भाग्य ईश्वरीय वरदान हो । जुन क्षणलाई हामी सही उपभोग गर्छौं त्यसलाई भाग्य र खेर गएको समयलाई दुर्भाग्य भनेर हामी प्रायशः भन्ने ठान्र्छौं । यस अर्थमा भाग्य आफ्नो हातमा छ तर मैले औँल्याउन खोजेको भाग्य केही फरक छ । म सैद्धान्तिक नभएर नितान्त व्यक्तिगत कुरा गर्दैछु । म आफूलाई अत्यन्त भाग्यमानी भन्ने ठान्दछु किनकि आज जुन व्यक्तिलाई राष्ट्रले सम्मान गर्दैछ, जसलाई भेट्न मात्र पाउँदा मानिस गौरव गर्दछन्, त्यस्ता व्यक्तित्वको सन्तान हुनपाउनु सानोतिनो भाग्य होइन । तसर्थ मेरो मान्यता छ– भाग्य हाम्रो, गौरव राष्ट्रको ।
बुबाज्यूको जन्म पश्चिमाञ्चल विकासक्षेत्रको दुर्गम जिल्ला लमजुङको पुस्तुनमा भएको कुरा सर्वविदितै छ । सानैमा आफ्नी आमाको स्वर्गवास भएपछि पिता गौरीशङ्करज्यूबाट नै मातापिता दुवैको संरक्षण एवं स्नेह पाएर आफू हुर्किएको उहाँ स्वयं बताउनुहुन्छ । आफ्ना पिताज्यूको सुरिलो कण्ठबाट निस्केका मीठा श्लोकहरूसुन्दा उहाँको कलिलो बालमस्तिष्कमा सायद थाहै नपाई कविताको वीजारोपण हुनपुग्यो होला । साथै जगराको लेकमा गुञ्जिने कोइलीको मीठो आवाज, छाँगाछहराको ध्वनि, पानीको कलकलले पनि सम्भवतः उहाँको मस्तिष्कभित्र कविताको प्रस्फुटन हुनपुग्यो होला । किनभने प्रतिभाले प्रस्फुटन हुन आफैँले मार्ग खोज्दछ । यसको पुष्टि त बुबाज्यूको कविताबाटै गर्न सकिन्छ–
ढुङगाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जनाशक्ति संसारमा कैल्यै हुँदैन विफल
तेह्र–चौध वर्षको उमेरमा बुबाज्यूले हाम्री (शान्ति, कान्तिकी) आमा (गौरी) सँग विवाह भएपछि खुदीबेनीमै बसी अध्ययन गर्नुभएछ । खुदीबेनीको बसाइ बुबाज्यूका लागि फाप सिद्ध भएको बुझिन्छ । किनकि त्यहीँबाट अध्ययनको प्रारम्भ र हाम्रा मामाघरका जिजुबुबासँगबाट ज्ञान आर्जन गर्नुभयो । त्यसको एक–दुई वर्षपछिअध्ययनका लागि काठमाडौँ आउनुभएछ । केही समयपछि आमा पनि काठमाडौँ आउनुभएछ । तर दैवको लीला २००४ सालमा चार वर्षकी दिदी र चार महिनाकी मलाई टुहुरा बनाएर आमाको स्वर्गवास भयो । यो दैवी प्रहारको मर्मबाट मर्माहत भएर ‘गौरी’ काव्यको सिर्जना भयो । गौरीको नश्वर शरीर ढलेर गए पनि बुबाज्यूले काव्यको माध्यमबाट उहाँलाई अमर बनाउनुभएको छ । यो संसारमा कतिका पत्नी बितेका छन्, कतिका आमा मरेर छोराछोरी टुहुरा बनेका छन्, तर बुबाज्यूले ‘गौरी’ शोककाव्य लेखेर सबैको साझा कहानी बनाउनुभएको छ । जसलाई यस्तो घटना घट्छ उसले ‘गौरी’ गहको आँसु नरित्तिन्जेल पढ्छ । आज जनमानसको जिब्रोजिब्रोमा ‘गौरी’ काव्य झुन्डिएको छ । पाठकवर्गको मुखबाट हामी सुन्छौँ, बुबाज्यूले अरू जति काव्य लेखे पनि ‘गौरी’ ले जति अमरत्व सायद अरूले पाउला नपाउला । अर्को अचम्म र खुसी त हामीलाई के लाग्छ भने ‘गौरी’ पढ्ने कसैकसैले त आफू भावनामा डुबेर होला हामीलाई उही चार वर्ष र चार महिनाकै सम्झन्छन् । ‘गौरी’ लाई म्युजिक नेपालले लयबद्ध गरेर क्यासेट निकाल्ने क्रममा छ । मैले पनि दुई पङक्तिमात्र सुनेँ; अरू सुन्न कठिन भयो किनकिआफू नै त्यसभित्रको पात्र भएर त्यो सुन्दा झनै विह्वल बनाउँदो रहेछ । सोचेँ, बुबाज्यूलाई झनै कस्तो भयो होला ! अनि मेरो मनले ठानेको छ, चौतारी म बनाइदिन्छु यसले संसारको मार्गमा । साँच्चै नै आमाका लागि यो अजरता–अमरताको चौतारीभन्दा ठूलो अरू कुन हुनसक्छ र ?
आमाको निधनपश्चात् हाम्रो लालनपालन मामाघरमा नै भयो । पछि बुबाज्यू पनि पहाड फर्कनुभयो र २००५ सालमा वर्तमान आमासँग विवाह भयो । दोस्रो विवाहको सम्बन्धमा केही मानिसहरूले जिज्ञासा पनि राखे कि,‘त्यस्तो शोककाव्य लेख्ने मानिसले किन र कसरी फेरि विवाह गर्नुभयो’ भनेर । मैले पनि स्वविवेक र बुद्धिले भ्याएसम्म प्रतिप्रश्न गरेँ कि उहाँले दोस्रो विवाह नगर्नुभएको भए के उहाँले अन्य सिर्जना गर्न सक्नुहुन्थ्यो ? अवश्य सक्नुहुने थिएन । भावनामा बग्नु र यथार्थ जीवन भोग्नुमा फरक हुन्छ । वास्तवमा वर्तमान आमाले पनि बुबाज्यूलाई हरेक क्षेत्रमा प्रेरणा एवं हौसला दिनुभएको छ । पिताज्यूले हाम्री आमा गौरीसँगको छोटो जीवनयात्रामा पनि जति प्रेरणा र हौसला पाउनुभयो त्यो उहाँले ‘गौरी’ काव्यको माध्यमबाट भन्नुभएको छ । जुन अवस्थामा हाम्री आमाले हामी दुई दिदीबहिनी (शान्ति, कान्ति) लाई छोडेर जानुभएको थियो दोस्रो विवाहपछि वर्तमान आमाले पनि बुबाज्यूको लथालिङ्गको परिस्थितिलाई सह्माल्नुभयो; यद्यपि उहाँ विवाहको वेला केटाकेटी अवस्थाकै हुनुहुन्थ्यो । पिताज्यूकी दोस्री जीवनसँगिनी वर्तमान आमाले अद्यावधिसम्म बुबाज्यूलाई हौसला एवं प्रेरणा दिँदै आउनुभएको छ । साथै उहाँ बुबाज्यूकी सच्चा सहधर्मिणी हुनुहुन्छ । यसरी घरव्यवहारबाट निर्धक्क भएर नै बुबाज्यूले आफ्नो लेखनकार्यमा डुब्न पाउनुभएको छ । हामीले पनि कर्मकी जननी पाएका छौँ ।
वात्सल्यका धनी मेरा पिताज्यू
बुबाज्यू २००९ सालतिर सपरिवार फेरि काठमाडौँ फर्कनुभयो । मचाहिँ हजुरआमाकै संरक्षणमा तरापुमा रहेँ । काठमाडौँ आएपछि पनि वर्षको एकपटक बुबाज्यू मलाई र उहाँका आफ्ना पिताज्यूलाई भेट्न लमजुङ गइरहनुहुन्थ्यो । आजभोलिजस्तो यातायात थिएन । पैदलयात्रा गर्नुपथ्र्यो । तैपनि वात्सल्यको अगाडि उहाँलाई त्यो कठिनाइ केहीझैँ लाग्दैनथ्यो । ती दिनका सम्झना मलाई अझैसम्म ताजा र मीठा लाग्छन् । बुबाज्यू मामाघरमा आउँदा उहाँलाई भेट्न गाउँभरिका मानिस आउँथे । पिँढी–आँगनसम्म पनि मान्छे अटाइनअटाइ हुन्थे । म भने भित्र मूल ओछ्यानमा लुकेर बस्थेँ । तर बुबाज्यूलाई हेर्ने कौतहूल भने हुन्थ्यो र आँखीझ्यालबाट बाहिर चियाएर हेर्थें । अनि मेरो मन भित्रभित्रै दङ्ग पथ्र्यो कि म त यति ठूला मान्छुकी छोरी पो हुँ भनेर । यस्तै सोच्दासोच्दै कति वेला म बुबाज्यूको काखमा पुगिसकेकी हुन्थेँ । समय बित्दै जाँदा मैले पनि बुबाको महत्त्व बझेँ र बिस्तारै (बुबासँग) झ्यामिन थालेँ र २०१४ सालमा बुबाज्यू एकेडेमीको सदस्य बन्नुभएपछि मलाई काडमाडौँ लिएर आउनुभयो । यही नै हो मेरो बुबाज्यूको मप्रतिको अगाध माया, स्नेह एवं कर्तव्यपरायणता । यही कुरा सम्झेर उहाँ मप्रतिको स्नेहबाट विमुख भइदिनुभएको भए म आज म विशुद्ध पहाडी जीवनमा हुन्थेँ होला । मेरी वर्तमान आमा पनि यसको भागीदार हुनुहुन्छ । त्यसैले पनि बुबाज्यू वात्सल्यका अनुकरणीय नमुना हुनुहुन्छ भन्ने मेरो धारणा छ ।
काठमाडौँ आएपछि म आफ्नो परिवारसँग नै रमाएँ। यसका साथै मेरी दिदी शान्ति, ममुनिका अरू तीनजना बहिनीहरूले गर्दा पनि म चाँडै नै रमाएँ । खास गरी मेरो र मपछिकी बहिनी मञ्जुको धेरै कुरा मिल्थ्यो । ऊ र म त साथीजस्ता थियौँ । यसप्रकार बुबाज्यूको र आमाको सामीप्य एवं काख र दिदीबहिनीको साथ पाएर मैले मामाघरकी हजुरआमाको मायालाई ओझेलमा पारेँ । मानिसहरू भन्छन्–छोराछोरीलाई माया गर्नमा हाम्रा बुबाज्यू अनुकरणीय नै हुनुहुन्छ । मलाई त झनै बुबाज्यूले सम्पूर्ण माया मैमाथि खन्याएजस्तो लाग्छ, जो अद्यावधि छँदैछ । त्यसैले पनि मलाई बुबाज्यूलाई मनपर्ने काम गरेर उहाँको विश्वास प्राप्त गर्ने धुन चढ्थ्यो । निश्छल र सोझो व्यवहार, सत्य वचन र कडा मेहनत यी कुरा नै बुबाज्यूलाई मन पर्छ । सायद यिनै कुराको अनुसरण गरेर नै आजसम्म मैले उहाँको विश्वास पाइरहेकी छु । उहाँले हामीलाई कहिल्यै पनि ताडना दिनुभएन । सदैव प्रोत्साहन दिएर नै अगाडि बढाउनुभयो । आठ–आठजना छोराछोरीको पालनपोषण, शिक्षदीक्षाको भार केवल एक्लो काँधमाथि थियो । तैपनि सबै छोराछोरीलाई स्नातकसम्म भने पनि बनाउने बुबाज्यूको अठोट थियो । हुन पनि बुबाज्यूको अठोट ईश्वरको वरदानस्वरूप आज हामी सबै स्नातक छौँ ।
बुबाज्यू वटवृक्ष
बुबाज्यू स्वयं एक परिपूर्ण वटवृक्ष हुनुहुन्छ । उहाँ हामीलाई आफैँ भन्ने गर्नुहुन्छ– म वटवृक्ष हुँ, मेरा सन्तान हाँगा र छोराछारीका सन्तान बिँगा हुन् । साच्चै नै पितारूपी वटवृक्षका हामी हाँगा हौँ । वृक्ष स्थिर रहे पनि त्यसका हाँगाबिँगा चार दिशा फैलन्छन्, जसरी सन्तान फैलन्छन् । वृक्ष सरस बने मात्र हाँगाबिँगा सरस हुन्छन् । हाँगा सरस बने पात एवं पालुवाले वृक्ष शोभायमान हुन्छ । हाँगाबिँगा फैलिनुको अर्थ कीर्ति फैलनु पनि हो । यी कुराहरूबाट लाग्छ, उहाँले कसरी तार्किक किसिमबाट हामीलाई प्रेरणा दिइरहनुभएको छ, उहाँ कसैको घर बन्दा आफ्नै बनेको र कसैको भत्कँदा आफ्नै भत्केको ठान्नुहुन्छ ।
सन्तान गलत बाटोमा नलागून् भन्ने चाहना
बुबाज्यूको धारण छ, मानिसलाई अगाडिबाट बाटो देखाउनुपर्छ । आफ्ना अग्रजले सही बाटो हिँडेमा सन्तान पनि सही बाटोमा लाग्छन् । त्यसका लागि सत्कर्म पनि गर्नुपर्छ । सन्तानले राम्रो काम गरे बाबुआमाका सम्पूर्ण त्याग–तपस्या सफल हुन्छन्, दुःख पनि बिर्सिन्छ । तर सन्तानलेगलत काम गरे आफ्ना नाम, यश, सुख सम्पूर्ण नै व्यर्थ भएर जान्छन् । उहाँका सबै सन्तानहरू बुबाज्यूकै सिद्धान्तअनुरूपको बाटोबाट कत्ति पनि विचलित भएका छैनन् । यो नै बुबाज्यूको तपस्याको फल एवं ईश्वरको कृपा हो ।
बुबाज्यूका कविताका पाठक एवं श्रोता उहाँकै परिवार
बुबाज्यू आफूले लेखेका रचना (कविता) सर्वप्रथम आफ्नै परिवारका सदस्यहरूलाई सुनाउने गर्नुहुन्छ । त्यसमा पनि पहिला त आमा र म नै पथ्र्यौं। अद्यावधि पनि बुबा आफूले लेखेका रचानाहरू सुनाउने गर्नुहुन्छ । तीमध्ये कुनचाहिँ सबभन्दा राम्रो लाग्यो ? भनेर सोध्नुहुन्छ । हामी आफूलाई राम्रा लागेका पङक्तिहरू भन्छौँ । त्यति मात्र नभई हामीले बदल्न सल्लाह दिएका पङ्क्तिहरूलाई उहाँ कतै बदल्नु पनि हुन्छ । यसप्रकार हामी बुबाज्यूका कविताका धेरथोर पारखी बनेका छौँ ।
बुबाज्यूभित्र ऋषित्वको पना
बुबाज्यू लेखन थाल्दा तपस्यामा समाधिस्थ ऋषिजस्तै बन्नहुन्छ । आफ्ना वरपर केही देख्नुहुन्न । कहिलेकाहीँ त खाए–नखाएको होस् पाउनुहुन्न । जसरी भगवान् विष्णुले समुद्रमन्थन गरेर अमृत निकाले, त्यसै गरी उहाँ पनि भावनाको सागरमा डुबेर अमृतसरिका रचना निकाल्नुहुन्छ । उहाँमा खास गरी वसन्तऋतु र शरद्ऋतुमा हिमाल उघ्रेसरि भावना उद्घाटित हुन्छन् । त्यसैले बुबाज्यू कवितामा भन्नुहुन्छ–
आई कैल्यै पनि नसकिने चैत वैशाख मेरो
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरो
यस प्रकार उहाँ प्रकृति र प्रेमका पुजारी हुनुहुन्छ भन्ने मेरो मान्यता छ ।
बुबाज्यू साहित्य, सङ्गीत र कलाका त्रिवेणी
बुबाज्यू आफू जुन परिवेशबाट माथि उठेर आज प्रसिद्धिको शिखरमा आइपुग्नुभएको छ त्यो उहाँको कठोर परिश्रमको फल हो । मेहनत एवं साधनाका साधक बुबाज्यूले आफ्ना आठैजना छोराछोरीलाई शैक्षिक डिग्रीका अतिरिक्त कला तथा अन्य विविध क्षेत्रमा लगाउनुभएको छ; जसअनुसार मलाई चित्रकलातर्फ लगाइदिनुभएको छ । केटाकेटीमा बुबाज्यूले मलाई छिनछिनमा विभिन्न आकारमा बदलिने बादल देखाउनुहुन्थ्यो; त्यसै गरी इन्द्रेणीका सुकोमल रङ्गहरू । यसरी बुबाले मलाई चित्रकलातर्फ थाहै नपाई चाख बढाइदिनुभएको रहेछ । पछि मैले लैनसिंह बाङ्देलज्यूबाट चित्रकला सिकेँ र यसको महत्त्व अझ बुझ्न पाएँ । बल्ल बुबाज्यू पनि कलापारखी हुनुहुँदो रहेछ भन्ने थाहा भयो । त्यस्तै सङ्गीतको पनि उहाँ पारखी हुनुहुन्छ । विशुद्ध पाठक र एउटा कलाकारका दृष्टिले हेर्दा बुबाज्यूका कवितामा प्रकृतिको जीवन्त रूप छ, जस्तै– ‘झरीको पछि झुल्केको घाममा नीर सर्यो पहाडको’ यो पङ्क्तिको मर्म कि त कवि कि कलाकारले नै बुझ्न सक्दछ ।
बुबाज्यूलाई केटाकेटी असाध्य मन पर्छ । तिनका निश्छल आँखामा उहाँ कोमलता देख्नुहुन्छ भने तिनको हाँसोमा मन्त्रमुग्ध हुनुहुन्छ । आफ्नो फुर्सदको समयमा लेखाइबाट दिमागी विश्राम चाहिँदा बुबाज्यू केटाकेटी खेलाउने गर्नुहुन्छ । कहिलेकाहीँ तिनैजस्तो बनिदिनुहुन्छ । तिनैबाट प्रेरित भएका उपज हुन् ‘मै मिरिमिच्चे म्याँम्याँ बु्रक’ जस्ता बालकविताहरू । एउटा विशुद्ध पाठकको हैसियतले हेर्दा मलाई उहाँका रचनाहरू बगैँचामा फुलेका सुन्दर फूलहरूबाट पनि गमलामा सजाइएका सुन्दरतम फूलजस्ता लाग्दछन् ।
जीवनप्रति बुबाज्यू सदैव आशावादी
बुबाज्यू भन्नहुन्छ–‘जीवनलाई आफूले भोग्न जान्नुपर्छ । यसलाई ईश्वरको वरदानको रूपमा हेरे वरदान र अभिशापको रूपमा हेरे अभिशाप नै बन्छ ।’ बुबाज्यू जीवनप्रति सधैँ आशावादी हुनुहुन्छ । उहाँ सत्यं, शिवं, सुन्दरम्को आदर्शबाट प्रेरित हुनुहुन्छ । उहाँ पुनर्जन्ममा पनि विश्वास राख्नुहुन्छ । यहाँ बुबाज्यूको जीवनप्रतिको आशावादिता झल्काउने एउटा सानो प्रसङ्गको संस्मरण गर्न मन लाग्यो । २०१४ सालतिर उहाँ मलाई लिन पहाड जाँदा बिदा हुने क्रममा हामी (बुबा, दिदी र म) पुस्तुन पुगेका थियौँ । बुबाज्यू अचानक बिरामी हुनुभयो । उहाँलाई टाइफाइड भएको रहेछ । कविराजले औषधी गर्दागर्दै पनि उहाँको अवस्था निकै चिनताजनक भएछ । अन्तिम अवस्था भएको ठानेर होला काली गाई दान गर्न ठीक तुल्याइएको थियो । तुलसीमठ पनि लिपपोत पारियो । यस्तैमा बुबाज्यूका एक जना काकाले बुबालाई ‘बाबू, तिम्रा बाबु पनि यही बेलामा जानुभएको हो, खै तिमी पनि…’ भनिदिए । त्यसपछि सबैजना रून थाले; दिदी पनि रूनुभयो । सबैजना रोएको देखेर बुझेर हैन त्यसै म पनि रोइदिएँ । तर बुबाले काकातिर फर्किएर भननुभयो–‘काका, म अझै सय वर्ष बाँच्छु; के ठमन्नुभएको छ ?’ सबै जना चुपचाप भए त्यो जबाफले । नभन्दै बुबाज्यूलाई निको हुँदैआयो । आज पनि म सोच्छु, मानिसहरू जीवितै अवस्थामा मृत्युअगावैका र मृत्युपश्चात्का दानपुण्यका कार्यहरू गर्छन् । तर हाम्रा बुबाज्यू यो चौरासी वर्षका उमेरमा पनि सिर्जना गरिरहनुहुन्छ । दुई पङ्क्ति लेख्न सके पनि राष्ट्रका लागि हुनेछ भन्नुहुन्छ । केही लेख्न सकेको दिन दिलै प्रफुल्ल, शरीर हलुङ्गो भएको अनुभव गर्नुहुन्छ । केही गर्न नसकेको दिन के बिर्सें, के बिराएँजस्तो अनुभव गर्नुहुन्छ । धन्य पिताज्यू, चौरासी वर्षको उमेरलाई पनि यहाँले सरल बनाइरहनुभएको छ ।
बुबाज्यूको विचारमा मान्छेले दुःख दिँदैमा केही हुँदैन; ईश्वरले दुःख नदिए पुग्छ । यस्तो कुरा उहाँले आफ्ना कठिनतम दिनहरूमा भन्नुभएको हो । दुःख नपरी मानिस बन्दैन । कहिलेकाहीँ मानिसले दिएका चोटहरू पनि प्रेरणादायी बन्न सक्छन् । तर ईश्वरले दिएको चोट श्राप बन्न पुग्छ । अनि बुबाज्यू आफ्ना छोराछोरीलाई भन्नुहुन्छ–‘तिमीहरूलाई जब दुःख पर्छ मलाई सम्झनू; म सधैँ तिमीहरूको साथमा हुन्छु ।’ यसप्रकार सधैँ नै बुबाज्यू हामीहरूलाई ढाडस दिइरहनुहुन्छ ।
वर्तमान विश्वासपरिस्थितिप्रति चिन्तित बुबाज्यू
कवि स्रष्टा पनि हो र द्रष्टा पनि हो । भोलि परिआउने परिस्थितिलाई कविले देखेको हुन्छ । आजको विश्व शक्तिप्रदर्शनको होडबाजीमा तँछाड मछाड गर्दै लागेको छ । स्रष्टाको यति सुन्दर सृष्टि विनाशतर्फ धकेलिँदै छ । धनराशि गरिब राष्ट्रका लागि खर्च गरेर मानवहित गर्नुको सट्टा नरसंहारकारी अस्त्रशस्त्रको निर्माणमा खर्च भएको छ । मानिस रक्तपिपासु बन्दैछ । धर्ती दिनानुदिन रक्तरञ्जित भएरहेछ । युद्ध कहिल्यै समाप्त नहुने क्रिया हो । त्यसैले ‘अश्वत्थामा’ मार्फत बुबाज्यू भन्नुहुन्छ–‘युद्धको पीडाबोध कला र साहित्यको सिर्जनाबाट मानवजातिमा अवबोध गराउन सकेमा मात्र युद्ध रोक्न सकिनेछ नत्र यो कहिल्यै समाप्त हुनेछैन ।’
युद्धको पूर्वपीडामै तिमी मानवता रच
मृत्युको एक झस्कामै तिमी अमरता रच
उहाँको यो कामना कुनै व्यक्तिको अमरता मात्र नभई मानवजातिको अमरताको कामना पनि हो । त्यसै गरी बुबाज्यू भन्नुहुन्छ–
कवि तिम्रो सारङ्गीमा सधैँ रोइरहन्छु म
यहाँ युद्ध छइन्जेल सधैँ आइरहन्छु म
ईश्वरको सृष्टि अति सुन्दर छ तर मानिसहरू पापी छन् । ईश्वरप्रदत्त सुन्दर मानवजीवन मानिसहरूबाट नै नारकीय बनेको छ । ‘राजेश्वरी’ मा उहाँको उद्गार छ–
तिम्रा खल्बलमा सुनिन्न छहरा गुँज्छन् कसोरी यहाँ
आफैँमा परिपूर्ण भै कुसुमकी फुलिन्छन् किशोरी जहाँ
मेरा प्रेरणाका आधार बुबाज्यू
मेरो जीवनका हरेक मोडमा चाहे त्यो शैक्षिक क्षेत्र होस् चाहे त्यो दिनचर्या, बुबाज्यूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परेको छ । उहाँले मलाई स्कुलदेखि नै ऐच्छिक विषय संस्कृत लिएर पढ्न लगाउनुभयो । म पनि सकभर बुबालाई खुसी बनाउने हिसाबले खूब मेहनत गर्थे । परिष्कृत शैली, सुन्दर अक्षर, लालित्यपूर्ण तवरले लेख्दा बुबा दङ्ग पर्नुहुन्थ्यो । त्यति भएपछि मलाई समर विजय गर्ने विजयी भएजस्तो लाग्दथ्यो । आई.ए., बी.ए. पढ्दा बुबा आफैँले ‘स्वप्नवासवदत्ता’ र ‘कुमारसंभव’ पढाउनुभयो ।
‘स्वप्नवासवदत्ता’ को एउटा श्लोकले मलाई ‘गौरी’ काव्यसँग प्रसङ्ग जोड्न मन लाग्छ । त्यसमा महाकवि भासले भनेका छन्–
नैवेदानीं तादृशा चक्रबाका
नैवाप्यन्ये स्त्रीविशेषैर्वियुक्ता:
धन्या सा स्त्री यां तथाःवेत्ति भर्ता
भर्तृस्नेहत् सा हि दग्धाप्यदग्धाः ।
अन्तिम दुई हरफको अभिप्राय मात्र म यहाँ भन्न चाहन्छु, जसरी वासवदत्ता पतिको स्नेह पाएर डढेर पनि नडढेसम्म (हुन त जीवितै थिइन्) भइन्, त्यस्तै गरी गौरी मरेर पनि शोककाव्यको माध्यमबाट अमर हुनुहुन्छ । यो कविता पढ्दा मैले मेरा पिताज्यूलाई महाकवि भाससँग तुलना गर्नपुगेँ । त्यसै गरी ‘कुमारसंभव’ पढेपछि प्रकृतिका प्रेमी बुबाज्यूलाई दाँज्न पुगेँ । बुबाज्यूलाई मलाई वासवदत्ता र पद्मावतीको चरित्रचित्रण गर्न लगाउनुहुन्थ्यो र मैले लेखेको देख्दा बुबा आफैँ छक्क पर्नुहुन्थ्यो । त्यस्तो प्रकारको ममाथिको बुबाको विश्वास अवर्णनीय छ । हुन त बुबा आफ्ना छोराछोरीको निकै प्रशंसक हुनुहुन्छ, तर आफूलाई गर्व भनौँ कि अहम्पन भनौँ बुबाज्यू मप्रति अरूमा भन्दा बडी नै संवेदनशील हुनुहुन्छ । सायद मर्छे भनेर ठानेकी छोरी बाँचेकीभएर हो कि ? मानिस बढी माया पाए पनि उन्नतिगर्न सक्दो रहेनछ क्यारे । त्यसैले होला मैले पनि खास त्यस्तो केही गर्न सकिनँ, जुन विश्वास बुबाज्यूको ममाथि थियो ।
धोको पुग्न नपाउँदै मरिगएँ आफैँ भने आखिर
हेरी यी टुहुरा दयालु दुनियाँ केही गरे है भर
साँच्चै नै हामी दुई दिदीबहिनी आमा बितेर पनि भाग्यमानी छौँ । बुबाले ‘गौरी’ काव्य र त्यसका पात्रले हामीलाई लोकप्रिय बनाइदिनुभएको छ । मेरो विवाह बालककालमा नै भयो । धेरै पछि मात्र म आफ्नो घर गए तापनि बुबाज्यूबाट टाढा हुँदा मलाई नरमाइलो लाग्थ्यो । म काठमाडौँबाट घर (दमौली) जान लाग्दा बुबा सधैँ नै अश्रुपूर्ण आँखाले मलाई बिदा गर्न बाटोसम्म पुग्नुहुन्थ्यो । बुबाका अश्रुले पुरित नयन सम्झँदै म आफ्ना मनका कुण्ठाहरू पखाल्थेँ । एउटा अचम्म के लाग्छ भने मलाई जब मनमा पीरबाधा पर्छ त्यतिखेर मैले सपनामा बुबाज्यूलाई देख्थेँ । अनि उहाँलाई बोलाउँथे । ठीक त्यसै वेला बुबाज्यूले पनि सपनामा मैले उहाँलाई बोलाएजस्तै आवाज सुनेर ब्यूँझनुहुँदो रहेछ अनि सपना भन्ने ठाने पनि मनले केही भइरहेजस्तो महसुस हुने रहेछ । हुन पनि म कतिपटक त विक्षिप्त मन लिएर काठमाडौँ आउँथे । तर उहाँलाई देखेपछि मेरो आकुल हृदय बिस्तारै यथास्थितिमा आउँथ्यो । बुबाज्यू मेरो चिन्तित अनुहार हेरेर भन्नुहुन्थ्यो–‘चिन्ता नगर, चिन्तन गर, पीरजति मेरो टाउकोमा राखिदेऊ ।’ यो वाणी नै मेरा लागि सञ्जीवनी बुटी साबित भयो । वास्तवमा आज म जेजति छु, जसरी जीवन बिताइरहेकी छु त्यो केवल बुबाकै प्रेरणाले र आडभरोसाले हो । उहाँ कुनै पनि छोराछोरीमा भेद राख्नुहुन्न, जसअनुसार उहाँले हामी सबै छोरीहरूलाई गायत्री मन्त्रदान गर्नुभएको छ । हिन्दूपरम्पराले स्वास्नीमान्छेलाई गायत्री मन्त्र सुन्न निषेध गरेको छ तर उहाँले यो अन्धविश्वासलाई तोड्नुभयो ।
कुरा २०३४–३५सालतिरको हो । म दमौलीमा टाइफइडले सिकिस्त भएकी थिएँ । त्यो खबर काठमाडौँमा बुबाज्यूलाई आइपुग्यो । राति सपनामा म स्वप्नजस्तो स्थितिमा थिएँ; यमदूतहरूले मलाई तानेर लैजाँदैथिए । म अत्तालिइरहेकी थिएँ । त्यत्तिकैमा मैले बुबाज्यूलाई भेट्टाएँ र एक्कासि ‘बुबा’ भनेर चिच्चायाएँ । त्यही चिच्च्याहटले म सपनाबाट बिउँझेँ । नभन्दै त्यसको दुई मिनेटभित्र बुबाज्यू ‘कान्ति’ भन्दै कोठाभित्र पस्नुभयो । मलाई अब म बाँचे भन्ने लाग्यो । यस्ता प्रसङ्गहरू कैयौँ छन् । अचम्म यो छ कि जुन वेला मेरो अन्तस्करणले उहाँलाई पुकारिरहेको हुन्छ त्यस वेला उहाँको अन्तस्करणले पनि मेरो आवाज सुनेको हुन्छ । यी कुराहरू बुबाज्यू स्वयं भन्नुहुन्छ र अचम्म पनि मान्नुहुन्छ । यसरी दुःखका मोडहरूमा मैले उहाँबाट नै मार्गदर्शन पाइरहेकी हुन्छु । त्यही साक्षत्कारको अनुभव नै मेरो पिताबारेको ज्ञान हो ।
पिताज्यूका बारेका हाम्रा संस्मरणहरू दिनपछि महिना र महिनापछि वर्षमा परिवर्तित तथा परिवर्धित हुँदैजाँदा तिनका अनगिन्ती पर्दाहरू उद्घाटित हुँदैछन् । ती सबैलाई समेट्नु असम्भवप्रायः हुन्छ । जुन सम्झना मनमा बढी गहिरिएर बसे तिनैलाई मात्र यहाँ लिपिबद्ध गर्ने प्रयास मैले गरेकी हुँ ।
(राष्ट्रकविकी छोरी कान्ति न्यौपानेको यो लेख ‘कविवर माधव घिमिरे अभिनन्दन–ग्रन्थ’ बाट साभार गरिएको हो ।)