बा - Aksharang
  • २०७७ असोज ३ शनिवार

बा

श्रवणकुमार ढुङ्गाना

श्रवणकुमार ढुङ्गाना

उसलाई जानदेऊ
त्यस्तो
झ्यालखानाबाट छुटेको कैदीजस्तो
जसको जाने ठाउँ
कतै छैन जस्तो भएको उसलाई
कमसेकम
आफ्नै पसिनाको सुवासले
ओगटेको
परिमितिसम्म
फैलनदेऊ ।

उसलाई
देउताहरू स्याहार्नु थियो
मानिसहरू हुर्काउनु थियो
सँगीहरू कज्याउनु थियो
आफैँलाई आफन्तहरूबाट जोगाउनु पनि थियो
धेरैधेरै ऋणको बोझ उतार्नु पनि थियो ।

देखिने गरी त
पर्खाल कतै थिएन
तर उन्मुक्ति थिएन
दलदल कतै थिएन
तर उडान थिएन
लास ढलेको थिएन
तर कैयौँपटक तिमीहरूका
आँखाका लागि नीद र
पेटका लागि आड उठाउँदै गर्दा
मौन
र तिमीहरूबाट गुपचुप
आफ्नै आँखाबाट
उठ्न सकेको थिएन ।

उसले
हतकडी त कहिल्यै देखेन
आज गोडा खुकुलो लागेको छ
बेघर त कहिल्यै थिएन
आज घरको तिर्सना जागेको छ
नीद त कहिल्यै आएन
आज ओछ्यानको अँगालो मागेको छ!
पिताको हातले छोडेको दिनदेखि
बिर्सेको जिन्दगी
सन्तानको साथले छोड्दाको दिनदेखि सम्झेको जिन्दगी
तिम्रा आकाङ्क्षा अग्लिँदै जाँदा
तिम्रा आवश्यकता फैलिँदै जाँदा
तिम्रा लागि छोड्दै गएको
उसैले आर्जेको
तिमी उभिएको धर्ती
तिमीले उडान भरेको आकाश
थाहै नपाई साँघुरो हुँदै गएपछि
हठात् वृद्धाश्रममा ब्यूँझिएको
उसको
हात समातेर घर फर्काउने कोही छैन
भन्नेजस्तो नबनाऊ !

कृपया
उसलाई जानदेऊ !
त्यस्तो
झ्यालखानाबाट छुटेको कैदीजस्तो
जसको जाने ठाउँ कतै छैनजस्तो भएको
यो आभास तोडिदेऊ
जानदेऊ
कमसेकम
तिमीहरूकै माझ
उसैले सिञ्चेको धर्तीमा
शिर ठाडो पारेर उभिन ।


(ढुङ्गाना विगत तीन दशकदेखि काव्यसिर्जनामा कलम चलाउँदै आएका स्रष्टा हुन्)
yourshrawan@gmail.com