• २०८३ जेष्ठ ३, आईतवार

परिवर्तनको सङ्घारमा उभिएर

उदय निरौला

उदय निरौला

मान्छेहरू थोत्रो छाता ओडिरहन
मनपराउँदा रहेनछन्
सायदै यो नैसर्गिक स्वभाव हुनुपर्छ मान्छेको
नयाँ छाता खोज्छन् मान्छेहरू
बजारमा
खर्च गर्छन् नयाँका लागि
ऊर्जा र पैसा
पुरानो कोट लाइरहन मान्छेहरू
रूचाउँदैन रहेछन्
बजारमा नयाँ कोट
सिलाइरहेको देखिन्छ ।

पुरानो जीर्ण पुस्तक हातमा
नसुहाएको विचार गर्छन् मान्छेहरू
त्यसैले पुराणहरू पढ्न
कोही रहर गर्दैन
सिद्धान्त सुगाले जस्तो
रटिरहँदा रहेनछन् मान्छेहरू
बजारमा नयाँ अर्थशास्त्र
खोजेको देखिन्छ ।

केही कुरा नयाँ भइरहनैपर्छ
मान्छेलाई
नयाँ घामको रहर गर्छन्
मान्छेहरू
त्यो घाम पनि आइदिन्छ
मध्याह्न नाघेपछि अवाक् हुन्छन्
त्यस घामसँग
र पुनः नयाँ घामको प्रतीक्षा गर्छन्
मान्छेहरू
त्यो घाम झर्नेबित्तिकै धेरै खुसी साटासाट गर्छन्
मानिसहरू
बिहानै जाडोमा रमाउँछन्
आखिर घाम हो
चैत- वैशाखमा बौलाहा बन्छन्
मान्छेहरू र
अवाक् हुन्छन् त्यस घामसँग
अनि पुनः नयाँ घामको प्रतीक्षामा
स्वर मिलाउँछन्
यसरी पो सिद्धान्तहरू
थोत्रिँदा रहेछन्

र मानिसहरू परिवर्तनको झिस्मिसे सङ्घारमा उभिएर
अर्को, अर्को र अर्को बिहानको प्रतीक्षा गर्दारहेछन्
सायद यो मानिसको नैसर्गिक स्वभाव नै हो
स्वाद फेरिरहने
बजार फेरिरहने
र घाम पनि फेर्नै चाहने
वास्तवमा म पनि ऐले मानिसहरूसँग
परिवर्तनकै सङ्घारमा उभिएर
नयाँ संसार खोजिरहेछु ।


(निरौला स्थापित साहित्यकार हुन्)
[email protected]