भित्तामा नयाँ पात्रो फेरिँदै गर्दा, शिशिरले गएँ भनी हात हल्लाउँदै गर्दा, प्रकृतिमा मुना र मुजुरा पलाउँदै गर्दा, विद्यार्थी परीक्षाका लागि धमाधम तयारी हुँदै गर्दा, कताकता चीनमा सुनिँदै तर विश्वले बेवास्ता गरेको रोग कोरोनाले झम्ट्यो विश्वका समृद्ध देशलाई र सत्ता फैलाइरहेछ संसारभरि मानवीय अस्तित्व र मानवीय संस्कृतिको विनाशको विवरण बनेर । आज हामी बाँचेको सभ्यता सङ्कटमा छ । सम्पूर्ण विश्व कहीँ धेरै, कहीँ थोरै यस विनाशको कहर सहिरहेको छ र चिन्तित छ यसबाट संसारलाई कसरी जोगाउने भन्ने कुरामा । विज्ञानलाई केन्द्रविन्दु बनाएको संसारको वातावरणमा अनुसन्धान नै विज्ञान भएको यथार्थ छ र लागिपरिरहेछ । आवश्यकता र जिज्ञासा दुवै अनुसन्धानका पथ हुन्, शोध यसैमा चलिरहेको छ र हामी निष्कर्षको पर्खाइमा छौँ । जसले हाम्रा बन्धनहरू खोल्नेछ ।
आज गृहबन्दी भएको एक महिना भइसक्यो । वाह्य संसारसँग प्रत्यक्ष सम्बन्ध टुटेको एक महिना भयो । घाँटी दुखेको तीन दिन भयो । घरायसी औषधीले छोएन र औषधी पसलसम्म जानलाई निस्कँदैगर्दा छोरीको अनुरोध र निर्देशन दुवै मिसिएको आवाज कानमा ठाक्कियो ‘कहीँ जाने होइन है ममी !’ ‘घाँटी दुखेको छ औषधी मात्र…’ वाक्य पूरा हुन नपाउँदै निर्देशन आयो– ‘हुँदैहँुदैन, जानै मिल्दैन, फर्किहाल्नु । हजुर बाहिर गएर हुन्छ ! कोरोना आयो भने नि, हामीले बाँच्नु पर्दैन र ? हाम्रो त जीवन सुरु भएकै छैन ।’ उनका शब्दले एकक्षण मेरो बाटो छेक्यो । स्वार्थ ! मनमा यस्तै आवाज आयो । जीवन ज्युने स्वार्थ । मोह ! जीवनको मोह, संसारिक मोह, आँखाले देखुन्जेल, कल्पनाले भ्याउन्जेल सुखको मोह । त्यसमध्ये पनि जीवनकै मोह । जीवन नै नरहे यी यावत कुराको अस्तित्व नै रहन्न । यो जीवन सबैभन्दा प्रिय छ । यसका लागि हामी जे पनि गर्नसक्छौँ । गृहबन्दी समान्य कुरा हो । आजसम्म कोरोना बाल, बृद्ध, जवान सबमा परिचित भैसकेको छ र समयले आफ्नो नाम नै कोरोना समय बनाएको छ ।
विश्वलाई आक्रान्त पार्दै विश्वभ्रमणमा निस्किएको यस कारोनाको त्रासले यतिबेला मानवीय सभ्यता टक्क अडिएको छ । समय जुध्दैछ पृथ्वीलाई विरामी बनाइरहेको दुस्मनसँग । चीनको उहानमा जन्मिएर दिनप्रतिदिन संसारभर जवान भैरहेको अदृश्य र भयावह कोरोनाले अस्तव्यस्त मानवीय जीवनलाई सङ्कटमा पार्दै पलपल निल्दैछ अस्तित्व । यो लकडाउनको समयभित्र खुम्चिएर सारा संसारलाई एकान्त बनाई घरभित्र रमाउन बाध्य हुनु स्वतन्त्र आकाशमा उन्मुक्त उडने पन्छी थुनिनुजत्तिकै कष्टप्रद भैरहेको छ । रोगाएको समयको एकान्तवासबाट संसारलाई स्वस्थ्यलाभको कामना गर्दै एक दुई दिन घरभित्रै बिते यो गर्छु र त्यो गर्छु भन्दै तर केही नगरीकन । त्यसपछि सुरु भए छटपटिका पलछिनहरू कोठा, चोटा, कौसी, भान्सा पुनरावृत्ति यहीँ–त्यहीँ, यहीँ–त्यहीँ । बन्धन बाँधिने काम अथवा भाव । बन्धन ! जीवनको बन्धन, प्रणयको बन्धन, भावनाको बन्धन, रक्षाको र बन्धन नाताको । बन्धन शब्द आफैँमा सुखद लागे पनि गृहबन्धन कठोर लागिरहेको छ । खुट्टाका, आँखाका, शरीरका, मनका अगणित यात्राहरू रोकिएका छन् घरभित्र र खुम्चिएको छ दिनचर्या कोठाभित्र । विशाल संसारलाई यौटा कोठाभित्र अटाएर मान्छे, अन्धो, लाटो, बहिरो बन्न बाध्य यस समयको उदेकलाग्दो साक्षी बन्नुपर्दा जीवनसहित पृथ्वीको माया लाग्दैछ मलाई ।
वसन्त ऋतुको काख हो यो समय । भर्खरै त हो शिशिरले छोडेको । अझै लगाउन सकिएको छैन पातला लुगा हावाको पूर्ण स्पर्शको लागि, अझै खुकुल्याउन सकिएको छैन मन गर्मीको बहाना पारी । मानवीय अस्तित्वको रक्षार्थ बाध्य भएको एकान्तवासलाई गमलामा रोपेका फूलमा रमाएको सौन्दर्यले चुनौती दिँदो छ वसन्तको स्वागत गर्दै । ऋतुहरू पनि निरीह बन्नुपर्दो रहेछ, कहिलेकाहीँ गमलाका फूल हेर्दा त्यस्तै लाग्छ मलाई तर पनि फूलहरू निस्फिक्री सानो गमलालाई धर्ती मानेर मुस्कुराएकै छन् ।
आज, कहिल्यै प्रयाप्त समय नपाई मेसिनझैँ दौडिरहेका करोडौँ पाइला टक्क राकिएका छन् । म पनि रोकिएकी छु । साँघुरिएको संसार, निष्तेज यात्रा, शून्य सपना र बन्दीगृहमा जीवनले पहिलोपटक एकान्तवासको अनुभव गर्दैछ । अनन्त–अनन्त कल्पनाका पखेटा लगाएर उडिरहने सपनाहरू अलिकपर जान सक्दैनन् न त आउन सक्छ मीठो निदरीमा । विज्ञानको उन्नत अवस्था र मानवीय सभ्यताले फड्को मारी आश्चर्यचकित बनाइरहेको विकासशील युगकी साक्षी म– हरेक खबर, परीक्षण, अनुसन्धान गौण बनेर कोरोनासँग कुस्ती खेलेको देख्दा आश्चर्य मान्छु तर म आशावादी छु ।
मेसिनझैँ दौडिइरहेको जीवन, बाँच्नकै लागि लडिरहेको अस्तित्व, सुखका लागि भौँतारिइरहेको रहर । ओह ! मानवीय जीवनको रफ्तार टक्क रोकिएको छ मानौँ फनफन घुमिरहेको पृथ्वीलाई टेको लगाइएको हो । व्यस्ततामा आफैँलाई राम्ररी चिन्न नसकेको मानवीय सभ्यताले मुसारीमुसारी आफ्नो अनुहार ऐनामा हेर्न भ्याएको छ, गन्न पाएको छ मुहारमा भएका कोठी, खत, धर्साधर्सी र झुक्किझुक्की आफैँलाई सोध्दै प्रकृतिसँग हामी द्वन्द्व त गरिरहेका छैनौँ ?
यस प्यारो जीवनको मोह, सपनाको मोह, संसारको मोहले हातहरू परपर हुनुपरेको छ, साथहरू परपर हुनुपरेको छ । आँखामा त्रास र घरबाहिर अदृश्य आपत आएको हुनसक्ने आशङ्काले गेटहरू बन्द छन् । आफ्नै आँगन विरानो छ र आफैँ खुम्चिएर यौटा परिधिभित्र बाँधिएको छ समय । जीवन र मृत्युबीच युद्ध भैरहेको यस समयमा पृथ्वी अदृश्य रुग्णताबाट तरङ्गित र मानवीय सभ्यतामा ज्वारभाटा उठेको छ । आणविक अस्त्रशस्त्रले मै हुँ सर्वशक्तिशाली भन्ने होडबाजीलाई घात पु¥याउँदै शक्तिशाली सभ्यताको खिल्ली उडाइरहेको समयलाई म हेर्दैछु टेलिभिजनमा, समाचारमा र सामाजिक सञ्जालमा । कस्तो विकास गर्यो समयले, कस्तो मिसाइल बनायो प्रविधिले, कुन कुन ग्रह नाप्यो विज्ञानले ? ओह आन्तरिक नजरबन्दमा सर्वोत्कृष्ट प्राणीले निरीह बन्नुपरेको र जोगाउनुपरेको छ एक मुठ्ठी सास बाँच्ने रहरको आयामभरि । हप्ता दिनसम्म त अलमलिए म नि । हठात् मान्छे, खचाखच शवहरू, वेफुर्सदिला अस्पताल र डाक्टरहरू अनि बढिरहेका बिरामी । घट्नुको सट्टा बढिरहेका मृत्युका पञ्जा देखेर उथलपुथल मनस्थिति र नजानिँदो आशङ्कामा तरङ्गित हृदय लिएर आभास गरिरहन्छ भय शिरको माथिमाथि । कति डराउनु, कति तड्पिनु, कति जाँगरमुक्त शरीरलाई विश्रान्ति दिनु भय र त्रासको बहानामा । जस्तो कि, सबैथोक सकिएको छ, बाँकी केही छैन् । अलिकति समय पाए के–के न गर्छु भन्ने भ्रम तोडिएको छ । अल्छे र लापरवाही दिनचर्याका घडीपलाले जिस्काइरहेका छन् । समयको खिसी सहन नसकेर आफैँसँग झोक्किएँ– व्यवधान आएका मात्र हुन्, आइरहन्छन्, कठोर र सहज समयको चित्र हो । आन्तरिक नजरबन्द त्यो पनि आफ्नै लागि जीवन नै सकिएको त होइन नि ! रन्थनिँदै मैले किताबका ठेली पल्टाएँ । पोहोर बनारस जाँदा किनेको बृहद् पुस्तक श्रीमद्भागवत र केही पूर्वीय र पाश्चात्य दर्शनका पनि । दर्शनजति सबै मैले पढिसकेकै हो, भागवत पढ्न त मलाई अवसर नै आउनुपर्छ किनभने यो विशाल छ । त्यसैले यो नजरबन्दलाई मैले अवसर बनाएँ । विशाल ज्ञानसागरमा डुब्दै सुरु गरेँ बन्दीजीवनलाई रसिलो बनाउन संसारिक कल्याणको कामना गर्दै ।
छिँडीबाट संसार हेरको एक महिना भैसक्यो । जीवनलाई असाध्य माया गरेर जोगाएको एक महिना भैसक्यो । स्कुल कलेज छुटेको पनि एक महिना नै भैसक्यो । समयको पाबन्दी अझै लम्बिन सक्छ या सकिन सक्छ । गृहबन्दमा छोराछोरी दिक्क मान्दैनन्, नुहाउँदैनन्, मुख धुँदैनन्, कपाल कोर्दैनन मानौँ, किताबको भारी बोकी असाध्य दुर्वोध्य र कठिन लामो स्कुले यात्राबाट थाकेर भर्खर आइपुगेका हुन् र लामो विश्रान्ति चाहन्छन् । किताब बिर्सन चाहन्छन्, स्कुल बिर्सन चाहन्छन् र रमाइ रहन्छन् । शिशाको पर्दामा धन्य छ प्रविधि छिँडीभरिको संसारमा व्यस्त राख्ने उज्यालोलाई । उनीहरूजस्तै शतप्रतिशत हामी भुलाइरहेछौँ आफूलाई बन्दीगृहबाट भव्य विस्तृत सामाजिक सञ्जालमा, जहाँ नपाइने भन्ने कुरा थोरै छ किनभने यहाँ डुल्ने बगैँचा, रमाउने गाउँ र कोदाली चलाउने बारी छैन साँगुरो सहरिया जीवन । तर पनि जन्जिर त जन्जिर नै हो । पाइतालामा जन्जिर हुनु भनेकै सपनामा पनि अवरोध आउनु हो । मानवजीवनका खातिर गाउँगाउँ, देश र विश्व बाँधिएको छ । बाँधिएका दिनमा, यो कठिन परिस्थितिमा दुर्वोध्य समयको साक्षी भएर पनि कविता लेख्न नसक्ने कवि के कवि ? लेख लेख्न नसक्ने लेखक के लेखक ? विचार दिन नसक्ने दार्शनिक के दार्शनिक ? ज्ञान दिन नसक्ने विद्वान् के विद्वान् ? पोखिन नसक्ने कलाकार के कलाकार ? नभए इतिहासमा के लेखिन्छ साक्षी नभई । इतिहास सधैँ झुटो लेखिन्न होला यदि साहित्यकारले लेख्दो हो । हामी त साक्षी हुँदैआएका छौँ– गृहयुद्धको बीभत्स त्रासको, राजाको वंशनासको स्तव्धताको, लोकतन्त्रको चहलपहलको, भूकम्पको महाविनाशको यही जीवनले भोगेका अविश्वसनीय घटनाहरूको सूचीमा अर्को विश्वव्यापी कोरोनाप्रकोपको साक्षी भैरहँदा कति अप्ठ्यारो होला र ?
दिनप्रतिदिन संसारको स्थिति बिगँ्रदो छ । सभ्यता रुग्ण बन्दैछ र विज्ञान बचाउन उद्यत्त छ । जीवन सबैभन्दा त्रसित र भयभीत छ । समाचारका लाइन, मृतकको सङ्ख्या, रोगीको सङ्ख्या, रोगको विस्तार, उपाय, सुझाव र त्यस्तै आपतकालीन इतिहासका अभिलेखहरू । सामाजिक सञ्जालको आँखिझ्यालबाट संसार चहार्ने मलाई नयाँनयाँ कवि, कलाकार, कथाकार, लेखक, द्रष्टा, विचारक, दार्शनिक पाउँदा रमाइलो लाग्छ किनभने हामी बिर्सने बहाना गरिरहेका छौँ समय र पढिरहेका छौँ समयसँग किनभने समय संसारको सबैभन्दा ठूलो विश्वविद्यालय हो ।यसले लाटोलाई बोल्ने र लाछीलाई बहादुर बनाउँछ । समयको यही पाठशालामा विकल्पविहीन समयलाई आफ्नो अनुकूल बनाउन म व्यस्त हुन्छु सामाजिक सञ्जाल अवलोकन गर्न । म व्यस्त छु भागवतको ज्ञानमयी सागरमा डुब्न, म व्यस्त छु समयलाई काव्यमा उतार्न र बाँच्ने उपक्रम गर्न । खै मलाई फुर्सद ? अब झन् धेरै व्यस्त छु माहाभारतलाई आफ्नै आँखाले हेर्न ।
जब म औषधी लिन चोक पुगेँ । आहा ! बाटाहरू कति फराक, कति निर्धक्क स्वच्छ निश्वास लिइरहेका । घरहरू हलुङ्गा, पृथ्वी हलुङ्गो, काठमाडौँ हलुङ्गो किनभने ठेलमठेल र भीडभाडमा सधैँ उर्लिरहने मानवसागर बन्दी छ घरभित्र र पृथ्वी खुल्ला छ बाहिर स्वच्छ निश्वास लिँदै विश्रान्तिमा । शक्तिको होडबाजीमा लगातार व्यस्त रहेका महाशक्तिहरू व्यस्त छन् जीवनको लय जोगाउन, जहाँ सारा सामथ्र्य खन्याइँदैछ । व्यस्तताबाट दिक्क भएको समयलाई विश्रामको आवश्यकता थियो कि ? प्रदूषणमा निसास्सिरहेकी पृथ्वी चाहन्थिन् कि अराजकताबाट राहत या विकासको अतिक्रमणले घाइते प्रकृति चाहन्थिन् मलम या आफ्नै घरभित्र थुनिएको संसारको सर्वोत्कृष्ट प्राणीको लाचारी र एकदम निरीह दयालाग्दो अस्तित्व हेर्न भन्दै प्रकृति सबैभन्दा माथि । नभए यति सौम्य वातावरणमा किन मुस्कुराइरहेछ शान्ति एकाएक बाटो दोबाटो गाउँ, सहर र विश्वका हरेक पाटोमा कोरोनाको आड लिएर मृत्युको बाटो भएर ।
मानिस धर्तीको मालिक । धर्ती प्रकृति उसको सम्पत्ति । धर्तीमा जे छ, त्यो उसको । जे मनलाग्छ त्यही गर्नसक्छ ऊ । मैदान उठाएर पहाड बनाउन सक्छ । पहाड तन्काएर मैदान बनाउन सक्छ, मरभूमिलाई वसन्त र वसन्तलाई मरुभूमि बनाउन सक्छ । प्रयोग गर्नसक्छ, दुरुपयोग गर्नसक्छ । ठूलाठूला मिसाइलले उडाउन सक्छ, डढाउन सक्छ । भौतिक चकाचौँधमा दिन–रातलाई अल्मल्याउन सक्छ । संसारलाई यौटै आँगन बनाउने विज्ञान र धर्तीको मालिक ठान्ने मानवीयताभित्र अझै हिंस्रक हृदयिक समवेदनाको कुनै ठाउँ छैन । संवेदना, भावना, करुणा, निष्ठा, श्रद्धा, समर्पण, प्रतिस्पर्धा र दुरुपयोगमा मिसिएपछि प्रकृति चेतावनी दिइरहेको त छैन हामीलाई ? अहिले जीवन सङ्घर्षरत छ देखादेख मृत्युसँग । सङ्घर्ष त जताततै छ हेरक पल, हरेक ठाउँ सङ्घर्षका फरकफरक उद्देश्य र अवस्था भए पनि सारा प्रकृति, सृष्टि, संसार यौटै सार्वभौम विश्व हो जीवन र मृत्युका साझा दुई गोलाद्र्ध भित्रको भन्ने कुरा घरभित्रै बसेर अनुभव गर्दैछु म ।
आज बाध्यतामा साँगुरिएको छ अथवा गमलाको फूलजस्तै भएको छ जीवन । जीवनको सौन्दर्य बन्दीगृहमा निसास्सिइरहेको छ । दर्शनार्थीका कामना र प्रार्थनाले सधैँ ओतप्रोत भैरहने मन्दिर, चैत्य, गुम्बा, मस्जित, चर्चका फाटकहरू बन्द छन् । भगवान् एकान्तवासी भएका छन् । तर पृथ्वी उन्मुक्त र हलुङ्गो छ र निर्धक्क ठूलो निश्वासमा उच्छवास लिइरहेको छ । अजिङ्गर समयको बन्दीगृहमा थुनिएको मान्छे कृत्रिम हाँसो हाँसिरहेको छ र खोजिरहेछ मूल्य । तर जीवन सकिएको छैन, संसार सकिएको छैन्, सम्भावना सकिएका छैनन् ।
सनातनजस्तै छ समयले विपत्तिको साक्षी भैरहनु तथापि प्रतिकूल समयले पनि हामीलाई केही न केही सकारात्मक पाठ सिकाएर जान्छ । आज हामी परिवार को महत्व, साथीभाइको महत्व, स्वतन्त्रताको महत्व, स्वच्छ वातावरणको महत्व र जीवनकै महत्वलाई बुझ्दैछौँ । ज्ञानमयी गीतामा कृष्णले भनेकै छन्– परिवर्तन नै संसारको नियम हो । समय गतिमान छ र जड होस् अथवा चेतन केही पनि चिरस्थायी छैन । कारण नभई कार्य हुन्न । कोरोनाको पनि केही उद्देश्य पक्कै होला जसले विश्व तरङ्गित पारेको छ । म आफूलाई आशावादी हुनपर्छ भन्छु किनभने संसारका सारा काम आशाकै कारणले चल्दछन् । आशा जीवनको शुभ लक्षण हो तथा अमृत हो । यस्तो मलाई लाग्छ । ढिलो, चाँडो यस समयको पनि अन्त्य हुनेछ । विपरीत समयले उत्पत्ति गरेको प्रतिकूल समयलाई आफ्नो अनुकूल पार्नुभन्दा विकल्प अर्को छैन । जीवन रबडजस्तै तन्काए तन्किने, खुम्च्याए खुम्चिने । समयअनुकूल आफूलाई ढाल्दै जीवनमा सन्तुलन बनाइराख्नु पनि त कला नै हो । त्यसैले यो फुर्सदिलो समयलाई व्यस्त बनाएकी छु, जसमा मन रमाइरहेको छ । र पनि बारम्बार नित्सेले गरेको ईश्वरको मृत्युको घोषणा र रुसोले प्रकृतितर्फ फर्कन गरेको आह्वान हरेक दशकमा किनकिन सान्दर्भिक लागिरहन्छन् मलाई । बन्धनभित्रै रमाउन सिक्दै छिँडीभरिको संसारमा, बन्दीगृहको आँखिझ्यालबाट सभ्यतालाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो प्रश्नको उत्तर चाहन्न म, म पृथ्वीको पाहुना हुँ या मालिक ?
०