• २०८३ कार्तिक २२, शनिबार

देवकोटाका महाकाव्यमा मिथकको खोज: बद्रीप्रसाद ढकालको अनुसन्धानात्मक कृति विमोचित

काठमाडौं ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘देवकोटाका महाकाव्यमा मिथक’ सडक विमोचन गरिएको छ । बिहीबार काठमाडौंको बागबजारमा सडक विमोचन अभियानको १९औँ शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा उपस्थित साहित्यकारहरूले सामूहिक रूपमा कृति सार्वजनिक गरेका हुन् । कृतिमा महाकवि देवकोटाका छवटै महाकाव्यमा प्रयुक्त मिथकहरूको खोज, अनुसन्धान र विश्लेषण गरिएको छ । नेपाली साहित्यका विशिष्ट स्रष्टा देवकोटाका महाकाव्यमा रहेका मिथकीय सन्दर्भलाई सूक्ष्म रूपमा केलाइएको यस कृतिले उनको काव्यचेतना र सिर्जनात्मक वैशिष्ट्य बुझ्न सघाउने अपेक्षा गरिएको छ ।

अभियानका संयोजक डा. नवराज रिजालले नेपाली समालोचनामा निरन्तर सक्रिय ढकालले देवकोटाका सबै महाकाव्यमा प्रयुक्त मिथकको गहन अध्ययन र विश्लेषण गरेको बताए । भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले ढकालको अनुसन्धानमूलक लेखनको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता खोजमूलक कृति ल्याउन सुझाव दिए । साहित्यकार राजाराम बर्तौलाले महाकवि देवकोटाको योगदान स्मरण गर्दै उनका महाकाव्यमा प्रयुक्त मिथकको अध्ययन र अनुसन्धानले नेपाली साहित्यिक समालोचनालाई थप समृद्ध बनाउने धारणा राखे ।