । हावाले यताउति उडाइरहेका थिए । कसैले पैसा टिप्ने आँट गर्दैनथे । मान्छे पैसा तिरेर त्यहाँका सामानहरू किन्थे । पैसा त्यही खुलै चौरमा छोडेर सामान उठाएर लैजान्थे । यस कुरालाई देवी पाथीभराको शक्तिको रूपमा हेरिँदो थियो । मान्छेहरू कुँडुलो परेर आइरहेथे, गइरहेथे; सुन, चाँदी, पैसा, तामा, पाथी, माना, त्रिशूल, च्यादर, बर्को आदि पाथीभरामा चढाइरहेका थिए । भोग दिने दिइरहेका थिए ।
हिमालकै समान उचाइ देखिने पाथीभराबाट कञ्चनजङ्घा, मकालु, कुम्भकर्ण, सगरमाथा हिमाल प्रस्टसँग देखिन्थे । किनभने त्यो दिन संयोगले हिमाल छ्याङ्ग थियो । भुइँमुनि बादल मडारिएको थियो । हावाको प्रहारले बादल घरी हिमाल पुग्थ्यो, घरी पाथीभरा आइपुग्थ्यो । बादल र हिमाल लुकामारी गरिरहन्थे । हाम्रा अनुहारलाई चिस्याउँथे, कठ्याङ्ग्य्राउँथे । सूर्यको किरण हिमालमा ठोक्किएर एउटा मीठो दृश्य देखिन्थ्यो । मन त्यसैत्यसै आह्लादित हुन्थ्यो । खासमा यो सिनेमाहरूमा देखाइने स्वर्गको दृश्यभन्दा कता हो कता सुन्दर र मनमोहक थियो ।
एकछिन पाथीभरामा उभिएर टाँगिएका झन्डा र तोरणलाई हेरिरहेको थिएँम । पाथीभरा देवीप्रति बुद्धधर्मको पनि आस्था रहेको देखिन्थ्यो । सायद तन्त्रवादी बौद्धको आस्था होला भन्ने अनुमान गरेको थिएँ । पाथीभरालाई लिम्बूजातिहरू मुन्धुममा उल्लिखित मुक्कुलुङ मङ्घिम मानेर पूजा गर्दारहेछन्, त्यहीँ थाहा पाएको थिएँ । त्यसैले लिम्बू, बौद्ध तथा हिन्दू सबैको आराध्यदेवी पाथीभराले धार्मिक सहष्णिुताको परिचय दिएको प्रस्टै अनुभूति गरेको थिएँ ।
पूजाआजा गरेर हामी झरेका थियौँ । बाटोमा मलाई एकजना फर्किंदै गरेका यात्रुले बाटो कटाइ सोधेका थिए- ‘होइन हौ बाबु, यत्रो अजङ्गको पित्तलमूर्ति कसरी यो ठाउँमा उत्पन्न भयो होला, अचम्म !’
मैले जवाफ दिएथेँ- ‘त्यो अजङ्गको पित्तलको मूर्ति त भर्खर केही वर्ष पहिले स्थापना गरिएको हो नि बाजे ! मूल पाथीभरा शिला त त्यस कोप्चोमा थियो । देख्नु भएन ?’
उनी ‘आच्या हौ, बित्याँस परेछ नि, के गर्नु त हौ अब ! यति उँधो झरिसकियो गाँठे’ भन्दै ओरालो झरेथे ।
सानु फेदी पुग्दा ठूलो साँझ भइसकेको थियो । हामी फेरि गाडी लिएर देउराली पुगेका थियौँ र आफ्नो गाडी समातेका थियौँ । ताप्लेजुङ बजारमा गएर राम्रो होटलमा पुगेर आराम गर्ने हाम्रो विचार थियो । तर कतिवटा होटल खोज्दा पनि हामीले पाएनौँ । अनि हामी बाटो लागेका थियौँ । तर हाम्रो अवस्था कस्तो भयो भने ड्राइभरहरूले आँट गर्दा पनि हामी रातको समयमा गाडीमा जान नसकिने भयौँ । कैँडा मात्र लागेन, पूरै जिउ नै कुँजिएको थियो । केटाकेटीको अवस्था त झन् खराब भएको थियो । गाडीबाट पनि कसैले बोकेर झारिदेओस् भन्नेजस्तो भएको थियो । त्यसकारण बाटामै मेवाखा भन्ने ठाउँमा एउटा सानो होटलमा पसारा पर्यौं । त्यस दिनको भात !विचरा भात ! भो भातको कुरा नगरौँ । बरु हाम्रो त्यो हुद्दालाई, त्यसअवस्थामा त्यस होटलले आश्रय दिने आँट गर्यो, त्यो नै महान् सत्कर्म थियो । ज्यादै ठूलो धर्म थियो । सुतिसकेका मान्छे उठेर त्यत्तिका जनालाई भात पकाएर खुवाउनु कम्तीको सत्कर्म हो त ! अनि मेरी माइली छोरी मनुशीलाले पेनकिलर मलम, स्प्रे लगेको हुनाले घुँडा तथा दुःखेका ठाउँमा लगाएर जेनतेन सुतेका थियौँ । सुत्नु त के थियो, पसारा परेर रात कटाएका थियौँ । तर भोलिपल्ट उठ्ता भने धेरै हलुङ्गो भएको थियो । चङ्गा भएका थियौँ । रातीको आतिथ्यका लागि होटललाई हृदयदेखि नै धन्यवाद दिँदै हामी भोलिपल्ट बिहानै धुलाबारीतिर सोझिएका थियौँ ।
र म यतिवेला अमेरिकाको सुगम ठाउँमा बसेर त्यो यात्रा सम्झिँदैछु । त्यस यात्राले दिएका तरङ्गहरू सम्झिरहेको छु । त्यस सम्झनाको आफन्तपन सम्झिँदैछु । त्यसको धार्मिक, सामाजिक तथा पर्यटकीय महत्त्व सम्झिँदैछु, अनि मन नै आह्लादित भएर आउँछ । खासगरी पाथीभराबाट देखिने प्रकृतिले मनलाई अहिले पनि मनोरम बनाइरहेको छ । म फेरि पाथीभरा पुग्न सक्तिनँ, त्यसैले ‘म अब आउन सक्तिनँ’ भनेरै फर्केको छु । किनभनेअहिले शरीर थसुल्ले भएको छ । घुँडाका पाइन सकिएका छन् । आँतले लत्तो छोडेको छ । आँट भट्टा बसेको छ । फोक्सोले स्याँस्याँ धेरै जानेको छ । त्यसैले मैले पाथीभराबाट देखिने त्यो अनुपम सौन्दर्यलाई बिर्सनुपर्ने हो । तर के गरूँ, बिर्सन नै सकिनँ नि, कस्तो मोहनी लायौ नि हौ पाथीभरा तिमीले !
(हाल सान एन्टोनियो, अमेरिका निवासी पोखरेल विगत चार दशकदेखि सिर्जनामा सक्रिय स्रष्टा हुन् । उनका एक निबन्ध–सङ्ग्रह, दुई लघुकथा–सङ्ग्रह, एक कथा–सङ्ग्रह र एक कविता–सङ्ग्रह प्रकाशित छन् ।)
[email protected]