• २०८१ बैशाख १२ बुधबार

किन आँसु आकाशतर्फ बगेको देख्छु म ?

सुमन थापा ‘सङ्गम’

सुमन थापा ‘सङ्गम’

सबैले देखे जस्तै म किन देख्दिनँ ?

जूनले झारेको शीतका थोपा
अरूले-
दूबोका मसिना केस्राहरूमा लुकामारी गरिरहेको देख्दा
मैले-
जून तिर्खाएर शीत पिइरहेको देख्छु
नदीले बगरसँग प्रीत गाँसिरहेको देख्दा
मैले-
नदीभन्दा ढुङ्गा कोमल भएर
नदीसँग किनार भएको देख्छु

सबै-सबैले देख्ने
घाम र जून प्रकाश रशीत
नदी र बगर
हिमाल रपर्वत
यी सबै शून्य केवल निराकार देख्छु

मैले किन सकिनँ
जो उस्तै थियो अरूले देखे जस्तै…!

फरक भएँ-
कल्पिएर देखेर हृदयले छोएँ
म स्वर्गमा इन्द्र भएर कल्पिएँ
नर्कमा यमदूत भएर कल्पिएँ

आकाशबाट दुई प्रेमी घाम र जून पृथ्वीमा ओर्लिएर
प्रेमका बात मार्दै सडकमा डुलिरहेको देखेँ
प्रकाशहरूबाट शीत तप्किरहेको देखेँ
बतासले गर्मी ओढाएर
बटुवा मजेत्रो फ्याकी पङ्खा हम्किरहेको देखेँ

मैले मेरा पाइताला घामझैँ घरका छानामाथि हिँडाइरहेछु
मन रुँदा मेरो आँसु आकाशतर्फ बगिरहेछ
झरना लौरो टेक्दै पहाड उक्लिरहेछ
चराहरू मोटरबाइक चलाएर कुदिरहेछन्

म आकाशजस्तै विराट् भएर पृथ्वी हेरेँ
पानी भएर आगो बालेँ
सागरको बीचमा डुब्दै गरेको घाम
हत्केलामा उठाएँ र सुमसुम्याएँ

यस्तो हुनसक्छ ?

सायद सक्छ…
कल्पिएर हुनसक्छ
सम्झिएर हुनसक्छ
यी सब भैरहेकाछन्
यद्यपि केवल कल्पना मात्र सत्य हुँदो हो त
सडकछेउ भोकले रोइरहेको बालक
औषधी नपाएर छटपटिइरहेको रोगी मान्छे
महलतर्फ फर्किएर वेदनाको आवाज निकालेर
चिच्याइरहेको हुने थिएन
मृत्यु पर्खिरहेको हुने थिएन

अब तिमी भन
बस् ! तिम्रो उत्तरको पर्खाइमा छु
मेरो आँसु किन आकाशतर्फ बगेको देख्छु म ?


(थापा विगत एक दशकभन्दा अघिदेखि साहित्यकर्म सक्रिय स्रष्टा हुन्)
[email protected]