असोज मध्य–मध्यको समय । दसैँको फूलपाती आउन आठ दिन मात्रै बाँकी छ । साइबेरियन चराजस्तै, रेल–वे प्लेटफर्ममा परदेशीहरूको भीड देखिन्छ । जति दुःखी छन् परदेशी आफन्तबाट टाढिएकोमा, त्यति नै खुसी पनि छन् सायद दसैँ नजिकिएकोमा ।
२७ सेप्टेम्बर २०१९ बेलुकाको नौ बजेको थियो । म आफ्नो हातेफोनमा ‘ह्वेर इज माई ट्रेन ?’ हेर्दैथिएँ । त्यही बेला फोन आयो ।
‘दीपक सर, कहाँ हुनुहुन्छ ?’
‘प्लेटफर्म नम्बर एकमा छौँ ।’ मैले भनेँ ।
‘ए, सर, तपाईंहरूको ट्रेन प्लेटफर्मभित्र पस्यो है !’
‘हामी पनि हेर्दैछौँ सर ’’
‘सर, दुई मिनेटको मात्र ट्रेनको वेटिङ् छ । तपाईंहरूको बोगी इन्जिनको ठ्याक्कै पछाडि पर्छ है ।’ तेजपुरबाट मदन थापाले भन्नुभयो ।
कृष्ण अविरल र म एनजीपी प्लेटफर्ममा गुवाहाटी एक्सप्रेस (ट्रेन नम्बर १२५०९) को प्रतीक्षामा थियौँ । ‘एस–वान’ को ३४ र ३५ नम्बरका हाम्रा स्लिपर रङ्गियासम्मका लागि रिजर्भ थिए ।
२९ सेप्टेम्बर आइतबारका दिन असममा अनुपम चिन्तनमञ्चले पहिलो वार्षिक सभा, पुस्तक विमोचन, अभिनन्दन र काव्यानुष्ठान सम्पन्न गर्दैथियो । कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गर्न हामी जाँदैथियौँ ।
हामी प्रतीक्षारत प्लेटफर्म नम्बर एकमा ट्रेन देखियो । यात्रुहरू आ–आफ्ना सामान बोकेर तम्तयार हुनथाले । हामी पनि मदन सरले भनेअनुसार ट्रेनको अगाडिको भाग पर्नेतिर तयारी भयौँ । ट्रेन थाक्दै हामी नजिक आइरहेको थियो ।
हामी एकाएक गल्यौँ । कारण मदन सरले भन्नुभएजस्तो इन्जिनको पछि हाम्रो एस वान बोगी थिएन । ट्रेनबाट निस्कने र पस्नेको घुइँचो । हतारमा झन् हामी हतारियौँ । खोलामा एक्कासि बाढी आएजस्तै मानिसको वहाव ।
‘ला ! बरबाद भो । अब के गर्ने दीपकजी ?’ कृष्णजीले भन्नुभयो । ‘ट्रेनको पछि हेर्दैहेर्दै जाऊँ । ट्रेन हिँडिहाल्यो भने कुनै एउटा बोगीमा चढौँला । भित्र पसेपछि त केही न केही भइहाल्छ ।’ मैले आश्वस्त बनाएँ ।
हेर्दाहेर्दै दौडादौड, ठेलमठेल सुरु भयो । अब हामी पनि दौडन थाल्यौँ । मेरो हातेफोन बजिरहेको थियो । कृष्णजी सानो मान्छे त्यो भीडमा बतासिनु भयो । म पनि दौडिँदै, हेर्दैछु । कृष्णजी त हेर्दाहेर्दै निक्कै अघि पुगिसक्नु भएछ ।
म आफ्नै सुरमा थिएँ भीडमा । ट्रेनले हिँड्ने सङ्केत गर्यो । म एक्कासि झसङ्ग भएँ । मेरो पिठ्युँमा भएको झोला कसैले तान्यो । पछाडि फर्केर हेरेँ ।
‘दीपकजी, दीपकजी, यता–यता । हाम्रो एस वान यही होइन ?’ झोला तान्दै कृष्णजी पो भन्दै हुनुहुँदोरहेछ । हतारमा कति दौडिएछ कति ! मैले आनन्दको सास फेरेँ ।
हामी ट्रेनमा चढ्यौँ । हातेफोन अझै बजिरहेको थियो । हेरेँ मदन सरले गर्नुभएको रहेछ ।
‘सर, चढ्नु भयो ?’
‘चढ्यौँ सर ।’
‘ल सर, बिहान ढिलोमा सात बजेसम्ममा रङ्गिया ल्याउँछ । त्यहाँबाट आठ बजेको ट्रेन छ ।’
‘हुन्छ सर । हामी सम्पर्कमै रहन्छौँ ।’
यसपछि तेजपुरबाट अर्जुन निरौला र कृष्णनील कार्कीले पनि फोन गर्नुभयो ।
ट्रेनभित्र पानी, चना, पानीपुरी, चटपटे, कपडा, चर्जर…..व्यापार गर्ने बच्चादेखि वृद्ध उमेरसम्मका व्यापारीको लर्को लागिरहेको थियो ।
कृष्णजीले मञ्जरी पब्लिकेसनबाट भर्खरै प्रकाशित राहुल साङ्कृत्यायनको बहुचर्चित उपन्यास ‘वोल्गा से गङ्गा’ को नेपाली संस्करणको बुस्ट गराउनुभएको रहेछ । स्लिपरमा बसेपछि फेसबुकमार्फत् उहाँ जिज्ञासुहरूलाई जवाफ दिन ब्यस्त हुनुभयो ।
मैले झ्यालबाट बाहिर हेरेँ । जूनसँग पोखिएका शीतका थोपाहरूले धर्तीका पीडावेदना र दुःखका आँसुका थोपाहरूसँग साइनो गाँसिरहेका थिए । रातको मौनतामा सिठी मार्दै ट्रेन दौडिरह्यो, रातभरि नै ।
हातेफोनले बेलाबेलै मलाई ब्यूँझाइरह्यो । निद्राको सुरमा धेरैचोटि उठाइनँ । अति नै बजेपछि अल्छी मान्दै निकालेर हेरेँ । बिहानको चार बजेछ । मदन सरले फोन गर्नुभएको रहेछ ।
‘मदन सर मर्निङ् ।’ मैले भनेँ ।
‘मर्निङ सर, अघि गरेको थिएँ । निदाउनु भएको रहेछ । अब सायद तीन स्टेसनपछि रङ्गिया आउँछ है ।’
कृष्णजीलाई हेरेँ, मस्त निदाइरहनुभएको थियो । स्लिपमा ओछ्याएको लुगा मिलाउँदै उहाँलाई उठाएँ ।
‘कोक्रोमा जस्तो हल्लाउने रैछ । मजाले निदाइएछ ।’ कृष्णजीले बिर्के टोपी लगाउँदै भन्नुभयो । ट्रेनको गति कम हुँदैगयो ।
हामी रङ्गियामा उत्रँदा बिहानको छ बजेको थियो । हामीसँग लगभग दुई घन्टा समय थियो । दिसाले असाध्यै च्यापेकाले हामी प्लेटफर्म बाहिर निस्क्यौँ । होटलमा गयौँ र फ्रेस भयौँ । सुख्खा रोटी र तड्का बनाउन लगायौँ । चिया पियौँ । केही समय रङ्गियालाई नियाल्यौँ । सात बज्यो । अब चाहिँ टिकट खुल्ने वेला भयो । लाग्यौँ टिकट घरतिर ।
‘मदन सर तेजपुरको लागि त ट्रेन छैन भन्छन् त !’ हातेफोन डायल गरेर मैले मदन सरलाई सुनाएँ ।
‘सर, आज के बार ?’
‘आइतबार ।’
‘ला, आइतबार त ट्रेन आउँदैन । कस्तो मैले पनि भुसुक्कै बिर्सेछु ।’
‘ए, हुन्छ सर । अब हामी विकल्प खोजेर तपाईंलाई सम्पर्क गर्छौं नि !’
‘हुन्छ ।’
अब हाम्रो लागि एउटै मात्र विकल्प देखापर्यो । बसको यात्रा ।
‘यहाँबाट कति टाढा पर्छ मिसन चारआली ?’ बस चढिसकेपछि कृष्णजीले चालकलाई सोध्नुभयो । उहाँको अनौठो बानी– भारत पसेदेखि हिन्दी बोल्न नपरे हुन्थ्यो भन्नेजस्तो गर्ने ।
‘दु सो किलोमिटर ।’ चालकले नेपालीमै जवाफ फर्कायो अलि अप्ठेरो लवजमा । असमिया मूलको भए पनि नेपाली बोल्न अभ्यस्त रहेछ ।
‘भनेपछि चारदेखि पाँच घन्टाभित्रमा पुग्छ ?’
‘जाम भएन भने पुगिन्छ ।’
हामी सडकछेउछाउका बस्ती र आँखाले भ्याउनेसम्मका खेतीयोग्य जमिनलाई नियाल्दै यात्रारत रह्यौँ । ती बस्तीहरूले झापाको २५ वर्षअघिको झल्को दिलाउने । विस्मृत हुन लागेका विगतको मीठो स्मृति पिलाउने ।
बाटो र जीवनका बीच घनिष्ट सम्बन्ध रहेछ । जीवनले बाटो खोज्दोरहेछ र बाटोले जीवनलाई सुन्दरताको पाटोतिर डो¥याइरहँदोरहेछ । जति हिँड्यो त्यति तन्किँदोरहेछ सायद बाटो । हाम्रो पनि तन्किँदो छ बाटो ।
फेरि पनि धानका बाला लहलहाउँदै गरेको खेत आँखाले भ्याउनेभन्दा परसम्म देखियो । त्यो देखेपछि कृष्णजीले प्वाक्कै भन्नु भयो– ‘यति धेरै अथाह जमिन हुँदाहुँदै पनि हाम्रो त्यति सानो मुलुकको जमिन किन मिच्नु परेको होला है ?’
प्रश्न गम्भीर थियो तर उत्तर मसँग हुने कुरै भएन । उहाँभित्र राष्ट्रियता छचल्किएको देखेर मुसुक्क हाँसेँ ।
दुई–चारवटा जाम छिचोल्दै करिब चार बजेतिर हामी मिसन चारआली पुग्यौँ । विश्वनाथ चारआली पुग्न अझै ६० किमी पार गर्नुपर्ने रहेछ ।
मदन सर कार लिएर बस स्टेसनमा पर्खिरहनुभएको रहेछ ।
चारआलीको सुन्दरतालाई कुहिराको घुम्टोले आफूभित्र लुकाउन खोजे पनि हामी मदन सरको कारभित्र पसेरै चारआलीको मनलाई छाम्यौँ । मदन सरबाट थाहा भयो– ‘अनेकौँ किंवदन्ती र केही यथार्थमा हुर्केको सांस्कृतिक रूपले समृद्घ बजार रहेछ ।’ यसको गौरव र गरिमालाई अत्युच्च पार्न ती किंवदन्तीले महत्वपूर्ण भूमिका खेलेका रहेछन् । चारआली बजारबाट मदन सरको घर उषाको कम्मरमा सपक्क टाँसिएर रहेको गोलियागाउँमा रहेछ । यहाँबाट तीन किलोमिटरको दूरीमा रहेछ । ब्रह्मपुत्र नदी पनि नजिकै ।
प्रकृतिमा पोखिएको जुनेली आभा देखेर हर्षविभोर भइरहेको थियो गोलियागाउँ । असम आएर त्यसमा पनि चारआली टेकेर समन्वय साधक हरि गजुरेलको तपस्यास्थल नटेकी फर्किए असम आएको के होला र ! असम आएको सार्थकता के बन्ला र ! उहाँसँग मेरो २०१३ देखि चाहिँ घनिष्ट सम्बन्ध थियो ।
हामी हरि सरको घर पुग्दा जून टहटह लागिरहेका थिए । हरि सरले आफ्नो मुस्कान छरेर गाउँलाई नै मन्त्रमुग्ध बनाइरहनु भएजस्तो लाग्यो । हामीलाई स्वागत गर्न नै सफा, कञ्चन आँगन फैलिएझैँ लाग्यो ।
आँगनका वरिपर फुलिरहेका फूलहरूले रङ्गीचङ्गी बर्को उठाएर हामीसँग आँखा जुधाइरहेका थिए । हामी आउँदै गरेको पूर्व जानकारी पाइसक्नुभएको थियो गजुरेल परिवारले । मेरो मन एक तमासको भएर आयो । मैले आँगनबीचबाट आकाशतिर शिर उठाएर हरि सरलाई फेरि एकपटक सम्झिएँ ।
‘यहीँ खाटमा बसेर पढिरहनुहुन्थ्यो । घरमा जहिल्यै भीडभाड नै रहन्थ्यो । बाबा १०÷४÷२०१८ मा आकस्मिक बित्नु भयो । देशदेशान्तरबाट हजारौँ व्यक्तिहरूको उपस्थिति रह्यो । हामी पनि छक्क पर्यौं । दीपक सर, हामीले हाम्रो बाबालाई ज्यूँदोमा चिनेनछौँ ।’ हरि सरका जेष्ठ पुत्ररत्न दीपक भावुक हुनुभयो ।
मैले झ्यालबाट बाहिर चियाएँ । जून बनेर हरि सरले आँखा झिम्क्याएजस्तो लाग्यो । हामी हरिका सन्ततिसँग खेल्दाखेल्दै शीत बनेर पग्लियौँ र प्रीति गाँसेर बिदा भयौँ ।
२९ सेप्टेम्बर २०१९ आइतबारका दिन बिहान १० बजेदेखि २ बजेसम्म निर्धारित कार्यक्रम थियो । हाम्रो बसाइ मदन सर र तारा म्याडमको सानिध्यमा थियो । हामीलाई कृष्णनील र अर्जुन लिन आउनुभयो । तारा म्याडमले खाजा खुवाएर बिदा गर्नुभयो ।
‘सार, चा लिनुस्न ।’ स्टेजमा मेरो पछाडिबाट आवाज आइरहेको थियो ।
‘खै, खै, फोटो उठाउनुपर्यो ।’ दीपक गजुरेल स्टेजअगाडि उभिएर भन्दै हुनुहुन्थ्यो ?
सार, चा आदि शब्द सुन्दा मलाई अनौठो लागिरह्यो । हामी सर भन्छौँ । यता सार । हामी चिया भन्छौँ । यता चा । हामी फोटो खिच्नु भन्छौँ । यता फोटो उठाउनु । हामी काँचो सुपारी भन्छौँ । यता तामुल । हामी रुख भन्छौँ । यता गछ । हामी आसाम भन्छौँ । यता असम अझ अखम । यता अङ्ग्रेजी शब्दको ‘अ’ उच्चारण हुने पहिलो अक्षर ‘आ’ र ‘स’ चाहिँ ‘ख’ उच्चारण हुँदोरहेछ । हामी फस्र्ट भन्छौँ । यता फास्र्ट ।
हामीलाई मदन सर, अर्जुन निरौला सर र कृष्णनील कार्कीले छोड्नु नै भएको थिएन । अथवा हामीले छोडेकै थिएनौँ । ३० तारिक सोमबारका दिन बिहानै पानी पर्दैछ– स्यार स्यार । घाम कस्ता छन् देखिएकै छैनन् । धुम्म छ आकाश, गुम्म छ विश्वनाथ । स्वीकार्य छैन सायद उसलाई हाम्रो आगमन ।
हामीले उषा पहाडबाट ब्रह्मपुत्र नदीमा डुङ्गाबाटै जाल हानिरहेका माझीहरूको दृृश्यहरू नियाल्यौँ । जसका छालले पानीको सतहभन्दा निकै माथि उफ्रिएर तेजपुर पुग्नुअघि गुवाहाटीदेखि नै हाम्रो ध्यान भङ्ग गराएका थिए । ब्रह्मपुत्रको किनारैकिनार खुब हिँड्यौँ हामी ।
हामी दिउँसो खाना खाएर टीकाराम निर्भीकको निवासमा कला, साहित्य र संस्कृतिका विविध प्रसङ्गमा गफिँदै बाघमारीका चेवन शर्माको निवाससम्म पुग्यौँ । आँगनभरि फुलिरहेका थिए बाह्रैमासे सेता फूलहरू ।
‘म कृष्ण अविरल ।’ कृष्णजीले आफ्नो चिनारी दिँदै गर्दा चेवनजीले ‘विषपुरुष’ उपन्यास ल्याएर देखाउनुभयो । कृष्णजी त दङ्ग ! उहाँका कृति असमका धेरै स्थानमा पुगेका रहेछन् । हामी जहाँ जान्छौँ, त्यहीँ उहाँका पाठक । जहाँ पाठक त्यहीँ उहाँका कृतिहरू देखाउँथे ।
मलाई अचम्म लागेर आयो । कतिपय ठाउँमा लेखकभन्दा अघि उसको सिर्जना र रचना पुग्दा रहेछन् । ती सिर्जना र रचनाले लेखकलाई पाठकमाझ चिनाइसकेका हुँदारहेछन् । थोरै सिर्जनाले चिनाएको लेखक विरलै मात्रै हुन्छन् ।
जे होस् । खण्ड–खण्ड छ यात्रा, हाम्रो जीवन जस्तै । हाम्रो हिँडाइ एकसरो छैन । हामी घरि कतै सुस्ताउँदै, घरि कतै अल्झिँदै हिँडिरहेका छौँ ।
फेरि मेरो हातेफोन बज्यो, उठाएँ ।
‘सर नमस्कार, म राम दाहाल । सर हिँड्नु भयो ?’
हामीलाई गमिरीमा राम सर प्रतीक्षा गरिरहनुभएको थियो । हामी गमिरी जाने भयौँ । मदन सरहरू हामीलाई बस चढाएर फर्किनुभयो ।
बस र बाटोको अवस्थाले फेरि पनि हामीलाई स्वदेश सम्झायो । यात्रुहरू उसैगरी कोच्ने । सामान पनि भेटेसम्म खाँद्ने । सायद असमेली भाषा, साहित्य र जनजीवन हेर्न हिँडेका हामीसँग परीक्षा लिँदैथियो बसले । खाल्डाखुल्डी बाटोमा बस नाचिरह्यो । ऊसँगै हामी पनि उफ्रिरह्यौँ । छतमा टाउको ठोक्किएला कि भनेर वेलावेला कुप्रिरह्यौँ ।
हामी गमिरी चोकमा उत्रँदा गजलकार रामप्रसाद दाहाल पर्खिरहनुभएको थियो । उहाँको छरितो गाडी मूल सडक छाडेर गाउँ पस्यो । धानका गाँजहरू संसार हेर्ने चाहनाले हुर्किरहेथे हलहली । सोचेँ, हाम्रो नेपालमा जस्तो गाउँको मायामा रम्न नसक्नेहरू परदेशी भूमिमा जीवन बिताइरहेका युवा यहाँका होलान् कि नहोलान् ? गाउँघरका आफन्तहरू पिरोलिइरहेका होलान् कि नहोलान् ? राम सरप्रति मेरो जिज्ञासाको विषय र विम्ब थियो । ‘छन् सर, छन् ।’ रामजी ड्राइभिङ् गर्दै भन्दै हुनुहुन्थ्यो ।
घामले पश्चिमतिर पुछपाछ गर्न थालेको थियो हामी रामजीको घर पुग्दा । उहाँसँग गजलका बान्कीमाथि सन्लापहरू गर्दागर्दै झन्नै झमक्क साँझ प¥यो । हामी गमिरी सेन्टर जाने भयौँ । झिलिमिली थियो गमिरी सेन्टर हामी पुग्दा । अझ स्वयंवरका लागि प्रतीक्षारत बेहुलीजस्तै थियो । त्यहीँ चोकैमा रम्घाको पारिलो पाखामा उदाँएका पूर्णकदमा भानु भेटिए ।
अक्टोबर १ तारिक मङ्गलबारका दिन बिहान आठ बजे रामसरले प्लेटफमसम्म पु¥याइदिनु भयो । अबको हाम्रो यात्रा उत्तर लखिमपुर हुँदै गोगामुख थियो । हामीले मिसामारीबाट ट्रेन समात्यौँ ।
हे अचम्म ! खचाखच हुने रेल । हामी निकै डिब्बा डुल्यौँ । एउटा मानिस छैन । फगत हामी दुई जना मात्र थियौँ । यतिसम्म हेलेम, गोहापुर, डुबिया हुँदै तातिबाहारसम्म पुग्दा हामीले देख्नेगरी कोही चढेको पनि देखिएन ।
रेल आफ्नै गतिमा थियो । बेलाबेला देखापर्ने विभिन्न आकारका घरहरूले हामीलाई नै हेरिरहेझैँ लाग्थ्यो । कतै भारी वर्षा, कतै पानी नपरेर पटपटी जमिन फुटेर लागेको खडेरी । वेलावेला मझौला खोलाहरू रेललाई भेट्न दौडिरहेका देखिन्थेँ ।
मानिसभन्दा पनि गतिशील रेल । एउटै पट्रीमा बारम्बार हिँडेर पनि कहिल्यै नथाक्ने । जीवनको गति पनि रेलजस्तै नथाक्ने भए कति रमाइलो हुनेथियो ।
हामी मिसामारीबाट हेलेम, गोहापुर, डुबिया, तातिबाहार, हारमती, कठाल पुखुरी, उत्तर लखिमपुर हुँदै गोगामुख पुग्यौँ । अझ सुवनश्री नदी पार गरेर सुवनश्री बजार मास्तिरसम्म पुग्यौँ ।
सुवनश्री बजार जहाँ मेरो पुर्खाको एउटा हाँगो हुर्किरहेको स्थान, जहाँ म पहिलोपटक पुगेको थिएँ । पदम भाइ हामीलाई लिन आएका थिए । धरर… धरर…पानी परिरहेको थियो । हामी प्लेटफमबाट सुवनश्री बजारतर्फ पसारिएको कालोपत्रे सडकमा टुमटुममा कुदिरहेका थियौँ । घरमा पुग्दा दिनको दुई बजेको थियो । साँझ पर्यो । पानी थामिदै थामिएन । रातभरि नै पानी परिरह्यो ।
कुखुरी काँ… । हप्ता दिनभन्दा बढी नै भएछ कुखुरा बासेको नसुनेको पनि । हातेफोन हेरेँ । बिहानको सात बजे छ ।
दिउँसो दुई बजेतिर पानी थामियो । हामी घुम्न निस्कियौँ ।
सुवनश्री बजार गयौँ । अविरल वर्षाले यसलाई जलाम्य बनाइसकेको रहेछ । सुवनश्री नदी मात्तिसकेको रहेछ । पुलबाट हामी हेर्यौं । नदीबीचका टापु अर्थात् बुच्के छपडीहरू आत्तिइरहेका थिए ।
कालो बादल हाम्रै शिरमाथि बाक्लिरहेको छ । खोलापारि चराहरू उड्दै, बस्दै भुइँमा चर्दै छन् । म वरपरको सुन्दर क्षितिज नियालिरहेँ । एक हुल पानीहाँसहरू काँ–काँ गर्दै आकाश नाप्दै उडिरहेका थिए । इन्द्रधनुष उषाको सिउँदो रङ्गाउन उठिरहेको थियो ।
हामीले तीरैतीर आँखा डुलायौँ । नदी किनाराका खेतमा केही हल गोरु नारेर हलो जोतिरहेको थिए । आदिम गराहरूमा अझै हातभरि ठेला उठाइरहेका थिए उनीहरू । सुवनश्रीको जीवन भोगाइ, लवाइखुवाइ, तिनका शारीरिक बनोट, कान्तिहीन अनुहार, पत्तै नपाई बैँस सकिएको जस्तो लाग्यो ।
यहाँ हामी दुई रात बस्यौँ । अक्टोबर ३ तारिक बिहीबार साँझ नौ बजेको ट्रेनमा फर्कियौँ ।
सुवनश्रीबाट फर्किंदा कृष्णजीको गुवाहाटी निवासी मित्र कृष्ण भुजेलसँग सम्पर्क भइरहेको थियो । उहाँ हामीलाई बिहान सात बजे गुवाहाटी प्लेटफर्ममा लिन आउनुभएको थियो । हामी कृष्णजीसँग लाग्यौँ । कृष्णजीले एउटा भव्य होटेलमा हाम्रो बसाइ व्यवस्थापन गरिदिनुभएको रहेछ ।
बेलुका नौ बजे कृष्ण भुजेलजीले हामीलाई गुवाहाटी स्थित देउद्वार लिएर जानुभयो । सुदर्शन थिएटरमा नाटक हेर्न । टिकट काटिसकेपछि उहाँ भन्दै हुनुहुन्थ्यो– ‘असममा यस्ता थिएटर तीन सय बढी छन् । एउटा चलेको थिएटरको मुख्य कलाकारहरूले एक सिजनमा चालीस लाखसम्म पारिश्रमिक पाउँछन् ।’
‘यस्तो थिएटर नेपालमा पनि सुरु गर्न पाए !’ कला–साहित्यको उत्थानसँगै व्यापार सोच्ने अविरलजीले मनमा लागेको कुरा ओकल्नु भयो ।
‘त्यही भएर त तपाईंहरूलाई गुवाहाटी बोलाएको नि !’ प्रतिष्ठित व्यवसायीको रूपमा स्थापित साहित्यसेवी कृष्ण भुजेलजीले आफ्नो उद्देश्य बताउनुभयो ।
बाटामा उहाँहरूबीच नेपालमा घुमन्ते थिएटरका सम्भावनाका बारेमा व्यावसायिक कुराकानी भए । मचाहिँ श्रोता बनिरहेँ ।
अक्टोबर ५ तारिक, अबको हाम्रो यात्रा गुवाहाटी प्लेटफर्मबाट ४०९ किलोमिटरको दूरीमा रहेको एनजेपी प्लेटफर्मसम्म थियो । हामीलाई शनिबार राती १०ः३० बजेको कञ्चनजङ्घा (ट्रेन नम्बर १३१७६) ले घिस्रिर्दै फर्कायो । हामी पनि असमलाई मनभरि लिएर फर्कियौँ ।
……………………………………………………………..
(विगत दुई दशकभन्दा बढी समयदेखि सिर्जना उमारिरहनु भएका सुवेदीका आधा दर्जन कृतिहरू प्रकाशित छन् ।)