• २०८१ असोज २४ बिहीबार

त्रास र आशामा जुर्मुराइरहेको जीवन

चेतना शर्मा

चेतना शर्मा

काला र सेता बादलहरू एक अर्कासँग पौँठेजोरी खेलिरहेको दृश्यको अलि मुन्तिर उडिरहेका चराहरू, बदलिरहेको मौसमप्रति सशङ्कित भएर होला, उनीहरूको उडानमा रोमाञ्चकता नभई अत्यास बढी देखिन्छ । सायद उनीहरू सुरक्षित गन्तव्यको खोजीमा छन् । दिनको उज्यालो र छरिन लागेको अन्धकारबीचको पातलो पर्दामा गोधूलिसाँझ उभिएकी छे । यो मीठो–नमीठो आभास क्षणिक मात्र हो । तर, विगत केही समयमा दिन र रात, जीवन र मृत्युबीचका मिहिनताको पातलो पर्दालाई हामीले महसुस गरिरह्यौँ । बन्द कोठाहरूमा हाम्रो श्वास भित्तामा ठोक्किँदै गर्दा समेत भारीपनालाई सामना गर्यौ । सुनौलो भविष्यको पर्खाइ र कामनाहरू फलदायी आशाहरूमा परिणत भएनन् । तर, जीवनका अड्चन र सर्तकताहरूलाई बेवास्ता गर्नेक्रमहरू अहिले नै कहाँ सकिएका छन् र ? यद्यपि, लगातार निसास्सिरहेकको जीवनलाई खोल्न आतुरता हामीलाई भैसकेको छ । नहोस् पनि कसरी !

बन्द कोठामा उन्मुक्तताका निम्ति आत्तिसकेको जीवनले उडान भर्ने आकाङ्क्षाहरूका पखेटाहरू काटेर सधैँै कसरी छट्पटिएर बसिरहन सक्छ, जब निरन्तर दिशा नबिगारी घरका भित्ताहरूमा हिँडिरहेको घडीको सुईको रफ्तारसँग हाम्रो तालमेल मिल्न सहजता भएन् । यस समयमा मानिसका कोसिसहरू जीवनमा नयाँ रङहरूको कलेवरहरू पोत्न वञ्चित छ । भविष्यको सुनौलो अँगालोका निम्ति हाम्रो प्रयास निरन्तर जारी रहेको छ । तर कहिलेसम्म ? त्यसैले मानिस पूर्ववत् दैनिकीहरूमा उही व्यस्ततालाई फर्काउन चाहन्छ, बन्द समयलाई खोल्न चाहन्छ । वास्तवमै यति निरीहता र रुग्णतामा परिणत भएर बाँच्न नसकिने महसुस भएर नै होला । बितेका दिनहरू लगभग एउटै अनुहारमा हामीसामु उभिरहँदा पनि हाम्रो पोल्टामा भविष्यले फाल्ने हरियालीप्रति निकै आशावादी थियौँ, त्यसैले यी दिनहरू सिर्जनामा बितायौँ, सिकाइमा बितायौँ र इच्छाएका सोखहरूलाई पूरा गर्यौं ।

हामी बिस्तारै बाहिर निस्कने क्रममा छौँ, तर यो रोगसँग जितेर भएको वर्हिगमन भने कतै होइन । क्रियाशीलता मानिसको स्वाभाव हो , आफ्नो क्रियाशीलताका कारण आफू र समाजलाई योगदान दिनु नै उसको परम् दायित्व हो भन्ने कुरा बुझेको हुन्छ । ऊ पुनः क्रियाशील भएर बाँच्न चाहिरहेको छ । रोगलाई पराजित गरेर नै बाहिर निस्कन्छौँ भन्ने व्यग्र पर्खाइमा थियौँ । तर अवस्था फरक छ । हो ! यी व्याकुलता र छट्पटाहटपूर्ण पर्खाइ आजित भएर बाहिर आउँदैछन् । पक्कै पनि, उही व्यस्ततामा रम्ने मानिसको आकाङ्क्षाहरूको उडान भर्न केही समय अझै लाग्नेछ । किनभने रोगको त्रास हराइसकेको छैन् बरु फैलिँदै गएको रोगसँग सर्तकता अपनाउनु आवश्यक देखिएको छ । अहिले रोगभन्दा पनि त्रासलाई जित्ने चाहनामा पुगेका छौँ हामी । लगभग तीन महिनाको लामो बन्दाबन्दीले रोग जित्ने प्रयास झन् चुनौतीपूर्ण भएर उभिएको छ ।

सारांशमा, यो बन्दाबन्दीले के अनुभव गराएन र हामीलाई ! रोगको प्रकोपदेखि जीवन नचल्दाका बाध्यात्मक परिणामहरू हाम्रा नजिकैबाट ओहोरदोहोर गरिरहे । रोग सूक्ष्म भए पनि विशाल मानवसमुदायलाई कोठामा बन्द गरेर राखिदियो । जीवनको क्षणभङ्गुरताको आभासले हरदम द्रवित गराइरह्यो । बन्दाबन्दीको समय थोरैका लागि राम्रो उत्सव पनि बन्न गयो भने धेरैका लागि यो अभिशप्त समय बनिरहेकै छ । पेट पाल्न सक्ने सम्भावनाहरू बन्द देख्दा स्वंयलाई आगो लगाएका दृश्यहरू, पर्देसिएका मजदुरहरू झुन्डिएका समाचारहरू मानिसका दयनीय अवस्थालाई उजागर गर्न पर्याप्त छन् । पैसा हुनेहरूलाई पनि पैसाले भरोसा दिन सकेन यसपटक । महिनौँ महाकाली नदीमा नाङ्गो आकाशमुनि रात बिताएका परदेशी मजदुरहरू महाकालीमा होमिएरै भए पनि घर पुग्न बाध्य बने । फोहोर र असुरक्षित क्वारेन्टाइनहरूमा महिलाहरू दुव्र्यवहारका सिकार भइरहेका छन् । यस अर्थमा समाजमा मानिसको चरित्र, नियति, संयोग र भोगाइहरू भने बन्दाबन्दीमा परेनन् बरु लामबद्ध भएर उभिरहेका छन् ।
अर्कातर्फ प्रकृतिको मनोरमतालाई नजिकैबाट अनुभूतिहरू ग्रहण गर्न समय सुन्दर पनि बन्यो । उदाङ्ग नीलो अकाश प्रेरणा बन्यो । हावासँगै पातहरूको सरसराहट, चराहरूको चिरबिराहटले प्रदान गर्ने रोमाञ्चक आनन्दलाई अँगालो हालेर प्रकृति र मानिस समीपै खडा भए । निष्पट्ट अँध्यारो र प्रज्ज्वलित सूर्यबीचको भेद गौण भएर गयो ।

तर रोग त कहाँ सक्किएको हो र ! यो त अजङ्ग भएर फैलिने क्रममा छ । भान्सामा रित्तिँदै गएका सामलका बट्टाहरू, रित्ता हुँदै गइरहेका गोजीहरूले अब मानिसलाई भित्रै बसिरहन दिएन् । बन्दाबन्दीले निम्त्याएको दुष्परिणामहरूले भित्रै बस्नसमेत श्रेयस्कर नहुने सङ्केत गरिरहेको छ । मानिस दौडिन नसेके पनि कोरोनाको त्राससँगै हिँड्न चाहिरहेको छ । तर, अब जागरुकता र सचेतनाकोे थप बोध भने हुनुपर्ने देखिएको छ ।
…………………………………………………………………………………………….
(शर्मा विगत एक दशकदेखि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी स्रष्ट हुन्)

[email protected]