• २०८१ फागुन १ बिहीबार

कविताको रङ्ग मञ्चमा

डा. गोबिन्द रावत

डा. गोबिन्द रावत

विषय प्रवेश : 
मनोरञ्जनको पहिलो माध्यमका रूपमा स्थापित नाटकको इतिहास पल्टाउँदैजाँदा अभिनयको थालनी आदिवासी युगमा सिकार गर्न जाँदा आफूले मार्नअघि जनावरले गरेको हाउभाउ देखाएर अरूलाई बुझाउनेर मनोरञ्जन गर्ने परम्परासम्म पुग्न सकिन्छ । तर नाटकभन्दा पनि अघि कविताको जन्म भइसकेको थियो । आमाले शिशुलाई सुताउन गुनगुनाउने लयात्मक लोरीका शब्दहरूलाई कविताको उद्गम मान्न सकिन्छ । इतिहास पल्टाएर हेर्यौं भने कविताको मुहान मानवजीवनको थालनीपछि भएको अनुमान गर्न सकिन्छ । कविता मौखिक कला हो । कविता श्रुुतिविधा पनि हो । हाम्रो परम्परागत धर्म–संस्कृति अनि रीति–रिवाज मान्ने, मनाउने प्रक्रियाहरू सबै सुन्दै, सुनाउँदै परापूर्वकालदेखि अगाडि बढ्दैआएको छ । काल विभाजनको इतिहासमा पनि पौराणिक कालमा रामायण, महाभारत महाकाव्य र अठार पुराणहरू लेखिएका छन् । धार्मिक ग्रन्थमा लेखिएका सबैमा काव्यात्मक गुण भएकोले वाचन गर्दा आनन्द आउने र सुन्दा मन प्रसन्न हुनेगर्छ । यो काव्यगुणको विशेषता पनि हो । वेद (१५००–१००० इपू), महाभारत वेद (१२००–८०० इपू), ओडिसी (८००–६७५ इपू) जस्ता विश्वप्रसिद्ध ग्रन्थहरूले श्रुतिपरम्पराबाट कालान्तरमा पुस्तकको स्वरूप पाएका थिए । महाभारतलाई विश्वकै महान् र पुरानो महाकाव्य (५१५२ वर्ष पुरानो) मानिन्छ । यस महाकाव्यको २३ देखि ४० औँ अध्यायसम्म गीतावाचन छ । श्रीकृष्णले अर्जुनलाई जीवनको उपदेयिताका बारेमा दिएको उपदेशनै महाभारतको सारांश हो । धेरै विद्वान्हरूले गीतालाई नै कविताको उद्गम स्थल मान्ने गर्छन् । रामायण र महाभारतको कथामा धेरैनै नाटकहरू बनेका छन् । अर्को शब्दमा भन्ने हो भने रामायण र महाभारतको कथा धेरैले नाटक हेरेरै बुझेको हुनुपर्छ (पछि चलचित्र र टेलिभिजनबाट पनि बुझ्नथाले) । श्रुतिपरम्पराबाट चित्रकारिता हुँदै काठ र ढुङ्गामा खोपेर त्यसवेला कृतिलाई बचाइराख्ने प्रयास गरिन्थ्यो । मिथिलाको चित्रकारितामा देखिने रामायाण र महाभारतको झलकहरू र पाटनको कृष्ण मन्दिरमा काठमा कुँदिएका कृष्णलीला अहिले पनि सुरक्षित छन् ।
धेरैले विश्वमा पहिलो कविताका रूपमा कुरुक्षेत्रमा कृष्णले अर्जुनलाई सुनाएका गीताका श्लोकहरूलाई मान्दैआएका छन् । महाभारत महाकाव्यलाई ब्रह्माण्डकै पहिलो काव्यकृतिका रूपमा चर्चा गरिन्छ । महाभारतमा पद्य शैलीमा लेखिएका कथ्य श्लोकहरूलाई धार्मिक सचेतताका लागि पनि नाट्य शैलीमा रूपान्तरण गरी समाजसमक्ष मञ्चन गराउने गरिन्थ्यो । अर्थात् काव्य प्रस्तुतिबाटै नाटक मञ्चन सुरु भएको थियो ।विश्वप्रसिद्ध नाटककार शेक्सपियरले आफ्ना नाटक कविताको मुक्त छन्द (ब्ल्याङ्क भर्स) मा लेख्नेगर्थे । अर्का विश्वप्रसिद्ध कवि टीएस इलियटले बीसौँ शताब्दीको थालनीमा काव्यनाटक (पोइटिक ड्रामा) को शुभारम्भ गरेको देखिन्छ । उनले आफ्नो ‘फेमिली रियुनियन’ कवितालाई मञ्चन गराएर दर्शकमाझ कविताको भाव पुर्याउन सफल भएका थिए । इलियटले शेक्सपियरका नाटकमा प्रयोग भएको परम्परागत मुक्त छन्द (ब्ल्याङ्क भर्स) लाई त्रासदी र गम्भीरता वयान गर्ने शैली मानेर कवितामा स्वछन्द र मनोभावहरूको आवश्यकता देखाएर कवितामा कविले पोखेका भावहरूलाई मञ्चनका माध्यमबाट दर्शकमाझ पुर्याउन कवितामा नाटकको सम्भावता खोजेर काव्यनाटकलाई एउटा साहित्यिक क्रान्तिका रूपमा अगाडि बढाएका थिए ।
कविता पढ्ने विधा हो । कवितालाई विस्तारै सुन्ने विधा बनाएर कवितामा नयाँ रस भर्ने काम गरियो । प्रारम्भमा रेडियोबाट साहित्यिक कार्यक्रममा कवितावाचनले श्रोता खोज्नथाल्यो । विस्तारै कविता सुन्ने श्रोताहरू बढ्दै जानथाले । सन् ५० को दशकमा अमेरिकाली कवि सिड कोर्माले कवितालाई जनमानससम्म पुर्याउन क्यासेट चक्कामा कविता रेकर्ड गराउनथाले । अब कविता पढ्नका लागि मात्र नभएर सुन्नका लागि पनि भयो । यसलाई उनीपछिका कविहरूले अझ परिष्कृत गर्दै दर्शकहरूको उपस्थितिमा कवितावाचन गराएर त्यसको रेकार्डलाई क्यासेट बनाएर वितरण गर्नथाले । मेरील्यान्ड कला–शिक्षालयका शिक्षक डेभिड फ्रङ्कले सन् ६० को दशकमा कवितालाई अझ मनोरञ्जनात्मक बनाउन नाटकीय हाऊभाउलाई समेटेर कविताको प्रस्तुतिलाई आकर्षक बनाए । ७० को दशकमा पुग्दा कविताले महोत्सवको स्वरूप पाउन थाल्यो । मञ्चमा उभिएर अभिनय प्रस्तुतिका माध्यमबाट कविता प्रस्तुत हुनथालेपछि जनमानसमा कवितामञ्चनप्रति रुचि बढ्दै जानथाल्यो ।

८० को दशकमा कला–विद्यालयकी शिक्षिका हेडविग गोएर्कीका कविता रेडियोबाट प्रसारण हुनथालेपछि मानिसले उनलाई चिन्नथाले । उनले आफ्नो समूह बनाएर कवितामा सङ्गीत भर्न थालिन् र कविता रेडियोबाट प्रसारण हुनथालेपछि कविताको क्यासेट बनाउन थालिन् । कविता पुस्तकका पानाहरूमा मात्र सीमित रहने वेलामा उनले कवितालाई पुस्तकको पानाबाट निकालेर शब्दमा सङ्गीत र आवाज मिसाएर काव्यका भावहरूलाई अभिनयका माध्यमबाट प्रस्तुत गरेर कविता–मञ्चन (पोइट्री परफर्मेन्स) को थालनी गरिन् । कवितामञ्चनमा कवितालाई मञ्चनको दृष्टिकोण बनाएर लेखिने गरिन्छ । कवि मञ्चमा गएर आफैँ प्रस्तोता भएर उपस्थित हुन्छन् । कवितामञ्चनको ख्याति बढ्दैगयो । दर्शक प्रत्यक्ष कवितावाचन सुन्न रुचाउन थालेपछि यसले चमेना गृह (कफी सप–क्याफे) मा स्थान पाउनथाल्यो । दर्शक कवितामञ्चन हेर्न चमेना गृह जानथाले । गोएर्कीका अनुसार कविता पुस्तकको पानामा कैद भएर बस्नुभन्दा बढीभन्दा बढी जनसमुदायसम्म पुग्नुपर्छ र यसका लागि कवितामञ्चनको आवश्यकतापर्दछ । कविले आफ्नो मनका भावहरूलाई वाणी दिएका हुन्छन् । जनसमक्ष सही तरिकाबाट पुर्याउन कवितामञ्चनले महत्त्वपूर्ण भूमिका खेल्नेगर्छ । कवितामञ्चनमा बिस्तारै कलाकारको प्रयोगले स्थान पाउनथाल्यो, जसलाई प्रस्तोता भनियो । प्रस्तोताले मञ्चन गर्ने कविताको भावसँगसँगै कविका बारेमा पनि अध्ययन गरेर कविता मञ्चनलाई अझ सार्थक बनाउनथाले । काव्यमञ्चनले ख्याति पाउन थालेपछि कविता छापिनुभन्दा मञ्चनका लागि भनेर लेख्ने एउटा जमात देखापर्यो । यसरी काव्यमञ्चनका लागि लेखिने कवितामा कवि आफैँ प्रस्तोता भएर पनि देखा पर्नथाले भने कलाकारहरूले कविताको भावलाई अभिनयका माध्यमबाट प्रस्तुत गर्नथाले । कविता–नाटकको सन्दर्भमा कवितालाई मञ्चन योग्य बनाउनेबारे पिटर अर्मेन्टीले आफ्नो लेखमा (अर्निङ् अ पाइम इन्टु अ प्ले) कवितालाई मञ्चमा उतार्नअघि कवितालाई नाटकमय बनाउनुपर्छ र चरित्रको विकास गर्दै पटकथा निर्माण गर्नुपर्छ भन्दै शाब्दिक चारित्रिक विस्तारका कुरा गरेका छन् ।

नेपालमा कविताको स्वराङ्कन
नेपालको सन्दर्भमा कविता सुन्ने, सुनाउने माहौल कविगोष्ठीमा मात्र सीमित हुनेगथ्र्यो । रेडियो नेपालबाट कहिलेकाहीँ कविकै स्वरमा कवितावाचन हुनेगथ्र्यो । पारिजात,रामेश, रायन, मञ्जुल, विमल, निनु आदिको अग्रसरतामा वि.सं. २०२४ सालमा सुरु भएको राल्फा आन्दोलनकावेला शासकका विरुद्ध लेखिएका क्रान्तिकारी कविताहरू पनि सुन्ने सुनाउने गरिन्थ्यो । भवानी घिमिरेको परिकल्पनाबाट सुरु भएको २०३६ सालको ‘सडककविता–क्रान्ति’ का बारेमा नजान्ने नेपाली विरलै होलान् ।

यसरी कविताको सुन्ने, सुनाउने परम्परामा विसं ४० को दशकमा साहित्यिक पत्रकार सङ्घले पहिलोपटक म्युजिक नेपालसँग मिलेर ‘कविताको मौसम’ शीर्षकमा चारजना कवि (अशेष मल्ल, गगन विरही, विष्णुविभु घिमिरे र दिनेश अधिकारी) का कवितालाई क्यासेटमा निकालेको थियो भने दोस्रोपटक साहित्यिक पत्रकार सङ्घको १२ औँ वार्षिकोत्सवमा २१ जना कवि (माधव घिमिरे, भूपि शेरचन, महेश प्रसाई, फणीन्द्र नेपाल, विमल निभा, यादव खरेल, हेम हमाल,शिव अधिकारी, उषा भट्टचन, कञ्चन पुडासैनी, नवराज कार्की, घनश्याम कँडेल, दीपक जोशी, राधेश्याम लेकाली, भीम खरेल, हेमन्त श्रेष्ठ, विश्वविमोहन श्रेष्ठ, नीर शाह, ज्ञान उदास, राजेश्वर कार्की, भिक्टर प्रधान) का कवितालाई क्यासेटमा निकालेको थियो । नेपाल टेलिभिजनको प्रसारण सुरूभएपछि २०४३ तिरराजेन्द्र शलभले ‘साहित्य प्रवाह’ को नामबाट साहित्यिक कार्यक्रम चलाउने गर्थे । त्यसैवेला शलभले सूर्यमाला (शर्मा) खनालको अभिनयमा पहिलोपटक मोतीराम भट्टको ‘पिकदूत’ कविता मञ्चन गराएका थिए । यही नै पहिलो कवितामञ्चनको भिडियो हुनुपर्छ । त्यसपछि २०६४ मा शलभले १० जना कविहरूका कवितालाई पाश्र्व सङ्गीतसहीत सिडीमा रेकार्ड गराएर ‘सुन्ने कविता’ निकालेका थिए । ‘सुन्ने कविता’ को प्रकाशन गरेको थियो श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले । यसरी कविताले पहिलोपटक क्यासेट र सिडीमा निस्कने मौका पाएको थियो । सधैँ कवितामा केही नौलो प्रयोग गर्दैआएका कवि शलभले कविहरूलाई आफ्नो स्टुडियो (दृश्य) मा बोलाएर कविता रेकार्ड गराएर अनि कुनै कविताको मञ्चन गराएर नेपालका टेलिभिजनहरूलाई सित्तैमा प्रसारण गर्न अनुरोध गर्दा पनि कुनै टिभीले नमानेको बताएका थिए । त्यसपछिका दिनहरूमा कवि आफैँ र साहित्यिक संस्थाहरूले कविको वाणीमा कविताको सिडीसँगै भिडियो पनि निकाल्न थाले । अहिले शलभले एपेक नेपालसँग मिलेर विभिन्न चर्चित व्यक्तिहरूको स्वरमा ‘मलाई मन परेको कविता’ युट्युबबाट प्रसारण गराउँदै आइरहेका छन् भने आफ्नै कवितालाई ‘मेरो कविता’ शीर्षकमा पाइट्री भिडियो बनाएर युट्युबमा राख्दै पनि आएका छन् । कवितालाई युट्युबमा राख्नेहरूको लामै फेहरिस्त बन्नसक्छ । अझ कोरोनाले जन्माएको भर्चुयल कार्यक्रममा कविगोष्ठीहरूले झन् बढी व्यापकता पाउँदैगएको छ भन्दा अतिशयोक्ति नहोला ।
नेपालमा कवितामञ्चन

मलाईपहिलोपटक विसं ७० को दशकमा भारत, शिलाङको एउटा विद्यालयको वार्षिक कार्यक्रममा बङ्गाली कविता ‘हराधनेर दस टी छेले’ (हराधनको दसवटा छोराहरू) कवितामञ्चनमा हेरेको सम्झना छ । नेपथ्यबाट कविता वाचन हुँदैगरेको र त्यसमा प्राथमिक तहका विद्यार्थीहरूले अभिनय गरेको सम्झना आउँछ । आज ‘हराधनेर दस टी छेले’ लाई गुगलमा हेर्न खोज्यौँ भने धेरै नै कवितामञ्चनका झलकहरू देख्न पाइन्छ । विसं२०३७ सालमा प्रयोगात्मक नाटकका प्रस्तोता भनेर सर्वनामको स्थापना भएपछि सडकनाटक सुरु गरयौं । साहित्यका विद्यार्थीहरूको बाहुल्य रहेको सर्वनामबाट हामीले २०४२ मा पहिलोपटकविष्णुविभु घिमिरेको ‘त्यो लङ्गडी केटी’ कवितालाई मञ्चन गरेको सम्झना छ । नेपालमा पहिलोपटक कवितामञ्चन भएपछि २०४५÷०४६ तिर काठमाडौँमा आरोहणले पनि कवितामञ्चन गरेको सम्झना छ । यसलाई निरन्तरता दिँदै धरानमा अनाम नाट्य समूह र अन्य नाट्य समूहले कवितामञ्चनलाई निरन्तरता दिँदैगएका थिए। त्यसवेला सर्वनामबाट हामीले मदन पुरस्कारबाट सशोेभित कृति र स्रष्टाको सम्मानमा कार्यक्रम राख्दा वा कुनै कृतिको विमोचन गर्दा कृतिका अंशबाट नाट्य प्रस्तुति गर्ने गथ्र्यौं । सर्वनामबाट कवितामञ्चन, कथामञ्चनसँगै धेरैनै कृतिहरूका अंश प्रस्तुत गरिएको सम्झना छ । यस्ता प्रस्तुतिहरू अन्य नाट्य संस्थाहरूबाट पनि भएगरिएको सुन्दैआएको छु । तर आजका कवितामञ्चनले एउटा बेग्लै उचाइ बनाइसकेका छन् । विभिन्न समयमा कवितामञ्चनले निरन्तरता पाउँदैगएको समाचार पढ्न, सुन्न पाएको थिएँ । ‘गुरुकुल’ को स्थापनापछि सुनील (पोखरेल) ले धेरै कवितालाई मञ्चमा उतारेका थिए । उनले दर्शकलाई नाटक हेर्न बाध्य बनाएर मञ्चसम्म डोर्याएका थिए । त्यसैले मञ्चमा विविधता ल्याउन कवितामञ्चनले पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यसपछिका दिनहरूमा वीरेन्द्र हमालको ‘एमआर्ट थिएटर’ र युवराज घिमिरेको ‘शिल्पी थिएटर’ आदिले कवितामञ्चनलाई निरन्तरता दिँदैगए ।
विसं २०७५ मा काठमाडौँ गएको वेला वसन्त चौधरीको सात भाषामा लेखिएको कवितासङ्ग्रह ‘वसन्त’ को विमोचन समारोहमा उपस्थिति हुने मौका पाएको थिएँ । विमोचनपछि उनका केही कविताहरूको काव्यमञ्चन भएको थियो । धेरै अन्तरालपछि कवितामञ्चन हेर्न पाएकोमा गर्भित भएको पनि थिएँ । चौधरीका विभिन्न भाषामा अनूदित कवितलाई त्यही भाषामा कवितामञ्चन भएको थियो । वीरेन्द्र हमालले कवितानाटकलाई नेपालमा मात्रसीमित नराखेर बाङ्लादेशमा भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि धनबहादुर राईको कवितालाई मञ्चन गरेका थिए । उनले राजेन्द्र शलभको सक्रियतामा सांस्कृतिक संस्थान, ‘एमआर्ट थिएटर’ र ‘श्रीलूनकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिर’ को संयुक्त आयोजनामा वि.सं. २०७५ देखि नाचघरबाट हरेक महिनाको १५ गते ‘काव्याङ्कुर’ अन्र्तगत कवितामञ्चन हुँदैआएका थिए ।
मेरो नाटकको अनुभवमा हामीले ‘क्राई अफ एसिया’, ‘सिग्स्थ रिभर’, ‘द विग विन्ड’, ‘मेट्रोपोलिटन’ जस्ता बहुभाषी नाटकमा सात–आठ देशबाट आएका कलाकारले आ–आफ्नो देशका भाषामा संवाद बोलेर विभिन्न देशमा नाटक प्रदर्शन गर्दा कलाकारको शारीरिक भावभाव (बडी ल्याङ्वेज) बाट दर्शकले सजिलै बुझ्ने गरेको र वाहवाही पाएको देखेका छौँ । कवितामञ्चनबाट पनि हामी नेपालबाहिरका दर्शकमाझ नेपाली साहित्यलाई प्रस्तुत गर्न सक्छौँ ।
एउटा कविको अभिव्यक्ति हो कविता । त्यही अभिव्यक्तिलाई मञ्चन गर्दा एकभन्दा बढी कलाकार चाहिन्छ । कविताका पङ्क्तिपङ्क्तिले पोखेका विचार पात्र भएर मञ्चमा उभिन्छ, तबमात्र दर्शकलाई कविताको सार बुझाउन प्रस्तुति सफल बन्नसक्छ । त्यसैले कवितामञ्चन गर्नु पनि गाह्रो छ । निर्देशकले कविताको भावलाई बुझ्न सक्नुपर्छ । प्रस्तुतिले दर्शकलाई बाँधेर राख्न सक्नुपर्छ । कविको विचारलाई बझ्न सक्नुपर्छ । अनिमात्र जन्मिन्छ एउटा सार्थक प्रस्तुति । आजको मितिमा सामाजिक सञ्जालका भित्ताहरू नित नयाँ कविताले रङ्गिएका हुन्छन् । नेपाली कवितामञ्चका लागि भनेर लेखिएका हुँदैनन् । कविता लेखिएपछि मञ्च खोज्ने गरिन्छ । कवितामञ्चनले कविताको भावसँगै कविको विचारलाई पनि वाणी दिने गरेको आभास हुन्छ । भारतको सङ्गीत–नाटक अकाडेमीले प्रत्येक वर्ष भारतका विभिन्न राज्यमा रहेका नाट्य संस्थाहरूलाई कवितानाटकको मञ्चन तथा कार्यशाला–गोष्ठीका लागि अनुदान प्रदान गर्दैआएको छ । हामीले पनि कवितामञ्चन प्रक्रियालाई अगाडि बढाउन नाट्य समूहलाई सहयोग गरेर कवितामञ्चन महोत्सवको आयोजना गर्नेतिर सोच्नुपर्ने वेला आएको । कवितामञ्चन प्रस्तुतिलाई व्यापकता दिँदैजाने वेला आएको छ । त्यसैले कविताले जस्तै कवितामञ्चनको प्रस्तुतिले पनि सामाजिक सञ्जालको भित्तामा ठाउँ पाउनुपर्छ । देश–विदेशका साहित्यिक संस्थाहरूले पनि आफ्ना कार्यक्रमहरूमा कवितामञ्चनलाई प्राथमिकता दिँदैजाने हो भने यसबाट कवि र कलाकारसँगै कविताले पनि चिरकालसम्म प्रतिष्ठा पाउनसक्ने विश्वास लिन सकिन्छ ।
………………………………………………………………
(हाल टोरन्टो, क्यानडा निवासी रावत साहित्य–रङ्गमञ्च विधामा कलम चलाउने स्थापित स्रष्टा हुन्)

[email protected]