समाचार
काठमाडौं ।
साहित्य, कला र संगीतको उत्सवका रूपमा साङ्ग्रिला लिटरेचर फेस्टिबलको पहिलो संस्करण पुस ११ र १२ गते आयोजना हुने भएको छ ।काठमाडौं साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्न लागेको दुईदिने महोत्सवमा नेपाल तथा भारतका लेखक, साहित्यकार, कलाकार, पाठक र संस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ ।
महोत्सवका निर्देशक केन सुवेदीका अनुसार भारतका कम्तीमा ६ जना ख्यातिप्राप्त लेखक महोत्सवमा सहभागी हुनेछन् । सहभागी हुने लेखकमा मनु जोसेफ, रुचिर जोशी, जेरी पिन्टो र सतीश पद्मनाभन छन्।
महोत्सवमा साहित्य, भिजुअल आर्टस तथा पर्फर्मिङ आर्टससँग सम्बन्धित विभिन्न विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ । पुस्तक, संस्कृति र समाजसँग सम्बन्धित विषयमा समेत संवाद गरिनेछ ।
आयोजकका अनुसार महोत्सवमा दुईवटा हलमा एकैसाथ विषयगत छलफलका सत्र सञ्चालन हुनेछन् । बालसाहित्य, महिला साहित्य, सीमान्तकृत समुदायको साहित्य, युवा साहित्य, अनुवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र कवितालगायत विषयमा छलफल हुनेछ ।
साहित्यिक छलफलसँगै महोत्सवमा सांस्कृतिक नृत्य, सांगीतिक तथा अन्य कलात्मक प्रस्तुति पनि रहनेछन् । महोत्सवमा पुस्तक प्रदर्शनीका स्टलसमेत राखिनेछन् । आगन्तुकले विभिन्न पुस्तक अवलोकन तथा खरिद गर्न सक्नेछन् ।
