मनकी सुन्दर देवदिदी - Aksharang
  • २०७८ मंसिर १३ सोमबार

मनकी सुन्दर देवदिदी

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

जीवन जन्मे पछिको अन्तिम सत्य हो मृत्यु । हरेकले मृत्यु स्वीकार नगरी धर नै पाउँदैनन् । मृत्युलाई धनले, शक्तिले, सत्ताले केहीले परास्त गर्न सक्दैनन । धनी गरिबलाई भेद नै नगर्ने मृत्यु सबैका लागि बराबर हुन्छ । यो यथार्थ सबैले उसरि नै बेहोर्नुपर्छ । यहीँ नै सृष्टिको नियम हो । यहीँ नियमलाई स्विकारेर दार्शनिक, ज्ञानी, तपस्वि, वैज्ञानिक, विद्वान, लेखक, राजनितिज्ञ, राम्रा नराम्रा मान्छेहरू आइरहेछन् गइरहेछन् । यसैको सिलसिलामा वरिष्ठ कथाकार प्रिय दिदी देवकुमारी थापाले पनि वि.सं. २०६८ साल बैशाख-२२ गते विराटनगर आफ्नो घरमा नै जीवनको अन्तिम श्वास लिनुभयो । जहाँ उहाँले जीवनमा कतिकति सपनाहरू बुन्नु भएको थियो, अनि आफ्ना जीवनसाथी बबरसिंह थापाको सामिप्यतामा लामो समय हाँसि खुसी मीठो जीवन बाँच्नु भयो र प्रियजनलाई कहिले प्रेमले कहिले प्रेमलाई अलिक फिका बनाएर पनि स्वागत गर्नु भयो ।
मलाई अझै पनि त्यो थापा निवासको फराकिलो जग्गाको एककुनामा बनेको घरमा देवदिदीको झल्को आउछ । त्यतै कतै ढल्किनु भएको छ कि आकास हेरेर टोलाई रहनु भएको छ की जस्तो लाग्छ । हुनुहुन्न भन्ने पटक्कै लाग्दैन । अहं लाग्दै लाग्दैन ।
मलाई स्नेह गर्ने र मलाई अभिभावत्व प्रदान गर्ने मेरी प्रिय दिदी देवकुमारी । अझ भनौँ मेरी आदर्श । आदर्श प्रात्र त जहिले आदर्श नै हुन चाहे बाँच्दाको दिनमा होस वा मृत्यु पश्चात् । उहाँको घरमा गएर आफ्ना दुःख सुख पोख्दा पनि अलिअलि निको भए जस्तो हुने । हाम्रो सम्बन्ध अनौठो तर गहिरो । प्राय उहाँको घरको ढोका मेरा लागी सधैं खुला हुने । मैले उहाँको हृदय छामेर नै होला कहिले पछाडिको ढोकाबाट उहाँ ढल्किएको या बसेर लोलाएको ठाउँमा जान्थे कहिले अगाडिको ढोकाबाट । तर नभनि अरूलाई लिएर जादाँ चै ढोका बन्द नै हुने ।
यो नाताको नाम दिदी बैनी भने पनि एउटा अद्वितीय नाता । उहाँले तिजमा आमाको भूमिका निर्वाह गर्नु हुन्थ्यो आमाको मुख हेर्ने दिन म दिदीको घर जान्थेँ । अब ती दिनहरू सम्झना मात्र भएका छन् । आमा छोरी भनौँ यो नाम कतै अपुरो होला भन्ने डर । अनि दिदी बैनीको जस्तो हल्का नातो पनि त थिएन । खै कस्तो कस्तो रनभुल्लमा छु म हाम्रो नाताको रंग खोज्दै । लाग्दछ नाम बेगरको नाता राम्रो गरि गाँस्न मन भए पुग्ने रैछ । कुनै ठूलो सपना बुन्नु नपर्ने रहेछ । सुमसुम्याईको अदृश्य स्पर्श कुनै कुनै नातालाई नदेखाएर नखुलाएर पनि मीठो मीठो । नाता अक्षरको मात्र थिएन हाम्रो । अक्षरसँगै मायाको रंग मिसिएर सद्भावको सौन्दर्य पनि थियो । अनि व्यक्तित्व विकासको मधुरो लय । हाम्रा यी खालका नाता बनावटी भएनन् । अविश्वासिला भएनन् र धोकेबाज पनि भएनन् । दिदी मेरा छोरीहरूको बिहेमा आउनु हुँदा बिहेको परिवेश नै धपक्क बलेको अनुभव छ । छोराको पढाइमा कुनै रूपले सहयोग गर्ने र मेरो आशिर्वाद हो भनेर मलाई सहज बनाउनु हुने । अनि उहाँले गरेको हरेक स्नेहर व्यवहारलाई मैले प्रसाद मानेर स्विकार गर्थे । उहाँको यस्तो सद्भावलाई कुन नाम दिउँ । जन्मदै भएको आफन्तको नाता भन्दा बढी स्नेहरत व्यावहार । यति भनिसके पछि धर्म के हो, कर्म के हो र मोक्ष के हो म अनभिज्ञ भएर सम्झिरहेछु देवदिदीसँगका ती सुन्दर क्षणलाई । सुविधा सम्पन्न हुँदाहुँदै आफू असजिलोमा बाँचेर अरूमा अलिकति भए नि खुसी बाढ्ने देवदिदीलाई ।
कुनै कामको योजना बनाएर दिदीकोघरमा गएर प्रस्ताव राख्दा बढो स्नेहले सल्लाह दिनु हुन्थ्यो र निस्कर्षमा पुग्थेँ । तर डर पनि त कति लाग्ने दिदी रिसाउनु होला भन्ने । रिसाउँदा एकछिन चुप लाग्ने एकछिनमा मायालु भएर बोल्ने । आफ्नो जीवनको विगत पोख्नु हुन्थ्यो आगतका योजनामा मीठो कल्पना गरेर रमाउनु हुन्थ्यो । एकछिन गफ गरे पछि लक्ष्मी तिमी आउँछ्यौ भनेर तिमीलाई यो खानेकुरा राखेकी छु खाउ है भनेर दिनु हुन्थ्यो र कस्तो छ भनेर सोध्नु हुन्थ्यो । दिदीको स्नेह मिसिएपछि नमिठो हुने कुरा नै भएन। अब ती दिनहरू कहिले आउँदैनन् भनेर मनमनै पग्लन्छु।
कहिले माझको कोठामा भएको ठुलो सन्दुक खोल्नु हुन्थ्यो र उपहारमा आएका थुप्रै नयाँ साडीहरू देखाएर लक्ष्मी यो साडी कस्तो छ भनेर सोध्नु हुन्थ्यो । मैले राम्रो छ भने पछि तिमीलाई दिन मन लाग्यो लैजाऊ है भनेर झिकेर दिनु हुन्थ्यो । अनि अरूअरू पनि देखाउनु हुन्थ्यो।
तर देवकुमारी दिदीलाई सम्मान गर्ने आधार यी भने पटक्कै हैनन्। मलाई लाग्छ जन्मजन्मान्तरको कुरा यदि सत्य हो भने कुनै जन्ममा हाम्रो गहिरो नाता थियो सायद ।
दिदीका बोल्ने शब्दहरू मेरो कानमा गुन्जिएर हृदय छुन्थे ।
कहिले काहीं फोन गरेर हालखबर सोध्ने र आज फुर्सद भए आऊ है एकछिन भन्नु हुन्थ्यो । दिदीले त्यति भनेपछि म अरू काम छाडेर पनि जान्थेँ । भनेको समयमा चटक्क परेर पुग्थेँ । उसो त दिदी जहिले चटक्क पर्ने । सबै सेट मिलाएर लाउनु पर्ने अझ बाहिर जादाँ त व्याग जुत्ता सबै सेट मिलाएर चटक्क लाउने । दिदी सबै सेट मिलेछनी भन्यो भने मलाई त पहिले देखि नै सेट मिलाएर लाउन मन लाग्ने नि बुझ्यौ । अझै पनि त्यसरि नै लाउन मन लाग्छ । भनेर आफ्नो मन उघार्नु हुन्थ्यो । तर शालीन र सुहाउने हुन्थे उहाँले उपयोग गर्ने साधनहरू । भाषण गर्दा विषयान्तर नभई बिस्तारै कुनै विद्वानको भनाई वा गीता ज्ञानको केही भाव ट्वाक्क मिलाएर राख्ने । मुसुक्क हाँसेर बोलेका हरेक शब्दहरू कति सारगर्भित कति सुन्दर । मझौला कदकी खिरिलो जीउडाल, बान्की मिलेको उहाँको शाररिकको बुनोट सधै एकनासको रह्यो । गोरो वर्णको अनुहार उज्यालो थियो । उहाँ सभ्य र सुसंस्कृत । राष्ट्र र राष्ट्रियताको माया गर्ने देवकुमारी थापा कडा मिजासकी भएर पनि आफुँले लेखेको कथाकी पात्र जस्तै कोमल भावना थियो ।
पढ्ने, लेख्ने र सकुन्जेल कार्यक्रममा जानु हुन्थ्यो । पछि पछि त कुनै कार्यक्रममा प्रमुख अतिथिका लागि मैले अनुरोध गर्दा लक्ष्मी म त अब तिम्रो पेवा जस्तै भइसके भनेर अनुहारको रंग बदल्नु हुन्थ्यो ।
देवकुमारी दिदी गै सके पनि मलाई निकै दिनसम्म लागिरह्यो कुनै दिन देवदीदीको फोन आउँछ । अनि दिदीकहाँ गएर चिया बिस्कुट सँगै खान्छौँ । आफ्नो अनुभवले कमाएर गालेका अनुभूतिहरूलाई बाँढिरहनु हुन्थ्यो। उहाँको जीवन नै एउटा सुन्दर पुस्तक जस्तो। उहाँसँग जीवनका कुरा धेरै र साहित्यका कुरा थोरै हुन्थे । तर यसबेला ती सबै सबै असत्य नै जस्ता भएका छन्।
उहाँका शब्द शब्दमा दुःखले माझिएका आँसुका अक्षर लहरि बनेका उत्कृष्ट सिर्जना छन् । बाहिर खोजेर नपाईने जीवनको गहिरो दर्शन चिन्तन र चेतना उहाँ भित्र कति हो कति । दिदी बुद्ध हुन सक्नु भएन तर शान्ति प्रिय अन्तर्मुखी मान्छे हुनुहुन्थ्यो । तपाई भित्रको शान्तिले हाम्रो चेतना बन्नु भयो र तपाईँलाई लेख्ने शब्द हराएनन्, तपाईँलाई सम्झने मन बदलिएन । प्रेमकी शान्त तलाउ जस्तो शालीनताकी पूर्ण आभा जस्तो, सद्भावकी मीठो आभास जस्तो ममताकी प्रतिमूर्ति जस्तो भएपनि छुट्टै खालको अन्तर्मुखी स्वभावकी लेखिका अझ के नामले सम्बोधन गरौं तपाईँलाई । कर्ममा कुनै लोभ थिएन, तर आफैँ खनिन्थ्यो प्राप्तिको खुसी । जीवनमा कुनै गुनासो थिएन, तर आफैलाई खोजिरहन्थिन एकान्तमा गुमसुम । कथा, निबन्ध र बालसाहित्यकी आलोकित आयम आँसु पिउने भाव हुन्थे कति ठाउँमा । उत्सृङ्खल साहित्य कहिले लेख्नु भएन र लेख्न प्रेरित पनि गर्नु भएन । विश्व साहित्यमा राम्रो दखल भएकी तपाईँले प्रर्वेशिका परिक्षा मात्र उतिर्ण गर्नु भयो । तर अनुभवले कति विषयको डिग्री लिएको आभास छाड्ने तपाईँ । विविध बिधाको लेखनमा शसक्त देवदिदीको को कलमले छोटो मीठो र ज्ञान वर्दक सिर्जना गरिरहयो । आत्मा परक निबन्ध निर्माणमा अग्रजको सम्मान गर्ने बानी निकै उदाहरणीय लाग्छ ।
मान्छे भाग्यको कुरामा विश्वास गर्छन् तर तपाईँले कर्ममा विश्वास गर्नु भनेर भन्नु हुन्थ्यो । हरेक दिन गीता पढ्नु हुने । तपाईँलाई गीताको ज्ञान थियो । र त दार्जिलिङबाट नेपाल आउँदा पनि तपाई सबैकी आदरणीय र लोकप्रिय हुनु भयो बिना कुनै संघर्ष ।
तपाईँका कृतिहरू कथामा एकादशी, झझल्को र सेतो बिरालो “भोकतृप्ति, प्रलय, प्रतीक्षा, देवकुमारीका प्रतिनिधि कथाहरू, जीवनीमा पुण्यात्मा, आमा र छ तारा, अनि बालकथासङ्ग्रहमा रामको कथा, जङ्गलको कथा, कथाको बटुलो, वरपरबाट, ‘सुनपखेटी चरी’ र निबन्धमा ‘क्षण, विचार र स्मृतिहरू’ आदी छन् । उसो त दार्जिलिङमा छँदा हिमाली गुराँस पत्रिकाको सम्पादनमा पनि निकै प्रभाव जमाउनु भयो। त्यहीँ भएर होला देवदिदी वरिष्ट साहित्यकार इन्द्रबहादुर राईले “छैटौँ इन्द्रिय भएकी कथाकार” भनेर तपाईँको प्रतिभाको वयान गरेको सम्झिरहेछु ।
अहिले तपाईको अभावमा तिक्तता भोग्दै तपाईँलाई लेख्ने अभिष्ट गरिरहेछु। देवदिदी तपाईँ हुदाँको समयमा पनि तपाईलाई लेखिरहेँ आज पनि लेखेर नटुङ्गने धङधङी कस्तो हो । मान्छेले यसलाई आफ्नै खालको अनुमान लगाउलान तर मेरो तपाईँप्रतिको श्रद्धा हो कसैलाई स्पष्टीकरण दिन जरूरि ठान्दिन् । कति कुराहरू भनेरै पनि नबुझिने अनि नभनेर पनि कतिकति कुराहरू बुझिने हुन्छन् । अक्षरको आलोकले अक्षरधर्मीहरू उज्यालिए झैँ आज हामी बिचका अनेक कुराहरु उद्घाटित् गरि सके पछि यही यथार्थलाई साक्षी राख्दै अरू कुरा नभनि भन्छु देवदिदी तपाईँ मेरो आदर्श हो ।
लेखकमा आफू दुखेर अरूलाई मलम दिने शक्ति हुन्छ भन्ने तपाईँसँग नजिकिएपछि मैले पनि बुझेँ । दिदी कहिले कहीँ तपाईँलाई देख्दा आफूलाई समेत बिर्सने गर्थेँ। सबैको भलो सोच्ने देवदिदीको आशिर्वाद ममा हरेक पटक वर्षन्थ्यो। मान्छेहरू आफ्नो प्रचारका लागि नामका लागि भनेर हुरूक्क हुँदै खर्च गरेर पनि अघि सर्छन् । तर देवदिदी त्यो स्वभावबाट फरक अलग्गै खै कस्तो कस्तो । यो कुरा वनिताको देवकुमारी थापा विशेषाङ्क निकाल्दा मैले राम्रोसँग अनुभव गरेकी छु । वनिताको प्रकाशन हुन थालेको दुई वर्षमा पछि किन किन देवकुमारी थापा वनिता विशेषाङ्क निकाल्न मन लाग्यो । अनि मैले मेरागुरू दधिराज सुवेदीसँग कुरा राखेँ । दधिराज सर पनि उत्साहित हुनु भयो र लेख कसकसलाई लेख्न लगाउने भनेर सरले नै लिस्ट बनाउनु भयो । अनि दिदीलाई प्रस्ताव राखेँ । पहिले त ठाडै अस्विकार गर्नु भयो । म पनि के कम फेरी केही दिनमा दिदीको घरमा गएँ । दोस्रो पटक पनि उहाँ रिसाउनु नै भयो । अनि तेस्रो पटक गएर निकै कर गरेपछि अनुमति दिएर मेरो काममा बाटो खोल्दिनु भयो । अब लिस्टमा मैले चिनेका एकदमै कम स्रष्टाहरू थिए । कोही सिक्किमका, कोही दार्जिलिङ, कोही काठमाडौँका वरिष्ठ लेखकहरू। जे भएनि लिष्टको आधारमा काम सुरू गरेँ । दार्जिलिङ गएँ  त्यसबेला मित्र कुमारी खातीले गरेको सहयोग म कहिले बिर्सिन्न । कुमारी जीको सहयोगले दार्जिलिङ, सिलगुडीका स्रष्टाहरूकोमा जाँदा बाटामा सजिलोसँगै कहीँ रमाइलो कहीँ डरलाग्दो स्थिति पनि भएको सम्झना छन् । कुमारी जीसँग हिडेका कतिपय बाटाहरूको माया लागेर आउँछ। सिक्किममा भानुप्रकाश मार्मिकले सहयोग गरेपनि देवदिदीबारे कसैबाट एउटै लेख पाउन सकिन । अनि काठमाडौँमा पनि पटक पटक गएर लेखहरू सङ्कलन गरेँ । अनि वनिता विशेषाङ्क प्रकाशन गरेँ ।
आज दिदीको भित्री प्रेमले स्पर्श गरिरहेछ । दिदी भौतिकरूपमा हुनुहुन्न तर हाम्रो मनमुटुमा नचुडिने गरि सधैंसधैं रहनू भएको छ ।
मझौला कदकी, खिरिलो जीउडाल, बान्की मिलेको शाररिक बुनोट सँधै एकनासको क्या सुन्दर । अनुहार गोरो वर्णको उज्यालो सभ्य र सुसंस्कृत तपाईँको राष्ट्र र राष्ट्रियताप्रति प्रेम कति हो कति । कडा मिजासकी भएर पनि आफुँले लेखेको कथाकी पात्र जस्तै कोमल भावनाकी देवकुमारी थापा तपाईँको उहाँले कहिले आडम्बरी जीवन बाँच्नु भएन । कुनै वस्तुमा कहिले आशक्त नभई ऐस र आरामको जीवन कहिले नअपनाइ गरिब र दुःखीलाई सहयोग नै गरेर खुसी प्राप्त गर्नु भयो । तपाईँ दार्जिलिङ नै भएको समयमा महाकवि देवकोटा, बालकृष्ण सम लगायतका का विद्वानहरूले प्रतिभासँगै गुण रूपको मुक्त कण्ठले प्रशंसा गरेको हस्ताक्षर अझै सुरक्षित छन्।
तपाईका पुर्खाहरू पहिले नेपालको पूर्वी ओखलढुङ्गा जिल्लाबाट खरसाङमा बसाई सरे । तपाईँ पनि भारतमा सन् १९२८ अप्रिल १४ तारिक (वि.सं. १९८५ वैशाख २ गते) जन्मनु भयो । खरसाङको गिद्धेपहाड, भारतमा जहाँ म पनि दिदी जन्मेको घर हेर्ने एकपटक अवसर जुरो । त्यहीँ हुर्कि बढेर बाल्यकाल त्यहीँको माटोमा बित्यो । अध्ययन र तालिमको क्रमामा कलकत्ता र केही समयका लागि दिल्ली र मुम्बई बसेपनि ३९ वर्षमा सन् १९६७ मा मेजर बबरसिँह थापासँग उहाँको विहे भयो र जन्मथलो भारतलाई चटक्क छाडेर विराटनगर आउनु भयो । सैनिक सेवाबाट निवृत्त श्रीमानसँग खुसी हुनुहुन्थ्यो । मेजर बबरसिँह थापा साहित्य र कलाका पुजारी थिए । उनलाई देश विदेशको ज्ञान थियो । असल स्वभावका मेजर थापाको साथ पाएर तपाईँको जीवन सफल भयोे भनेर आफैँ मुक्त कण्ठले भन्नु भएको अहिले जस्तो लाग्छ. । भिनाजुले पनि तपाईँलाई पूजा नै गर्नु हुन्थ्यो । सन् १९९० मा अचानक तपाईँको श्रीमानको मृत्यु भयो । श्रीमानको मृत्युले तपाईँलाई ठूलो चोट पर्यो । यस्तो चोटलाई पनि सेवाभावबाट नै सहनु भयो । तपाईँले पनि भिनाजुलाई ससम्मान प्रेम गर्ने । त्यसको ज्वलन्त उदाहरणका रूपमा श्रीमानको मृत्युपछि ओझेलमा परेका अनुहारलाई समाजमा चिनाउन बबरसिँह थापासेवा गुठी पुरस्कारको आदरणीय कविराज न्यौपानेको नेतृत्वमा स्थापना गर्नु भयो । जुन गुठीमा दिदीको देहवसान पछि दिदीको नामको पनि दिदीका छोरीहरू मालती, पुजा र ज्वाइँहरूले पुरस्कारको अक्षयकोष राखेर आजसम्म सुचारू रूपले दुई पुरस्कार सन्चालित भै रहेको छ । देवदिदी तपाईँ हुनुहुन्न । तर तपाईँलाई सधैं सम्झने विभिन्न वहाना पाइन्छ । वनिता मार्फत पनि हामीले तपाईँलाई सम्झिरहेका छौं । तपाईँको जीवनकाल देखिनै कथाकार जलेश्वरी श्रेष्ठको सौजन्यमा तपाईँको नाममा बाल पुरस्कार स्थापना गर्नु भएको छ भने अर्को तपाईँ की छोरी मालतीका छोरा मानषले ईच्छाएर तपाईँको नाममा कथा पुरस्कार स्थापना भएको छ । हामी बारम्बार तपाईँलाई सम्झने यी वाहाना र अन्य केही गतिविधि छन् । अन्तमा यिनै शब्दद्वारा तपाईँलाई भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।


(लक्ष्मी उप्रेती चर्चित साहित्यकार हुन् ।)
lakshmiuprety@gmail.com