संयोग - Aksharang
  • २०७७ फागुन १९ बुधबार

संयोग

कमला रिसाल

कमला रिसाल

कुनै पनि कामको पूर्णरूपले जिम्मेवारी निर्वाह गर्न अब्बल छे रूपा । मेहनती र लगनशीलता पनि उत्तिकै छ उसमा । काम गर्न थालेपछि के दिन के रात आफैँलाई भुल्न पुग्छे । मानौँ, जिम्मेवारीभन्दा ठूलो उसका लागि अरू केही होइन । सबै कर्मचारीहरूको प्यारी छे ऊ । उसको लगनशीलता मेहनत देखेर सबैले प्रशंसा गर्छन् । धेरै नबोल्ने स्वभावकी रूपाको मन उत्तिकै कोमल र दयालु छ ।
‘आज तिम्री बहिनीको बर्थडे भन्दै थियौ त  ?’ कसैको आवाजले झस्किन पुग्छे ।
‘ओहो, मैले त भुसुक्कै बिर्सेछु । अब घरमा गाली खाने भएँ ।’
‘भोलिको लागि रिपोर्ट तयार भैसक्यो त ?’
‘हजुर तयार भइसक्यो सर ।’ छोटो जवाफ दिन्छे रूपा ।
‘निकै ढिलो पो भएछ । घरबाट कति फोन आएको रहेछ । मोबाइल साइलेन्टमा भएकोले थाहा नै पाइनँ ।’
‘तिमी काम गर्न थालेपछि सबै बिर्सिन्छ्यौ । अब चाँडो गरेर घर जाऊ !’ पेपर थन्काउँदै भन्छन् सर ।
‘रूपा हतारहतार स्कुटी निकाल्छे र घरतर्फ लाग्छे । रातको नौ बजेको हुन्छ । गाडीहरू कताकति चलेको देखिन्छ । त्यो सुनसान सडकमा मानिसको कुनै छायाँ पनि देखिँदैन । भुसिया कुकुरहरूको हुल थियो । स्कुटी देख्ना साथै कुकुरहरूले झम्टिन पुग्छन् । रूपा आत्तिँदै स्कुटी हाँक्छे । केही पर पुगेपछि एउटा मोटरसाइकल सँग ठोकिन पुग्छे ।
‘आँखा छैन, स्कुटी चलाउन आउँदैन ?’ आक्रोश देखाउँदै बोल्छ बाइकवाला ।
चुपचाप सुनिरहन्छे ऊ । बोलोस् पनि कसरी ? बिचरी गल्ती उसैको थियो । ‘माफ गर्नुहोस् गल्ती भयो जानेर ठोकाएकी होइन ।’
‘गल्ती भनेको अनजानमै हुन्छ । माफ मागेर पाइन्छ ? मेरो वाइक तपाईंले बनाइदिनुपर्छ ।’
हेर्दाहेर्दै चारपाँचजना केटाहरू जम्मा भै सक्छन् । सुनसान सडक । रातको करिब दसबज्न लागेको हुन्छ । केटाहरूलाई देखेपछि रूपा झन् आत्तिन्छे ।
‘तपाईंको मात्र होइन, मेरो पनि स्कुटी बिग्रेको छ । चोट मलाई पनि लागेको छ ।’
‘अरू कुरा मलाई थाहा छैन । गल्ती तपाईंको हो जरिवाना तपाईंले तिर्नैपर्छ नत्र म छोड्दिनँ ।’ एकोहोरो बोलिरहन्छ वाइकवाला ।
केटाहरूको माझमा ऊ एक्ली, बोल्ने साहस गर्न सकिन । बहस गर्नुभन्दा चुप लाग्नुमा नै उत्तम ठान्छे । उसको साथमा हर्जाना तिर्ने पैसा पनि थिएन । अब के गर्ने  ? ऊ अन्योलमा पर्छे ।
चारपाँचजना केटाहरूले रातको समय एउटी केटीलाई घेरिरहेको देखेर विपरीत दिशाबाट आइरहेको कार मोडिन्छ र रूपाको अगाडि रोकिन्छ ।
कारको ढोका खोलेर बाहिर निस्किना साथै सबै जना मौन रहन्छन् । सबैको नजर उनमा पर्छ । मानौँ कुनै अप्सराभन्दा कम थिइनन् उनी ।
ती युवतीलाई देखेपछि रूपालाई साहस आउँछ ।
‘केको बहस ?’ ती युवतीले रूपालाई हेर्दै भन्छिन् ।
रूपाले सबै घटनाहरू बताउँछे । उहाँको वाइकको हेडलाइट फुट्यो । त्यसको क्षतिपूर्ति माग्नुहुन्छ ।
न कुनै प्रश्न,न कुनै जवाफ एक शब्द पनि नबोली ती युवतीले ब्यागबाट दस हजार निकालेर युवकको हातमा दिन्छन् । युवक केही बोल्न सक्तैन ।
‘तपाईंको स्कुटी यतै ग्यारेजमा राख्नुहोस् । राती धेरै भइसकेको छ । तपाईं मेरो गाडीका बस्नुहोस् । म घरसम्म छोडिदिन्छु ।’ ती युवती कारको ढोका खोल्दै भन्छिन् ।
‘तपाई त मेरो लागि देवता नै बनेर आउनुभयो ।’ सिटमा बस्दै भन्छे रूपा ।
म पनि एउटा नारी हुँ । तपाईंलाई पर्ने आपतविपत मलाई पनि पर्नसक्छ । रातको समय । फेरि तपाईंलाई एक्ली देखेर मेरो मन मानेन, कहाँ बस्नुहुन्छ तपाईं ?’
‘सामाखुसी ।’ रूपा छोटो जवाफ दिन्छे ।
‘ए ! मेरो पनि दरबारमार्गमा बुटिक छ । घर मेरो जवलाखेल हो ।’ ती युवतीले रूपाको हातमा कार्ड दिँदै भन्छिन् ।
‘आज तपाईं नभएको भए मेरो स्थिति के हुन्थ्यो  ! ती केटाहरूको नियत पनि ठिक लागेको थिएन । त्यो वेला म धेरै आत्तिएकी थिएँ । हजुरको गुण म कहिल्यै भुल्ने छैन । त्यसको लागि धेरै धेरै धन्यवाद छ । म सधैँ हजुरप्रति आभारी रहनेछु ।’
‘भोलि म पैसा लिएर हजुरको बुटिकमा भेट्न आउनेछु ।’
‘भोलि त म ब्याङ्कक जाँदैछु सामानहरू लिन । एक दुई हप्ता पछि मात्र आउँछु । त्यसपछि आउनुहोला ।’
रूपाको घर पनि आइपुग्छ । रूपालाई छोडेर ती युवती फर्किन्छिन् ।
यति रातीसम्म घरमा नआउँदा सबै चिन्तित देखिन्थे । रूपालाई देख्नासाथै प्रश्न गर्छन् । सबै घटनाहरू परिवारलाई सुनाउँछे । ती युवतीको निकै गुनगान गाउँछे । भन्छे- ‘त्यही वेलामा मेरो चार्ज सकेर मोबाइल स्वीच अफ भएकोले फोन गर्न पाइनँ ।’
पन्ध्र दिनपछि बुटिकमा पुग्छे तर पसल बन्द थियो । अब त हरेक दिन बुटिक धाउने बानी नै परिसकेको थियो । सधैँजसो ऊ निरास नै भएर फर्किनुपथ्र्यो । उसले सोची- पन्ध्र दिनमा आउँछु भनेकी आज पाँच- छ महिना हुँदा पनि बन्द छ । हुनसक्छ उतै बस्ने भइन् होली ?
तर कसरी भुल्न सक्थी उनले लाएको त्यो गुण, कति सुन्दर सरल । न रूपको घमण्ड, न धनको । बोलीमा मिठास उत्तिकै । हरपल ती युवतीलाई सम्झिरहन्छे रूपा ।
सधैँझैँ आज पनि उसको आँखा बुटिकमा पर्छ । आज भने खोलेको देख्छे र खुसी हुँदै सरासर बुटिकमा पस्छे । तर युवतीको ठाउँमा अरूलाई नै देख्छे ।
‘उहाँ आउनु भएको छैन ?’ कार्ड देखाउँदै त्यहाँ बसेकी युवतीलाई सोध्छे ।
‘ए  ! उहाँले त यो बुटिक हामीलाई बेचिसक्नुभयो त !’
उहाँको ठेगाना, खबर केही थाहा छ त हजुरलाई  ?’ रूपाले प्रश्न गर्छे ।
‘खै त्यो त हामीलाई थाहा छैन ।’
रूपा निराश हुँदै फर्किन्छे ।
कसरी पत्ता लगाऊँ, कहाँ खोजूँ ? म उहाँको ऋणी नै हुने भएँ । देशविदेश गइरहने मान्छे सायद उतै नै बसिन् होला ।
ऊ दुई वर्ष बितिसक्दा पनि ती युवतीलाई भुल्न सक्तिन । त्यो बाटो हिँड्दा त्यो बुटिक देख्नासाथै उनको यादले सधैँ झस्काउँछ रूपालाई ।

०००
रूपा र उनको साथी भगवानको दर्शन गरेर फर्कंदै गर्छन् ।
‘तिमीले भनेकी युवती पत्ता लाग्यो त  ?’ रूपाकी साथीले प्रश्न गर्छिन् ।
‘छैन । धेरै कोसिस गरेँ, पत्ता लगाउन सकिनँ । त्यो सुनसान सडक । रातको समय । केटाहरूबाट घेरिँदा मेरो मद्दत गर्ने ती एक अपरिचित युवती त मेरा लागि भगवान नै थिइन् । मेरो विवशता त्यो कहाली लाग्दो रात म कसरी भुल्नसक्छु ।’
एउटा पसलमा केटाहरूको जमात देख्छे रूपाले । उनीहरू रोडपारि घिस्रिरहेकी महिलालाई देखेर हाँसिरहेका थिए ।
सडक तातेर अलकत्रा पग्लेको थियो । जेठको अपार गर्मी र सडकको पेटीमा मान्छेहरू ओहोरदोहोर गरिरहेका थिए । भतभती पोलिरहेको थियो । त्यो तातो रापले पोलेको महसुस पनि थिएन उनलाई । त्यो गर्मीले छाएको पनि थिएन उनलाई । के भोक, के प्यास उनका लागि यी सबै पचिसकेका थिए । न त्यो भोक- प्यासले सताउँथ्यो, न तातोले नै पोल्थ्यो । यी सबै किसिमको जहरले उनलाई प्रत्येक पीडाबाट मारिसकेको थियो । अब त सानोतिनो चोटले उनलाई दुख्दैन थियो । मानसिक सन्तुलन गुमाइसकेकी ती युवतीलाई देख्ना असह्य हुन्छ रूपालाई ।
‘हेर त ती केटाहरू एउटा लाचार महिलालाई हेर्दै हाँसिरहेका छन् । यी कति लाजमर्दो नामर्द पुरुषहरू- एउटा अबला नारीप्रति हेर्ने यिनीहरूको नजर कतिसम्म मजाकपूर्ण छ । नारीकै कोखबाट जन्मिएका पुरुषहरू होइनन् र यिनीहरू ? फेरि नारीलाई हेर्ने दृष्टिकोण किन यस्तो ?
रूपा ती युवतीको छेउमा गएर उभिन्छे । उनको हिँड्नसक्ने अवस्था पनि थिएन । कपाल पूरै लट्टा परेको थियो । मानौँ, उनको शरीरमा साबुनपानी नपरेको धेरै भैसकेको थियो । शरीरबाट दुर्गन्ध उत्तिकै आइरहेको थियो । उनले लगाएको लुगामा रगतका टाटाहरू देखिन्थ्यो । केटाहरूले उनलाई हेरि नै रहेका थिए । उनको दयनीय अवस्था देखेर होइन च्यातिएको लुगाको प्वालका देखिएका उनको गुप्ताङ्गहरू नियाल्दै मजा लिइरहेका थिए । ती रगतका टाटाहरू देख्दा कैयौँ पुरुषबाट लुटिसकेकी थिइन् उनी भन्ने थाहा हुन्थ्यो । अहिलेको समाजमा दिदीबहिनी, आमाबुहारीलाई त छोड्दैनन् भने खुल्ला सडकमा रात बिताउने महिलालाई त के छोडे होलान् यौन पिपासुले ।
‘तपाईंको घर कहाँ हो ? को हो तपाईं ?’ पानीको बोतल हातमा दिँदै भन्छे रूपा । ती युवती भने बोल्न सक्ने स्थितिमा थिइनन् ।
ट्याक्सीमा राखेर हस्पिटल तिर लाग्छे रूपा । डाक्टरलाई भेटेपछि धेरै लामो कुरा हुन्छ ती युवतीका बारेमा । ‘उहाँ को हो के हो ? मलाई थाहा छैन । उहाँको यो अवस्था देखेर मैले यहाँ ल्याएकी हुँ एउटा मानवताको नाताले । यो जिम्मेवारी म लिनेछु । उहाँ जसरी हुन्छ ठीक हुनुपर्यो डाक्टरसाहेब ।’ यति भन्दै भोलि आउने वाचा गर्दै घरतिर लाग्छे रूपा ।
नर्सहरूले पनि उनीप्रति चासो देखाउँछन् । नुहाइदिन्छन्, लुगा फेरिदिन्छन् । उनी चिटिक्क राम्री देखिन्छिन् । नर्सहरूपनि उनलाई देखेर दङ्ग पर्छन् ।
डाक्टर आउँछन् र नर्सलाई सोध्छन्- ‘अस्ति ल्याएकी बिरामी कहाँ छिन् ?’ डाक्टर र नर्स ती युवतीलाई राखेको रूममा पस्छन् । ती युवतीलाई देख्नासाथै डाक्टर चकित पर्छन् । अनायासै उनको आँखा रसाएर आउँछ । ‘कहाँ थियौ तिमी प्रेरणा, कति पछि देख्दैछु तिमीलाई तर यस्तो अवस्थामा ?’ ती युवतीको हात समाउँदै भन्छन् । डाक्टरको यो आत्मीयता देखेर नर्स पनि अचम्म पर्छिन् । तर ती युवती भने आफ्नै दुनियाँमा हराएकी थिइन् । कसैलाई चिन्न सक्ने सामथ्र्य उनमा थिएन ।
रूपा भने छटपटिन्छे । आज एक हप्ता भइसक्यो हस्पिटल जान नपाएको पनि । यही वेला खुट्टामा चोट लाग्नु परेको । जाऊँ भने पनि कसरी जाऊँ ? पन्ध्र दिन आराम गर्न भनेको छ । बाटोमा हिँडेको बेवारिसे युवतीलाई यहाँ छाडेर आफू बेपत्ता भई भने होलान् । मनमा कुरा खेलिरहन्छ रूपाको । एकछिनमा ब्याग बोकेर बाहिर निस्किन्छे ।
‘कहाँ जान लागेकी ?’ आमाको प्रश्न थियो ।
‘आज मलाई नरोक्नूस् आमा । एउटा असहाय युवतीलाई हस्पिटल छोडेर आएकी थिएँ  ? के भयो होला मलाई जानैपर्छ ।’
हस्पिटल पुग्छे रूपा । ‘मैले ल्याएको बिरामी कहाँ हुनुहुन्छ ?’ ती युवतीको सबै कुरा बताउँदै भन्छे नर्सलाई । आफू आउन नपाएको समस्या पनि बताउँछे ।
‘हजुरले उहाँलाई ल्याएर धेरै राम्रो गर्नुभयो । अहिले त तपाईंले उहाँलाई चिन्नै सक्नुहुन्न । डक्टरले त उहाँलाई सुरूमा चिन्नुभएन ।’ नर्सले हाँस्दै भन्छे ।
‘मतलब बुझिनँ  नि मैले ।’ रूपा आश्चर्य मान्दै सोध्छे ।
‘ती युवती त डक्टरकी अति नै नजिककी मान्छे रहिछिन् ।’
अब रूपाको दिमागमा भने झन् कुरा खेल्छ । ‘ती युवती डाक्टरको साथी भनेपछि यस्तो अवस्थामा उनी कसरी पुगिन् त ?’ उसको मनमा उत्सुकता जाग्छ- ‘को थिइन् उनी ? यस स्थितिमा कसरी पुगिन् ?’ यस कुरामा चासो बढ्न थाल्छ ।
डाक्टर आइपुग्छन् । ती युवतीलाई ल्याएकोमा रूपालाई धन्यवाद दिन्छन् ।
‘तपाईंको अति नै मिल्ने साथी हुनुहुँदो रहेछ भनेपछि उहाँको खानदान, परिवार सबै राम्रै थियो होला । फेरि यस अवस्थामा कसरी पुग्नुभयो उहाँ ? केही बुझ्न मन लागेर प्रश्न गरिहालेँ । अन्यथा केही नसोच्नुहोला ।’
‘उनी यस अवस्थामा पुग्नुको कारण म नै हुँ ।’ रूपालाई हेर्दै भन्छन् डक्टर ।
‘कसरी ?’ आश्चर्य मान्दै प्रश्न गर्छे रूपा ।
‘हामी एउटै परिवार जस्तो थियौँ । हाम्रो घरदेखि धेरै टाढा थिएन उनको घर । उनी मेरी धर्मबहिनी थिइन् । हरेक कुरामा सघाउँथेँ । उनको घरमा कहाँ के छ सबै थाहा हुन्थ्यो । उनी अफिस जाँदा- आउँदा पुर्याउन- लिन जान्थेँ । उनको घरको आर्थिक स्थितिदेखि हरेक कुराहरू मलाई थाहा हुन्थ्यो । एकअर्कालाई समस्या परेमा हामी दुवै मिलेर सुल्झाउँथ्यौँ । हामीमा जस्तोसुकै आन्तरिक कुरा पनि लुक्दैनथ्यो । चाहे त्यो घर या आर्थिक स्थितिकै किन नहोस् । हामी जहाँ, जता जाथ्यौँ  प्रायः सँगसँगै हुन्थ्यौँ । बिस्तारै उनको श्रीमानको मनमा शङ्काले डेरा जमाउन थाल्छ ।’
‘पहिला त तिमीलाई लिन पुर्याउन म नै जानु पथ्र्यो । चाहे दिन होस् या रात एकछिन् ढिलो भयो भने तिमी मलाई बोलाउँथ्यौ । हिजो आज तिम्रो धर्मदाई आएपछि त मेरो वास्तै छैन । तिम्रो दाइसँग निकै नजिक हुँदैगएकी छौ । तिम्रो मुखमा केवल उसकै मात्र नाम केवल उसकै मात्र गुनगान, को हो त्यो ? मात्र बनाएको दाइ ? बाहिर मान्छेले पनि भन्न थालिसके । मैले धेरै विचार गरिरहेको छु, सहिरहेको छु । तिमीले मलाई टाढा बनाइसकेकी छौ । त्यो कस्तो दाइ हो ? धर्मबहिनी सँग २४ सै घन्टा साथ रहने । चाहे घरमा होस् चाहे अफिसमा, मैले के भन्ला, के सोच्ला भन्ने पनि लाग्दैन ? म मौन छु भन्दैमा मेरो मौनताको फाइदा नउठाऊ । एक दिन यसले उग्र रूप लिनेछ ।यस्तै कुरामा दिन- रात झगडा सुरू हुनथाल्यो । श्रीमानले शारीरिक तथा मानसिक यातना दिन थालेछन् । दाजुबहिनीको सम्बन्धलाई शङ्काको नजरले हेर्लान् भन्ने मलाई लागेन । त्यसपछि म पनि सम्पर्कमा आइनँ । बिस्तारै उनी डिप्रेसनमा पुगिछन् । एक दिन घर छोडेर कहाँ बेपत्ता भइन्, कसैलाई थाहा भएन । आज उनलाई यस अवस्थामा देख्दैछु ।’ भावुक हुँदै भन्छन् डाक्टर ।
‘यसमा तपाईंको पनि गल्ती छ । एउटा हाडनाताको साइनोमा त मान्छेले शङ्का गर्छन् भने तपाईंहरू त बनाएको नाता, हर घडी हर पल साथ देख्दा उनको श्रीमानलाई पनि त पीडा हुँदो हो ।’
‘हो । आज मैले बिहे गरेपछि यो कुरा महसुस गरेको छु ।’ डाक्टर भन्छन् ।
‘अहिले कहाँ हुनुहुन्छ त ? म उहाँलाई भेट्न आतुर छु ।’ बीचैमा कुरा काट्दै भन्छे रूपा ।
‘अहिले उनलाई क्याबिन नं. ५ मा राखेका छौँ । सामान्य स्थितिमा आउनलाई भने अझै समय लाग्ने छ ।’
दुवैजना क्याबिनमा पस्छन् ।
ती युवतीलाई देख्नसाथै रूपाको आँखाबाट आँसु बग्न थाल्छ । मैले देखेकी युवती तिनै हुन् त ? अप्सराजस्ती नीलो कारबाट निस्केकी ? जुन युवतीको खोजमा वर्ष बित्यो । आज तिनै युवतीलाई यस्तो हालतमा देख्नु… उफ…! मेरो कस्तो यो दुर्भाग्य…। परिस्थितिले कुन मोडमा ल्याएर पछार्छ, समयले कुन वेला ठग्छ, कसैलाई थाहा हुँदैन । ऊ ती युवतीलाई यसरी अँगालो हाल्छे मानौँ, त्यस अँगालोबाट कहिल्यै छुट्टिन नपरेझैँ हुन्थ्यो । आज ठूलो युद्ध जितेझैँ लाग्छ रूपालाई ।
‘यिनलाई यहाँ ल्याएर निकै ठूलो पुण्यको काम गर्नुभयो तपाईंले । यिनको लागि तपाईं देवतानै बनेर आउनुभयो । धन्यवाद छ तपाईंलाई । सधैँ आभारी रहने छु ।’ मुस्कुराउँदै भन्छन् डाक्टर ।
‘कुनै दिन उनी मेरा लागि देवता बनेर आएकी थिइन् । त्यो पनि एउटा संयोग थियो । आज म उनको लागि देवता बनेर आएँ । यो पनि एउटा संयोग नै हुन पुग्यो ।’ मुसुक्क हाँस्दै बिदा हुन्छे रूपा ।


(विगत दशकभन्दा अघिदेखि सिर्जनाफाँटमा सक्रिय रिसालको एउटा उपन्यास प्रंकाशित छ।)
dhirajbirajstationary5490@gmail.com