• २०८१ बैशाख २६ बुधबार

भानु अर्थात् भवानी

 रमण घिमिरे

रमण घिमिरे

उनी यस्तै १३–१४ वर्षका थिए होलान् । उनको किशोरवयको आरम्भमै एउटा घटना घट्यो । जसले उनको जीवनलाई पूरै परिवर्तित गरिदियो । यो विराटनगरको कुरा हो, जहाँँ उनको जन्म भएको थियो । त्यसताका त्यहाँका बडाहाकिम थिए– सोम शमशेर । उनका काका गोपाल उपाध्याय थिए– त्यहाँका प्रहरी निरीक्षक । गोपाल प्रहरीका हाकिम भएकाले काकाको बडो प्रभाव र फूर्तिफार्ती थियो । फूर्तिफार्ती त झन् उनका पिताजी हिरण्यनाथ उपाध्यायको त्योभन्दा दोब्बर–तेब्बर थियो । उनी त्यस वेला कहलिएका जमिन्दारी थिए । मोरङदेखि झापासम्मको मौजामा पिताजीको जमिन्दारी फैलिएको थियो । उनी हात्ती पाल्थे । समग्रमा यो एउटा सम्पन्न र बुर्जुवा परिवार थियो ।
यो प्रसङ्ग कवि एवम् साहित्यिक अभियन्ता, पत्रकार भवानी घिमिरेको हो । उनको बाल्यकाल सारै सुख र वैभवमा हुक्र्योे । ‘त्यसपछिको सारा जीवन कष्टसाध्य हुनेरहेछ, त्यसैले मेरो बाल्यकाल अत्यन्त पुलपुलिएर बित्यो,’ मसँगको अन्तरवार्तामा उनले भनेका थिए– ‘हामी भात होइन, दिनहुँ खिर खान्थ्यौँ । यस्तो सान थियो । त्यो सम्झिँदा पनि आज मलाई रमाइलै लाग्छ ।’
उनी एकैछिन स्मृति–आनन्दमा अभिभूत भएर डुबे । अनि फेरि वर्तमानमा फर्केर धेरै बेर सुस्केरा हालेर निःशब्द भए । मलाई उनको त्यस घटित घटनामा प्रवाहित हुन मन लाग्यो । आखिर के त्यस्तो घटना थियो, जुन घटनाले उनको जीवनलाई आमूल परिवर्तित गरिदियो ?
भवानीले सुरुमै यसको सोझो उत्तर दिएनन् । आफ्नो स्वभावअनुसार भूमिका बाँध्न थाले । सानोमा उनी अलि बढी नै उद्दण्ड थिए रे । उनी सारै अटेरी हुँदा कहिलेकाहीँ आमाले उनलाई थर्काउन देवर प्रहरी निरीक्षक पनि बोलाउँथिन् । तर प्रहरीको हाकिम नै भए पनि काकाले भतिजोलाई के कार्बाही गर्थे र ? उनी उल्टै प्रहरीजवानहरूलाई झटारो हानेर भगाइदिन्थे । ‘अरूका सन्तान भएका भए ठिँगुरा हाल्थे तर म त काकाको प्यारो भतिज । मलाई कसले छुने !’ यसो भनिरहँदा उनको वाणीमा किञ्चित गर्वोक्ति प्रकट भएको आभास हुन्थ्यो ।


भर्खरै पिताजीले टिनको छानो भएको एउटा पक्की घर बनाएका थिए । उनीहरूले त्यस वर्षको दसैँ त्यही घरमा मनाए । पहिलो घटना त्यही घरमा टीकाको दिन घटित भयो । उनीभन्दा केही जेठी दिदी थिइन् रोगी र कमजोर शरीरकी । टीका लगाएर दिदीलाई सबैले दक्षिणा दिए । भवानीले पनि दक्षिणाको माग गरे– तिनै दिदीसँग । दिदीले उनलाई सम्झाइन्– केटामान्छेले कहाँ दक्षिणा पाउँछन् ? बरू दिनुपर्छ । तर भवानीले त्यो सानो उमेरैमै पनि यसको प्रतिपाद गरे– छोरा–छोरी बराबर हुन् । उनलाई पनि दक्षिणा चाहिन्छ । उनको बाबुआमाको खल्तीमा होइन, दिदीले पाएको दक्षिणामा आँखा गढेका थिए । दिदीले दिन्न भनिन् र आमाले पनि हप्काइन् । तर भवानीले आफ्नो जिद्धी छाडेनन् । पैसा खोस्न दिदीलाई लखेट्न थाले । कमजोर शारीरिक अवस्थाका कारण दिदीलाई धेरै दौडिन गाह्रो भयो र भवानीलाई धकेलिदिइन् । भवानी तीन बल्ड्याङ खाएर ढले । उनको दाहिने हात भाँचियो । विराटनगरदेखि भारतको पटनासम्म लगेर उपचार गरियो तर त्यो दाहिने हात सदाका लागि बेकम्मा भयो ।
यसरी ख्यालख्यालमा घटेको घटनाले भवानी घिमिरे जीवनभरि शारीरिकरूपमा पीडित भए । तर अर्को घटनाले उनको सम्पूर्ण जीवनलाई पीडित बनायो ।
पिताजीको जमिन्दारी उठाउने एकजना देवानजी थिए । एकपटक रमिता हेर्न भवानी पनि देवानजीसँगै जमिन्दारी उठाउने ठाउँमा गएका थिए । त्यहाँ एक गरिब महिला धरधरी रुँदै आइन् । भवानीले देवानजीलाई सोधे– ‘यिनी किन रोएकी ?’ देवानजीले उनलाई ‘तपाई यो सरकारी कुरा बुझ्नु हुन्न’ भनेर अलमल्याउन खोजे । तर भवानीले करकर गरिरहे । अनि देवानजीले भने– ‘यिनको धेरै ऋण छ, तिर्न नसकेर रोएकी ।’ भवानी पढ्न–लेख्न जान्ने भइसकेका थिए । उनले ती महिलाको तमसुक हेर्छु भने । भवानी जमिन्दारका छोरा भएकाले देवानजी उनलाई हप्काउने हिम्मत पनि गर्न सक्तैनथे । अनि आजित भएर ती महिलाको तमसुक भवानीलाई पढ्न थिए । ‘मैले त्यो तमसुक लिएर धरधरी च्यातिदिएँ’ उनले भनेका थिए– ‘मलाई त सामान्य लागेको थियो तर मेरो जीवनमै त्यो एउटा ठूलो काण्ड हुनपुग्यो, पिताजीले लोहोरो टाउकोमा हिर्काउनु भयो ।’ उनले पाँच–छ दशकअघिको त्यो खत देखाउँदै भने– ‘मेरो टाउकोबाट भलभली रगत बग्न थाल्यो । म सिधै सोम शमशेरकहाँ फिराद गर्न गएँ र भनेँ– ‘सरकार ! ममाथि अन्याय भयो, निसाफ पाऊँ !’ यसरी उनले ठाडै आफ्नै पिताजीको विरुद्धमा उजुर गरे । बडाहाकिमले उनका काका गोपाल उपाध्यायलाई ‘के भएको हो बुझेर मलाई जाहेर गर’ भन्ने आदेश दिए । पछि काकाले बाबुको विरुद्धमा उजुरी गर्ने भने हकार्दै एउटा प्रहरी साथ लगाएर मल्हमपट्टी गराउन अस्पताल पठाइदिए ।
अब उनलाई घर जानु खतरा थियो । त्यसैले उनी अस्पतालको झ्यालबाट हामफालेर एकजना चिनजानकी दिदीकहाँ गएर हप्ता दिनजति बसे र उनीमार्फत् आमालाई बोलाउन खबर पठाए । आमाले आएर उनलाई घर फर्काउन धेरै सम्झाइन् । उनी घर त गए तर फेरि नफर्किने गरी । रात बाक्लिएपछि पिताजीले सुइँको नपाउने गरी आमाले उनलाई पछाडिको ढोकाबाट घर भित्र पसाइन् । र, ‘नजा बाबु ! तँ सानै छस् । यो उमेर कहाकहाँँ भौतारिन्छस् ? पिताजीको रिस शान्त भइहाल्छ । तँ यो घर नछोड बाबु !’ भनेर धेरै सम्झाइन् तर उनले सुनेको नसुन्यै गर्दै आफ्ना किताब–कपी, लुगाफाटो र जम्मा पारेको १०–१२ आना पैसा बोकेर रातको दुई बजे निष्पट्ट अन्धाकरमा बाटो पहिल्याउँदै उनी घरबाट लुसुक्क निस्केर जोगमनी रेल–वे स्टेसनमा पुगे । एउटा रेलगाडी छुकछुक गर्दै गुड्न तयार थियो, उनी त्यसैमा चढे । जानु कहाँ थियो, उनलाई थाहा थिएन । रेलगाडी धेरै पर पुगेपछि उनले बल्ल थाहा पाए, त्यो बनासर जाँदै रहेछ ।
बनासरको नाम सुनेपछि उनी केही आश्वस्त भए किनभने ती दिदीको पनि बनारसमै बिहा भएको थियो । भिनाजु पुरेत्याइँ गर्थे भन्ने सुनेका थिए । भिनाजुसँग उनको विराटनगरमै एकपटक भेटघाट पनि भएको थियो । कसोकसो खोज्दै जाँदा बनासरमा तिनै भिनाजुसँग उनको भेट भयो । भिनाजुले उनको सम्पूर्ण रामकहानी सुनेपश्चात खानदानी राणाकी एक विधवाकहाँ पु-याए । भिनाजु त्यहाँ जजमानी गर्दारहेछन् । भिनाजुले उनलाई ती विधवालाई ‘यसरी स्वस्ति गर्नु !’ भनेर सिकाए । उनले त्यसरी नै स्वस्ति गरे । तिनी दयालु ठहरिइन् । भवानीले घरको तल्लोतलाको छिँडीमा वाससँगै गाँस पनि पाउने भए । अनि उनी त्यहीँ वरिपरिका केटाहरूलाई चार–चार आनामा ट्युसन पढाउन थाले । हरेक बिहान–बेलुका खाना थाप्न थाल बोकेर माथिल्लो तलामै जानुपथ्र्यो । यसले उनको अहंलाई अलिकति कोतरिदियो । अनि ट्युसनबाट आम्दानी हुनथालेपछि उनले आफैँ पकाएर खान्छु भने । सस्तो जमाना थियो । कोइलाले बल्ने चुल्हो किने र त्यसैमा पकाएर खान थाले । त्यस वेला चना असाध्य सस्तो थियो । सख्खर टोक्तै भिजाएको चना र गहुँ खाएर ठूलो लोटाको एक लोटा पानी घटघटी पिएर पनि कति छाक त टारे । अनि गुरुधर पाठशालामा भर्ना भए ।
‘त्यहाँ मलाई मानिसले सजिलोबाट होइन, अप्ठ्यारोबाट अघि बढ्नुपर्ने रहेछ भन्ने पाठ सिकायो,’ उनले भनेका थिए– ‘सुविधाभोगी भएर होइन, समस्यालाई चिर्दै अगाडि बढ्नु नै सङ्घर्ष रहेछ र सङ्घर्षपछिको प्राप्ति अन्त्यन्त सुखदायी हुँदोरहेछ भन्ने मैले ज्ञान पाएँ ।’ धनी बाबुका छोरा । उनी हात्ती चढ्दै खालि सुखभोग, मस्ती, आनन्दमै रमाउँदै हुर्केका थिए । तर बनारस आएपछि उनले सङ्घर्षको फल कति स्वादिष्ट हुँदोरहेछ भन्ने अनुभव प्राप्त गरे ।
बिस्तारै ट्युसन पढ्नेहरूको भीड लाग्न थाल्यो । आवश्यकताभन्दा बढी कमाइ हुनथाल्यो । गुरुधर पाठशालामा एकजना सत्यनारायण नामका शिक्षक थिए– गान्धीवादी । उनको प्रभाव भवानीमा पर्न थाल्यो । सत्यनारयणको स्नेह र मायाले उनलाई प्रोत्साहन दियो । ‘तिमी राम्रो मानिस हुन्छौ, मिहिनत गर !’ उनले भवानीलाई प्रोत्साहित गरिरहे । तिनै शिक्षकको प्रेरणाले उनी उत्कृष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्नथाले । हिन्दीमा कथा लेखे– ‘दो मित्र’ र प्रतियोगितामा भाग लिएर प्रथम भए । यसबाट उनलाई त्यस पाठशालामा ठूलो सम्मान प्राप्त भयो । ‘मेरो अर्को प्रेरणा, त्यही पाठशालामा विश्वेश्वरप्रसाद कोइरालाले पनि अध्ययन गर्नुभएको थियो’ उनले भनेका थिए– ‘बढो विख्यात थियो गुरुधर पाठशाला ।’
कथा प्रतियोगितामा प्रथम भएपछि उनले हिन्दी भाषालाई अझ परिष्कार बनाउँदै गए । अलि माथिल्लो कक्षामा चढ्दै गएपछि उनलाई कविताको पनि चस्का लाग्नथाल्यो । अनि उनी कहाँ र कहिले कविगोष्टी हुँदैछ ? ठूल्ठूला कविहरू कुन गोष्ठीमा आएका छन् ? खोज्दै त्यहाँ जान थाले । नागार्जुन, सुमित्रा नन्दन पन्त, महादेवी वर्मा, निराला, राहुल सांकृत्यायन कहाँ भेटिन्छन्, त्यहाँ खोजीखोजी जानथाले ।
यीमध्ये राहुलबाट उनी अलि बढी नै प्रभावित भए । पिताजीसँगै विद्रोह गरेर हिँडेका उनी अलिअलि विद्राही त पहिल्यै छँदैथिए, राहुलका कृतिहरू पढ्न थालेपछि उनी स्वाट्टै वामपन्थी रुझानमा गए । ‘आजकल’ पत्रिकामा कुन नेताले कहिले, कहाँ भाषणा गर्दैछन् भन्ने सूचना प्रकाशित हुन्थ्यो । त्यो पढेर बनासरमा बाहिरबाट आउने ठूल्ठूला नेताको आमसभामा भाषण सुन्न जान थाले । यसरी स्थापित नेता, लेखक, कविहरूलाई सुन्दै उनका राजनीति र साहित्यतिर सँगसँगै दुई हाँगा फिँजिए । साहित्यको चस्का त पहिल्यै थियो, अब उनलाई राजनीतिको चस्काले पनि चिमोट्नथाल्यो । विसंं २००६ सालदेखि त त्यस वेलाको प्रख्यात पत्रिका ‘उदय’ मा उनको रचना छापिनथाल्यो । तर उनको पहिलो स्कुलिङ् ‘युगवाणी’ बाट भयो । त्यही पत्रिकामा काम गर्दा उनको कृष्णप्रसाद भट्टराईसँग त भेट भएकै थियो, पछि उनले महाकवि देवकोटासँग पनि त्यही पत्रिकाको माध्यमले सङ्गत गर्ने अवसर पाए । बिहानको ट्युसन छँदैथियो, महाकविको सहायक भएर युगवाणीमा काम गर्न थालेपछि त्यहाँबाट पनि थोरबहुत आम्दानी हुनथाल्यो । ‘एउटा वैभवशाली जीवनबाट सङ्घर्षशीलता र वैचारिकताको जुन साँचोमा मेरो जीवन ढालियो, त्यो सम्पूर्णरूपमा बनासरको देन हो’ उनले भनेका थिए– ‘म २००७ सालतिर पुष्पलाल श्रेष्ठद्वारा सञ्चालित नेपाल कम्युनिस्ट पार्टीमा समेत आवद्ध हुनपुगेँ ।’ उनले पछि त्यहीँबाट ‘जनयुग’ पत्रिकाको सम्पादन पनि गर्नथाले । यसै क्रममा विभिन्न कम्युनिस्ट विचारधाराका व्यक्तिहरूसँग उनको सम्पर्क र सम्बन्ध विकसित हुँदैगयो । त्यही रन्कोमा पछि पिताजीले बोलाएर ‘अंश दिन्छु यही बस’ भन्दा ‘तपाईंको अंश मलाई चाहिँदैन, प्रसादको रूपमा आशीर्वाद दिनूस्’ भनेर हातैमा आएको त्यो वैभवलाई फेरि एकपल्ट अस्वीकार गरेर आत्मनिर्भर भएर बाँच्ने अभीष्टका साथ आफ्नै प्यारो बनासर फर्के ।
यो २०११ सालपछिको कुरा हो । उनको कस्तुरासँग बिहे भइसकेको थियो र बनारसमै बीए पढ्दैथिए । त्यही वेला उनलाई क्षयरोग लाग्यो । त्यस समयमा आजजस्तो क्षयरोगको उपचार सहज थिएन । उपचार असहज भएकैले क्षयरोग नामकरण हुनपुगेको हो । क्षयरोगीलाई पहाडको हावापानीमा राख्दा तै बिसेक हुन्छ भन्ने मान्यता थियो । यही मान्यतालाई पछ्याउँदै उनी दार्जिलिङको खरसाङ आए । त्यस बखत इलामका तारानाथ शर्मा र पासाङ गोपर्मा दार्जिलिङमा पढ्थे । त्यहीँ भवानी र उनीहरूबीच साहित्यिक दौत्य सम्बन्ध स्थापित भयो । शर्मा र गोपर्माले उनलाई इलामको फिक्कल लिएर आए । उनीहरूले भवानीेलाई डेढ महिनाजति पाले र अलि तङ्ग्रिएपछि विराटनगर पठाइदिए ।
विराटनगर आएपछि उनले आमालाई छाड्न सकेनन् र स्थानीय जनता हाइस्कुलमा प्रधानाध्यापक भएर काम
गर्नथाले । स्वाभाविक थियो सिमानाको स्कुल भएकाले त्यहाँ पढाउने शिक्षकहरूमा भारतीयहरू पनि थिए । तर उनीहरू नेपालको शिक्षक भएर पनि देशको सार्वभौमिकताको चेत नभएजस्तो नेपालको साटो ‘हाम्रो प्रधानमन्त्री’ भनेर भारतीय प्रधानमन्त्रीको नाम विद्यार्थीलाई घोकाउँथे । उसै भवानी विद्रोही स्वभावका त्यसमाथि कम्युनिस्ट पार्टीमा लागिसकेकाले राष्ट्रियताप्रति उनी कुनै सम्झौता गर्न तयार थिएनन् । यस विषयमा ठूलै विवाद उत्पन्न भयो र उनी प्रधानाध्यापकबाट राजीनाम दिएर त्यस स्कुलबाट बिदा भए । भातीतय शिक्षकले जस्तो जवाहर लाल नेहरुलाई आफ्नो प्रधानमन्त्री स्वीकार्न उनको अस्मिताले दिएन र छँदाखाँदाको राम्रो जागिर छोडेर महानन्द सापकोटाका पछि लागे ।
महानन्द प्रखर भाषाविद् थिए । त्यस दिन मसँग भवानी घिमिरेले महानन्द सापकोटाले उनलाई भनेका शब्दहरू स्मरण गराए । सापकोटाले भवानीलाई भनेका रहेछन्– ‘तिमीले एक–डेढ सय विद्यार्थीलाई पढाएर अलमलिने होइन, नेपाली भाषाको व्यापक प्रचार गर्नुपर्छ ।’ अनि उनलाई सापकोटाले झापा लिएर आए । त्यसपछि उनी स्थायी थातथलो झापालाई बनाएर बसे ।
भवानी घिमिरे जति सशक्त कवि थिए, त्यति नै प्रसिद्ध साहित्यिक अभियन्ता र पत्रकार पनि थिए । उनले २०२० मा आदिकवि भानुभक्त आचार्यप्रति समर्पित भई ‘भानु’ साहित्यक पत्रिकाको सम्पादन–प्रकाशन थाले । ‘मैले मोतीराम भट्टलाई स्मरण गरेर नेपाली साहित्यलाई प्रवासको कुनाकुनासम्म पु¥याउने ध्येयले ‘भानु’ को प्रकाशन आरम्भ गरेको थिएँ ।’ उनका भनाइमा तर त्यो साहित्यिक पत्रिका निकाल्ने उपयुक्त समय थिएन । मोतीराम स्वयम्को सम्पादनमा प्रकाशति ‘सुधा–सागर’ निरन्तर हुननसकेको इतिहास त छँदैथियो । भानु आरम्भ भएको आसपासमा दार्जिलिङका पारसमणि प्रधानको ‘भारती’, बनारसका काशीबहादुर श्रेष्ठको ‘उदय’, सिक्क्मिका काशीराज प्रधानको ‘कञ्चनजङ्घा’, भवानी भिक्षुको ‘धर्ती’, नारायणप्रसाद बाँस्कोटाको ‘प्रगति’, गोविन्दप्रसाद लोहनीको ‘बगैँचा’ जस्ता नामी पत्रिकाहरू आर्थिक अभावले बन्द हुनपुगेका थिए । त्यसैले नेपालको राजनीति र साहित्यिक पत्रकारिताको मन्दीका कारण यो एउटा शून्य समय थियो । ०१७ सालको काण्डपछि मूलधारको राजनीति विचलन हुनपुगेका थियो । साहित्यिक पत्रपत्रिकाहरूले पनि विश्राम लिएको त्यो एउटा शून्य समय थियो । त्यही शून्य समयमा उनले भानु सुरु गरेर नेपाली साहित्यको घडीमा समयका अनगिन्ती अङ्क थप्तै आए । यही ख्यातिले ‘भानु’ भवानी घिमिरेको पर्यायवाची नाम हुनपुग्यो । मसँग भेट्दा उनले भानुका एक सय नौ अङ्क प्रकाशित गरेको बताउँथे । प्रायः हरेक अङ्क विशेषाङ्कको रूपमा प्रकाशित हुने भानुले नेपालमा मात्र होइन, भारतका आसाम, दार्जिलिङ, सिक्किम, भुटान, देहरादुनलगायत नेपालीहरू बसोवास गर्ने प्रवासका हरेक सहर र गाउँबस्तीका कुनाकाप्चासम्म पुगेर नेपाली भाषासाहित्यलाई जोड्ने पुलको काम ग-यो । यो भवानी घिमिरेले नेपाली साहित्यलाई भानु पत्रिकामार्फत् लगाएको तिरी नसक्नुको गुण हो । यद्यपि उनले २०४६ सालपछिको बहुदलीय कालखण्डमा राजनीति पत्रकारिता पनि गरे तर उनको छवी आज पनि भानु पत्रिका हो भन्दा अतिशयोक्ति हुँदैन ।
कर्मले पत्रकार भइसके पनि उनको स्वभावमा राजनीतिको रन्को अद्यापि बाँकी नै थियो । २०३६ सालमा जब जनमत–सङ्ग्रहको घोषणा भयो अनि त्यो राजनीतिक स्वभाव साहित्यिक आन्दोलनमा गएर मुखरित भयो । भवानी घिमिरेले २०३६ सालमा साहित्यसँग मिसिएर राजनीतिको यो चाल साह्रै कलात्मकरूपमा चाले, जुन आजसम्म प्रसिद्ध छ । त्यो थियो– ‘सडककविता–क्रान्ति’ । उनको अगुवाइमा बहुदलीय व्यवस्थाको समर्थनमा भएको सडककविता–क्रान्तिमा त्यस वेलाका स्थापित र युवा जमातका कविहरू एक ढिक्का भएर कविता वाचन गर्न सडकमा ओर्लिए । जुन सडककविता–क्रान्ति आज एउटा महत्वपूर्ण साहित्यिक आन्दोलनका रूपमा इतिहासमा अभिलेखवद्ध हुनपुगेको छ ।
उनीसँग साहित्यिक संस्था सञ्चालनको पनि गहिरो अनुभव थियो । त्यसैले २०५१ सालमा स्थापित श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरका संस्थापक सदस्य भएर आजीवन सेवा गरे । यसअघि २०३९ सालतिर साहित्यिक पत्रकार सङ्घको स्थापनामा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
मैले उनीसँग उनकै निवास गौरीघाटमा भेट्दा उनी ७८ वर्षको भएँ भन्थे । दमरोगले पीडित उनले त्यस दिन मसँग आफ्नो मृत्यको भविष्यवाणी पनि गरेका थिए । भनेका थिए– ‘म अहिले ७८ वर्षको भएँ, ८१ वर्षमा मेरो निधन हुनेछ ।’ तर उनले एक वर्ष हामीलाई झुक्याए– उनी ८० वर्षमै गए ।
त्यस भेटमा भवानी घिमिरे यो पनि भनेका थिए– ‘मेरा जीवनमा हितैषी मित्रहरू १५ जनाभन्दा बढी भएनन्, तीमध्येको एक थियो वासु शशी । तिनीहरूमध्ये धेरै बितिसके तर जब वासु शशी पनि बित्यो त्यसपछि म आज नितान्त एक्लो भएको छु ।’
यो भनेको दुईपछि उनी पनि बिते र आज नेपाली साहित्यिक पत्रिका एक्लोजस्तो हुनपुगेको छ ।
तस्बिरहरू : रमण घिमिरे