कविता

कोरोनाले हाहाकार पारेको थियो
वातावरण छताछुल्ल थियो,
बन्दाबन्दी भयो
मौका सम्झेर कोहीकोही मानिसहरूमा
अहङ्कार बढेको थियो
०००
स्वाभाविक भयाक्रान्त परिवेशमा
अस्वाभाविक कृत्रिम भाइरसहरूको
जगजगी मौलायो
कुरिलो चाहिने परिस्थितिमा
नर्कट टुसायो,
केत्तुके उम्रियो
र चिहाने बस्तीभरि
हाडहरूले परेड खेले,
बाढी र पहिरोले सङ्गीत बजाए,
सलहले गीत गाए,
सर्प र चमेरो नाच्न थाले
०००
म त पर सरेको छु,नछोऊ है !
तिमी पनि पर सर !
तिमी नसरे ऊ तिमीमा सर्ला !!
हात नमिलाऊ
टाढैबाट नमस्कार छ !
०००
यी अमूर्त पर सरूवा
दानवका महाकाल–आक्रमणले
कोलाहलको सङ्क्रमण थपिदिएको थियो
यसैले
मृततुल्य शिथिल !
चिसोढुङ्गो
(सेलाएको राज्य)
भएका हुन् ।
(काठमाडौंँ,निवासीकणाद स्थापित कवि हुन्)
[email protected]