एउटा यस्तो स्पर्श - Aksharang
  • २०७७ असार २४ बुधबार

एउटा यस्तो स्पर्श

बबिता बस्नेत

बबिता बस्नेत

बिरामी राखिएको आइसीयुको बाहिर सुनसान थियो । ऊ पुग्दा साँझको त्यस्तै सात बजेको हुँदो हो । डाक्टर, नर्स, बिरामी कुरुवा कोही पनि थिएनन् । बाहिरका मान्छेले अस्पतालको माथिल्लो तलामा रहेको आइसीयुसम्म पुग्न पाउने कुरा थिएन । तर ऊ आँफै मेडिकल डाक्टर भएकाले कार्ड देखाएपछि पालेले माथि जान दियो । बिरामीमा कोरोना सङ्क्रमण देखिएकाले वरिपरि सुनसान थियो । अनपेक्षित रूपमा ब्लड प्रेसर बढेपछि सात दिनअघि अस्पताल पुगेका अनामलाई मुटुमा समस्या देखिएको रहेछ । मुटुको उपचार गर्दागर्दै कोरोना देखिएपछि आइसीयुमा उनी एक्लो बिरामी थिए । उनलाई अस्पताल भर्ना गरिएको कुरा थाहा पाउनासाथ उसले केही आफन्तहरूलाई फोन गरेर के भएको सोधेकी थिई । महिनौँ कुराकानी र भेटघाट नहुनु उनीहरूका लागि ठूलो कुरा थिएन तर सात दिनअघि दिउँसो ३ बजेतिर उनीहरूले भिडियो कलमा लामो कुरा गरेका थिए । एउटा आपतकालीन अप्रेशन सकेर आफ्नो कोठामा आएपछि उसैले फोन गरेकी थिई । व्यापारिक कम्पनीको म्यानेजर ऊ पनि बल्ल अलि फुर्सद भयो भन्दै आफ्नै कार्यकक्षमा ग्रिन टी पिइरहेको थियो ।

कुराकानीको क्रममा उसले ‘खै हेर न मलाई के भइराछ, बिहानैदेखि अलि अफ्ठ्यारो जस्तो भइरहेको छ’ भनेको थियो । लामो समयसम्म घर बसेकाले धेरैलाई त्यस्तै भएको भन्दै उसले सम्झाएकी थिई । सन २०१९ को डिसेम्बर महिनामा चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी हुँदैजाँदा नेपाल पनि त्यसबाट प्रभावित भएको थियो । सन् २०२० मार्चको अन्तिम सातादेखि लगाइएको ‘लकडाउन’ ८० दिन पछि खकुलो भएपछिको पहिलो दिननै ऊ कार्यालय गएको थियो । ‘लकडाउन’ मा स्त्रीरोग विशेषज्ञ डा. अर्चनाको ड्युटी थप बढेको थियो । व्यस्तताकै बीच पनि घरबाटै काम गरिरहेको अनामलाई के छ, कसो छ सोधिरहेकी हुन्थी । ठूलो व्यापारिक समूहको म्यानेजर भएकाले स्टाफ व्यवस्थापनलगायतका उसका आफ्नै प्रकारका तनावहरू थिए । अर्चनासँग कुरा गर्दा अस्पतालमा थप जोखिम भएकाले केयर गर्नका लागि ऊ सम्झाइरहेको हुन्थ्यो । तर ऊ आफैँ अहिले सङ्क्रमित भएर आइसीयुमा थियो । कोरोनाको बिरामी भनेपछि अस्पतालभरि सन्त्रासपूर्ण आतङ्क छाएको थियो । गेटबाहिरबाटै मानिसहरू भरखरकै छ रे, पुरुष हो रे भन्दै कुरा गरिरहेका थिए । कम्पाउन्डमा भेटिएको उसको भाइलाई अरू कोही आउनु भएको छ कि ? भनेर सोधी । जबाफमा उसले यस्तो बेलामा कोही आउने कुरै भएन नि, स-यो भने के गर्ने? भन्दै जमिनको दूबोमा आँखा अड्याएको थियो ।

अस्पताल पुग्दैगर्दा उसकी पत्नी, छोराछोरी या नजिकका आफन्तहरूलाई कसरी पो सम्झाउने होला भनेर सोचिरहेकी उसलाई एउटा अप्ठ्यारो परिस्थितिबाट मुक्ति मिले पनि मन नरमाइलो भएर आयो । आफ्नै अस्पतालमा पनि उसले यस प्रकारका दृश्यहरू देखेकी थिई । कोरोना लागेको रिपोर्ट आएपछि सोधिखोजी गर्ने आफन्त र उपचार गर्ने डाक्टर नर्स सबै एकाएक गायब हुनेगर्थे । आइसीयुको बाहिर जुत्ता नदेखेर भित्र कोही छैन भन्ने प्रस्ट हुँदाहुँदै पनि कोही छ कि भन्ने ठान्दै पञ्जा लगाएका हातहरूले बिस्तारै धकेलेर ढोका खोली । वरिपरि खाली बेडहरूका बीच पर कुनाको भेन्टिलेटरमा अनाम मृत्युसँग सङ्घर्ष गरिरहेको थियो । केही दिनअघिसम्म त्यहाँ बिरामीहरू थिए भन्ने कुरा वरिपरिका बेडहरूको अवस्थाले बताउँथ्यो । केही बेडहरूलाई पार गर्दै ऊ सरासर अगाडि बढी । पश्चिमपट्टि सिरानी भएको बेडको पूर्वतर्फबाट जाँदैगर्दा ओछ्यानमा सिरकले नछोपिएका खुट्टाहरू देखिए । वर्षौंअघि देखेका खुट्टाका औँलाहरू उस्तै थिए । भेन्टिलेटरले उसको आधा अनुहार छोपेको थियो । हातका नाडीभरि स्लाइन पानी चढाउँदाका डोबहरू थिए । बेडसँगै अक्सिजन तथा अन्य स्वास्थ उपकरणहरू थिए ।

आँखा खोल्छ कि भनेर उसले केही क्षण अनुहारमा हेरी, अनाम… भनेर बोलाई तर आँखा खोल्ने अवस्था थिएन । मृत्युसँग सङ्घर्ष गर्दैगरेका धेरै मानिसहरू उसले देखेकी छ । आफूले बचाउन खोज्दाखोज्दै आँखैअगाडि कति मानिसहरूको मृत्यु भयो तर गाह्रो भए पनि त्यसरी सासै रोकिएलाजस्तो कहिल्यै भएको थिएन । पूर्णतः बेहोस उसलाई हेर्दैगर्दा आँखा आँसुले भरिए । दाहिने हात ओछ्यानमा थियो, देब्रे हात पेटभन्दा माथि छातीनजिक थियो । पञ्जा लगाएका औँलाहरूले बिस्तारै उसका हातहरू एकै ठाउँ ल्याई र च्याप्प समाई । वर्षाैंअघिका स्पर्श ती औँलाहरूमा उस्तै थिए । आफ्नो हात र उसको हातलाई घरि तल घरि माथि गरेर छुँदैगर्दा बिस्तारै ती औँलाहरू चल्मलाएझैँ भए । उसले निधार छामी, औँलाहरूले निधारमाथिको कपाल मिलाई र फेरि दुवै हातले उसका हातहरू समाइरही । करिब २० मिनेटपछि उसका औँलाहरू चल्न थाले । हेर्दाहेर्दै उसले आँखा खोल्यो । तर ती आँखाहरू धेरैबेर खुल्ला रहन सकेनन् । करिब एक घन्टासम्म बस्दा त्यहाँ कोही पनि आएनन् । सायद तीन दिनदेखि नै उसको अवस्था त्यस्तै थियो । यस्तो पनि हुन्छ ? बिरामीप्रति अस्पताल र डाक्टरहरूको दायित्वलाई लिएर पहिलोपल्ट उसलाई आक्रोश पैदा भयो । अब के गर्ने ? छोडेर घर जाऊँ त्यस्तो अवस्थामा एक्लै कसरी छोडूँ ? नजाऊँ आफू बस्ने गरेर आएकै होइन । पञ्जा र माक्स लाए पनि पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) साथमा थिएन । त्यस अस्पतालका एक वरिष्ठ फिजिसियनसँग उसको राम्रो चिनजान थियो, बाहिर निस्किएर फोन गरी । उनलाई भेट्न ग्राउन्ड फ्लोरतिर जाँदैगर्दा भाइले ‘दाइलाई कति बेला डिक्लियर गर्ने रहेछन् ?’ भनेर सोध्यो । जबाफमा उसले ‘डिक्लियर त मरेको मान्छेलाई पो गर्ने हो, उसलाई त केही दिनपछि डिस्चार्ज गर्नुपर्छ’ भनी । झनक्क रिस उठ्यो तर केही नभनी फटाफट चिनजानका डाक्टरको कोठातिर लागी ।

बिरामीलाई गरिएको बेवास्ताको बारेमा गुनासो गरेपछि एक जना नर्स राख्ने निश्चित भयो । अस्पतालको अनुमतिमा राती आफैँ बस्ने सोचेर कुरा गर्न गएकी थिई । तर भोलिपल्ट बिहानैदेखि उसको लगातारजस्तै अप्रेसनहरू थिए । आइसीयुमा डुयुटी बस्न खटाइएकी नर्सलाई एकजनाले नछोड्ने बाचा गराएर ऊ घरतिर लागी । पार्किङ्स्थलमा साँचोले गाडी खोल्नुअघि पञ्जा खोली, हात सेनिटाइज गरी तर भरखरै उसलाई छोएका ती पञ्जाहरू फाल्न निकै गाह्रो भयो । उसको स्पर्शसहितका ती पञ्जालाई प्लाष्टिकमा बेरेर पाकिङ्स्थलमा राखिएको डस्टबिनमा फाल्दैगर्दा उसको स्पर्श नै फाल्न लागेझैँ गरी भावुक बनेकी थिई ।

गाडी स्टार्ट गर्नासाथ ठूलो पानी प-यो । दर्किएको पानीका बीच अँध्यारो बाटो छिचाल्दै घर पुग्दा रातीको ९ बजेको थियो । आफ्नो अस्पतालमा भर्ना भएकी एक बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि ऊ घरमा छुट्टै कोठामा बस्न थालेकी थिई । पति हाडजोर्नीका चर्चित डाक्टर थिए । दुवैजना अस्पतालमा काम गर्ने भएकाले घरमा सहयोगीले दिएको खाना आआफ्नै कोठामा खाएर सुरक्षित बस्ने गरेका थिए । छोराछोरी दुवै विदेशमा उच्चशिक्षा अध्ययन गरिरहेकाले आफ्ना कारणले उनीहरूलाई केही होला कि भन्ने डर थिएन । डा.साबले खानु भो ? सहयोगीलाई सोध्दैगर्दा डा.साबले आफ्नो ढोका खोलेर जँचाउन आउने मानिसहरूको भीड देखेर आफूलाई दिक्क लागेको र उनीहरू अलिकति पनि सचेत नभएको भन्दै केही छिन आफ्नो अस्पतालको फेहरिस्त बताए । आमुन्नेसामुन्ने उनीहरूको कोठा थियो । खाना खाँदैगर्दा अनामले केही खाएको छैन, म यसरी खाइरहेकी छु जस्तो लाग्यो तर भोक यति लागेको थियो कि उसले खाई । अस्पतालको सुनसान आइसीयु, भेन्टिलेटरमा रहेको उसको अवस्था, ओढ्नेले नछोपिएका ती खुट्टा (जो पछि उसले छोपिदिएकी थिई) आफूले छुँदाछुँदै चल्न थालेका ती औँलाहरू…जतिबेला पनि आँखामा आएर झपक्कै सुत्न सकिनँ । राती नै डा. अमितालाई फोन गरेर आफूले असुरक्षित महसुस गरेकाले भोलिपल्टका अप्रेसनहरू गर्नका लागि अनुरोध गरी । डाक्टरहरूबीच यस प्रकारका पर्म चलिरहन्छन् । उसका लागि अनामका औँला भए पनि मेडिकल टर्ममा ती कोरोना सङ्क्रमितका हातहरू थिए । आफूलाई कोरोना नसर्ने आत्मविश्वास हुँदाहुँदै पनि अरूलाई सुरक्षित बनाउनका लागि अस्पताल नजाने निर्णय गरेकी थिई ।

अनाम र अर्चना एउटै कलेजमा थिए । अर्चनाभन्दा ऊ केही वर्ष सिनियर थियो । दुवै बाहिरबाट आएर राजधानीमा बाँच्नलाई सङ्घर्ष गर्दैगर्दा साथीहरूसँगका भेटघाट र कुराकानीकै क्रममा एकार्कासँग नजिक भएका थिए । ३० वर्षअघि अहिलेजस्तो प्रेम व्यक्त गर्ने चलन र साधन दवबै थिएन । कि चिट्ठी लेख्नु पथ्र्यो कि भेट्नै जानुपथ्र्यो । केटा पढ्दै काम पनि गर्ने भएकाले कलेजबाट चाँडै निस्किन्थ्यो । निर्धक्क भेटेको सम्झना छैन तर भेट हुँदाको आफ्नोपन बिर्सिने खालको पनि छैन । कतै घुम्न गएको र एकान्तमा दुईजना मात्रै बसेको पनि होइन । साथीको कोठामा गएको बेला कहिलेकाहीँ दुईजना मात्रै हुँदा एकार्कालाई छोएको सम्झना छ । केही वर्षको सङ्गतमा धेरै त होइन केहीपटक विवाह भएर घरजम गरेको कल्पना पनि दुवैले नगरेका होइनन् । पछि खै के भयो ऊ मेडिकल पढ्न बाहिर गई । अहिलेजस्तो इमेल, फेसबुक, मोबाइल केही थिएन । समयक्रममा करियर, विवाह, छोराछोरी उनीहरूको आआफ्नै संसार भयो । दुवै एउटै सहरमा थिए तर भेटघाट खासै हुँदैनथ्यो । साथीभाइसँगको सामूहिक भेटघाटमा एकार्कालाई देखेर खुसी लाग्थ्यो ।

पाँच वर्षअघि डाक्टरहरूको कार्यक्रममा भाग लिनका लागि ऊ धनगढी गएकी थिई । ऊ पनि आफ्नो कामको सिलसिलामा त्यही पुगेको रहेछ । संयोगले उनीहरू एउटै होटलमा बसेका रहेछन् । साँझ डिनरमा भेट भयो, दुवैले एकार्काका व्यवसायका कुराहरू गरे । अर्चनाको अस्पतालमा ड्युटीसँगै आफ्नै क्लिनिक थियो । डाक्टरहरू यति मरिहत्ते हालेर किन काम गर्छन् ? मुखमा आइसकेको प्रश्नलाई दबाउदै अनामले ‘तिमी अति व्यस्त छौ, फोन गर्न पनि अप्ठ्यारो लाग्छ’ भनेको थियो । भोलिपल्ट बिहान काठमाडौँ फर्किनलाई साथीहरूले लबीमा बिल तिर्दैगर्दा अनामसँग बिदा मागेर आऊँ जस्तो लाग्यो र एक तलामाथि उसको कोठामा गई । ढोका खुल्लै राखेर ऊ आफ्नो कार्यक्रमका लागि प्रस्तुतिको तयारी गरिरहेको रहेछ । ढोकामैं उभिएर उसले आफू फर्कन लागेको बताई । ‘एकछिन बस न’ भन्दै कम्प्युटर अलि पर सारेर ऊ उठ्यो र ढोकाको भित्रपट्टि उभिएकी उसलाई दुवै हातले अँगालेर निधारमा चुम्बन ग-यो । आफूले नसोचेको क्षण अनायसै आइपर्दा उसले न केही बोल्न सकी न केही गर्न नै । ‘मेरो फ्लाइट छुट्छ’ यति भन्दै ऊ बाहिर निस्किई । कतिबेला एयरपोर्ट पुगी, कतिबेला घर पुगी केही सम्झना छैन । घर पुगेर कपडा पनि नफेरी ओछ्यानमा पल्टिएर आँखा चिम्लिई । २५ वर्षअघिको स्पर्श उस्तै थियो । जुन स्पर्शको महसुस उसले वर्षौंदेखि गर्दैआएकी थिई । साँझमा पति र बच्चाहरू नबोली बसे पनि हुन्थ्यो नि जस्तो लाग्यो । तर तीन दिनपछि भेट भएकाले उनीहरू तँछाडमँछाड गरिगरी बोलिरहेका थिए । आफ्नो मनोदशा कसैलाई सेयर गर्न सक्ने प्रकारको थिएन । कति दिनसम्म त्यस घटनाले पिछा गरिरह्यो ।

डा.साबसँग घरमा झगडा पर्दा अनामलाई सम्झिएर उसलाई खुसी लाग्थ्यो । कम्तीमा ऊसँग यस प्रकारका तनावहरू भोग्नु परेन भन्ने कुराले उसलाई विवाह नभएको ठीक भयो जस्तो लाग्थ्यो । विवाहपछि धेरैका प्रेमहरू छरपस्ट भएको उसले देखेकी छ । अझ प्रेम–विवाह भएकाहरूको त समयक्रममा प्रेम हराएर विवाह मात्रै बाँकी रहेका घटना धेरै थिए । डा.साबसँगको सम्बन्ध त्यति नराम्रो थिएन तर सोचे जति राम्रो पनि थिएन । विवाहलाई सम्झौताको रूपमा लिँदै दुवैजना सम्बन्ध धान्न सकेको कोसिस गरिरहेका थिए । धनगढीपछि धेरै लामो समय उनीहरूको भेट भएन । एकार्कालाई फोन गर्ने हिम्मत पनि गरेनन् । करिब छ महिनापछि उसैले तिमीलाई सञ्चो छैन कि जस्तो लाग्यो, हाउ आर यु ? भन्दै फोन गरेको थियो । त्यसपछि वेलावेलामा के छ कसो छ एकार्काको सोधिखोजी गर्थे । लकडाउनपछि उसैले भिडियो कल गरेकी थिई, जुन उनीहरूले गरेको पहिलो भिडियो कुराकानी थियो ।

अस्पतालमा उसलाई भेटेर फर्किएपछि ऊभित्र ठूलो छटपटीले ठाउँ लियो । ‘हे भगवान ऊ बाँचोस्’ मनमा जतिवेला पनि भगवान पुकार्थी । डाक्टर हुन् या वैज्ञानिक जीवनमा आपत्–विपद् आइपर्दा पुकार्ने त आखिर भगवान नै हुन् । ऊ साथमा नभए पनि विगत ३० वर्षदेखि ऊविनाको संसार बाँचेकै थिइन । त्यसैले ऊ नभएको संसार परिकल्पना गर्नु उसका लागि टाढाको कुरा थियो । अहिलेजस्तो जतिवेला पनि कुराकानी, भेटघाट हुँदै ओछ्यानमै पुग्ने सम्बन्ध हुँदो हो त अहिलेसम्म यो जीवित रहने थिएन कि जस्तो पनि लाग्छ । जीवनमा आउने–जाने मान्छेहरूको भीडमा खालिखाली धेरै मानिसहरू उसले देखेकी छ । उसकै कति साथीहरू त्यस प्रकारको जीवन बाँचिरहेका छन् । तर ऊ सधैँ प्रेमपूर्ण छ, सम्बन्धलाई लिएर उसलाई कुनै गुनासो छैन । ऊ कहिल्यै एक्लै भइन ।

बिहान अस्पताल पुग्दा सास बढेझैँ भएको थियो । अनामलाई देख्न र भेट्नका लागि आतुर ऊ ४९ वर्षको उमेरमा आफूलाई कलेज जीवनकी अर्चनाझैँ महसुस गरिरहेकी थिई । आइसीयुको दृश्य अघिल्लो दिनभन्दा फरक थियो । अनामको अनुहारमा भेन्टिलेटर थिएन । स्लाइन फेरिरहेकी नर्सलाई आपूुलाई कोही भेट्न आए कि भनेर ऊ सोधिरहेको थियो । एक्कासि अगाडि अर्चनालाई देखेर उसको अनुहारमा चमक भरियो । नजिक पुग्न लाग्दा मलिन स्वरले ‘अलि परै बस डा.साब’ भन्यो । नर्सले काम सकेर कुनाको कुर्सीमा बस्न गएपछि उसले भन्यो ‘हेर न, कस्तो अचम्म भयो । मैले तिमीलाई सपनामा देखेको थिएँ, तिमी मलाई भेट्न आयौ ।’ ‘हो र ?’ उसको प्रश्नको जबाफमा भन्यो– ‘तिमीले मेरो हात समाएको, निधारमा छोएको र कपालहरू मिलाएको मलाई त सपनाभन्दा पनि साँच्चिकै हो जस्तो लागिरहेको छ । म त मर्न लागेको रहेछु रे, कस्तो हेल्पलेस थिएँ । तिमीले मेरो हात समाउँदा तिम्रो एनर्जी ममा ट्रान्सफर भएजस्तो भयो । तिमीले निधारमा छोएपछि मेरो मस्तिष्कले काम गर्न थाल्यो । तर ब्यूँझिँदा तिमी थिइनौ । अनि मलाई नरमाइलो लाग्यो । देख्यौ, तिमी मेरा लागि कति महत्वपूर्ण छ्यौ ?’ चुपचाप सुनिरहेकी उसको एक्कासि फोन बज्यो । फोन हिजो भेटेका वरिष्ठ फिजिसियनको थियो । टेलिफोनमा उनले तपार्इंको बिरामीमा चमत्कारिक परिवर्तन आएको रिपोर्ट पाएको छु, बधाई छ भने । उसले धन्यवाद दिई तर आफू त्यहीँ छु भनिन । ‘हेर न, आई रियल्ली वान्ट टु टच टु यु, आई वान्ट एनर्जी फ्रम यु बिपनामै, तर रोगै यस्तो लाग्यो कि छुनै मिल्दैन’ भन्यो । ‘हो नि’ भन्दै जबाफमा उसले तिमी त पूरै ठीक भयौ, कस्तो राम्रो देखिएको छौ, अब केही दिन त हो सब ठीक हुन्छ भनी । करिब दुई घन्टा बसेर बाहिर निस्कँदा उसका केही आफन्तहरू कम्पाउन्डमा थिए । ऊ नदेखेझैँ गरेर बाहिरिई ।

गाडी स्टार्ट गर्दैगर्दा परिचित पत्रकार कल्पनाले फोन आयो, अन्तवार्ताका लागि रहेछ । साँझ कुरा गरूँ भन्दै फोन राखेपछि ऊ धेरैपछि सङ्कटाको मन्दिरतिर लागि । साँझ फोनमा कल्पनाले डा.साब कति स्वास्थ्यको मात्र कुरा गर्नु ? आज अलि छुट्टै कुराकानी गरौँ कि भनेर भन्ने भूमिकासहित सोधी– ‘तपाईंको विचारमा प्रेम के हो ?’ अरू वेला भए हिजोआजका मिडियालाई प्रेम र सेक्सबाहेक त अरू प्रश्न गर्नै आउँदैन भन्दै ‘सरी नट इन्ट्रेस्टेट टु टक’ भन्ने थिई होला । तर त्यस्तो केही नभनी जबाफ दिँदै भनी– ‘प्रेम के हो त मलाई थाह छैन तर साँझको मधुरो प्रकाशमा, एक्लै बसेको वेला, आफूलाई मनपर्ने गीत सुनिरहँदा, ड्रिङ्क गरेका वेला, अकाशमा जून हेर्दा, राम्रो फूल देख्दा तपाईं कसैलाई सम्झिनुहुन्छ भने उही तपाईंले प्रेम गरेको मान्छे हो । तपाईं उसको साथमा हुनुहुन्छ या हुनुहुन्न भन्ने कुरासँग प्रेमको खासै सम्बन्ध छैन ।’ अन्त्यमा भन्दै पत्रकारले सातौँ प्रश्न गरी– ‘तपाईंको व्यक्तिगत जीवनको सबैभन्दा ठूलो उपलब्धि के हो ? योचाहिँ अफ द रेकर्ड है’ भन्दै जबाफमा उसले भनी– ‘मैले प्रेम गरेको मानिससँग मेरो विवाह भएन । आफ्नो प्रेमलाई जोगाएर राख्नु नै मेरो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।’
………………………………………………………………………………………………………………..
(बस्नेत विगत तीन दशकदेखि कथा लेखनका सक्रिय स्रष्टा हुन् । उनको ‘सम्बन्धहीन सम्बन्ध’ नामक कथा–सङ्ग्रह प्रकाशित छ ।
basnetbabita7@hotmail.com