• २०८२ जेठ ४ शनिवार

निबन्धको आराधना

पेशल पोख्रेल

पेशल पोख्रेल

सुरुमा निबन्धले नै तान्यो । मनले भन्यो– ‘यसैलाई समा । तँ यसैमा मज्जाले पोखिन सक्छस् ।’ म लोभिएँ । त्यसलाई बल दिने कारणहरू अरू पनि थिए । लेख्न जानेदेखि नै निबन्ध मेरो प्रिय विधा रह्यो । कुनै बेला निबन्धमा आकण्ठ डुबेको थिएँ म । निबन्धमै उम्लिन्थेँ, निबन्धमै पोखिन्थेँ । थुप्रै पुरस्कार, स्याब्बासी दिलाएको थियो यो विधाले ।
पछि पेसाधर्मी हुँदा पनि त्यसले पछ्याउन छोडेन । ‘फिचर–लेखन’ मेरो प्रिय विधा बन्यो । फिचरमा निबन्धको बान्की भेट्थेँ । आफूले लेखेका व्यक्तिवृत्तमा समेत निबन्धको स्वाद भेटेर म आफैँ दङ्ग परेको छु धेरैपटक । ढुक्कले भनौँ– निबन्धसँग मेरो अथाह प्रेम थियो ।
यतिखेर त्यो पुरानो प्रेम किन झुल्कियो त अचानक ? कारण जे पनि हुन सक्छन् तर निहुँ बन्यो, कोभिड–१९ को आतङ्क । डेढ महिनाअघि मेरो अन्नदाताले ‘स्थिति अनुकूल छैन, घरै बस् है’ भन्यो । मैले त्यसअघि नै बचेखुचेको बिदा उपयोग गरेर घर बस्ने मानसिकता बनाइसकेको थिएँ । र, सोचेको थिएँ– फेरि लेखनको चर्खा घुमाउँछु ।
छोरीहरूको ‘अनलाइन स्कुल’ सुरु भएको केही हप्तै भइसकेको थियो । श्रीमतीले पनि बिदा लिइन् । चार जना घर बसेपछि वातावरण अलि हल्लामय हुने नै भयो । मलाई चाहिने एकान्त र एकाग्रता दुवै पर सरे । अप्रिय समाचारहरूको भेलबाढीले लेखनको हुट्हुटीलाई कता बगायो, पत्तै भएन ।
कोभिड–१९ ले अमेरिकालाई गाँज्दै लग्यो । विज्ञहरूले स्थिति भयावह हुने चेतावनी दिन थालेपछि सेयरबजारका सूचकाङ्कहरू तल झरे । समृद्ध अर्थतन्त्रको उन्मादमा रमाइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ‘भोटब्याङ्क’ लाई आश्वस्त पार्न आफ्नै शैलीमा फेरि उत्रिए । उनी भन्न थाले– ‘नआत्तिनू, यो ठूलो समस्या होइन । केही दिनमै हराउनेछ भाइरस । अमेरिकी सामथ्र्यलाई यस्ता अफवाहले हल्लाउँदैनन् ।’
स्थिति उनले भनेजस्तो ‘नाथे’ थिएन । दिनहुँ ढाँटिरहने, आफूसँग असहमतहरूलाई भित्तै पुग्ने गरी प्रहार गरिरहने उनको स्वभावमा कुनै परिवर्तन देखिएन । उनी उसरी नै ढाँट्दै गए । आफ्ना कमीकमजोरीलाई छल्न राष्ट्रपति ओबामाको अघिल्लो प्रशासनलाई दोष दिंदै गए र खनिँदै गए अरू मुलुक र अन्तर्राष्ट्रिय निकायहरूमाथि । प्रसङ्ग महामारीको थियो । ट्रम्पचाहिँ सामथ्र्यको कुरा निकालेर फेरि देखाउँदै थिए, आफ्नो मपाइँत्व । यस्तो अभिमान मलाई सधैँ बिझाउँछ, त्यो बेला पनि पचेन । मलाई पीडा भयो, उकुसमुकुस भयो र त्यसैलाई विषय बनाएर निबन्ध लेख्न बसेँ । अहँ ! थुप्रै पेल्दा पनि कोलबाट निबन्धको रस निस्किएन । बरु कविताजस्तै लाग्ने केही हरफ लेखिएछन् –
‘म मान्छेमा ‘मान्छे’ खोज्दै यताउता हिँडिरहेको बेला
तिमी सामथ्र्यको कुरा गथ्र्यौ
टन्नै मिसायल, गोली बनाएको कुरा गथ्र्यौ
पैसा र मूल्यका कृत्रिम ‘ग्राफ’ हरूलाई हेर्दाहेर्दै
आँखा छेक्ने गरी तिम्रो नाक चुलिएछ
तिमीले पर–परसम्म आफ्ना हतियारहरू देख्यौ
तर, नाकमुनिका साधनविहीन अस्पतालहरू देखेनौ
ढाडस नपाएर छट्पटाइरहेका स्वास्थ्यकर्मीहरू देखेनौ
वैज्ञानिकहरू देखेनौ
देख्यौ त वरिपरिका चाटुकारहरू मात्रै देख्यौ
मलाई तिमीजस्तै ‘मान्छे’ हुन नसकेका
मान्छेहरूको अहङ्कार तोड्नुथियो ।’
धेरैपछि झन्डैझन्डै एउटा कविता लेखियो तर हुट्हुटी थामिएन । कोभिडले अमेरिकालाई अरू गाँज्दै लग्यो । प्रायः सबै राज्यले अत्यावश्यकीय सेवाकर्मीहरूबाहेक अरूलाई घर बस्ने निर्देशन दिए । सङ्कटकालका अभ्यासहरू सुरु भए । राष्ट्रपति ट्रम्प दिनहुँजसो प्रेस ब्रिफिङ्मा आउँथे र भन्थे– ‘बन्द हुनका लागि बनेकै हैन अमेरिका, सबै कुरा चाँडै खोल्नुपर्छ ।’ उनले बोल्न थालेपछि समाधानका कुरा, संवेदनाका कुरा ओझेलमा पर्थे । उनका भनाइ र आशयहरूले उनका अन्धभक्तहरूलाई मसला दिन्थ्यो । र, केही त्यस्तै मूढमतिहरू बन्दुकसहित सडकमा निस्किएर प्रर्दशन गर्थे । उनीहरूको नारा हुन्थ्यो– ‘भाइरसको त्रास देखाएर स्वतन्त्रता खोस्ने ?’
ट्रम्पले त्यस्ता प्रदर्शनहरूलाई प्रत्यक्ष, परोक्ष उकासिरहे । बन्दुके मानसिकताका त्यस्ता नग्न अवतारहरू विभिन्न राज्यमा विभिन्न स्वरूपमा प्रकट हुन थाले । त्यस सनकलाई कसरी चेतना भन्ने ? मभित्रको निबन्धको औडाहाले त्यस्तै निष्कर्ष निकाल्यो र खाका बुन्न थाल्यो । तर अहँ ! यस प्रयासले पनि निबन्धको आकार भेटेन । त्यत्तिकै बिना संरचना लेख्न थालेँ ट्रम्पोन्मादको कथा । उनी भन्दैथिए–
‘मेरै आदेशमा चल्नुपर्छ विश्व
मेरै खटनमा हिँड्नुपर्छ दुनियाँ
अन्यथा,
म रिसाउनेछु
र, म रिसाएँ भने थाहा छ ?
तिम्रो भाग खोसिनेछ, तिम्रो साख खोसिनेछ
अनि तिमीले पनि देख्नेछौ मेरा भक्तजनको ताली
उनीहरूको मीठो आरती
हेर त त्यो ‘भ्या भ्या’ कति सुमधुर सुनिन्छ ?’

ट्रम्पोन्माद जारी नै थियो । उनी बोल्न थालेपछि उनी छेउछाउमा उभिएका विज्ञहरू शिर निहुराउँथे । जब विज्ञहरूले बोल्न पाउँथे, ट्रम्प आँखा तरिरहन्थे उनीहरूतिर । ‘कोभिड–नियन्त्रणका लागि पर्याप्त सावधानी भएन, भएको भए यति धेरै क्षति हुने थिएन’ भन्न चाहन्थे विज्ञहरू । उनीहरू घुमाउरो भाषामा त्यसको सङ्केत पनि गर्थे । तर तुरुन्तै हस्तक्षेप गर्दै ट्रम्प भन्थे– ‘मेरै निर्णयले हो अमेरिका बचेको । मैले औषधि देखिसकेको छु । अब तुरुन्तै बाँड्नुपर्छ तिनलाई । तुरुन्तै निकाल्नुपर्छ भ्याक्सिन र तुरुन्तै खोल्नुपर्छ समाज । बाँधिएर बस्नुहुँदैन अमेरिका ।’
सबैलाई थाहा थियो– औषधि भेटिएको छैन । सम्भावित औषधिहरूको परीक्षण हुँदैछ तर प्रमाणित भइसकेको छैन । अलि परै छ भ्याक्सिन आइपुग्ने समय । त्यसैले मान्छे, समाज, देश र विश्वलाई जोगाउन निकै सावधानी अपनाउनुपर्छ । भीडभाड हुने सेवा, व्यवसायहरू खोल्ने हतार गर्नु झनै प्रत्युत्पादक हुनेछ । विज्ञहरूले मिडियासँग यिनै कुरा भनिरहँदा ट्रम्प मुर्मुरिन्थे र भन्थे– ‘म मान्दिनँ त्यो कुरा ।’ उनको आशय हुन्थ्यो– ‘यस्तै भइरहे म कसरी जित्छु चुनाव ? तिमीहरू मेरो चुनावी अभियानमा अर्घेलो बन्ने ?’
यस विरोधाभासपछि कोभिड–१९ सम्बद्ध सबैखाले अनुसन्धानहरूको नेतृत्व गरिरहेका डा. एन्थोनी फाउचीले ट्रम्पीय मञ्चहरूमा बोल्न छोडे । थाहा हुन्थ्यो, उनलाई बोल्न दिइएको छैन । डा. फाउचीको त्यस विवशताले मेरो निबन्ध–चेतनालाई फेरि पोल्यो र लेखेँ–
‘ढाँट्नु त ख्वामितको खुबी
जालझेल त हजुरको विशेषाधिकार
नाकमुखमा लगाउने मुखौटो
म आँखामा लगाउन सक्दिनँ ख्वामित !
हजुर पो अभ्यस्त हुनुहुन्छ सानैदेखि
आँखा छोपेर प्रवचन दिन सक्नुहुन्छ
कान थुनेर उपदेश दिन सक्नुहुन्छ
म कहाँ सक्छु र यस्ता कुरा ?
म त विचरा !
म त अदना हुँ ख्वामित !
बोल्नै आउँदैन विरुदावली
गाउनै आउँदैन भजन
हजुरको ठूलो आवासमा
दिनहुँजसो मञ्चन हुने अर्केस्ट्रामा
मेरो रुञ्चे बोलीको के काम ?
न म हजुरको राजनीति पढ्न सक्छु, न गणित
म धर्मसङ्कटमा छु मालिक
हजुरका निम्ति प्रिय बोलूँ त मेरो विवेकले दिंदैन
अप्रिय बोलूँ त फेरि तनाव हुन्छ हजुरलाई
हजुरका भक्तजनलाई त झनै तनाव
यो विपद्मा, विषमतामा
म मेरो विज्ञानको पाना खोलूँ कि नखोलूँ मालिक ?
कि निर्निमेष हेरेर बसूँ ?
आज म बोलूँ कि नबोलूँ ख्वामित ?’
डा. फाउचीको यो मनोदशा पनि अलिअलि कविता भएजस्तो लाग्यो । केहीलाई सुनाएँ । उनीहरूले कविताकै रूपमा अनुमोदन गरे । र, मैले किशोरवयमै लेख्न छोडेको कवितासँग कताकता मोह पलाएको अनुभव गरेँ, फेरि एकपल्ट । ठानेको थिएँ, कविता–लेखनसँग मेरो सम्बन्धविच्छेद भइसकेको छ । पढ्थेँ, सुन्थेँ तर लेख्दिनथेँ । बीचमा के के लेखेँ, त्यो सबै नेपाली पत्रपत्रिकाका आर्काइभहरूले बताउलान् । तर, कविता लेखिनँ । बरु घुमाइफिराई निबन्धकै आराधना गरिरहेँ ।
रोजगारदाताले ‘काममा फर्की है’ भनिनसकेको यस समयमा एकदिन अचानक कविताको आराधना गर्न मन लाग्यो र लेख्न थालेँ–
‘लामो अन्तरालपछि
अकस्मात्
मेरा आँखाअघि तिमी झुल्किंदा
मैले उस्तै देखेँ तिमीलाई
उस्तै रूपसी, उस्तै यौवना
उस्तै कटाक्ष, उस्तै आवाज
म हल्लिएँ
दौडिएँ तिमीतिर तिमीलाई नै छोप्न
र, तिमीले ‘नाइँ’ भनिनौ
म ठोक्किएँ, जुधेँ तिमीसँग र लठ्ठारिएँ
तिम्रो ओठ त उस्तै रहेछ
उसरी नै मगमगाउँदो रहेछ आलिङ्गन
उसरी नै बज्दोरहेछ धड्कन
त्यस सङ्गीतमा यो मूच्र्छना जोड्दै
म तिमीमा समाहित हुन खोजिरहेको छु
पक्का !
अब फेरि उराल्नेछु संवेग
र, बग्नेछु तिमीसँग तिम्रै लयमा
प्रिय कविता !
के तिमीलाई स्वीकार छ मेरो प्रस्ताव ?’
थाहा छैन, यस प्रस्तावमा म आफैँ इमानदार हुन सकूँला कि नसकूँला । पत्तो छैन, मैले कविता सम्झेर लेखेका हरफ कविताको परिभाषामा अटाउँछन् कि अटाउँदैनन् । तर, मलाई भर्खरै पुनःस्मरण भएको एउटा कुरा– कविताको पनि भूत चढ्दो रहेछ मान्छेलाई । झ्वाट्ट आउँदो रहेछ संवेग र खर्खरी पोखिँदारहेछन् भावनाका तरेली । त्यहाँ स्वरसङ्गीत आउँदो रहेछ पूर्वयोजनाविना ।
एकदिन सगरमाथा–आरोही शैली बस्नेतले आरोहण–अनुभव सुनाएको भिडियो हेर्दै थिएँ । उनी भन्दै थिइन्– ‘चुचुरोमा पुगेपछि देखेको एउटा कुरा– सगरमाथाको चुचुरो त यो हत्केलाजस्तै शान्त रहेछ । संसारको सबभन्दा अग्लो हिमाललाई ऊ अग्लो भएको घमण्ड नै छैन ।’ त्यो भनाइले गज्जबले छोयो । कति धीर, गम्भीर छ सगरमाथा ! तत्काल त्यो शिखरको आत्मकथा लेख्न उद्वेलित भएँ । तुरुन्तै लेखेँ सगरमाथाको मनोवाद–
‘तिमीले माने म स्वयम्भू–चेतना
नमाने म एउटा अक्कर, एउटा ढिस्को
तिमीले चिने म उत्तुङ्ग मनोबल, उत्प्रेरणा
नचिने म एउटा दुर्लङ्घ्य पहाड
तर म उफ्रिन्न
सर्वोच्च हुँ भनेर कुर्लिनु पनि छैन मलाई
मेरो माथ चुम्नेहरू नै भन्छन्– म विनयी छु
मसँग सर्वोच्च हुनुको घमण्ड छैन
मजस्तै विनयीहरू मसँग मितेरी लाउन आइपुग्छन्
घमण्डीहरू त तल फेदीतिरै लड्छन्, पछारिन्छन्
म धीर छु
गम्भीर छु
अटल छु
अविचलित छु
नत्र कहाँ मानिन्थेँ म शिखरहरूको शिखर !’
यतिखेर म निबन्ध नै लेख्न खोजिरहेको छु । तर, तानिरहेको छु– कवितांशहरू । निबन्धमा कविता, संवाद, संस्मरण, कथा–उपकथा सबैसबै अटाउने भएपछि मलाई फेरि निबन्धकै आराधना गर्न मन लागेको छ । र, जोडिन मन लागेको छ पाठकहरूसँग । पाठकका निर्बन्ध आकाङ्क्षाहरूसँग । पाठककै लागि लेख्ने हो मैले । ‘म स्वान्तसुखाय आफ्नै लागि लेख्ने हुँ’ भन्ने मित्रहरूलाई सम्झिँदै मलाई भन्न मन लागेको छ– आफ्ना लागि लेख्नु त आत्मरति हो, स्वमैथुन । आफैँ उम्लियो, आफैँ सेलायो । त्यहाँ सम–भोग हुँदैन । म लेखक–पाठकको हातेमालो रुचाउँछु । र, निबन्धलाई त्यसको न्यानो माध्यम बनाउन चाहन्छु ।

प्रिय पाठक !
के तिमीलाई स्वीकार छ मेरो प्रस्ताव ?
लामो समय नेपाली पत्रकारितामा कलम चलाएका पोख्रेल हाल अमेरिकामा कार्यरत छन् ।
[email protected]